महामारीमा आफ्नो मन र शरीरलाई सन्तुलन बनाइ राख्न अपनाउनुहोस् यी उपाय

विपत्तिको समयमा मानिसको मन बढी नै चल्ने गर्छ । मन जति चलायो त्यति नै शरीरलाई गाह्रो हुन्छ । यस बेलामा शरीरका ज्ञानेन्द्रीय बढी नै सतर्क हुने गर्छन् । कति बेला के सुन्न पर्ने हो, के देख्न पर्ने हो र के भोग्न पर्ने हो भन्ने जस्ता भावनाहरु मानिसको मनमा बारम्बार आइरहन्छ ।

समस्या आउन बाँकी नै हुन्छ । त्यसलाई आफूले झेल्न पर्छ या पर्दैन भन्ने पनि निश्चित हुँदैन । तर पनि त्यसकै कल्पनामा मानिसको मन आत्तिरहन्छ ।

विपत्तिको समयमा मन आत्तिनु, डर हुनु र चिन्ता लाग्नु स्वाभाविक हो । यसलाई असामान्य परिस्थितिको सामान्य प्रतिक्रियाहरू हुन् भनेर बुझ्नु पर्छ ।

तनाव भन्नाले कुनै अप्ठ्यारो अवस्थामा मानिसको मनमा आउने अस्थिरता र शरीरले देखाउने प्रतिक्रिया हो । तनाव भनेको हाम्रो वातावरणमा घटेको कुनै पनि घटनाहरू प्रतिको मानिसहरुको प्रतिक्रिया हो । जसले तनाव अन्तर्गत शरीरको अप्ठ्यारो अवस्थालाई जनाउँछन् । परिस्थिति अनुसार मानिसको मनस्थिति परिवर्तन भइरहेको हुन्छ ।

परिस्थिति परिवर्तन गर्न सक्दैनौं जुन हाम्रो नियन्त्रणभन्दा बाहिरको कुरा हो । तर हाम्रो मनस्थिति भने परिवर्तन गर्न सक्छौँ । हामीले जे सक्छाैं त्यही गर्ने हो । त्यसैले यस्तो बेलामा मनस्थितिलाई बलियो बनाउन प्रयास गर्नुपर्छ । मन सकारात्मक कुरामा भन्दा पनि नकारात्मक कुरामा बढी जान्छ । नकारात्मक कुराले हामीलाई थप पीडा दिन्छ र असहज बनाउँछ । जे सोच्छौँ त्यस्तै हुन्छौँ । सोचाई अनुसार शरीरले पनि प्रतिक्रिया जनाउँछ ।

सोचाई जहिले पनि सकारात्मक लिनुपर्छ । मन शान्त भएन भने शरीर पनि शान्त हुँदैन । त्यसैले मनलाई शान्त बनाउनु नै उत्तम विकल्प हो । हामीले यस्तो खालको विपद् महसुस नै गरेका थिएनौँ, त्यसैले बढी डराएका हौँ भनेर आफूले आफूलाई नै सम्झाउनु र सम्झनुपर्छ । हल्ला तथा डर त्रासका पछिभन्दा पनि वास्तविकतामा आधारित भएर व्यवहार देखाउने प्रयास गर्नुपर्छ ।

मन मनले आफूले आफैलाई म शान्त छु, यस्तो बेलामा आत्तिनु हुँदैन भनेर भन्नुपर्छ । पहिला पनि मनमा गाह्रो हुँदा हामीले हाम्रो मन हामी आफैँले सम्हालेको हो त्यसैले सतर्क रहने हो तर आतङ्कित हुने होइन । सबैले सम्झौँ हाम्रो अहिलेको भोगाई तथा अनुभव कुनै पनि प्रकोपप्रतिको सामान्य प्रतिक्रिया हो । सबैलाई नआत्तिन र डरलाई साहसका साथ सामना गर्न हौसला दिने गरौँ  ।

विपत्तिमा देखिने असरहरू

डर र चिन्ता लाग्ने

रिसाउने, झर्किने, एक्लै बस्न मन लाग्ने

सम्झना शक्ति हराएको जस्तो वा बिर्सिएको जस्तो हुने

मुटु ढुकढुक हुने, विरक्त लाग्ने

आत्तिने, अत्यधिक तनावको महसुस गर्ने र छटपटी हुने

खान मन नलाग्ने, निन्द्रा गडबडी हुने, सास फेर्न असहज भएको जस्तो हुने

दुःखी देखिने, नरमाइलो मान्ने

मुख सुक्ने वा शरीर तातिने

 जाँड रक्सी तथा चुरोट बिँडी खाने बानी बढ्ने

माथि भनिएका प्रतिक्रियाहरू कुनै मानसिक रोग लागेका लक्षणहरू होइनन्। यी प्रतिक्रियाहरू थोरै वा धेरै सबैमा हुने गर्छ । यस्ता असरहरू तथा भावनाहरू केही दिनदेखि केही हप्तासम्म हुनसक्छ । दुई वा दुई भन्दा बढी लक्षण, दुई वा दुई हप्ताभन्दा बढी भयो भने मनोचिकित्सक, मनोविद् र परामर्शकर्ताहरूसँग परामर्श लिनुपर्छ । विपत्ति बिस्तारै सामान्यतर्फ जान थालेपछि हामीले अनुभव गरेका प्रतिक्रियाहरू पनि बिस्तारै सामान्य हुँदै जान्छ ।

यी अप्ठ्यारा प्रतिक्रियाहरू घट्दै गएका छन् भने यो सामान्य हो भनेर बुझ्नुपर्छ ।

यस्तो बेलामा के गर्ने ?

त्रासदीपूर्ण घटना सहने तरिका तथा क्षमता सबैमा एकनासको हुँदैन, घटी बढी नै हुन्छ । जसरी अरु कुराहरु पनि व्यक्ति व्यक्तिमा फरक हुन्छ । यस्तो समयमा मन र शरीरलाई कसरी शान्त राख्ने त ?

लामो सास तान्ने र फ्याँक्ने अभ्यास गर्ने

(मुख बन्द गर्ने र नाकले गहिरो सास लिने र केही सकेण्ड रोकेर बाहिर फाल्ने यो अभ्यास ५ मिनेटभन्दा बढी गर्ने । समय समय अनुकूल यो अभ्यास गर्न सकिन्छ ।)

ध्यान तथा योग गर्ने

एउटै कुरामा गहिरो सोचाई नराख्ने

आफ्नो मनको भावनाहरू अरूलाई भन्ने बानी बसाल्नु वा परिवारमा छलफल गर्नुपर्छ ।

अनावश्यक तनाव नलिने र खुसी बन्ने प्रयास गर्ने

कोरोना सम्बन्धीको डर लाग्दा भिडियो र बढी समाचारहरू नहेर्ने

प्रत्येक दिन कम्तीमा ३० मिनेट व्यायाम गर्ने

दैनिक कार्य तालिका बनाउने र त्यही अनुसार व्यवहार गर्ने

नयाँ किताबहरू पढ्ने वा आफ्ना भावनाहरू लेख्ने

सुतेर मात्र नबस्ने सृजनशील बन्न कोसिस गर्ने

गीत सङ्गीत सुन्ने, गीतको तालमा शरीर तन्काउने तथा हाँस्यटेलिश्रृंखला हेर्ने

खानपानमा ध्यान दिने

आफूलाई मन पर्ने कामहरु गर्ने

आफूले आफूलाई व्यस्त राख्ने

परिवार, साथीभाइ तथा आफन्तलाई फोन गर्ने । सुखदुःख साटासाट गर्ने

यी अवस्थामा सहयोग लिने

विपतकाे समयमा डर, चिन्ता, पिर तथा रिस हुन स्वाभाविक हो । असामान्य अवस्थामा हुने सामान्य प्रतिक्रिया हुन् भनेर बुझ्नुपर्छ । यस्ता समस्याहरू सबैलाई हुन्छन् । तर ती समस्या कम हुनुको साटो बढ्दै गयो भने यस्तो बेलामा विशेषज्ञको सहयोग लिनुपर्छ ।

विपत्तिको समयमा पैदा भएको डर, त्रास, आत्तिने जस्ता समस्याहरू बढ्दै गएमा

दुई हप्ता भन्दा बढी निन्द्रामा समस्या भएमा

दैनिक काममा ध्यान दिन गाह्रो भएमा

काममा जाँगर कम हुँदै गएमा, मनमा निराशा तथा भविष्यप्रति निराशा बढी हुँदै जान थालेमा

रिस तथा आक्रोशको मात्रा बढ्दै जान थालेको र सम्बन्धमा असर पर्दै जान थालेको छ भने

एक्लै बस्ने, टोलाउने र खाना खानै छाडेमा

चिच्याउने, कराउने र रुने गरेमा

यी माथिका समस्याहरू बढ्दै गएका छन् भने नजिकको स्वास्थ्य संस्था, अस्पताल, मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने सङ्घसंस्था, मनोचिकित्सक, मनोविद् र मनोविमर्शकर्तालाई भेटेर आफ्नो समस्या राख्नुपर्छ ।

प्रतिक्रियाको लागि : [email protected]

उज्यालोअनलाइनबाट

बिहिबार, बैशाख २३, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...