भोट

दिनेश बस्नेत
कुना गाउँको तल्लो भेकमा गुजुमुज्ज परेको बस्ती छ । जुन बस्तीमा कामीहरू बस्छन् ।
बस्तीको पुछारमा हर्के कामीको घर र आरन थियो ।
छेउमा बाख्राको खोर । भित्र कुखुरा डोकामा थुनेका । त्यसैको छेउमा अँगेनो । अँगेना पारी लाइनबद्ध विस्तारा । बाहिर सँुगुर पालेका । कुखुरा र सुँगुर बेपर्वाह आँगनमा रनवन डुलेका । चिप्लो काउली पलाएको आँगनमाथि नबढारिएको फोहोर । घरको पाली चुहिने । आँगनको सानो पाखोमा हर्के दाइले घन ठटाइरहेका । खलासी ठूलो छोराले चलाइरहेको । यी दृश्यावलीको देखी जान्ने साक्षी थिएँ म । प्रायः आँसी, फाली आदि बनाउन जान्थेँ ।
हर्के दाइ चिच्याउँथे, ‘‘ओइ मैताकी आमा, कता मरिस यहाँ गोल सकियो । …. ठूलाघरे बिस्टको अाँसी कता राखिस्, यता आरनमा ल्याइज मोर । अझ बोल्दिनस्, मेराभन्दा पनि यसका कान बहिरा रहेछन् कि क्या हो ।’’
केही क्षणपछि हर्कली भाउजू बोल्थिन्, ‘‘तिम्ले कति खेर बोलाउँछौँ भनेर कान थापेर बस्न भ्याउँछु र म । आफ्ना कत्तिका काम छन् ह्वाँ । कसले गर्छन् ? छोराछोरी ढिँडाका काल मात्र हुन ।’’
‘‘त्यस्ता छोराछोरी किन पाइथिस् त नि ।’’
‘‘मैले मात्र पाउने भएको भए त, माइतबाटै पाएर ल्याउँथे होला नि ।’’
आरनमा बसेका रसिक मानेर हाँस्थे । म भने काँचोकचिलो उमेरको, सायद कुरा नबुझेर अलमलिन्थे । हर्के दाइ भने नहाँसीकन जबाफ फर्काउँथे, ‘‘पाइ होलिस क्यारे नि माइतमा पनि, भन्न पो मिलेन ।’’
हर्कली भाउजू हातका आँसी आरन छेउमा राख्दै भन्थिन्, ‘‘मुखमा कीरा पर्लान्, जे पायो त्यही नबोल् । त्यस्तै बोल्छौ र त विष्टवानहरूले हेप्छन् ।’’ अनि डालाबाट आरनमा गोल खन्याइदिन्थिन् ।
‘‘तेरो छोरो त गयो, एक छिन खलाँसी चला त ? म चुरोट तान्छु । कस्तो तलतल लाग्यो ।’’
छिनछिनमा चुरोट तानिरहनुपर्ने आदत थियो हर्के दाइको । त्यसरी तान्दा बडो आनन्द मानेको महसुस अनुहारमा झल्किन्थ्यो । प्रायः आँसी, फाली या अन्य केही फलामे सामान बनाउन जाँदा मैले कि त चुरोटको पाकेट लगिदिन्थेँ । या त चुरोट खान पाँच÷दश रुपियाँ दिन्थेँ । दाइ मख्ख हुन्थे ।
हर्केदाइका छोराछोरी धेरै थिए । जहिले जाँदा पनि नाङ्गैबुङ्गै आँगनमा कुखुरा, बाख्रा र सुँगुरका पाठापाठीसँग खेलेका देखिन्थे । असाध्यै सर्वहारा लाग्ने जीवनस्तर देख्दा टिठ लाग्थ्यो । अनि हर्केदाइ र हर्केली भाउजूले बोलेको सुन्दा सुनाँै सुनौँ लाग्थ्यो । एक प्रकारको रमाइलो लाग्थ्यो । आफ्नोपन पनि ।
घरमा आँसी बनाउन जाने मेरै कामभित्र पर्दथ्यो । तर पनि म कहिल्यै अल्छी र नाइँनास्ती गर्दैनथे । हर्के दाइको घरायसी वातावरणसँग मेरो प्रेम बसेजस्तो भान हुन्थ्यो ।
हर्के दाइकहाँ नगएको पनि १० वर्ष जति भएको थियो । समयको बहावमा धेरै बदलिन सक्थ्यो । तर खासै परिवर्तन ती घरायसी अवस्थामा आएको रहेनछ । उमेरले छोराहरूलाई तरुनो बनाउनु बाहेक । समयले हर्के दाइ र हर्केली भाउजूलाई केही बूढो बनाएछ । अनि दुई वटा छोरा मलेसिया गएछन् र खरको छानोको साटो टिन टल्काएछन् । नत्र भने हर्के दाइ त्यही रहेछन्, जीर्ण कटेरोमा आरन पिटी रहेका । पिटेका आँसीमा पाइन हालिरहेका ।
करिब साढे पाँच फिट अग्लो कदको ज्यान । गोल जस्तो कमिज लगाएका । त्यस्तै रङको कट्टु लगाएका । खिप हराएर होला पेटी घरमा डोरीले बाँधेका । टाउकोमा चाउलो फाटेको टोपी लगाएका । समुल शरीर कुपोषणले निचोरे जस्तो । मलाई उनको हुलिया देखेर असाध्यै माया, दया र स्नेह जाग्यो, । तर माया लाग्दैमा मसँग के थियो र ? हातमा चुरोटको पाकेट राखिदिएँ । र, आँसी आरन नजिकै राखेँ ।
‘‘सन्चै हुनुहुन्छ ठूला कान्छा बाबु ?’’
‘‘सन्चै दाइ, अलि दुब्लाउनु भएछ ।’’
‘‘छोड्दिनेस बाबु । अब घाटमा जाने बेलाँ ।’’
त्यति नै बेला हर्कली भाउजू आइन् । ‘‘ए आज त ठूला कान्छा बाबु आउनु भएछ, कति समय पछि । म घर जाँदा पनि सोधी राख्थेँ ।’’
‘‘आरामै हुनुहुन्छ भाउजू ?’’
‘‘विष्टहरूको आशिर्वाद लागेको छ बाबु, आरमै छौँ बाबु ।’’
कालो वर्णकी ती हर्केली –भाउजू बोल्दा जहिले पनि सेता दाँत हाँस्थे । उनी बाली उठाउन घर घर आउँथिन् तर कहिल्यै पाथी मानामा धेरथोर भयो भनेर गुनासो गर्दैनथिन् । जति दिए पनि डालामा खन्याउँथिन् । मुस्काउँथिन् । तरकारी दिँदा खुसी दुईगुना बढाउँथिन् । र, हिँड्ने बेलामा ‘‘जय होस हजुरहरूको’’ भनेर बाटो लाग्थिन् ।
दुःखीका दिन दुःखमै रमाउँदा रहेछन् । दुःखमा खुसी फल्नु र फुल्नु नै गरिबहरूको विशेषता हुँदोरहेछ । धन हुने सायद जति नै भए नि लोभले चिन्ता बेसाउँछन् । गरिबहरू बिहान बेलुकाको छाक टार्न सक्ने गुजाराको निम्नतम हैसियतमा जीवनको सफलता ठान्छन् । मिठोमसिनो जे पाकेको छ, परिवार वरिपरि बसेर स्वाद लिन्छन् । खुसी र सन्तुष्टि चाखलाग्दो गरी मुहारभरि छाउँछन् । जुन खुसी महलमा बस्नेको भान्सामा पनि नपाक्न सक्छ । नभेटिन सक्छ । जुन सन्तष्टि अर्बपतिको विस्तारामा अनिद्रा बनेर छटपटाउन सक्छ ।
दिनभरि काम ग¥यो, जे पाकेको छ मिठो मुखले परिवारसँग खायो । थाकेको शरीरलाई निद्रामा विलय गरायो । यही दैनिकीमा सायद हर्केदाइको परिवारले जीवनको मर्म बुझेको थियो । एक प्रकारको पसिनाको सुगन्धमा, श्रमको क्षमतामा र कर्मको विरासतमा बाँचेको थियो । तिनको जीवन । ती हर्कली भाउजू भन्थिन्, ‘‘आजसम्म त विष्टहरूकै भरले घर चलेको छ । अब कतिन्जेल दाइले घन ठोक्न सक्लान् र बाबु । यो आरन पनि सेलायो भने क्यारेर काल भेट्टाउने ।’’
उनको चिन्तामा ठूला सपना थिएनन् । हातमुख जोर्ने धोको मात्र थियो । ‘‘भगवान्ले एउटा न एउटा उपाय लाउलान नि । के भोकभोकै मर्न देलान त नि ।’’ मैले सान्त्वना दिने ध्येयले भनेको थिएँ ।
‘‘खोइ बाबु ! कलियुग लागेर हो कि क्या हो । भगवान् पनि हुने खाने र अधर्मीहरूलाई मात्र हेर्दा रहेछन् । हामीजस्ता भोका बुङगलाई त सरापै मात्र दिँदा रहेछन कि कुन्नी ।’’ ती हर्केली भाउजूले आँत खोल्दै भनिन्, ‘‘वृद्ध भत्ता बढाउँछन् भन्थे बाबु । पाँच हजारसम्म पु¥याउँछन् भन्ने सुन्थे मेलाँ । कहिले बढ्छ होला ।’’
‘‘के बढाउने भत्ता । नेताहरूलाई नै थोरै भएको छ, राष्ट्रको ढुकुटी’’, हर्के दाइले मुख बिगार्दै भने, ‘‘नेता पनि त्यस्तै हुन्, भगवान् भनेका पनि त्यस्तै हुन् ।’’ मैले जबाफ दिनुभन्दा पहिला उनले भनेका थिए । तर उनको भनाइमा एउटा श्रमिकको आवाज थियो ।
पानी प¥यो, आरनको छेउछाउमा तपतपी थोपा प¥यो । हर्केली भाउजूले भनिन, ‘‘अलि यता सर्नाेस बाबु । थोपा चुह्यो ।’’
म अलिकता सरेँ ।
‘‘यति छानो पनि फेर्न सकिएन । विष्टहरू आउँदा रूखमुनि बसे जस्तो भयो । अलि ठूलो पानी पर्नासाथ चुहिने ।’’ हर्केली भाउजूले निन्याउरो मुख लाउँदै भनिन् ।
म आरनको विजोग, तिनीहरूको स्थिति र हर्के दाइको बाध्यता देखेर उदासिएको थिएँ । हर्कली भाउजू भने बोल्दै थिइन्, ‘‘चुनावमा भोट माग्न आउँदा आरन छाइदिन्छौँ, अब खलाँसी चलाउन पर्दैन आरन मेसिन ल्याइदिन्छौँ भन्थे । भोट हालियो । जितेपछि नाकमुख देखाएनन् । गाउँका नेता टोपलिएका नयाँघरे माइलालाई भन्यो । सुनिञ्जेल ‘‘हँ ल ः हँ ल, म वडा अध्यक्षलाई भन्छु । त्यति सानो कुरालाई किन चिन्ता मान्छेउ’’ भन्छन् । भनेपछि गरिदेलान् त नि भनेर आसामुखी भयो । के गर्दिनु, बोलीले मात्र ठिक्क पार्ने । वर्षौं बित्यो । अचेल त भन्न पनि छाडिदिएँ । कति भन्नु एउटै कुरा धर्मछाडाहरूसँग ।’’
म सोचमग्न भएँ । लाग्यो, गरिबलाई किन आशा देखाउनु, आशा देखाइसेकेपछि किन निराशा पार्नु ? कस्ता प्रवृत्तिका हुँदा रहेछन् नेता भनाउँदाहरू ।
मैले केही सान्त्वनाजन्य प्रतिक्रिया जनाउन लागेको थिएँ । त्यहीबेला घन ठटाइरहेका हर्केदाइले भने, ‘‘के गर्ने बाबु दुई छाक खान र एकसरो लाउन त जेनतेन टरेकै छ । यी नेताहरू को भरोसा पर्नु छैन तर यिनको कर्तुत सम्झिने हो भने तिनलाई भोट दिएका यी हातलाई यही घनले पिटेर थिलोथिलो पारौँ जस्तो लाग्छ ।’’
उनको भनाइले मेरो मर्मस्थल छुन्छ ।गोरखापत्रअनलाइनबाट

शनिबार, बैशाख १८, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...