कोरोनिका

 बखतबहादुर थापा

शिवलोकमा आकस्मिक बैठक बोलाइयो । बैठकमा त्यस्ता शक्तिहरू आमन्त्रित थिए जसको एक दिनमा पृथ्वीले आफ्नो कक्षमा लगभग ३६,५०० चक्कर लगाउँछिन् । सबैभन्दा ढिलो पुगिन् पृथ्वी । उनी आँखा मिच्दै, मुख पुछ्दै गएर लुसुक्क बसिन् । त्यहाँ उपस्थित प्रायः सबैको मुख मलिन देखिन्थ्यो ।
शिवजीले सोधे, “देवी पृथ्वी ! तिमी दिनानुदिन अँधेरिँदै गइरहेकी देखिन्छ्यौ, के भयो ?”
“मानव जातिको ममत्याइँ हजुर ।” पृथ्वी हात जोड्दै उठिन् । “महादेव ! मुनुष्यले मेरो जिउ खोपेर घातु निकाल्यो । ठूलाठूला कलकारखाना बनायो । रेल बनायो, गाडी बनायो, हवाईजहाज बनायो । मेरै जिउमा दुलो पारेर खनिज तेल निकाल्यो र ती गाडीहरू मेरै जिउ खुइलिने गरेर दौडाइरहेको छ । एकआपसमा फुर्ती देखाउनलाई क्षेप्यास्त्र बनाउँछ र मेरै जिउमा घाउ लाग्ने गरेर पड्काउँछ । खोलानालाको पानी फोहोर बनायो । आफूलाई चाहिने पानीका लागि डिप बोरिङ गरेर मेरै जिउ निचोरिरहेको छ । प्राकृतिक स्रोतसाधनको जथाभावी प्रयोगले अन्धकार छ वायुमण्डल । प्रभू ! म कालीपिली मात्रै हैन, धुवाँधुलोले आँखा पनि हेर्न सकिरहेकी छैन ।”
“काल ! तिमी पनि प्रतिदिन दिक्क हुँदै गइरहेका देखिन्छौ ! मेरो अन्ताज ठीक हो ?”
“हो प्रभु ! पहिलेका मान्छेहरू स्वर्ग नर्कको विश्वास गर्थे र प्रायः स्वर्गको अभिलाषा राखेका हुन्थे । बूढो भइयो, अब काल आउँछ स्वर्ग लान्छ ! काल आउँछ लान्छ ! भन्दै बसेका हुन्थे । अबका मान्छेहरू हैट ! को जान्छ कालसँग ? कहाँ लान्छ कालले ? स्वर्ग भनेको सुख, नर्क भनेको दुःख । जसरी हुन्छ पैसा कमाऊ र स्वर्गको अनुभूति आजै गर ! भन्ने मानसिकता राख्छन् र अनेक बुद्धि लगाउँछन् । मेरो काममा बाधा पु¥याउँछन् । अहम्ले मानवको घैँटो भरियो प्रभु ! मसँग कति छ र कहाँ लिएर राख्दा जँच्छ भन्ने ख्यालै गर्दैनन्, अर्कालाई हेरेर आफ्नो शक्तिको सीमा छुट्याउँछन्, अर्काको आपत्विपत्मा रमाउँछन्, सिक्ने सम्झने मामिलामा आँखा, कान थुनेर बस्छन् । रमाउन अर्कालाई पीडा दिन्छन् । स्वाद फेर्न अर्काको ज्यान लिन्छन् । प्राकृत स्रोतको जथाभावी प्रयोगले प्रकृतिलाई कुरूप बनाइरहेका छन् । अदृश्य शक्तिलाई चुनौती दिन्छन् । भगवान् ! कुरा गरौँ कुरैको दुःख
भनेजस्तो मान्छेको कुकृत्य सम्झिनसक्नु छ ।” कालले दुःखेसो पोख्यो ।
“ब्रह्माजी ! मान्छे त मात्तिएछ त, चाहिनेभन्दा बढी छुट पाएर हो कि ?”
“देवाधिदेव महादेव ! कतिलाई दिनु ? के दिनु ? म त खालि बुद्धि दिन्छु र भन्छु– यसैलाई खियाओ र जे गर्नुछ आफै गर । त्यही भएर त टेर्दैनन् मान्छेहरू मलाई । न मेरो मूर्ति बनाउँछन्, न त पूजाअर्चना नै गर्छन् ।” ब्रह्मा दिक्दार देखिए ।
“जन्मिएपछि प्राणी पालनकर्ताको पोल्टामा पुग्छ । विष्णुजी ! मान्छेहरू मात्तिए छन् त, तपाईंको मायाले होला ।”
“भगवान् ! भाग्यमा केही नलेख्नु र खालि बुद्धि दिनु नै औधी भयो तिनलाई । आफूखुसी भागभोग गर्नलाई जता मन लाग्यो त्यतै बुद्धि लगाउँछन् । मेरो आवश्यकतै ठान्दैनन् । सफलताका लागि गणेशजीलाई सम्झन्छन्, पैसाका निम्ति लक्ष्मी मातालाई ढोक्छन्, कहिलेकाहीँ सरस्वती माता सम्झनेहरू पनि छन् । प्रायः मूर्ति बनाउने, मन्दिर बनाउने र सिँगारपटार गर्नेहरूले हाम्रो नाममा धन्दा चलाइरहेका छन् । सर्वसाधारणलाई ठगिरहेका छन् । आवश्यकता परे ती धुपौरेहरू आफै दुर्गा, आफै ब्रह्मा, आफै विष्णु, आफै महादेव बनेर लीला रच्छन् !”
एवं प्रकार सबै देवीदेवताको गुनासो सुनेपछि महादेव ध्यानमा लीन भए । केही बेरमै आँखा खोले र इन्द्रलाई बोलाए । इन्द्र हात जोड्दै महादेवका सामुन्ने पुगे । महादेवले ख्याक्क खोके । उनको मुखबाट वरिपरि खुट्टैखुट्टा भएका सानो जीव निस्क्यो । त्यसको चारैतर्फबाट हाँस्यो गुन्जिरहेको सुनिन्थ्यो तर त्यस जीवका नाक, मुख, आँखा, कान केही देखिन्नथे ।
महादेवले त्यसलाई इन्द्रका हातमा राख्दै भने, “यो खबरदारी हो । यस सभामा उठेका गुनासाहरूको मलम । हामीले उन्माद मुक्त समाज बनाउनु छ । यसलाई लिएर त्यस्तो ठाउँमा राख, जहाँ मान्छेमा पशुप्रवृत्ति देखिओस् । प्राणीले प्राणीलाई नै खाइरहेको होस् । मान्छे र राक्षस
छुट्याउनै गाह्रो परोस् !”
“जो आज्ञा महादेव !”
खबरदारीलाई लिएर इन्द्र पृथ्वीमा झरे । उनको पहिलो पाइलो हिमालमा परेछ । हिमालमा पनि फाट्टफुट्ट प्राणी थिए तर त्यता अल्झेनन् उनी । पहाडमा झरे । पहाडको जङ्गल खासै ठूलो थिएन । जङ्गलमा भएका केही प्राणीहरू मांसाहारी रहेछन्, जो आफू बाँच्नका लागि अर्काको प्राण लिन्थे । पहाडमा मान्छेको बस्ती पनि खासै बाक्लो थिएन तर पनि इन्द्र घरघर चाल्दै हिँडे । दिनमा गाउँलेहरू आआफ्नो काममा हिँड्थे, साँझबिहान रुखोसुखो खान्थे । कसैको घरमा काटमार भएन । माछामासु पाकेन । गाउँलेहरू मासु नै खाँदैनन् कि क्या हो ? उनी दोधारिँदै थिए, गाउँलेहरूको कुल पूजा आएछ । सबै जम्मा भए । चार–पाँचवटा बोका, आठ–दशवटा कुखुरा काटे । रगत देवतालाई चढाए । आफूले मासुभात खाए । दसैँ आयो । गाउँलेहरूले आफ्नो गच्छेअनुसार घरघरमा पशुको बलि चढाए । देवीदेवताको नाममा माछामासु खाए, नाचगान गरे । चाड सकियो गाउँलेहरू खेतबारीमा व्यस्त भए । इन्द्रले सोचे– ‘मान्छेहरू देवीदेवतालाई खुसी बनाउन पो काटमार गर्दा रहेछन् । खेर गएको मासु खाएर रमाउँदा रहेछन् । कहीँकतै रक्सी खानेहरूले कुखुरा काट्छन्, नत्र माछामासु खानलाई पनि गाउँमा चाडबाड आउनु पर्ने रहेछ । गाउँ खबरदारी छोड्न लायकको छैन ।’
इन्द्र बजारमा गए । त्यहाँ मान्छेहरू थुप्रै थिए । होटेलहरू पनि रहेछन् । होटेलमा जाँडरक्सी, माछामासु खुब खाँदा रहेछन् । बजारमा मासु पसल पनि थिए । त्यहाँ मासु सकिनेबित्तिकै अर्को प्राणीको हत्या गरिन्थ्यो । अहो… महादेवको सङ्केत सहरै हो क्यार ! जहाँ मान्छे धेरै हुन्छन्, त्यहीँ हत्याहिंसा हुँदो रहेछ । मनमा लागेपछि उनी ठूलै सहरमा पुगे । त्यहाँ मासु पसलको पङ्क्ति थियो । प्रायः मासु होटेलहरूमा जान्थ्यो । त्यसपछि हुनेखानेहरूको घरमा । मजदुरहरू पनि शारीरिक थकान मेटाउनलाई मासु र रक्सी खाँदा रहेछन् । प्रायः तनाव मुक्त हुन खोज्नेहरूले रक्सी र मासु खाने गरेको देखिन्थ्यो । कोही त स्वादका लागि पनि मासु खाँदा रहेछन् । ठूलो सहर, ठूलै जमात, धेरै हत्याहिंसा । चाल्दै जाँदा इन्द्र माछामासु बेचविखन हुने बजारमै पुगे । त्यहाँ जिउँदै जनावरलाई झुन्ड्याउँथे, तातो पानी खन्याउँथे, प्राणी तड्पन थाल्थ्यो । त्यसको चित्कार सुन्दै, रमाइलो मान्दै, टाउको हल्लाउँदै मासु काट्थे । जिउँदै प्राणीको मुखबाट हात कोच्थे, आन्द्राभुँडी निकालेर फाल्थे, पेटमा चावल ठुस्थे र आगोमाथि सुकाइदिन्थे । त्यस्तो परिकारलाई पहिलो प्राथमिकतामा राखिँदो रहेछ । अहो… मान्छेहरू त राक्षसभन्दा पनि …
इन्द्र अझैँ अगाडि बढे । उनी यस्तो ठाउँमा पुगे जहाँ मानवलाई मात्रै बाँच्ने अधिकार थियो । मानौँ अरू प्राणी त मान्छेको पेट भर्नकै लागि जन्मिँदा रहेछन् । आफू बाँच्नका लागि अर्काको हत्या गर्नु त ठिकै हो तर मान्छे बाँच्नका लागि अन्न फलाउँछ । फल फलाउँछ । प्रकृतिले पनि मान्छेका लागि धेरैभन्दा धेरै खाद्यहरू दिएको छ । के खाने, के नखाने छुट्याउनलाई अक्कल पनि दिइएको छ । फेरि पनि मान्छेले भगवान्को नामबाट मासु खान सुरु ग¥यो । त्यसपछि शारीरिक श्रमको नाममा, रक्सीको नाममा, रमाइलोको नाममा, स्वादको नाममा अनेक बहानामा प्राणीको हत्या गरिरहेको छ । प्राणीलाई मृत्युसँग जुधाएर आनन्द लिनेहरू पनि रहेछन् । मान्छे हेर्दा करुणामूर्ति जस्ता व्यवहारचाहिँ राक्षसको जस्तो ! अहो… निमुखा प्राणीमाथि कस्तो अत्याचार भइरहेको छ ।
सानातिना प्राणीलाई नुनखुर्सानीमा मसल्दै, जिउँदै मुखमा हाल्दै, खर्लक्क निल्थे । पेटमा पनि छट्पटाउँदै छ कि भन्ने लाग्दोरहेछ सुन्दै र सुनाउँदै गरेको पनि देखिन्थ्यो । ससाना प्राणीहरू संसारबाटै लोप हुनु र राक्षसहरू हराउनुको रहस्य यो पो रहेछ ! इन्द्रले अट्कले ।
इन्द्रले आकाशबाट हेरिरहेका थिए । पसलेहरू मासु काट्दै, हात चाट्दै, भुडी बजाउँदै थिए । अहो…, योभन्दा ठूलो दुष्टता कहाँ होला र ! उनी चुकचुकाए । नौनाडी गलेछन्, हातबाट फुत्कियो खबरदारी । तल जलचरलाई आगोमा हालेर तमासा गरिँदै थियो । जिउँदै चमेराका पखेटा उखेलिँदै थिए । सर्पमाथि भलभल्ती उम्लेको पानी खन्याइँदै थियो । दरौँतीले खुइल्याइँदै थिए सालक । इन्द्रको हातबाट फुत्किएको खबरदारी तिनै प्राणीमाथि खस्यो ।

ठूला ग्राहकहरू आए । जिउँदै खुइलिएर छटपटिँदै गरेका प्राणीमाथि दृष्टि गाडे । थुप्रै रकम तिरेर पनि तिनै प्राणी उठाए, आफ्नो गन्तव्यमा पु¥याए । नीलाकाला रक्सीका बोतल खोलेर ठाडो घाँटी लगाए । अनि घायल प्राणीमाथि जङ्गली शेरझैँ जाइलागे । रक्ताम्य मुख बनाए र खित्का छाडे ।
इन्द्रले हेरिरहेका थिए । खबरदारी त्यही काँचो रगतसँगै तिनको घाँटीमा गएर बस्यो ।
इन्द्र सोच्न थाले, ‘ती मानवरूपी सैतानहरूको जिउमा बम जस्तै पड्कन्छ होला खबरदारी ! पड्केन भने चारैतर्फ भएका खुट्टाले घोचेर रक्ताम्यै बनाउँछ होला ! एकैछिनमा लल्याकलुलुक हुन्छन् होला ! तिनको छटपटी हेरेर म पनि खित्का छोड्नेछु ।’
इन्द्रले सोचेजस्तो भएन । खबरदारी मुखबाट त पस्यो तर पेटमा गएन । घाँटीमै डेरा जमायो र फताफत बच्चा जन्माउन थाल्यो । घण्टामा लाखौँको दरले बच्चा जन्माउँथ्यो भने एकै दिनमा हुर्काइबढाई घरगृहस्थी धान्न लायकको बनाइहाल्थ्यो ।
घाँटीबाट पेटमा जानुको साटो साससँगै फोक्सोतिर जान्थ्यो । हल्काफुल्का नाकमुखमा आएर बस्थ्यो । त्यतैबाट हातमा पनि पुग्थ्यो । हात मिलाउनेहरू, अँगालो हाल्नेहरू र म्वाइँ खानेहरूको सहाराले आफ्नो शाखा सन्तान फैलाउन थाल्यो । चार–पाँच दिनमै खबरदारी एकबाट दस, दसबाट सय, सयबाट हजारौँ मान्छेमाथि सङ्क्रमित भयो । तबसम्म तिनलाई थाहै थिएन खबरदारीले आफ्नो जिउमा डेरा जमाइसकेको छ भन्ने ! बल्ल
सङ्क्रमितलाई ज्वरो आउने, घाँटी दुख्ने, सुक्खा खोकी लाग्ने, टाउको दुख्ने र सास फेर्न गाह्रो हुने लक्षण देखियो । ती डाक्टरकहाँ पुगे । भगवान् भनाउँदा डाक्टरहरू पैसाका लागि मालिस गर्न थाले । आखिर खबरदारीले खोजेजस्तै भयो । त्यसका सन्तानहरू डाक्टरकै घाँटीमा पुगिहाले । ती स्वास्थ्यकर्मीहरूले पनि रोग बाँड्दैछौँ भन्ने चालै पाएनन् । जब चाल पाए, तब तिनका सहकर्मी र घरपरिवारका घाँटीमा पुगिसकेको थियो खबरदारी !
खबरदारीको सङ्क्रमण देखेर इन्द्र छक्क परे । ‘अहो…, यो जीव मभन्दा चार कदम परको सोच्दो रहेछ । मैले सोचेजस्तो आक्रामक हुन्थ्यो त सबै जुटेर यसको दोहोलो गरिहाल्थे । जो मै हुँ भनेर अगाडि सर्छन्, तिनकै घाँटीमा पुगेर गृहस्थी जमाइहाल्छ । आफ्नो साखासन्तान चारैतर्फ नफैलिउन्जेल चुपचाप बसिरहन्छ ।’
डाक्टर ‘सी’लाई झोँक चलेछ । आफ्नो ज्यानको माया मारेरै खबरदारीको पिछा ग¥यो । कुन रोग हो र यसको चाल के हो ? जन्मकुण्डली बनाउनमा जुट्यो ।
डाक्टर सीको व्यक्तिगत अनुभूतिले पनि रोगको पहिचान छिटै भयो । उसले पत्रकार सम्मेलन ग¥यो र त्यस रोगको न्वारन ग¥यो, “भाइरस नोबेल कोरोनाको रूप, कोभिड–१९ !” साथै उसले भन्यो, “सावधान ! यस रोगको अगाडि घमण्ड टिक्दैन । अदृश्य किटाणु भनेर नहेप्नु होला ! यो झनै खतरनाक हुनेछ । योदेखि बच्न मान्छेदेखि नै दूरी बढाउनुहोस् । किनभने यो जुन मान्छेमा छ त्यसलाई पनि थाहा छैन । जोसँग यसको लक्षण देखियो त्यसले रोकथामका लागि बेग्लै बसेर डाक्टरको सल्लाह लिनुपर्छ । हात मिलाउने, अँगालो मार्ने गर्नुको साटो हाइहेलो, नमस्कार गरेर पन्छिनुहोस् । जो भाग्यो, उही बाँच्यो । घरभित्रै लुकेर बस्नु राम्रो ।”
डाक्टर सीको अनुसन्धानलाई सामान्य लिइयो ।
कोरोना डढेलोझैँ फैलिँदै गयो । पचासौँ हजार सर्वसाधारण समेत सयौँ स्वास्थ्य कर्मीहरू पनि त्यसको चपेटामा परे । सहर अस्तव्यस्त हुँदै गयो । कोरोनाले डाक्टर सीलाई मृत्युको मुखमा पु¥याइदियो । तब नारा जुलुस सुरु भयो, “डाक्टर सीलाई सहिद घोषित गर ! तिनको अन्वेषण लागू गर !!!”
नगरप्रमुख आत्तिएछ । कोरोना रोगीका निम्ति रातारात नयाँ अस्पताल बनायो र पूरै सहर लकडाउन ग¥यो ।
केहीले मानव अधिकार हरण भने र नगरप्रमुखलाई हैकमवादीको खोल ओढाए । त्यो सहर छोडेर आआफ्नो गाउँ ठाउँ फर्कने निधो गरे । नगरप्रमुखको विचारमा पाहुनाहरूको यो निर्णय घातक थियो । उसले आग्रह ग¥यो, “आगन्तुक मित्रहरू, तपाईंहरूको जीवन सुरक्षाको जिम्मा म लिन्छु । तपाईं हामी यथास्थानमै बसेर कोरोना सङ्क्रमणलाई रोकौँ । नत्र यो शत्रु तपाईंहरूसँगै संसारभरि फैलिने छ ।”
आगन्तुकहरू कुनै न कुनै लक्ष्यले बसेका थिए त्यहाँ । उपलब्धि नभए कोरोनाको त्राससँग त्यस सहरमा बस्ने के काम । टाइम पासकै निम्ति सबैको घरपरिवार छँदै थियो । मरे पनि आफ्नै ठाउँमा आफन्तको मुख हेरेरै मर्ने अठोट गरे । तिनको अहङ्कार र अदूरदर्शिताले कसैको कुरा सुन्न दिएन, सुने पनि सायद कोरोनाले मनन गर्न दिएन ।
“के भएको छ र मुला कोरोना आयो भनेर लुक्नु ?” मानौँ आगन्तुकको मुखमा सरस्वती नभएर कोरोना बसिसकेको थियो । फुर्ती लगाउन थाले । त्यस नगरबाट निस्किनु नै बाँच्नु हो भन्ने धारणा बनाए र आआफ्नो गन्तव्यतर्फ हानिए । तिनले आफूसँग कोरोना आएको हुनुसक्छ भन्ने ख्यालै गरेनन् । आफन्तसँग भेटघाट गर्न र खुसी साट्नमै व्यस्त भए । तिनलाई के थाहा खुसी हैन रोग बाँड्दै छौँ भन्ने । मौकाको फाइदा उठाउँदै कोरोना सबैको घरघरमा पुग्यो । आफ्नो स्वभावअनुसार केही दिनसम्म घाँटीमै बस्यो र अघिल्लो सङ्क्रमणको तयारी ग¥यो । अनि झाङ्गियो, फुल्यो, फलो तब आफ्नो आगमनको घन्टी बजायो ।
जसको शरीरले कोरोनाको लक्षण देखाइसकेको थियो ती अस्पताल पुगे । बाँकी डाक्टरले कोरोना भएको पुष्टि गर्छ कि भन्ने डरले चेकै गराएनन् । कोरोनाकै पालनपोषण गरिरहे । सायद यो पनि कोरोनाकै चाल थियो । ऊ मान्छेसँगै प्रत्येक ठाउँ पुग्न चाहन्थ्यो, घुम्न चाहन्थ्यो, हेर्न चाहन्थ्यो र मान्छेको अस्तिŒव देखाउन चाहन्थ्यो । त्यसैले त सङ्क्रमण गरे पनि केही दिनसम्म चुपचाप बसिरहन्थ्यो । आधुनिक मान्छेसँग जुध्ने बुद्धि भएको कोरोना ! अब उसको नामले संसार कामिरहेको छ तर जुन ठाउँबाट फैलिएको थियो त्यहाँ लकडाउनको अवधारणाले परास्त भयो । यो कुरा पनि संसारैभरि फैलियो तर केही अभिमानीहरूले लकडाउन गरेनन् । तिनकै
अहङ्कारले पनि कोरोनालाई मलजल ग¥यो ।
जो झुके र घरभित्रै लुके कोरोनादेखि फुत्के ।
…..
यसपटक शिवलोकमा छिटै मिटिङ बस्यो ।
“मत्र्यलोकको अवस्था कस्तो छ ?” महादेवले प्रश्न उठाए ।
“प्रभु ! कोरोना मान्छेको घमण्ड तोड्न जन्मिएको भाइरस हो ।” कालले हात जोड्दै भन्यो, “त्यसले मेरो काम आसान बनाइदियो । माना सकिए पनि कालगतिले मर्दैनथे धनीहरू । तिनलाई एक्सिडेन्ट गराएर मार्ने कि, कुनै रोग लगाउने कि ? काटमार गराउने कि ? कुन निहँु पारेर मार्ने भन्ने कुरामा जहिल्यै दोधारिन्थे म । अनेक जालझेल गरेर मारे पनि तिनका आफन्तहरू मेरो विरुद्धमा जुलुस निकाल्थे । मृतकका आफन्तहरूको विरह वेदना देख्दा मलाई आफ्नो काम अपराध जस्तो लाग्थ्यो । कहिलेकाहीँ एउटालाई उठाउन खोज्दा एक–दुईवटा अरू पनि खप्टिन्थे । कोरोनाको उदयपछि यस्तो झन्झट खेप्नुपरेको छैन । कोरोनाको लक्षण देख्नेबित्तिकै रोगी एक्लिँदै जान्छ । सास खुस्केकै हुँदैन मेरा जिम्मा लगाइदिन्छन् । मृतकका आफन्तले गाली दिए कोरोनालाई दिन्छन् । रुने चिच्याउने पनि कोही हुँदैन । टपक्क टिप्दै ठाउँमा पु¥याउन भ्याइनभ्याइ भइरहेको छ मलाई ।”
कालको उत्सुकता र कोरोना भन्ने शब्दले सबैलाई छक्क बनायो । सबैको अनुहारमा आश्चर्यलाग्दो भाव झल्कियो । त्यो देखेर कालले भन्यो, “प्रभु ! हाम्रो खबरदारीलाई मान्छेहरूले नोबेल कोरोना, कोभिड–१९ जस्ता नाम राखे तर सबैको जिब्रोमा कोरोना नै झुन्डिएको छ ।”
“प्रभु ! कोरोना दैविक शक्तिको अनुभूति दिलाउन जन्मिएको भाइरस हो ?” पृथ्वीले भनिन्, “छोटो समयमै म परपरसम्म आँखा देख्ने भएँ, मैले तपाईंहरूलाई राम्रोसँग देखिरहेकी छु । म कस्ती गोरी हुँदै गइरहेकी छु हगि !” पृथ्वी मस्किइन् । यस पटक उनले आँखा मिचेको र अनुहार पुछेको पनि देखिएन ।
“यो त भगवान्ले घाँटीमा धारण गरेको कालकुट विषजस्तै कडा रहेछ । मान्छेहरू त्राहिमाम छन् । झ्यालढोकाको छिद्रबाट बाहिर चिहाउँछन्, बाहिर सुनसान हुन्छ तैपनि लुकिहाल्छन् । हिजोआज हामीलाई पनि आँखा मिच्दै चिहाउनु पर्दैन प्रभु !” चन्द्र सूर्यले एकैसाथ भने ।
“यो संसार हाम्रै हातमा छ ! कुन प्राणी पाल्ने कुन प्राणीलाई फाल्ने ? कति जन्माउने ? कति मार्ने ? कुनै उल्का आएर खुसुक्क पृथ्वीमा ठोकिन्छ भने अर्को कुरा हो नत्र जे छ, हाम्रै हातमा छ भन्नेहरूको घमण्ड कोरोनाले तोड्यो । मै हुँ भन्नेहरूलाई तिनको अस्तित्व देखायो । अस्तिŒव नस्विकार्नेहरूलाई धुलो चटायो । अँगालो मार्नेहरूलाई हात जोड्न सिकायो तर अहङ्कारी र कोरोनाको पेलानमा परिनिर्भरहरूकोे बिजोक भइरहेको छ,” इन्द्रले भने ।
“हाम्रो खबरदारीलाई मत्र्यलोकमा कोरोना पो भन्न थाले !” हाहाहा … महादेवले हाँस्दै भने, “अब त्यसलाई थाम्ने कि ?”
“यस कोरोनालाई छिटोभन्दा छिटो तह लगाउँछौँ भन्दै कस्सिएका छन् मत्र्यलोकमा । प्रभु ! केही दिन हेरौँ कि ?” इन्द्रले हात जोडे ।
अर्को हप्ता बस्नेगरी सभा विसर्जन भयो ।
…………….
सोमबार, शिवलोकमा फेरि बैठक बस्यो ।
इन्द्रले हात जोड्दै भने, “प्रभु ! मानवको दिमाग ठीक ठाउँमा आएछ । भन्दैछन्, आधुनिकताको होडबाजीमा हामी आफै हराएछौँ । भावनात्मक कुरामा पनि मेसिनकै प्रयोग ग¥यौँ । लालची भावनाले मानवीय तŒव मेटाएछौँ । त्यसको ठाउँमा अप्राकृत र क्रुरता जन्मायौँ । फलस्वरूप कोरोनाजस्तो महाव्याधि जन्म्यो । त्यसले ध्वंशात्मक रूप लियो र हाम्रो जीवन अस्तव्यस्त बनाइदियो । चुकचुकाउँदै ती सबै एक ढिक्का भएर हाम्रो कोरोनाविरुद्ध कोरोनिका भ्याक्सिन जन्माए । कोरोनालाई कोरोनिकाको माया जालमा फसाए । तिनको बिहे गरे र आफ्नो अहङ्कारको दाइजो दिएर पठाए ।”
“हाहाहा…, आँखिर माया प्रेमको मूल्य बिर्सेको रहेनछ मान्छेले !” महादेव प्रसन्न देखिए ।
शिवलोक हाँसोमा गुञ्जियो ।

मधुपर्क २०७८ वैशाख

शनिबार, बैशाख २५, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...