सन्तान र सम्पत्ति बीचको मनोवैज्ञानिक द्वन्द्व

संगीता रेग्मी पौडेल
देवकी भाउजू इट्टाको भारी बिसाएर ठेकेदारको आँखा छल्दै छोरालाई दुध पिलाउँछिन्, आँत रित्याउँछिन् । दुधले नपुग्लाकी भनेर आफूले खाँदै गरेको खाजा चपाएर चराले जस्तै गरी खुवाउँछिन् । छोराको अनुहार हेरेर उनमा नयाँ ऊर्जा पलाउँछ । आधा दिन इट्टा बोकेर थाकेको शरिरले फेरी चारवटा इट्टा थपेर बोक्न सुरु गर्छिन् । छोरालाई नयाँ भोटो किन्दिने आशमा ।
छिमेकी रमिला दिदी भर्खरकी सुत्केरी भन्छन् देवकी भाउजूको छोरा सँगैकी रे यिनकी छोरी । स्याहारसुसार र खानपानमा कुनै ममी छैन । घरका सबैजसो मान्छे उनको सेवामा लागेका छन् । रमिला आफ्नी छोरीलाई स्तनपान गराउन गा¥हो भएर फर्मुला दुध खुवाइदिनुहोस् भन्दै भित्तापट्टी म्ुन्टो फर्काउँछिन् ।
मेरी बालसखा परी सम्पन्न परिवारकी शिक्षित र आज्ञाकारी बुहारी । जिन्दगी भर दुःख गर्दै पढेर त्यसको प्रतिफलस्वरुप प्राप्त जागिर छोडेर परिवारको व्यवसाय र श्रीमानको जागिरमा सन्तुष्ट हुँदै घर गृहस्थीमा व्यस्त हुन थाली । आमा बनी छोरा छोरीको सानो सानो खर्च आफ्नो खर्च सधैं अरुसँग हात थाप्नुपर्ने । दरिद्र कहाँ होर उसकै नाममा घर छ, घडेरी छ, बैंकमा व्यालेन्स पनि छ तर उसको त नाम मात्र हो । कारोबार केही छैन गरोस् पनि के नत घरको पर्खालमा उसका आवश्यकता पूरा हुने कुरा छन्, नत घडेरीमा । साना छोराछोरीको अगाडि आज दाल सकियो, चिनी सकियो, छोराको स्कुलमा लाग्ने शुल्क, पानीको शुल्क भन्दै हात थापिरहेकी छे दिनप्रतिदिन कमजोर र निरिह बन्दै।
निशा पर्वतमा डेरा गरेर बस्छिन् । प्रायजसो उनको र मेरो भेट दुध डेरी र गंगाधर बाजेको किराना पसलमा हुन्थ्यो । चिनजानको मान्छे हो की जस्तो गरी उसलाई देख्दा मेरो आँखा थोरै चम्किन्थे अनि ओठ थोरै खुल्थ्यो हाँस्न खोजेझैं, उसको हाउभाउ देख्दा पनि त्यस्तै लाग्थ्यो एकदिन उसको मलिन अनुहार र सुनिएका आँखाले मेरो ध्यान खिच्यो । उसको आँखा र ओठको भावले कुरा बुझ्न सकिन सोधें सन्चो छैन र आज ? श्रीमानको सरुवा भएसँगै छोराहरुको उज्जल भविष्यको लागि भनेर स–परिवार पर्वत आएका रहेछन् । जागिरे । श्रीमानले सानो–सानो निहुँमा मैले कमाएको सबै उडाएर सकिस्, अनेक बाहनामा पैसा माग्छेस् छोराहरु स्कुल जान्छन् दिउँसो के गरेर बस्छेस् । तँलाई किन काम गर्नुप¥यो, मैले कमाएको छु तेरा आमा छोरालाई चैन छ दिनका दिन त्यही रडाको हुने रहेछ घरमा । के सिक्लान् मेरा छोराहरुले छोराहरु त्यही दृश्य हेर्ने र सुन्ने गर्छन् । एकै श्वासमा सबै कुरा बेलीविस्तार लगाई । उसको मन हल्का भए होला तर मेरो मन भने एउटा ठूलो जाँतोले थिचेझैं भयो । आमाका व्यथा कति छन् कति । कुन वर्गका आमा ठीक होलान् ? आफ्नो सन्तानको लागि दिमाख घनचक्कर लगाउन थाल्यो ।
वैदेशिक रोजगारमा भएकी भान्जीका दम्पती नौ महिने सानी छोरी बोकेर नेपाल आएका छन् । एकदुई महिनाको छुट्टीपछि छोरी घरमा छोडेर पून विदेश जाने योजनामा छन् । बुढा भएका आमा बा अनि सानी छोरी अनेक गर्दा पनि फेसबुक र म्यासेन्जर चलाउन जानेका छैनन् । युवावर्ग विदेशिएका बूढाबूढी र बालबच्चाको साम्राज्य छ गाउँमा । लाहुरेको चक्लेट लिएर मास्टर्नी नानीको घरमा आमा पुिगन् भने बल्ल एउटा फोटो खिचेर पढाइदिन्छिन् म्यासेन्जरमा अनि त्यही फोटो फेसबुकमा हाल्न भ्याउँछन्, विदेशमा भएका बा आमाले “मेरो मुटुको टुक्रा छिट्टै नेपाल फर्कर आउनेछौं दुःख तिम्रै लागि त गरेका छौं” भन्दै ।
सरकारी स्कुलमा पढाउने मितिनी आमा बन्नेवाला छिन्, आफ्ना विश्वासी मान्छे माइती लाग्थ्यो सायद त्यसैले माइतीघर छेउकै स्कुल रोजेर सरुवा मिलाइन् । छोरी जन्मी सजिलो कहाँ थियो र माइतीघर भाउजू, बुहारी साना–साना भतिजा भतिजी त्यसैले बुढी भएकी सासुलाई दिनमा दुईपटक फोन गरेर बारम्बार भन्न थालिन् नातिनी हेर्न आउनुहोस् । चपेटामा परेकी छिन् सासु धम्कीले ग्रस्त आफ्नो श्रीमान् स्याहारुन् कि नातिनी ।
समाजका सबैखाले आमाहरुका कथा भन्दै गर्दा म आफ्ना कथा नसुनाई कहाँ बस्न सकुँला र । म पनि यहि समाजमा बाँचेकी एक आमा हुँ । देवकी भाउजू जस्तो सङ्घर्षशील आमा बन्न पनि सकिन । रमिला जस्तो भाग्यमानी अनि कठोर आमा पनि होइन । मितिनी जस्तो घर परिवारलाई लत्याएर माइतीकै भर परेकी पनि छैन । खोई आफैले आफूलाई कुन दर्जामा राखुँ ? निजी स्कुलको थोरै पैसा आउने काम छोडु लाग्थ्यो परी र निशाको कथाले घोच्थ्यो अर्को स्कुल खोजु जस्तो लाग्थ्यो मितिनीको कथाले पोल्थ्यो घरदेश छोडेर प्रदेश हानिउँकी जस्तो लाग्थ्यो भान्जीको कुराले छुन्थ्यो । एउटा निर्णय गर्नु नै थियो मलाई त्यसैले सानो छोरालाई हजुरबा हजुरआमाको जिम्मा लगाएर काममा फर्कने निधो गरें । मलाई राम्रोसँग थाहा थियो तीन फुपू, दुई काका र बाबा हुर्केको परिपक्क काख घरमा भएको एक्लो नाति÷ छोराले दुःख पाउँदैन ।
नाति घरमा राख्ने भएपछि आमा बा निकै खुसी देखिनुहुन्थ्यो । हिउँदे खेतीपाती केहि नगर्ने निर्णय गर्नुभएछ । सजिलो कहाँ थियो र आमा बिनाको सानो बच्चा स्याहार्न । साउँको भन्दा व्याजको माया भन्थे त्यही भएछ क्यारे कठिनाइको एक छनक पनि देखाउनुभएन । उहाँहरु खुसी भएको देखेपछि मन अझ धेरै विश्वस्त भयो । मेरो काखमा भन्दा अझ धेरै स्याहारसुसार पाउनेछ छोराले ।
भोलीपल्ट बिहान आफ्नो काखको सानो छोरालाई छोडेर हिँड्नु थियो । त्यो रातभर कोठाको बत्ती निभाउन मन लागेन । सिङ्गो रात मनमा विविध प्रश्न प्रतिप्रश्न, गर्दै बित्न आँटेको थियो । मनले भन्थ्यो सन्तान र सम्पत्ति तुलना गर्न उपयुक्त हँुहैन । आमा बाबाको काखमा खेल्न पाउने अधिकार हनन गर्नुहुँदैन । अरुको लाख आमाको काख नै प्यारो छोराछोरीको लाागि । मन फेरि शान्त हुन्थ्यो र भन्थ्यो केही त बिगे्रको छैन मेरो कमाइले के पो पुगेको छ र छोराका बाले त कमाएकै छन् नी ! आमाले घर गृहस्ती पो समाल्ने हो । छोराले सिरक फाल्यो त्यो नओढाउँदै मनले फेरी अर्काे तर्क गर्न भ्याइसक्छ निशा र परीका छोराछोरी जस्तै घरको किचलो सुन्नुपर्ने त होइन मेरो छोराले ? मन भावुक बन्छ, आँशुका धारा बग्न थाल्छन् अविरल मानौं ति आँशुले विश्राम नै नलिने हुन् कि जसरी ।
मोबाइल उठाएर घडी हेरें ४ बजेको रहेछ जुन समय छोराको दुध खाने समय थियो । मैले छोरालाई काखमा राखेर दुध खुवाउनुभन्दा पहिला नै आँ–आँ गरेको थियो चराका साना बचराले आमाले चारो लिएर आउँदाझैं । मन छियाछिया भयो भोली बिहान के खाला छोराले ? मेरो काखमा निर्धक्क सुतेको थियो छोरो मिलाएर बिस्तारामा सुताइदिएँ । मेरा सामानको पोको विस्तारै निकालें छोरालाई फर्केर हेर्ने र चुप्प खाने आँट नै आएन मेरो । सामानको पोको काखीमा च्यापी विस्तारै तल्लो तलामा झरें र नित्य कर्ममा लागें । असल आमा बन्न सकुँला या नसकुँला । असल र संस्कारी बुहारी पक्कै छु म । बिहानमा बुहारीले गर्ने काम भनेर हिन्दु संस्कारले तोकेका सबै कामहरु सकें ।
त्यो अबोध दुधे बालकलाई छोड्ने मन कहाँ थियो र । रोयो कि जस्तो आभास भयो दगुर्दै कोठातर्फ गएँ ढोका खोलेर हेर्दा छोरो आनन्दसँग सुतेको रहेछ । आमाको कोठा अगाडि गएर विस्तारै उज्यालो भैसक्यो, म हिँडें झिनो स्वरमा बोली पु¥याएँ । यति राती कहाँ जाने कुरा गरेकी ? उज्यालो हुन त देऊ भन्दै ढोका खोल्दै हुनुहुन्थ्यो म घरको नेटो कटिसकेकी थिएँ । रातभरका अनिदा अनि रोएका आँखा निराश अनुहार लुकाउनु थियो मलाई ।
हिउँदको समय आकाशमा ड्याम्म बादल लागेको थियो, मिर्मिरे उज्यालो हुँदै थियो कतैकतै टाढाटाढा देवालयका शङ्ख घण्टको आवाज आउँथ्यो त्योबाहेक बाटो चकमन्न सुनसान थियो । त्यही चकमन्न सुनसानको फाइदा उठाउँदै मन फेरी तरङ्गित हुन थाल्यो । ‘घुमीफिरी रुम्जाटार’ भने जस्तै उही पूरानो कुरा सन्तान र सम्पत्ति बीचको मनोवैज्ञानिक द्वन्द्व । छोरो विस्तारै ठूलो हुँदै जान्छ उसले के सोच्ला !ÉÉआमा बाबाले गर्ने दुःख के का लागि, त्यही निहुँमा कलिला छोराछोरीको काख खोस्नु कत्तिको ठीक होला ? दुःख गरेर पढियो घरमा यत्तिकै थन्किन पनि मन मान्दैन अनि आमा बन्नुको अर्थ सबै कामकाज नै छोड्नु पनि कहाँ हो त । दुई वर्षसम्म बच्चाको लागि स्तनपान अमृत समान हुन्छ । यो सरकारी नारा कुन आमाको कानमा नगुञ्जेको होला र । थाहा नपाएझैं वेवास्ता गर्नुपर्ने कयौं आमाको बाध्यात्मक अवस्था छ । घरमा बस्दा विविध मानसिक तथा शारिरीक समस्या भोग्नुपर्ने अनि घर छोडेर काममा निस्कनु आमाहरुको लागि फलामको चिउरा चपाउनु समान छ । निम्नवर्गीय आमाको प्रतिनिधित्व गर्ने देवकी जस्ता कयौं आमाहरु हाम्रो समाजमा छ्यापछ्याप्ती देख्न पाइन्छ । ढुङ्गा र इट्टासँग लडेर रुखो सुखो खाएर पोषणयुक्त खानाको अभावमा दुई वर्षसम्म बच्चालाई स्तनपान गराउने कुरा पनि कठिनपूर्ण नै छ । कसले बुझाउने बुझि अबुझ बन्ने रमिलालाई स्तनपानको महत्व ? परी अनि निशाका छोराछोरीले कति सुरक्षित महसुस गर्लान् ? द्वन्द्वग्रस्त पारिवारीक वातावरणमा । कति ठाउँमा स्तनपान कक्ष होला ? आमाको दुध अमृत समान भन्दै नारा लगाउने सरकारले ९५ दिन मात्रै सुत्केरी महिला कर्मचारीलाई विदा दिन्छ त्यसपछिका दिनहरुमा आमा लाचार बन्दै काममा फर्कनुपर्छ । निजी तथा गैह्रसरकारी संघसंस्थामा त मातृशिशु स्याहारको अवस्था झनै बिजोक छ । यी तमाम समस्यासँग पौठेजोरी खेल्दै एउटी महिला कसरी असल आमा बन्न सक्छे भन्ने मेरो मनमा उब्जिएको प्रश्न अनुत्तरित नै छ ।

मङ्लबार, बैशाख २१, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...