श्रीलंकाविरूद्धका एक्ला पहरेदार दीपेन्द्र

काठमाडौं, ३० मंसिर – कोलम्बोमा श्रीलंकाविरूद्ध एसीसी यू–१९ एसिया कप क्रिकेटको समूह चरणको पहिलो खेलमा उत्रँदा नेपाल फेभरेट थिएन । टेष्ट मान्यता प्राप्त टिम, बलियो घरेलु संरचना र त्यही अनुसारको अभ्यास गरेको टिम श्रीलंकाले आफूलाई साँच्चै बलियो टिम साबित गरिसकेको थियो । टस जितेको नेपालले घरेलु टोलीलाई पहिले ब्याटिङको निम्तो दियो । उसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २७ को सम्मानजनक स्कोर खडा गर्‍यो ।
कमजोर ब्याटिङ गर्ने भनि आरोप लाग्ने गरेको नेपाललाई श्रीलंका बलरसामु दुई सयको आँकडा पार गर्नु सहज भने पक्कै थिएन । तर ३ विकेटको पतनपछि क्रिजमा पुगेका दीपेन्द्रसिंह ऐरीले शानदार इनिङ्स खेले । उनले ९० रन बनाए । ९९ बल खेलेका उनले ९ चौका र एक छक्का प्रहार गरे । खेलमा तीन बल बाँकी छँदा एलबिडब्ल्यु धरापमा परि दीपेन्द्र आउट भए, श्रीलंकालाई उसकै घरमा शानदार रुपमा हराउने सुनौलो मौका चुक्यो । श्रीलंकाले एक रनले नेपाललाई हरायो ।
नेपालको हार त थियो । तर दीपेन्द्रको ब्याटिङ इनिङ्सको भने जित । बलियो बलिङ सामु दीपेन्द्रका सुन्दर र प्रभावशाली प्रहारले श्रीलंकालाई जित निकाल्न अन्तिम समयसम्म डटिरहनु पर्‍यो । आदिल खानले ३९ र अभिनाश कर्णले ४० रन बनाउनुबाहेक खेलमा दीपेन्द्रको ब्याटले मात्र कोलम्बोको मैदानमा आवाज निकाल्ने मौका पायो । दीपेन्द्र नेपाली इनिङ्सका एकमात्र पहरेदारको रूपमा देखिए । जो अन्तिम समयसम्म नेपाललाई जित दिलाउन क्रिजमा डटिरहे ।
नेपाललाई अन्तिम ओभरमा जितको लागि ८ रन आवश्यक थियो । तर नेपालको ९ विकेटको भने पतन भइसकेको थियो । अन्तिम ओभरको पहिलो बलमा दीपेन्द्रले रन दिएनन् र आफैंले स्ट्राइक सम्हाले। दोस्रो बलमा स्ट्रेट छक्का प्रहार गरि नेपाललाई जितको लागि ४ बलमा २ रनमात्र आवश्यक पर्ने स्थितिमा पुर्‍याए । तर तेस्रो बलमा उनी आउट भएसँगै नेपालले श्रीलंकालाई हराउने र प्रतियोगितामा पहिलो जित निकाल्ने मौका गुमायो । छोटकरीमा भन्दा श्रीलंकाले नेपालको जितलाई मुखैबाट खोसेर लगिदियो ।
राष्ट्रिय टिमबाट नखेले पनि नेपाली क्रिकेटमा दीपेन्द्र चर्चित नाम हुन् । यू–१९ को टोलीबाट विश्वकप, एसिया कप र अन्य प्रतियोगिता खेलिसकेका छन्, उनले । महेन्द्रनगरका उनी अहिले नेपाल पुलिस क्लबबाट क्रिकेट खेलिरहेका छन् । काठमाडौंमा भएको एभरेष्ट प्रिमियर लिगमा उनी पञ्चकन्या तेजका खेलाडी थिए । अलराउन्डर दीपेन्द्रको उत्कृष्ट प्रदर्शनमा पञ्चकन्याले लगातार दोस्रोपटक लिग च्यापियन भएको थियो ।
दीपेन्द्रका काकाका छोरा अर्थात् राष्ट्रिय क्रिकेट टिमका खेलाडी समेत रहेका प्रदीप ऐरी श्रीलंकामा भाइले गरेको प्रदर्शनबाट खुसी छन् । प्रदीप भाईको प्रदर्शनसँगै नेपालले जितेको भए, सुनमा सुगन्ध हुने ठान्छन् ।

बिहिबार, मंसिर ३०, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...