म्याग्दीमा गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा बेनी सामुदायिक विजयी

-प्रताप बानियाँ
म्याग्दी, मंसिर १४ – म्याग्दीमा गण्डकी प्रदेशस्तरीय अन्तर क्याम्पस प्रथम छात्रछात्रा भलिबल प्रतियोगिता–२०७५ शनिबारदेखि सुरु भएको छ । ‘सु–सम्बन्ध आत्मीयता र सहकार्यको मेल, स्वास्थ्य अनुशासन र सभ्यताका लागि खेल’ भन्ने मूल नारासहित म्याग्दी बहुमुखी क्याम्पसको मूल आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो ।
म्याग्दी बहुमुखी क्याम्पसको आसन्न २८औं वार्षिकोत्सवको अवसर पारेर क्याम्पस र स्ववियुद्वारा सप्ताहव्यापी खेलकुदका साथै विभिन्न प्रतियोगिताहरु आयोजना गरिएको क्याम्पस प्रमुख टिकाराम सापकोटाले जानकारी दिए । प्रतियोगिताको क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले रेफ्री संयोजक तेजेन्द्र बानियाँलाई भलिबल हस्तान्तरण गरी उद्घाटन गरेका थिए ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्यहरु शेरबहादुर केसी, दिपक बिखर्ची, दिपक श्रेष्ठ, पूर्व स्ववियु सभापति खुमबहादुर बानियाँ र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले खेलाडीहरुलाई हौसला प्रदान गरेका थिए । शनिबारै बेनी सामुदायिक मावि र म्याग्दी बहुमुखी क्याम्पस ‘बी’का बिचमा पहिलो उद्घाटन खेल सम्पन्न भएको छ । उक्त खेलमा बेनी सामुदायिकले क्याम्पसलाई लगातार दुई सेटमा पराजित गरी दोस्रो चरणमा प्रवेश गरेको रेफ्री संयोजक तेजेन्द्र बानियाँले बताएका छन् ।
भलिबल प्रतियोगितामा म्याग्दी जिल्लासहित गण्डकी प्रदेश अन्तर्गत विभिन्न जिल्लाका क्याम्पसहरुबाट प्रतियोगी खेलाडीहरु बेनी आएका छन् । भलिबल प्रतियोगिता अन्तर्गत छात्रतर्फ कुल २४ टिमले सहभागिता जनाएका छन्भने छात्रातर्फ हालसम्म ८ टिमले नामदर्ता गराएको हुँदा आउँदो सोमबारसम्म नामदर्ता गर्न सकिने आयोजकको भनाइ छ । गत बुधबारदेखि सुरु भएको सप्ताहव्यापी खेलकुदलगायत प्रतियोगिता अन्तर्गत यसअघि गजल, निबन्ध, निवेदन, तमसुकलेखन, टेबुलटेनिस र बुद्धिचाल प्रतियोगिता सम्पन्न भैसकेका छन् । यसैगरी सो प्रतियोगिताको अन्धनिशान र छेलो प्रतियोगिता भने सञ्चालन हुन बाँकी रहेको छ ।
स्ववियुका कार्यवाहक सभापति ईश्वर सुवेदीको अध्यक्षता र सचिव दर्पण रोकाको सञ्चालनमा सम्पन्न कार्यक्रममा क्याम्पसका प्राध्यापक, विद्यार्थी, पत्रकार लगायतको सहभागिता रहेको थियो । आउँदो बुधबार क्याम्पसको २८औं वार्षिकोत्सव राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको प्रमुख आतिथ्यमा मनाइने भएको छ । सोही अवसरमा सप्ताहव्यापी खेलकुदलगायत प्रतियोगिताको पुरस्कार समेत वितरण गरिने कार्यक्रम रहेको जनाइएको छ ।

शनिबार, पुस १४, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...