आफ्नै स्याटलाइट स्थापनाको तयारीमा नेपाल

काठमाडौँ, ७ पुस – अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट स्थापनाको सम्भावना बढेको छ ।  करिब ३५ वर्ष अघिदेखिको प्रयास साकार हुने देखिएको छ ।  स्याटलाइट स्थापनाका लागि विश्वका ख्यातिप्राप्त कम्पनीले आशयपत्र पेस गरेकाले यो काम अगाडि बढ्ने भएको हो ।
नेपालको आफ्नै स्याटेलाइट नहुँदा सरकारी सूचनाको गोपनीयता चुहावट हुनसक्ने खतरा थियो भने बर्सेनी चार अर्बभन्दा बढी रुपियाँ भाडामा स्याटेलाइट व्यान्डविथ प्रयोग गरेबापत खर्चनु परिरहेको थियो ।
नेपाल दूर सञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले हाल नेपालले प्रयोग गर्दै आएको भाडावाला अन्तर्राष्ट्रिय व्यान्डवीथ र स्याटेलाइटले सरकारका सूचना र गोपनीयतामा असर पर्ने कुरावताए ।
नेपाल दूर सञ्चार प्राधिकरणले स्याटलाइट व्यवस्थापनका लागि आह्वान गरेको नेपालको अन्तरिक्षमा आफ्नै स्याटेलाइट राख्ने प्रक्रियाका लागि विश्वका प्रसिद्ध २० वटा कम्पनी इच्छुक देखिएका छन् ।  अन्तरिक्षमा स्याटेलाइट राख्ने विषयमा नेपाल दूर सञ्चार प्राधिकरणले आह्वान गरेको आशयपत्र पेस गर्ने बुधबार (पुस ६ गते) अन्तिम दिन हो ।
प्राधिकरणले स्याटलाइट स्थापना र सञ्चालन गर्ने मोडालिटी, खर्च र कानुनी तथा व्यावहारिक पक्षको सुझाव समेटिएको प्रस्तावमा चीनको ग्रेटवाल चाइना र एरो स्पेस, भारतको अन्तरिक्ष (आईएसआरओ), जापानको जे स्याट, कोरियाको के स्याट, फ्रान्सको इयु टेल स्याट, अमेरिकाको इन्टेल स्याट, क्यानडाको टेलिसा, अमेरिकाको स्पेस सिस्टम लिमिटेड, थाइल्यान्डको थाइकम र लक्जेम्बर्गको एसइएसलगायतका अन्तर्राष्ट्रिय कम्पनीले आशयपत्र पेस गरेको जानकारी दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
नेपालमा आफ्नै स्याटेलाइट राख्ने विषय करिब ३५ वर्ष अघिदेखि चर्चामा चले पनि सञ्चारमन्त्रालयले करिब १५ वर्षदेखि यो प्रक्रिया अगाडि बढाएको थियोे ।

बिहिबार, पुस ७, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...