कुमारी कोख

मन्दिरा मधुश्री

“तिम्रो आमा आउनुभो ! तिम्रो आमा आउनुभो !!”
म गाडीबाट ओर्लेकी मात्र थिएँ, आँखाभरि उत्सुकता बोकेका एक हुल केटाकेटीहरू मतिर अगाडि बढे भीडमा चेपिँदै । अनमेल उमेर बोकेका अनि एकअर्कामा भिन्दै वा परिचय नमिल्ने खालका रङ र अनुहारमा सजिएका ।
सबैभन्दा पछिपछि करिब चार वर्षको फुच्चे दौडँदै थियो खुसीले रमाउँदै । “आमा आउनुभो… ! आमा आउनुभो”को सुँगा रटानमा । अरूका लागि दुलही वा बेहुली मात्रै र खास आमा चाहिँ म उसको मात्रै थिएँ । सायद त्यसैले अरूहरू मेरो वरिपरि मात्र थुप्रो लागे । तर ऊ भने हुण्डरीजस्तै आएर दुवै हातले मेरो साडी समातेर, दुवै खुट्टामा अँगालो मारेर चपक्क टाँसियो मसँग । अनि तोतेबोलीमा भन्यो, आमा…! हजुल काँ जानु भाकोथ्यो ?”
मेरो खुट्टै चलाउन अप्ठ्यारो भएपछि कोही छोरी मान्छेले उसलाई मबाट जबर्जस्ती तानेर लगिन्– “अब बाबुको आमा आइहाल्नुभयो । भलेदेखि अब छँगै खाने, छँगै छुत्ने हस् ?” उसकै लवजमा फकाउँदै थिइन् ती महिलाले ।
तर ऊ भने उनको अँगालोबाट मुक्त हुन खोज्दै रोइरहेको थियो । “नाइँ… म आमा छँग… जाने…. । आमा छँगै… बछ्ने… भन्दै ।
थुप्रै मान्छेको भीडमा दुईवटा कुर्सी मात्रै खाली राखिएका थिए । ती खास हाम्रा लागि भनेर राखिएका रहेछन् ।
“यता बस यता” कसैले हामीलाई संयुक्त सम्बोधन ग¥यो । हामी त्यतै डोरियौँ त्यही आदेशसँगै र बस्यौँ कुर्सीमा । भीडबाट अरू थुप्रै बुझिने र नबुझिने आवाज सँगसँगै उसको पनि आवाज आउँदै थियो अरूसँगै मिसिएर । ‘म पनि आमा छँगै बछ्ने… ।’
स्वतन्त्र नभएर रुवाइ मिश्रित थियो उसको आवाज अझै पनि… । किन किन मेरो मन, ध्यान भने ऊसितै थियो पहिलोपटक त्यति भेट्दा पनि ।
हाम्रा अगाडि पूजाका सामग्री राखिएका थिए । अनि दुईजना छोरीमान्छेले हामीलाई एकैचोटि पूजा र आरती गर्न थाले । आरती गरेपछि मलाई समातेर भित्र पस्न अनुरोध गरे । त्यहाँका मान्छेहरूजस्तै नयाँ र नौला थिए ती मलाई गर्न लगाइएका क्रियाकलापहरू पनि । त्यसैले आज्ञाकारी बालकझैँ म धानको थुप्रोमा पीठोको दियोमाथि बालिएको बत्ती दाहिने खुट्टाले टेक्दै टेक्दै भित्र पसेँ ।
रोलक्रमानुसार टीका लगाइदिने अथवा नयाँ मान्छेको मुख हेर्ने कार्यक्रम हुन थाल्यो । त्यो फूच्चे पनि मसँगै टाँसिएर बसेको थियो, दुईजनाको बीचमा बसे पनि । टीका लगाएर मलाई दिएको पैसा वा उपहार ‘यो मलाई’ भन्दै ऊ नै झम्टिएर लिन्थ्यो र आफ्नो अगाडि थुपारेर राख्थ्यो । एकक्षणपछि मेरो हाते व्याग पनि मबाट उसले खोस्यो । “आमाको म लाक्छु…” भन्दै त्यसैमा खुसुखुसु मलाई टीका लगाएर दिएको पैसा राख्न थाल्यो ।
उसको अबोध बालापन र मप्रतिको आत्मीयता वा झुकाव देखेर अवाक हुन्थे प्रायः सबैजना टीका लगाइदिनेहरू । आगन्तुकहरू कतिपय “विचरा…!” भन्दै आँसु पुच्छ्दै उठ्थे । कतिपयले विशेष अनुरोध गरेका थिए मलाई टीका लगाइदिँदै “यो तोते बालखको यो भरोसा र विश्वासलाई कहिल्यै मर्न नदेऊ है दुलही…।”
ऊ कहिले मेरो हात समातेर चुरा खेलाउँथ्यो । कहिले मेरो घुम्टी तानेर निकाल्न खोज्थ्यो । “यो किन लगाको आमा ! म पनि लाउँछु नि” भन्दै । कहिले मेरो दुवै हात एकै ठाउँमा तानेर औँलाको औँठी गन्थ्यो, “वान… तु… फाइप… एत… फोल ।”
दिनभरी अनेकौँ मन्त्र र विधिद्वारा आफ्नो भएको मान्छेसँग भन्दा पनि पहिले ऊसँग मेरो आत्मीय सम्बन्ध गाँसिइसकेको थियो । स्पर्श साटिएको थियो । भरोसा र विश्वासको बीज झाँगिइसकेको थियो त्यस घरमा ।
“माम खाएर आएपछि आमासँगै बस्ने ल…।” आवाजसँगै फेरि कसैले हाम्रो आत्मीयतालाई चुँडालेर टपक्क टिपेर लगे उसलाई । एउटा अलौकिकताको अनुभूत हुँदै थियो उसँगको सामीप्यमा । तर उसलाई टिपेर लाँदा ऊ सँगसँगै म पनि चुँडिएर गएँ अलिकति ।
“म त आमा छँगै माम खाने..!” नेपथ्यमा उसको आवाज धूमिल हुँदै गयो ।
सम्बन्ध पतिसँगको भए पनि मेरा आवश्यकता अरू नै कसैको थियो । यही आवश्यकता परिपूर्तिका लागि मलाई दुलही बनाएर भिœयाइँदै थियो त्यसघरमा । थुप्रै नयाँ र नौला अनुहारहरू ठोकिन्छन् मसँग विभिन्न साइनो र सम्बन्धहरू बोकेका ।
सबै कुरामा दक्ष र सक्षम भए पनि म त्यस घरमा नयाँ बेहुली थिएँ । त्यसै भएर होला सायद अरूकै निर्देशनमा आफूलाई परिचालित गरिरहेथेँ म । प्रतिक्रियाविहीन भएर ।
खाना खाएर सुत्ने कोठामा तानिएँ म पुनः यन्त्रवत् भएर । म कोठामा पुग्दा देख्छु, मेरो÷ हाम्रो सुहागरातका लागि सजाइएको ओच्छ्यानमा ऊ पल्टिरहेको छ आल्हादित भएर । कहिले सुत्छ । कहिले उठ्छ । कहिले उफ्रन्छ । कहिले गुल्टुङ खेल्छ । कहिले खुसीले नाच्छ । प्रकृतिले संसारको सबै खुसी उसैमाथि घोप्ट्याइदिएको छ यतिबेला । उसका क्रियाकलाप देखेर मलाई पनि आफू यो उमेर र बेहुली हुनुको सबै अस्तित्व बिर्सिएर उसैको खुसीमा सहभागी होऊँ जस्तै लाग्यो ।
उसले ओच्छ्यानलाई तीन भागमा लगाएको रहेछ । यहाँ म छुत्ने…। यहाँ आमा छुत्ने अनि यता बाबा छुत्ने । छेउछेउमा हाम्रो लागि ठूलो सिरानी र बीचमा आफ्नो लागि सानो सिरानी राखेर उसले आफ्नो ठाउँ बनाएको थियो ।
समय विस्तारै रात्रिउन्मुख हुँदै थियो । नेपथ्यमा कल्याङ कुलुङ भए पनि कोठामा मात्र तीन प्राणी थियौँ । ऊ, म र उनी । ऊ अप्रत्याशित रूपमा र उनीसँगको बिहेपछि स्वाभाविक रूपमा भएको आफ्नो र उनी विभिन्न मन्त्र, विधि र क्रियाकलापद्वारा बनाइएको मेरो आफ्नो मान्छे… ।
मैले अब दिनभरीको उत्तरदायित्व वहन गर्नुपरेको पक्षलाई बिसर्जन गर्न थालेँ । मलाई अझ सुन्दरी बनाउन लगाइदिएका आभुषण र परिधानहरू फुकालेर टेबलमा थुपारेँ । त्यस दिनको भूमिका निर्वाह गर्न ओडाइदिएको घुम्टी निकालेर थुपारेँ । भारी लुगा फेरेर सहज लुगा लगाएँ । भनौँ त्यस दिनको जिम्मेवारीबाट आफूलाई मुक्त गराएँ ।
पटक पटक थपिएको शृङ्गारलाई पखालेँ, जेहोस् म आफूलाई हरेक कोणबाट ताजा र सहज बनाएर कोठाभित्र छिरेँ । ऊ आफ्नो बाबुसँग जिज्ञासा पोखिरहेको थियो, “यत्लो दिन आमा काँ जानुभएको थ्यो बाबा ?”
“मामाघर ।”
“किन जानुभएको अले मलाई छोलेल…?”
“बाबुलाई खेलौना, पापा, किन्दिन जानुभाको अरे ।”
“अनि खै त आमाले ल्याइदेको खेल्नेकुला अनि पापा ?”
“उता राखेको छ नि । भोलि आमाले दिने । हस् ?”
“अनि मामाघल जाँदा बाबुलाई किन नलगेको अले आमाले…… ?”
“बाबुले झगडा गर्छ, दुःख दिन्छ भनेर नलगेको नि…।”
“अँ..म अबदेखि कहिल्यै झगला त गल्दिनँ …। दुःख पनि दिन्न ..। अब बाबुलाई छोलेल कहिल्यै नजानु भन्नु ल बाबा आमालाई…।”
बाबा छोराको अन्तरङ्ग वार्तालाप सुनेँ एकैक्षण ढोकैमा उभिएर । जब म भित्र पसेँ, उनले मलाई लक्षित गर्दै उसलाई सम्झाए, “ऊ आमा पनि आउनुभो । अब तिमी ज्ञानी बनेर सुत न त हस्… ?”
ऊ सुत्नुको सट्टा झन् उत्साहित हुँदै उठेर मपट्टि फर्किंदै भन्यो– “आमा ..! अबदेखि मलाई छोलेल… ।”
जब उसका र मेरा आँखा जुधे, अगाडि वाक्य पूरा गर्न सकेन उसले । मलाई हेरेर त्यतिकै अड्कियो उसको बोली । र हेरेको हे¥यै ग¥यो मलाई जिज्ञासु नयनले । म नै उसको मनोदशा पढेर अगाडि बढ्दै भनेँ, “ल बाबा । अबदेखि म बाबुलाई छोडेर कहिल्यै पनि जान्न । बाबुसँगै बस्छु । अनि बाबुसँगै खेल्छु । हुन्छ… ? म शब्दसँगै ऊ भए ठाउँमा पुगेँ र उसलाई मायाले सुम्सुम्याउन थालेँ ।
“नाइँ… ।”
चिच्याएर उसले उसले मेरो हात झट्कार्यो । ढकमक्क गुलाफ फूलेको उसको मुहार अहिले सुकेको पलाँस भयो । सशङ्कित, भयभित र रुन्चे अनुहार बनाएर उसले भन्यो– “तपैँ मेलो आमा होइन के… । तपैँ किन आको याँ ? जानु बाहिल के …।”
झस्कियौँ हामी दुवैजना, उसको यस अप्रत्याशित अस्विकारोक्तिले ।
“हो त तिम्रो आमा त हो नि”.. प्रमाणित गर्न खोजे उनले ।
“हैन… । हैन… । हैन… । यो मेलो आमा हैन के… ।” दृढनिश्चयी भएर प्रतिकार ग¥यो उसले । हामीले मुखामुख ग¥यौँ । बाबासँग टाँसिएर ठुसठुस गर्दै सुत्यो ऊ ।
उसको एउटा खुसीको संसार भताभुङ्ग भएको थियो । विश्वासको पहाड भत्किएर चकनाचुर भएकोमा नरमाइलो लाग्छ मलाई । मैले कति प्रयास गरेँ, फकाएँ र प्रमाणित गराउन खोजेँ उसको म आमा नै हो भनेर तर उसले बालहठ देखाइ नै रह्यो । त्यो पनि पूर्ण विश्वासका साथ । अहँ पग्लेन कसै गरे पनि । एकचोटि पनि फर्केर हेरेन मपट्टि । झन् अँगालो मारेर चपक्क टाँसियो आफ्नो बाबासँग ।
अघिसम्म “अब कहिल्यै पनि आमालाई जान नदिने ल” भन्दै बाबालाई बारम्बार अनुरोध गर्ने उसलाई पुनः एकचोटि फकाउने उद्देश्यले घुक्र्याउँदै भनेँ, “अब त्यसो भए आमा फेरि मामाघर जाउँ त बाबूलाई छोडेर.. ?” छेउमा बसेर सुम्सुम्याएँ ।
“जानु … जानु । हजुल मेलो आमा हैन के …।” पुनः पग्लेन ऊ ।
वास्तवमा म उसको आमा थिइनँ नै अनि कसरी स्विकारोस् त जबर्जस्ती भन्दैमा । तीन महिनाअघि मात्र उसको आफ्नी आमाले यस संसारलाई र आफ्नो चार वर्षे छोरालाई छोडेर अप्रत्याशित रूपमा गइन् कहिल्यै नफर्किने गरेर । अहँ उनलाई आफ्नो प्राणभन्दा प्यारो लाग्ने सन्तानको मायाले रोकेन । उनले उसलाई संसार त देखाइन् तर संसार चिनाउने दायित्वबोध बिर्सेर सुटुक्क लागिन् अनन्ततिर… । उसको तोतेबोलीको अर्थ नै नबुझी हराइन् शून्यतामा । ढुङ्गाभन्दा कठोर भयो उनको मातृवात्सल्य । हिउँ भएर जम्यो ममता पनि सायद । त्यसैले त उसले गुमाएको अपूरो, अधुरो, अतृप्त मातृ वात्सल्य र ममता परिपूर्तिका लागि मलाई भिœयाइएको थियो त्यस घरमा केही घण्टाअघि । उसको बाबुसँगको साइनोमा बाँधेर । खासमा मेरो आवश्यकता प्रत्यक्ष उसको बाबुसँग देखाइए पनि उसलाई मात्र थियो अप्रत्यक्ष रूपमा ।
मैले फेरि फकाएँ, अहँ उसले पटक्कै मान्दै मानेन । बाबाले विश्वास दिलाउन खोजे पनि पत्याएन । साँच्चै कसरी बिर्सन्थ्यो होला र यति चाँडै उसले आफू एउटा तुच्छ र सुक्ष्म भू्रण पसेर १० महिनासम्म बसेर आफ्नो स्वरूप र अस्तित्व निर्माण भएको कोखलाई ? कसरी बिर्सन्थ्यो होला र जीवनको बोध गराइदिने आफ्नो आमाको न्यानोपनलाई ?
संसारमा प्रथम परिचय उसको आफ्नो आमासँग भएको थियो । संसारमा प्रथम पटक आँखा खोल्दा उसले पढेको पीडा र हर्ष मिश्रित अदिप्त स्निग्ध अनुहार उसको आमाको नै त थियो जुन अनुहार उसको स्मृतिमा अझ ताजै छ ।
उसले धर्तीमा ओर्लने बित्तिकै पाएको त्यो मायालु स्पर्श र छातीको तातोपन, उसमा कहाँ सेलाएको छ र ? चार वर्षसम्म आमाको काखमा उफ्रँदै दुग्दामृत घुटुघुटु पारेको स्वाद उसको जिब्रोले अझै बिर्सेकै त छैन । उसले चार वर्षसम्म आमाबाट पाएको त्यो मातृ सुगन्ध… त्यो स्निग्ध अनुहार… कसरी सजिलै ममा रूपान्तरण गर्न सक्थ्यो र ? त्यसैले उसले स्विकारेन मलाई उसको आमाको ठाउँमा प्रतिस्थापन गर्न । अन्तत ऊसँगै निराश भएँ म पनि ।
मलाई पहिले नै सबै कुरा प्रस्ताव स्वरूप राखिएको थियो । मैले एउटा चार वर्षको मातृविहीन अतृप्त टुहुरो बालकलाई आमा भएर आफ्नो मातृ वात्सल्यले ओतप्रोत गर्नुपर्ने छ । कुनै उजाड बँगैचामा फुल्न नसकेको कोपिलालाई वात्सल्य सिञ्चित गरी त्यसलाई ढकमक्क भएर फुलाउनु पर्नेछ । सुगन्धित र मनमोहक पार्नुपर्नेछ ।
“आफ्नो सानो सहयोगले कसैले जीवन पाउँछ भने कुनै उजाड बगैँचा ढकमक्क हुन्छ भने किन मैले जीवनको सदुपयोग नगर्ने ?” त्यही विचार गरेर मैले सहस्र स्वीकार गरेकी थिएँ उक्त प्रस्तावलाई । मेरो सानो छातीमा लुटपुटिएर मातृवात्सल्यबाट वञ्चित त्यो अबोध बालकले वात्सल्य कुण्ठाबाट मुक्त होस् भन्ने ठानेँ मैले ।
मैले पनि उसकै जस्तै अबोधावस्थामा नै मेरी आमा गुमाएको थिएँ । मातृ वात्सल्यको अतृप्तता कुण्ठा भएर झाँगिरह्यो जीवनभर । मैले पनि मातृ ममताको मीठो स्पर्शको आशैआशमा फक्रनु परेको थियो, एउटा सानो कोपिलाबाट । त्यसैले उसको पीडाबाट विरेचित भएर आपूmलाई समर्पित गर्न चाहेँ उसका लागि ।
हुन त म उसको वास्तविक आमा हुन सक्तिनथेँ तर म उसलाई कोख दिन नसके पनि काख त दिनसक्छु । मायालु स्पर्श र वात्सल्य दिन सक्छु । छातीको न्यानो त दिन सक्छु । यस्तै साचेर नै होमिएकी थिएँ म यस यज्ञकुण्डमा । तर आज उसले स्वीकारेन सहज रूपमा मलाई । यो अस्वाभाविक पनि ठानिनँ मैले  । त्यसैले मेरो मन त्यति धेरै दुखेको पनि थिएन किनभने कुनै पनि कुरा, वस्तु वा प्राणीसँग सहज हुन, घुलमिल हुन दुईचार दिन लाग्छ नै । सहस्र स्वीकार गरेँ मैले उसको अस्वीकारोक्तिलाई ।
००
अकस्मात् कसैले गम्लङ्ग अँगालो हालेपछि मेरो तन्द्रा भङ्ग भयो । झसङ्ग भएँ म । उनले मलाई आफूपट्टि फर्काए । निधारमा चुम्बन गरेँ अनि अँगालोमा च्यापेर सुम्सुम्याउँदै भनेँ “सन्जु ! मलाई माफ गर ल ।”
“किन र हजुरले माफ मागेको ?” बिस्तारै सोधेँ ।
“कुनै पनि नारीले आफ्नो सुहागरातलाई यसरी बित्ला भनेर सोचेको हुँदैन होला । तिम्रो एउटा अधिकारबाट वविचत गराएँ मैले ।”
उनी निकै भावुक हुँदै थिएँ । मभन्दा पनि बढी… । मैले फुच्चेपट्टि हेरेँ, ऊ निश्चल भएर अबोध र अतृप्त निन्द्रा निदाइरहेको थियो । रुन्चे अनुहार बनाएर… ।
राति सुतेपछि मैले तानेर छातीमा टाँस्न खोजेँ उसलाई । ऊ झस्किएझैँ गरेर अर्कोपट्टि फर्केर कुक्रुक्क प¥यो । बिस्तारै मैले उसको डँडेल्नोमा आफ्नो छाती टसाएँ । मेरो छातीको तातो उसको शरीरमा सञ्चार भइरहन्थ्यो । अपार सन्तुष्टि पाएँ मैले ।
दिनपिच्छै म क्रमशः ऊसँग नजिक हुन खोजिरहेँ । तर ऊ भने मबाट टाढा भागिरहन्थ्यो । कहिले म खानेकुरा र चकलेट दिएर फकाउँथे भने कहिले खेल्नेकुरा देखाएर । ऊ पहिला पहिला त छेउमा आउन नै मानेन तर पछि पछि चाहिँ डराई डराई म छेउमा आउँथ्यो । खानेकुरा वा खेल्ने कुराको लोभले अनि मेरो हातबाट फुत्त खोसेर उन्मुक्त हुँदै भाग्थ्यो ।
ऊ जहिले पनि सुत्दा पहिले बाबासँग नै सुत्थ्यो । जब ऊ निदाउँथ्यो अनि म उसलाई आफ्नो अँगालोमा च्यापेर सुत्थेँ । उसले म भनेर थाहा नपाउन्जेल निदाउँथ्यो । तर जब ऊ ब्युँझन्थ्यो वा थाहा पाउँथ्यो तब असहज मान्थ्यो र मेरो अँगालोबाट फुत्किएर अर्को पट्टि फर्किएर सुत्थ्यो । पछि पछि अलिक सहज मान्दै गयो मेरो स्पर्शलाई उसले ।
एकरात म अप्रत्याशित रूपमा बिउँँझिएँ । मेरो छातीमा अलिकति पीडा अलिकति कुत्कुती र अलिकति असहजता महसुस भइरहेको थियो । छातीमा केही चपक्क टाँसिएजस्तो झुन्डिएजस्तो भो । मैले आश्चर्यमान्दै विस्तारै एक हातले सिरानीमा नै भएको बेडस्वीच थिचेँ । कोठा मुस्कुरायो उज्यालोले । उसको मप्रतिको विश्वासले हैरान भएँ म ।
ऊ मेरो कुमारी स्तन चुसिरहेको थियो ।
उसको व्यवहारले म असहज भएँ । के गरौँ कसो गरौँ मैले निणर्य गर्न सकिनँ । उसलाई आफूबाट छुटाऊँ त ऊ मप्रति एउटा भरोसा र विश्वासले मेरो कुमारी स्तन चुसेर ऊ अतृप्त मातृवात्सल्य पूरा गरिरहेको थियो । भ्रममै भए पनि । नछुटाऊँ त मेरो कोख कुमारी नै थियो । मेरो स्तन कुमारी नै थियो । न मेरो स्तनबाट दूध आउँथ्यो न त ऊ नै दूध चुसेर अघाएर तृप्त हुन्थ्यो ।
ऊ मेरो स्तन चुसेर जुन तृप्तता अथवा सन्तुष्टि खोज्दै थियो त्यो एउटा तीतो सत्य वा भ्रम मात्र थियो जसबाट ऊ अनभिज्ञ थियो । तैपनि आफूलाई जति असजिलो भए पनि उसको त्यो विश्वासको भ्रम टुट्छ कि भन्नेमा सतर्क थिएँ म । तर धेरैबेर पछि या त उसले खोजेको भेटेन (दूध आएन) या त सन्तुष्ट भयो, ऊ यसो चलमलायो । अवचेतन अवस्थामा गरेको उसको क्रियाकलापबाट ऊ चेतनामा आउँदा मलाई देखेर निराश हुन्छ भनेर मैले ऊ पूर्णरूपमा नबिउँझदै विस्तारै उसको मुखबाट आफ्नो स्तनको मुन्टो छुटाएर अर्कोपट्टि फर्कें । एकातिर उसको भरोसा र समर्पणप्रति सन्तुष्ट हुँदै थिएँ भने अर्कोतिर
सङ्कोच र अनौठो अनुभूति… ।
केही क्षणपछि विस्तारै मेरो डँडेल्नोमा उसले
कोट्यायो । मैले नथापाएजस्तो गरेँ तर ध्यान त्यहीँ लगाएँ । उसले फेरि पनि कोट्याउँदै अँगालो मा¥यो सानो हातले । अझै म चुपचाप भइरहेँ । मन भक्कानिँदै थियो । उसले फेरि मलाई समाएर तान्यो । अझ भनौँ साङ्केतिक रूपमा ऊपट्टि फर्कन अनुरोध ग¥यो । उसको यो अबोध क्रियाकलापले म झन् अधिर भएँ । ऊसँग सुतेकोमा ऊ रिसाउने पो हो कि भन्ने डर लाग्यो ।
उसले बाबा ठानेर मलाई फर्काउन खोजेको पो हो कि ? उसको विश्वास टुट्ला कि भन्ने डरले डराई डराई म बिस्तारै ऊपट्टि फर्किएँ । उसले पुलुक्क मेरो आँखामा हे¥यो । एकक्षण आँखा जुधायो अनि मेरो छातीमा चपक्क टाँसियो । मैले अँगालोमा बेरेर झन् टासेँ उसलाई । छाती त्यसै त्यसै आकाशजत्रो भयो । जिउ हलुङ्गो भएर कपासजस्तै माथि माथि उडेजस्तै लाग्यो । तर मुटु गाँठो परेर भक्कानियो । आँखाबाट अविरलरूपमा आँशु बग्न थाल्यो । उसले दबेको स्वरमा तोते बोलीमा भन्यो, “आमा ! अब कहिल्यै मलाई छोलेर… मामाघल.. नजानु ल.. ?”
“हछ् बाबा म अब कहिल्यै पनि बाबुलाई छोलेल जान्न… ।” उसलाई चुम्बन गर्दै भनेँ उसकै लवजमा र झन् च्यापेँ उसलाई ।
जङ्गलका हिंस्रक पशु त माया र प्रेमले आत्मीय बन्न सक्छन् भने ऊ त एउटा स्निग्ध, फूलको कोपिलाजस्तै अबोध बालक न थियो । मेरो वात्सल्य प्रेमले उसको भरोसा जित्न सफल भएकी थिएँ म । उसलाई अँगालोमा च्यापेर छातीमा टाँसिरहँदा मेरो कुमारी कोख टनाटन भरिएर छताछुल्ल भएको अनुभूति भइरहेको थियो ।  मधुपर्क २०७८ वैशाख

शनिबार, बैशाख २५, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...