रेडियोग्राफी दिवसको अर्थ

आधुनिक वैज्ञानिक युगमा मानिसले कयौं टाढा रहेको ग्रह तथा ताराहरुमा भएको बदलाबको बारेमा समेत अध्ययन अनि अनुसन्धान गर्ने गरेका छन् । हामीले त्यसका लागि पाएको सजिलो उपायको जस कसलाई दिने भन्ने विषयमा कुनै अन्यौल कदापी छैन । विश्व तथा ब्रह्माण्डको अध्ययनमा लागेका पृथ्वीवासीले आफ्नै भित्री कुरा थाहा पाउनका लागि के कस्तो अध्ययन अनि अनुसन्धान गरे त भन्ने विषयमा पनि ज्ञान हुन जरुरी देखिन्छ । मानिसको शरिर भित्र भएका अंग तथा रोग व्याधीहरुको बारेमा जानकारी पाउनका लागि हामीले एक्स–रे गर्ने गरेका छौं । हामी सबैलाई थाहा छ, हामीलाई रोग लाग्यो भने त्यसको सही तबरले थाहा पाउनका लागि एक्सरे गर्नुपर्छ र गरिँदै आइएको छ । यही एक्स–रेको उत्पत्ति कसरी भयो, कसले ग¥यो तथा कहिले पत्ता लाग्यो भन्ने बारेमा भने धेरैलाई ज्ञान नहुन पनि सक्छ ।
हरेक वर्षको नोभेम्बर ८ तारिखमा विश्व रेडियोग्राफी दिवस मनाइन्छ, विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफीको अविष्कार गरेका थिए । रेडियोग्राफीलाई सामान्यतयाः हामी एक्स–रे अथवा विकिरण भनेर बुझ्दछौं । आधुनिक सरल चिकित्सा प्रणालीमा यसको ठूलो महत्व छ । धेरै जनाले रेडियोग्राफीलाई आफ्नो जीवनको लक्ष्य अथवा करियरका रुपमा लिएको पाइन्छ । अस्पतालमा हाम्रो एक्स–रे गर्ने रेडियोग्राफरदेखि हाम्रो एक्स–रे को रिपोर्ट बनाउने डाक्टर, एम आर आई, सिटी–स्क्यान, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राफी र एनजिओग्राफीजस्ता अत्याधुनिक एक्स–रे उपकरणहरु सञ्चालन गर्ने प्राविधिकहरु यस प्रविधिको उदाहरणीय सारथी बनेर सक्रिय रहेका छन् । आजको दिन विश्वभरी रेडियोग्राफी अनि रेडिएसन थेरापीबारे जानकारी र चेतना फैलाउने दिनको रुपमा लिइन्छ ।
एक्स–रे ले हाम्रो शरीर भित्रका हड्डीहरु, क्याभिटिहरु र कुनै बाहिरी पदार्थ भए नभएको कुरा पत्ता लगाउँदछ, फ्लोरोस्कोपीको माध्यमबाट पाचन प्रणाली भित्रका अङ्गहरुको तस्विर खिचेर जाँच्न मिल्दछ भने एम आर आईले हाम्रो शरिरका तन्तुहरुको टु डी र थ्री डी नक्सा नै तयार गर्दछ । त्यस्तै एनजिओग्राफीका माध्यमबाट रक्तनलीहरुको सम्बन्धमा जानकारी दिनुका साथै तिनीहरुमा सहज रक्तसञ्चार भए–नभएको बारेको कुरा पनि पत्ता लाग्दछ । मानव शरिरको भित्री अंगमा भएका समस्याहरु बिना चिरफार पत्ता लगाउनका लागि पनि महत्वपूर्ण हुने रेडियोग्राफी विधिको सबैमा ज्ञान हुन जरुरी छ । रेडीयोग्राफीको प्रयोग गरेर गलत काम पनि गर्ने गरेको देखिन्छ । गर्भमा भएको भुणको लिंग पहिचान गरेर गर्भपतन गराउने जस्तो गलत काम भने गर्नु अपराध हो । रेडियोग्राफीको माध्यमबाट सही काम गर्नेतर्फ हामी लाग्नुपर्छ होइन भने त्यसैले भोलीको दिनमा अपराध पनि नबढाउला भन्न सकिदैन । यसको प्रयोगका बारेमा सबै सचेत हुन आवश्यक देखिन्छ । विश्व रेडियोग्राफी दिवसको सबैमा हार्दिक शुभकामना !

शुक्रबार, कार्तिक २२, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...