कोरोना तर्साउन मनाङेलाई मन्त्री !

मनाङेलाई मन्त्री बनाएर एमाले पार्टी र सरकारका नेताहरु आफैँ नाङ्गिए भनेर मान्छेहरु खिसीटिउरी गर्दैछन् । डनलाई किन मन्त्री बनाएको भनेर आलोचना गर्दैछन् । सरकारको सत्तोसराप गर्दैछन् । उछित्तो काढ्दैछन् । सरकारको विरोध मात्रै गर्न जानेकाहरु जाबो डन मन्त्री हुँदा पनि छटपटिन्छन् । विरोधमाथि विराेध गर्छन् । यो सबै विराेधका लागि विराेध मात्रै हो । सरकारको काम र प्रगति देख्न नसक्नेहरुको बिलौना हो । सरकारले किन यसो गर्दैछ भनेर थाहा पाउन नसक्नेहरुको अज्ञानीपन हो । भोलिपर्सि प्रधानमन्त्री र मन्त्रीहरुले भाषण गर्दा भन्ने कुरा पनि यही हो । अनि साँचो कुरा पनि यही हो ।

डनलाई जिताएर सांसद बनाउन हुने, तर सांसदलाई मन्त्री बनाउन नहुने ! यस्तो पनि हुन्छ कतै ? मन्त्री, सांसद र नेता बन्नेहरु प्रायः कोही नामले डन छन्, कोही कामले । त्यसमाथि अहिले यस्तै डनहरुलाई ठाउँमा पुर्याउने बेला हो । किन भन्नुहोला । कोरोना तर्साउन ! डनसँग मान्छे पो तर्सन्छ, कोरोना कसरी तर्सन्छ भन्ने पनि लाग्न सक्छ । तर नतर्सी सुख !

कोरोनालाई तर्साउन र भगाउन यसअघि कसले के मात्र गरेनन् ? प्रधानमन्त्रीले बेसार, नुनपानीदेखि अम्बाको पातका भाषण बर्साए । धामीझाँक्री, वैद्य र बुज्रुकहरूले गुर्जो, हर्रो, बर्रो, असुरोदेखि भएभरकाे जडिबुटी र रुखबिरुवा तेर्स्याए । डाक्टर र विज्ञले खोप हाने । पत्रकारले विद्वान बोलाएर ज्ञानगुन बाँडे ।

कोरोनाबाट बच्न कस्ले के गरेन ! मान्छे घरभित्रै थुनिएर बसे । घरकै मान्छेले नचिन्ने गरी नाकमुख छोपे । श्रीमान-श्रीमतीसमेत सँगै बस्न र सुत्न डराए । तर जसो गरे पनि कोरोनाले छोडेन । न नुनबेसारसँग डरायो, न अम्बाको पातसँग तर्सियो । मास्कभित्र छिरेर मुखमा पस्यो । स्यानिटाइजरलाई हरायो । खोप र सूईसँग पनि तर्सिएन । बहुरुपी भएर निस्कियो ।

जस्तालाई तस्तै भनेझैँ बहुरुपी कोरोना हराउन बहुरुपी उपाय नै चाहिने भयो । त्यसैले पहिले देशैभर लकडाउन लगाएकोमा सरकारले अहिले ठाउँ छुट्याएरै कोरोनालाई निषेध गर्दैछ । पहिले कोरोनाको नाम सुन्नेबित्तिकै धेरैको सातो जान्थ्यो । तर अहिले धेरै डराउन छाडेका छन् । कोरोनासँगै भेटेरै, जुधेरै, लडेरै उमाथि जित निकाल्न बिनाकाम मान्छे लखरलखर डुल्दैछन् । मास्क, साबुनपानी, स्यानिटाइजर र भौतिक दूरीलाई बाल दिँदैछन् ।

सरकारका मान्छे र नेताहरु झन् के कम ? कोरोनालाई समेत जिल खुवाउने गरी सत्ताको दाउपेचमा रमाउँदैछन् । पालैपालो फ्लोर क्रस, अविश्वासको प्रस्ताव, फेरि विश्वासको प्रस्ताव, कारबाही, नियुक्ति, शपथमा भुल्दैछन् । अविश्वास फेल गराउन र विश्वास पास गराउन कतिले कोरोनाको समेत सहारा लिए । कोरानाको नाम जप्दै सांसदलाई अस्पताल लगेर सुताउने र उठाउने काम समेत भयो।

यो सबै कोरोनालाई भुलाउन र तर्साउन गरिएका क्रियाकलाप हुन् । चुप लागेर बस्यो भने कोरोनाले झनै हेप्छ । त्यसैले अस्पताल बिरामीले भरिए पनि, स्वास्थ्यकर्मीलाई भ्याइनभ्याइ भए पनि, दिनहुँ मान्छे मर्ने क्रम थपिए पनि सरकार र संसदमा चटक देखाउने क्रम रोकिएको छैन । कोरोना चटक देखेर भुलिन्छ, मान्छेलाई आक्रमण गर्न बिर्सिन्छ भनेर नै यसो गरिएको हो ।

कोरोनालाई भुलाउने र तर्साएर भगाउने श्रृङ्खलाको अर्को कडी हो मनाङेलाई दिएको मन्त्री पद । मनाङेलाई धेरैले सांसद कम डन बढी भनेर चिन्छन् । मन्त्री, सांसद र नेतासँग कोरोना अलिअलि मात्रै डराउने हो । डन नै मन्त्री भएपछि कोरोना कसो नतर्सेला ? डनसँग मन्त्री, सांसद र नेता पनि डराउँछन् भने डन मन्त्री भएपछि कोरोना नडराइ बस्न टिक्न सक्ला त ? डन देख्दा मान्छेको त सातो जान्छ भने जाबो किरा, भुसुना नडराइ सुख ? अहिलेसम्म प्रधानमन्त्री, मन्त्री, सांसद र नेताहरुका चटक मात्र देखेर रनभुल्ल परेको कोरोना अब डन नै मन्त्री भएपछि तर्सन्छ । सातो जान्छ । लत्र्याकलुत्रुक परेर डन मन्त्रीलाई सलाम ठोक्छ र आफ्नो बाटो लाग्छ ।

डनले नेता, मन्त्री र कर्मचारी सबैलाई ठाउँका ठाउँ तह लगाउन सक्छ भने कोरोना किन तह लगाउन सक्दैन भन्ने दिव्य ज्ञान सुन्दर नगरि पोखरा निवासी मुख्यमन्त्रीलाई सबैभन्दा पहिले भयो । आशा गरौँ, यस्तो ज्ञान आउँदाे दिनमा अरु प्रदेशमा द्रुत रुपले विस्तारित हुनेछ ।

शनिबार, बैशाख १८, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...