यी सात जनाले चलाउने छन् अबको चीन

काठमाडौँ, ६ कात्तिक – चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेसन सम्पन्न भएको एक दिनपछि बुधबार पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङले आउँदो पाँच वर्षका लागि पार्टीलाई नेतृत्व प्रदान गर्ने टोली घोषणा गरेका छन्। पार्टीको पोलिटब्युरो स्थायी समितिमा सी र प्रधानमन्त्री ली खछ्याङका अतिरिक्त पाँच नयाँ अनुहार निर्वाचित भएका छन्।  उनीहरुलाई सीले बेइजिङस्थित ग्रेट हल अफ चाइनामा पत्रकारहरुमाझ प्रस्तुत गरे।
स्थायी समितिमा प्रवेश पाएका नयाँ अनुहारहरुमा ली झाङ्सु, वाङ याङ, वाङ हुनिङ, झाओ लेजी र हान झेङ छन्। तर राष्ट्रपति सीले आफ्नो उत्तराधिकारी घोषणा गरेनन्। चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समितिमा निर्वाचित यी सात सदस्यले आगामी पाँच वर्षका लागि चीनलाई नेतृत्व प्रदान गर्नेछन्।
सी जिनपिङ
पार्टी महासचिव, राष्ट्रपति, कैन्द्रीय सैन्य आयोगको अध्यक्ष, राष्ट्रिय सुरक्षा समितिको अध्यक्षसहित अन्य दर्जनौँ कार्यकारी समितिको नेतृत्व सम्हालिरहेका सी चीनको मात्रै होइन, विश्वकै शक्तिशाली व्यक्ति हुन्। सन् १९५३ मा जन्मेका सीले सन् २०१२ यता पार्टी र देशको नेतृत्व सम्हालेपछि चीनमा व्यापक परिवर्तन आएको छ।

पार्टीको ‘कोर लिडर’ का रुपमा स्थापित सीले १९ औँ महाधिवेसनपछि आफ्नो शक्तिलाई अझ संगठित गरेका छन्। उनको सी जिनपिङ विचारधारा पार्टी विधानमा स्थापित भएको छ। यसपछि उनी माओजत्तिकै शक्तिशाली व्यक्ति बनेको टिप्पणी गरिएको छ। महाधिवेसनमा प्रस्तुत रिपोर्टमा सीले आगामी ३० वर्षका लागि दुई चरणको योजना सार्वजनिक गरेका छन्। जसअनुसार सन् २०५० सम्ममा हरेक क्षेत्रमा चीन संसारको एक नम्बर राष्ट्र बन्नेछ।
ली खछ्याङ
महाधिवेसनअघिसम्म वर्तमान प्रधानमन्त्री ली खछ्याङ आगामी पाँच वर्षका लागि पदमा रहने वा नरहने भन्नेबारे अनिश्चय थियो। तर लीलाई अर्को पाँच वर्ष चीनको नेतृत्व गर्ने आफ्नो टोलीको दोस्रो वरियताको सदस्यका रुपमा सी जिनपिङले कायमै राखेका छन्।

आन्हुई प्रान्तमा जन्मेका ६२ वर्षीय ली पूर्ववर्ती प्रधानमन्त्रीहरुभन्दा ‘लो प्रोफाइल’ का नेता मानिन्छन्। पूर्व राष्ट्रपति हु जिन्ताओ निकट रहेका उनले आफ्नो राजनीतिक जीवन पेकिङ युनिभर्सिटीमा विद्यार्थी नेताका रुपमा सुरु गरेका थिए।
ली झाङ्सु
स्थायी समितिमा बढुवा भएका अर्का नेता हुन् ली झाङ्सु। २०१२ यता पोलिटब्युरो सदस्य रहँदै आएका उनी सिपिसीको केन्द्रीय कार्यालयका निर्देशकका रुपमा काम गरेका छन्। त्यस्तै सिसिपीको श्रम समितिका सचिव पनि हुन् उनी। ली सन् १९५० मा जन्मेका हुन्।

सी जिनपिङका विश्वासपात्र मानिएका लीलाई नेसनल पिपुल्स कंग्रेसको अध्यक्ष बनाइने अनुमान गरिएको छ। एनपिसीका वर्तमान अध्यक्ष झाङ देजियाङ आगामी मार्चमा निवृत्त हुँदैछन्। केन्द्रीय कार्यालयका निर्देशकका रुपमा पार्टीमा सी जिनपिङको चिफ अफ स्टाफको भूमिका निभाइसकेका ली अध्यक्ष बन्दा एनपिसीको समर्थन जुटाउन सीलाई सहज हुने बताइएको छ।
हेबेइ प्रान्तमा एक क्रान्तिकारी परिवारमा जन्मेका ६७ वर्षीय ली सन् १९८२ मा पार्टीको पत्रिका पिपुल्स डेलीमा समाजवादमाथि शंका गर्नेहरुको आलोचना गर्दै एक लेख लेखेपछि चर्चामा आएका थिए।
वाङ याङ
सन् १९५५ मा जन्मेका वाङ याङ सन् २०१३ यता उपप्रधानमन्त्रीका रुपमा कार्यरत छन्। सन् २००७ देखि पोलिटब्युरोको सदस्य रहँदै आएका वाङ आगामी दिनमा पार्टीको सल्लाहकार समिति चाइनिज पिपुल्स कन्सुलेटिभ कन्फेरेन्सको प्रमुख बन्ने अपेक्षा गरिएको छ।

चङकिङ र ग्वाङदोङमा पार्टी नेतृत्व सम्हालिसकेका वाङसँग लामो प्रशासनिक अनुभव छ। ग्वाङदोङको नेतृत्वमा रहँदा उनले निजी कम्पनीहरुलाई बढी स्वतन्त्रता दिनुका साथै अन्वेषणका लागि प्रोत्साहित गरेको बताइएको छ।
उपप्रधानमन्त्रीका रुपमा उनले कृषि र विदेशसँगको व्यापारका प्रमुख थिए। अमेरिकासँग भएका व्यापारिक तथा आर्थिक मामिलाको नेतृत्व वाङले नै गर्दै आएका थिए। उनले राष्ट्रपति सीले विशेष महत्व दिएको गरिबी निवारण अभियानलाई सफल पार्न पनि निकै महत्वपूर्ण भूमिका निभाएका थिए। आन्हुई प्रान्तमा जन्मेका ६२ वर्षे वाङले गत अगस्टमा नेपालको चार दिने भ्रमण गरेका थिए।
वाङ हुनिङ
२००२ मा पार्टी केन्द्रीय समितिको पूर्ण सदस्य बनेका वाङ हुनिङ सिसिपीको ‘सेन्ट्रल पोलिसी रिसर्च सेन्टर’ का निर्देशक हुन्। त्यसैले उनलाई आगामी वर्षहरुमा पार्टीको विचारधारा र प्रचार विभागको जिम्मेवारी सुम्पिइने अपेक्षा गरिएको छ।

सांघाइमा जन्मेका ६२ वर्षे वाङले १९८० को दशकमा फुदान युनिभर्सिटीमा अध्यापन गरेका थिए। त्यसबेला उनले चीनमा बलियो नेतृत्वको वकालत गरेका थिए। सन् १९९५ मा तत्कालीन राष्ट्रपति जियाङ जमिनले उनलाई विश्वविद्यालयबाट हटाएर आफ्नो सल्लाहकार तथा भाषण लेखकमा नियुक्त गरेका थिए।
झाओ लेजी
सन् १९५७ मा जन्मेका झाओ लेजी सिसिपीको केन्द्रीय सांगठनिक विभागका निर्देशक हुन्। २०१२ यता पोलिटब्युरो सदस्य रहँदै आएका उनी सोही वर्षयता केन्द्रीय समितिको सचिवालय सदस्य पनि हुन्।

आगामी दिनमा झाओले सी जिनपिङले निकै महत्व दिएको भ्रष्टाचार विरोधी अभियानको नेतृत्व सम्हाल्ने अनुमान गरिएको छ। सेन्ट्रल कमिसन फर डिसिप्लिन इन्स्पेक्सन (सिसिडिआइ) का प्रमुख रहेका वाङ क्विसान उमेरहदका कारण निवृत्त बनेपछि त्यसको जिम्मा झाओको काँधमा आउने भएको हो। सिसिडिआइ प्रमुखको पदलाई निकै शक्तिशाली मानिन्छ। चिङहाइ प्रान्तमा जन्मेका ६० वर्षीय झाओ निकै कम बोल्ने नेताका रुपमा परिचित छन्। सिन्हुवाका एक रिपोर्टरले झाओका बारेमा एक पटक लेखेका थिए, ‘श्री झाओ लिफ्टमा अड्किए भने पनि एक शब्द बोल्नेवाला छैनन्।’
हान झेङ
सन् २०१२ यता चीनको आर्थिक केन्द्र सांघाइको पार्टी सचिव रहँदै आएका हान सोही वर्षदेखि पोलिटब्युरो सदस्य बनेका थिए। सन् १९५४ मा जन्मेका हान सन् २००२ मा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बनेका थिए। सातौँ वरियतामा रहेका कारण हान आगामी दिनमा कार्यकारी उपप्रधानमन्त्री बन्ने अपेक्षा गरिएको छ।

६३ वर्षीय हानलाई पूर्व राष्ट्रपति जियाङ जमिननिकट नेताका रुपमा चिनिन्छ। सांघाइको आर्थिक प्रगतिमा उनको महत्वपूर्ण हात रहेको बताइन्छ। स्थायी समितिमा बढुवा भएका यी पाँच नयाँ अनुहार सी जिनपिङको रोजाइमा पर्नु अस्वभाविक नभएको बताइएको छ। यी व्यक्तिलाई छनोट गर्दा सीले वरिष्ठतालाई कायम राखेको र सहमतिको आधारमा निर्णय लिएको बताइएको छ। यद्यपि यसअघि सी जिनपिङको उत्तराधिकारी घोषित हुन सक्ने व्यक्तिका रुपमा लिइएका ग्वाङदोङ पार्टी सचिव हु चुनहुवा भने स्थायी समितिमा परेका छैनन्।
२०२२ पछि सी जिनपिङको उत्तराधिकारी हुने अनुमान गरिएका हु चुनहुवा र चङकिङ पार्टी सचिव चेन माइनरजस्ता नेता स्थायी समितिमा नपर्नु तथा वर्तमान स्थायी समितिमा रहेका सबै ६० कटेका नेता हुनुले सीले २०२२ पछि पनि आफ्नो कार्यकाल लम्ब्याउने अनुमान गरिएको छ।यी सबै नेता पाँच वर्षको कार्यकाल पूरा भएपछि निवृत्त हुने अपेक्षा गरिएको छ।

बुधबार, कार्तिक ८, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...