अपेक्षा गरेभन्दा सफल रियो ओलम्पिक

काठमाडौं, ७ भदौ – रियो ओलम्पिक सुरु हुन अगाडिसम्म धेरैको आशंका थियो, सायद यसपटकको खेलकुद महाकुम्भ पटक्कै सम्झन लायक हुने छैन । डर थियो, कमजोर तयारी र धेरै खाले समस्या कारण रियो ओलम्पिक वास्तवमै ‘खराब उदाहरण’ हुन सक्नेछ । तर यस्तो भएन् ।
आगामी ओलम्पिक जापानमा आयोजना हुने घोषणासँगै भव्य कार्यक्रमबीच आज बिहान रियो ओलम्पिक टुंगिएको छ । भलै समापन समारोहमा भरिभराउ दर्शक देखिएनन्, पानीले पनि बाधा पुर्‍यायो । तर जति बेला ओलम्पिक ज्योति निभाइयो, सबैले माने, अपेक्षा गरेभन्दा सफल रह्यो, रियो ओलम्पिक २०१६ ।
ब्राजिलको सबैभन्दा ठूलो सहर रियो डे जेनेरियो आफ्नो साख जोगाउन सफल रह्यो । त्यसो त दुई साता चलेको रियो ओलम्पिकमा समस्या नै नभएको भने होइन ।

सबैभन्दा ठूलो समस्या रह्यो, खेलाडी बस्न निर्माण भएको ओलम्पिक भिलेजमा नै । सुरक्षाको समस्या पनि उस्तै रह्यो । तर जतिबेला ओलम्पिक टुंगियो, यी विषय गौण रहे । स्वभाविक रूपमा चर्चा तिनै खेलाडी र उनीहरूको प्रदर्शनबारे भयो, जसका लागि उनीहरू हकदार रहे ।
अबको चार वर्षपछि ओलम्पिक फेरि एसियामा फर्कंदैछ र सन् २०२० मा जापानको टोकियोले अर्को संस्करणको ग्रीष्मकालीन ओलम्पिकको आयोजना गर्नेछ । अर्को पटक टोकियोमा भेट्ने वाचासहित रियो ओलम्पिक खुसीको सन्देश दिएर विश्राम लिन सफल रह्यो ।
यसपटकको रियो ओलम्पिकका सबैभन्दा ठूला दुई खेलाडी रहे, पौडीका माइकल फेल्प्स र एथलेटिक्सका युसेन बोल्ट । दुवैले आफ्नो प्रतिष्ठा अनुसार खेले । फेल्प्स रियो ओलम्पिककै क्रममा इतिहासमै सबैभन्दा बढी पदक जित्न सफल खेलाडी बने । स्प्रिन्टर बोल्टले यसपल्ट पनि तीन स्वर्ण जिते । उनले यसरी लगातार तीन स्वर्ण जितेको पनि लगातार तेस्रोपटक थियो । अब यिनै दुई ठूला नाम अब फेरि ओलम्पिकमा सुन्न पाइने छैन्, किनभने अब उनीहरू सन्यासतर्फ अग्रसर छन् ।
अन्तिम पदक तालिकामा अमेरिका नै अगाडि रह्यो, कुल १ सय २१ पदकसहित । त्यसमा ४६ स्वर्ण सामेल थियो । यसक्रममा अमेरिकाले विश्व खेलकुदमा आफू नै नम्बर १ देश रहेको सिद्ध गर्‍यो । बेलायतका लागि यसपटकको ओलम्पिक अत्याधिक सुखद रह्यो । कुनै समय विश्व खेलकुदमा बेलायती चुनौती लगातार कमजोर रहने गरेको थियो ।

अहिले बेलायती खेलकुद पुनरजागरणबाट गुज्रिरहेको छ । बेलायतले २७ स्वर्णसहित कुल ६७ पदक जित्यो र अमेरिका पछाडि दोस्रो स्थानमा रह्यो । बेलायतको यो प्रदर्शन धेरैका लागि आश्चर्यमा पार्ने खालका थियो । बेलायतको यही सुदुढ प्रदर्शनकै कारण चीन तेस्रो स्थानमा झर्न बाध्य रह्यो । चीनले २६ स्वर्णसहित कुल ७० पदक जित्यो ।
चीनका लागि यो उपलब्धि असफलता जस्तै रह्यो । यस्तोमा चीनले आफ्नो खेलकुद कहाँनिर चुक्यो भनेर खोजीनीति गर्ने बताइसकेको छ । डोपिङ प्रकरणका कारण विवादमा फसेको रुस चौथो स्थानमा रह्यो, १९ स्वर्णसहित ५६ पदक जितेर । रुसले आशिंक सहभागिताको मात्र अवसर पाएको थियो । तर पनि रुसको प्रदर्शन खासै निराशाजनक रहेन ।
दक्षिण एसियाका लागि फेरि एकपटक रियो ओलम्पिक निराशाजनक रह्यो । भारत विश्वकै दोस्रो ठूलो जनसंख्या भएको देश भएपनि एक रजत र एक काँस्य मै सीमित रह्यो । अरु दक्षिण एसियाली देशले केही पनि गर्न सकेन् । यस्तोमा विश्वको कुल जनसंख्याको सबैभन्दा ठूलो भाग ओगट्ने दक्षिण एसिया विश्व खेलकुदमा किन पछाडि छ भनेर गम्भीर चिन्तन गर्ने समय पनि आएको छ ।

तस्बिरहरु : राेयटर्स

 

मङ्लबार, भदौ ७, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...