अहिलेको पुस्ताले जे जति काम गरे पनि आगामी धेरै पुस्ताले याद गर्ने खालको काम गर्नु पर्ने नेपाली कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारीले बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियन स्थापना दिवस–२०८१ को अवसरमा बेनी नगरपालिका–४ सिंगामा रहेको फरक क्षमता भएका विद्यार्थीहरुलाई खाद्यान्न सामग्री वितरण गर्ने क्रममा उहाँले उक्त धारणा राख्नु भएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कार्यसमितिका उपसभापति भण्डारीले आगामी पुस्तालाई हुने गरी कर्मचारीले काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । अहिले भै रहेको पुस्ताका लागि आवश्यक पर्ने काम अघिल्लो पुस्ताले गरि सकेको हुनाले राजनीतिकर्मी तथा कर्मचारीहरुले आफू भन्दा पनि आगामी पुस्ताहरुले अपनत्त लिन सक्ने प्रकारले काम गर्नु पर्नेमा जोड दिनु भएको थियो । विश्वका विकसीत मुलुकहरुमा अघिल्ला पुस्ताले गरेको महेनत र उनीहरुको लगन र लगाबकै बलमा बिकसति भएको कुरा भुल्नु हुदैन । त्यसैले अहिले हामीले जे जति गर्दै जान्छौं त्यो हामी पछाडीको पुस्ताले त्यसको फल पाउने हो त्यही भएर उनीहरुले सराप्ने काम हामीले गर्नु हुँदैन उहाँले भन्नुभयो । अनुदान र सहयोग भन्दा पनि राज्यले नै व्यवस्थापन गर्नु पर्ने हो तरपनि यस्ता सामाजिक कार्यमा सहभागतिा सबैका लागि राम्रो र सन्देशमुलक हुन्छ भण्डारीले भन्नुभयो ।
नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति म्याग्दीले बेनपा–४ सिंगामा रहेको बहिरा श्रोत कक्षामा अध्ययनरत बहिरा विद्यार्थीहरुका लागि खाद्यान्न सामग्रीका साथै ग्यास चुल्हो सेट र नगद पाँच हजार रुपियाँ समेत हस्तान्तरण गरिएको युनियनका सचिव सुमन सुवेदीले जानकारी दिनुभयो । दाल चामल लगायतका खाद्यान्न सामग्री ग्यास चुल्हो सेट र नगद रुपियाँ एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् श्रोत शिक्षकलाई संयुक्तरुपमा हस्तान्तरण गरिएको हो ।
बेनी नगरपालिका–४ का वडा अध्यक्ष तथा हालै निर्वाचित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अणबहादुर खड्काले कर्मचारी युनियनले गरेको सकारात्मक कामको प्रसंसा गर्नुभयो । उहाँले कर्मचारी युनियनले बहिरा बिद्यार्थीहरुका लागि सहयोग गर्ने भावना अनुसार अगाडी बढेर विद्यालय संग सहकार्य गरेको धारणा राख्नु भएको थियो ।
कार्यक्रममा धवलागिरि माध्यमिक विद्यालयकी बहिरा कक्षा श्रोत शिक्षक लक्ष्मीदेवी श्रेष्ठले पछिल्लो २० वर्ष देखि सञ्चालित बहिरा कक्षाले धेरै अप्ठेरो अवस्था झेल्दै अहिलेको अवस्थाम आइपुगेको बताउनुभयो । उहाँले भन्नुभयो–‘२०६३ देखि सञ्चालित बहिरा कक्षा शुरुआतको समयमा गास, बासकै समस्या थियो तर पनि विद्यालय तथा स्थानीय तथा अन्य दाताहरुको प्रयासमै कक्षा सञ्चालन गरिएको हो ।’ अहिले पनि सहज छैन तर पनि पहिला भन्दा धेरै सहज भने भएको छ । जुन सुकै स्थानका बहिरा बालबालिका भए पनि आवासिय सुविधा सहित पढाइ हुने भएकाले जो कसैले पनि आफ्ना नानीबाबुहरुलाई धवलागिरि माध्यमिक विद्यालयको बहिरा श्रोत कक्षामा ल्याएर भर्ना गर्न सकिने धारणा राख्नु भएको थियो ।
कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष दयाराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय प्रतिनिधि प्रेमप्रसाद गौतमको स्वागत र सचिव सुमन सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । वि.सं. २०५९ भदौ १९ गते भवानी थानी अध्यक्ष र सुबोध कुमार देवकोटा महासचिव रहेको नेपाल निजामती कर्मचारी युनियन दर्ता भएको थियो । त्यही दिनको सम्झनामा आज सामाजिक काम गरेर दिवस मनाएको कार्यवाहक अध्यक्ष पौडेलले बताउनुभयो । म्याग्दी जस्तै गरी निजामती कर्मचारी युनियनले देशैभरी सामाजिक काम गरेर स्थापना दिवस मनाउँदै गरेको उहाँको भनाई थियो ।
बुधबार, भदौ १९, २०८१ मा प्रकाशित