व्यङ्ग्य – पत्रकारको चुनावी एजेण्डा : म बादल सार्दिन्छु, म प्रदूषण फाल्दिन्छु !

हिजोआज पत्रकारहरुलाई झ्याप्पै चुनावी रनाहा लागेको छ । एउटा मासु पसलमा दुईजना प्रतिस्पर्धी पत्रकार उम्मेदवारको जम्काभेट भयो । दुवैले मासु पसलेलाई नमस्कार गरे ।

‘हजुर नमस्कार, कति किलो राखौं ?’ मासु पसलेले मासुतिर हेर्दै सोधे ।

‘आज मासु माग्न आएका हैनौं, भोट माग्न आएको ?’

‘भोट रे ? चुनाव त नहुने भयो भनेको होइन र ? फेरि के को भोट ?’

‘पत्रकारको भोट नि ?’

‘ए दाइलाई भेट्न आउनुभएको रैछ । पत्रकारको सदस्यता त दाइसँग मात्रै छ । मैले त सदस्यता लिन भ्याइसकेको छैन नि ।’

‘ए दाइ पो हो ? कता जानु भयो त दाइ ?’

‘अहिले बाहिर जानुभएको छ, पार्टीको बैठकमा बोलाएका छन् रे ।’

‘अनि दाइ कुन पत्रिका चलाउनुहुन्छ ? कि अनलाइनतिर हो ?’

‘दाइले त सबै पत्रिका चलाउनुहुन्छ । मासु पोको पार्न पत्रिका चाहिन्छ, जुन पत्रिका पाइन्छ त्यही चलाएर पोको पार्नुहुन्छ । अनि अनलाइन त चौबीसैघण्टा बस्नुहुन्छ । यी हेर्नुस् त, अहिले पनि फेसबुकमा अनलाइनमै हुनुहुन्छ ।’

‘अनि महासंघको सदस्य चाहिँ कसरी हुनुभएछ त ?’

‘मासुको काम गर्दागर्दै मासु खाने बानी लाग्यो । मासु खाँदाखाँदै चोक्टो चाटेर चिरिक्क घाँटी भिजाउनेहरुसँग चिनजान बाक्लियो । घाँटी भिजाउने र चोक्टा चाट्नेहरु धेरैजसो पार्टी र संघसंस्थाका नेता रहेछन् । नेताहरुसँग चिनजान भएपछि महासंघ, संघ, संस्था सबैतिर जानु पर्यो । सधैं जाने गरेपछि सबैले तपाईं त हाम्रै परिवारको सदस्य जस्तो हुनुभयो, सदस्यता लिन भन्नुभयो । अनि त दाइ सबैतिर सदस्य बन्नुभयो ।’

‘ए त्यसो भए त सबैतिर सदस्य बन्न योग्य नै हुनुहुँदो रहेछ । अब तपाईंले पनि लिनुपर्यो नि सदस्यता ।’

‘अब तपाईंहरुले दिनुपर्यो । दाइको भोट चाहिने भए मलाई सदस्यता दिनुपर्छ ।’

‘अर्कोपटक पक्का । अनि कुनबेला आउनुहुन्छ त दाइ ?’

‘एकछिनमा आउनुहोला । दाइ नआउँदासम्म कुरा गरौं न । अहिले त सर्वोच्चले प्रचण्डको टाउकोमा टुटिल्को उठाएको, ओलीले नेपाल भुषाललाई घरबाट निकालेको भन्दा पनि तपाईंहरुको पो चर्चा धेरै छ है ? जता गए पनि पत्रकार उम्मेदवार !’

‘अँ हो नि । अब देशको चौथो अङ्ग, त्यसमाथि सबै अंगहरुलाई हल्लने गरि चलाउनेहरुको चर्चा त हुनै पर्यो नि ।’

‘अनि तपाईंहरु चाहिँ कुन पार्टीको उम्मेदवार नि ?’

‘म चाहिँ पार्टीको होइन, स्वतन्त्र ।’

‘अँ उहाँ अघिल्लोपटक पार्टीको हुनुहुन्थ्यो, यसपटक स्वतन्त्र । म पोहोर स्वतन्त्र थिएँ, यसपालि पार्टीको ।’

‘भनेपछि पोहोर तपाईंलाई पार्टीले टिकट दिएन त्यसैले स्वतन्त्र । यसपालि उहाँलाई पार्टीले टिकट दिएन, त्यसैले स्वतन्त्र ।’

‘हो हो ठ्याक्कै त्यही हो, तपाईंले मिलाउनुभयो, पत्रकार महासंघको सदस्यता लिन योग्य हुनुहुँदो रहेछ’ दुवै एकैसाथ मन खोलेर हाँसे ।

‘अनि तपाईंहरुको चुनावी एजेण्डा के छ नि ?’

‘धेरै छन् । श्रमजीवी पत्रकारको हक, हित र अधिकारका लागि हामीले गर्नुपर्ने जति सबैथोक गर्छौं । पत्रकारलाई काम र काम गरेपछि दामको लागि खबरदारी गर्छौं । दबाब दिन्छौं । अन्याय र अत्याचारको विरुद्धमा लड्छौँ । कुनै पनि पत्रकारलाई खाली हात बस्न नपर्ने वातावरण सिर्जना गर्छौं ।’

‘श्रमजीवी भनेको के हो नि ?’

‘श्रम गरेर जीविका चलाउने पत्रकारलाई श्रमजीवी पत्रकार भनिन्छ ।’

‘किसान, मजदुर अनि अरु श्रमजीवीलाई त एकछिन फुर्सद हुँदैन । तपाईंहरु त भोट माग्न मासु पसलसम्म आइपुग्नुभएको छ । श्रम चाहिँ कुन बेला गर्न भ्याउनुहुन्छ नि ?’

‘फुर्सद मिलाएर गर्छौं । अनि हामी सबैले उसैगरी श्रम गर्नु पर्दैन । कसैले श्रम गर्छौं, कसैले गफ गर्छौं ।’

‘दलाली, ठेकेदारी, दुई नम्बरी धन्दा गर्नेहरु पनि आफूलाई पत्रकार भन्छन् रे । कति पत्रकारको त त्यस्ता मान्छेहरुसँग सम्पर्क र सम्बन्ध पनि हुन्छ रे । यो कुरो चाहिँ कत्तिको सत्य हो ?’

‘अब तपाईंले त हामीले जस्तो अन्तर्वार्ता पो लिन थाल्नुभयो । हेर्नुहोस् पहिलो कुरा त यो हाम्रो पार्टी आच्या हामी पत्रकारलाई बदनाम गर्ने आधारहीन, झुटो हल्ला हो । हामीसँग त्यस्ता मान्छे छैनन् । भए पनि हामी सच्याएर लैजानेछौं ।’

‘पत्रकार र पत्रकारिता क्षेत्रको लागि मात्र होइन, मैले चुनाव जितेँ भने आमनागरिकका माग र आवश्यकता समेत पूरा गर्नेछु’ पत्रकारका एक उम्मेदवारले थपे ।

‘त्यो भनेको कस्तो ?’ प्रतिस्पर्धी उम्मेदवारको कुरा सुनेर अर्का उम्मेदवार चकित परे ।

‘हेर्नुस् अहिले वातावरण प्रदूषण बढेको छ । मैले चुनाव जितेँ भने वातावरण प्रदूषण हटाउनेछु । वायुमण्डलमा थुप्रिएका सबै फोहोर फाल्दिनेछु ।’

‘कसरी ?’

‘हामी पत्रकारको काम भनेको जनचासो र जनजीवीकाका सवाल उठाउने र सम्बन्धित निकायलाई झक्झकाउने हो । वातावरण प्रदूषण हटाउन सम्बन्धित निकाय कानमा तेल हालेर बसेको अवस्था छ । मैले चुनाव जित्नेबित्तिकै उनीहरुको कानमा भएको तेल निकाल्नेछु, झक्झकाउनेछु र प्रदूषण हटाउन जाउ भनेर खबरदारी गर्नेछु ।’

‘तपाईंले त त्यति मात्रै गर्न सक्ने हो । मसँग त पानी नै पार्ने क्षमता छ’ अर्का प्रतिस्पर्धी पत्रकारले फुइँ लगाए ।

‘कसरी ?’ अर्का पत्रकार उम्मेदवारले सोधे ।

‘पत्रकारसँग हरेक तह र क्षेत्रसँग सम्बन्ध, स्रोत हुनुपर्छ । तिम्रोजस्तो दुई चारजना मान्छेसँग मात्रै स्रोत भएको मान्छे हो र म ? मसँग त पानी पार्ने इन्द्रदेवसँग पनि सम्बन्ध छ । पानी पार्न भूमिका खेल्ने अरु उदृत गर्न नमिल्ने स्रोतहरु पनि मेरो सम्पर्कमा छन् । तिनै स्रोतहरुको हवाला दिँदै, उदृत गर्दै बादल सारेर पानी पार्नेछु’ फुइँ लगाउने पत्रकारले फेरि धक्कु लगाए ।

‘तपाईंहरु दुवैसँग पत्रकारको हकहितसँगै आमनागरिकको चासो र सरोकारका मुद्दा हल गर्ने क्षमता रहेछ । अहिलेसम्म किन नगर्नुभएको त ?’ मासु पसलेले जिज्ञासा राखे ।

‘यी सबै गर्न त ठाउँमा पुग्नुपर्छ नि ? चुनाव जित्नुपर्छ’ प्रतिस्पर्धी एकले भने ।

‘अनि एकपटक त तपाईंले चुनाव जित्नुभएको होइन र ?’ अर्का प्रतिस्पर्धीले प्रश्न गरे ।

‘एकपटक मात्रै जितेर हुन्छ । फेरि फेरि जित्नुपर्छ ।’

‘तर यसपालि मैले जित्नुपर्छ ।’

‘हैन स्वतन्त्रले जित्नुपर्छ ।’

‘व्यावसायिक र प्यानलवालाले जित्नुपर्छ ।’

भोट माग्न गएका दुवै उम्मेदवारले एकअर्कालाई चोर औँला ठड्याउँदै लम्कीझम्की गर्न थालेपछि दुवैको गोजीबाट पार्टी सदस्यता भएको कार्ड भुइँमा झर्यो । हत्तपत्त कार्ड टिपेर यताउता हेर्दै उनीहरु बाटो लागे ।  उज्यालोअनलाइनबाट

शनिबार, चैत्र २८, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...