कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ३१ गते)

वैशाख ३१ गते ८ हजार ५ सय २० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख ३९ हजार ६ सय ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । वैशाख ३१ गते परीक्षण गरिएकामध्ये ४१ प्रतिशतमा कोभिड पुष्टी भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । वैशाख ३१ गते १९ वर्ष मुनीका ७ सय २ जनामा कोभिड सङ्क्रमणको पुष्टी भएको छ । गत २४ घण्टामा २० हजार ९ सय ४८ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ३ लाख २७ हजार ६ सय ५३ जना निको भएका छन् । वैशाख ३१ गते ६ हजार १ सय ३५ जना निको भएका छन् भने निको हुनेको दर ७४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । वैशाख ३१ गतेसम्म ४ हजार ६ सय ६९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । वैशाख ३१ गते २ सय ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १ लाख ७ हजार ३ सय ३६ देखाइएको छ । मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली कास्की, नवलपरासी पूर्व, गोरखा, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, अर्घाखाँची, नवलपरासी पश्चिम, सुर्खेत, कैलाली, कञ्चनपुर, बैतडी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार वैशाख ३१ गते साँझसम्म ७३ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ ।

Corona Infographics 2078-31

प्रदेश १

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालयले जेठ ११ गतेसम्मका लागि निषेध आदेशको समय थप गरेको  छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको वैशाख ३१ गतेको बैठकले पुनः निषेध आदेशको समय थप गरेको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताउनु भयो । जिल्लामा कोभिड–१९ सङ्क्रमित दिनप्रतिदिन बढ्दै आएको र मृत्युदर समेत बढेकाले कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि तेस्रो पटक निषेध आदेशको समय थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जेठ १ गते राति १२ बजेसम्मका लागि दोस्रो पटक जिल्लाभर निषेध आदेश गरिएको थियो । पहिलो पटक विराटनगर महानगरपालिकासहित बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाका केही वार्डमा वैशाख १८ गते मध्यरातिदेखि निषेध आदेश जारी गरिएको थियो ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार जिल्ला प्रशासन कार्यालयले जेठ ७ गतेसम्मका लागि निषेध आदेशको समयावधि थप गरेको छ । जिल्लामा कोभिड–१९ को सङ्क्रमण बढेपछि वैशाख ३० गते मध्यरातिदेखि जेठ ७ गतेसम्मका लागि दोस्रो पटक निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताउनु भयो । निषेध आदेशको समयमा औषधि पसल र पेट्रोलपम्प बाहेकका अन्य सेवा बन्द रहने प्रशासनले जनाएको छ । सरकारी कार्यालय र अत्यावश्यक सेवाका कर्मचारीलाई बिहान ९ देखि १० बजेसम्म तथा साँझ ५ बजेदेखि ६ बजेसम्म आवतजावतका लागि समय तोकिएको प्रशासनले जनाएको छ ।

धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार कोभिड–१९ को सङ्क्रमण बढेपछि जोखिम न्यूनीकरण तथा रोकथामका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १५ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेध आदेश जारी गरेको छ । वैशाख ३१ गतेको बैठकले जेठ १५ गतेसम्म निषेध आदेश जारी गर्ने निर्णय गरेको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले बताउनु भयो । निषेध आदेशको अवधिभर अत्यावश्यक सेवाका पसल तरकारी, खाद्यान्न तथा मासु पसल बिहान ६ बजेदेखि बिहान ९ बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म खोल्न सकिने प्रशासनले जनाएको छ । बैङ्क तथा वित्तीय संस्थाहरू सोमबार, बुधबार र शुक्रबार बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सिमित कर्मचारीमार्फत सेवा प्रदान गर्न सकिने प्रशासनले जनाएको छ । यसअघि जिल्लामा वैशाख २३ गतेदेखि वैशाख ३१ गतेसम्म निषेध आदेश जारी गरिएको थियो ।

उदयपुर प्रतिनिधि भरत खड्काका अनुसार कोभिड–१९ सङ्क्रमित बढेपछि जिल्ला प्रशासन कार्यालयले जेठ १ गते मध्यरातिदेखि जेठ ७ गते मध्यरातिसम्मका लागि निषेध आदेशको समय थप गरेको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको वैशाख ३० गतेको सिफारिस बमोजिम निषेध आदेशको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाइले बताउनु भयो । यसअघि वैशाख २५ गतेदेखि वैशाख ३१ गते मध्यरातिसम्मका लागि निषेध आदेश जारी गरिएको थियो ।

प्रदेश २

महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार औरही नगरपालिकाले वैशाख ३१ गतेदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । औरही नगरपालिकाका प्रमुख सुनिलकुमार यादवले जेठ ७ गतेसम्मका लागि नगरपालिकाबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवा बन्द गरेको बताउनु भयो । यस अवधिमा स्वास्थ्यसम्बन्धी सेवा र फोहोरमैला व्यवस्थानसम्बन्धी कार्यहरू भने सुचारु नै रहने उहाँले बताउनु भयो । निषेध आदेशको अवधिमा औरही नगर क्षेत्रभित्र कोभिड सङ्क्रमितको सङ्ख्यामा बृद्धि भइरहेको हुँदा रोकथाम र नियन्त्रणको लागि नगरपालिकाका सेवा बन्द गरिएको प्रमुख यादवले जनाउनुभयो ।

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार समुदायमा काभिड सङ्क्रमण फैलिएपछि वैशाख ३१ गतदेखि अनिश्चितकालका लागि सप्तरीको कञ्चनरूप नगरपालिका पूर्ण रूपमा सील गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र सप्तरीको वैशाख ३१ गते बसेको बैठकले नगरपालिकाका सबै वडा सील गरी मानिसको आवतजावत नियन्त्रण गर्ने निर्णय गरेसँगै सबै वडा सिल भएका हुन् । समुदाय स्तरमा व्यापक रूपमा सङ्क्रमण फैलिएको भन्दै कञ्चनरूप नगरपालिकाले स्वास्थ्य सेवाका अति आवश्यक बाहेकका सेवाहरू वैशाख ३१ गतेदेखि बन्द गरेको थियो ।

बागमती प्रदेश

काठमाडौँ प्रतिनिधि बिमला पौडेलका अनुसार राष्ट्रिय मानव अधिकार आयोगले कोभिड महामारीमा बिरामीको उपचारमा अक्सिजनको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । आयोगले वैशाख ३१ गते विज्ञप्ति जारी गरी गम्भीर बिरामीको स्वास्थ्योपचारको व्यवस्था मिलाउन, अक्सिजनसहितका थप शैयाको व्यवस्था गर्न, अक्सिजनको उत्पादन तथा आपूर्ति बढाउन ध्यानाकर्षण गराएको हो । आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले विज्ञप्ति निकालेर अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको मनोबल उच्च राख्न, श्रमिक तथा ज्याला मजदुरी गर्ने वर्गको जीविकोपार्जन कार्यक्रम ल्याउन पनि आग्रह गरेका छन् । यस्तै कोरोना खोपको तत्काल व्यवस्था गर्न, भेण्टिलेटर, सघन उपचार कक्ष (आईसीयू) लगायत मेडिकल सामग्री, खाद्यान्न तथा अत्यावश्यक सेवा र वस्तुको सहज आपूर्ति गर्न पनि आग्रह गरेको छ । महामारी सुरू भएको एक वर्ष बितिसक्दा समेत अक्सिजन आपूर्ति बढाउन नेपाल सरकारबाट सार्थक पहल नहुँदा आम नागरिकले अक्सिजनको अभावमा जीवन गुमाउन बाध्य भएको आयोगले उल्लेख गरेको छ ।

मकवानपुरमा प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार हेटौँडाका निजी अस्पतालहरूले अक्सिजन अभावका कारण कोभिड सङ्क्रमितको उपचार गर्न नसक्ने जनाएका छन् । हेटौँडाको मकवानपुर सहकारी अस्पताल र चुरेहिल अस्पतालले वैशाख ३१ गते संयुक्त विज्ञप्ति जारी गर्दै अक्सिजनको अभावको कारण कोभिडका बिरामीको उपचार गर्न नसक्ने जनाएका हुन् । ‘चुरेहिल हस्पिटल प्रालि र मकवानपुर सहकारी अस्पतालले क्रमशः १० र २० बेड गरी ३० बेडको एचडियु सेवा सहितको कोभिड उपचार सेवा प्रदान गर्दै आएकोमा दुई दिनदेखि बाहिरी जिल्लाबाट हेटौँडामा खपत हुने अक्सिजन सिलिण्डरहरू कम मात्रामा आउन थालेको र वैशाख ३१ गतेबाट अक्सिजन सिलिण्डरहरू नआएकोले कोभिडका बिरामीहरूको उपचारमा समस्या उत्पन्न भएको छ । मकवानपुरमै अक्सिजन प्लाण्ट नभएको कारण बाहिरी जिल्लाको अक्सिजन प्लाण्टको भर पर्नु परेको र बाहिरी जिल्लाबाट अक्सिजन आपूर्ति नभएको कारण आजैको मितिबाट दुवै अस्पतालले कोभिडका बिरामीहरूको उपचार गर्न नसक्ने व्यहोरा सर्वसाधारणको जानकारीको लागि अनुरोध छ ।’–विज्ञप्तिमा भनिएको छ ।

गण्डकी प्रदेश

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भटटराईका अनुसार जिल्ला प्रशासन कार्यालय तनहँुले जारी गरेको निषेध आदेश जेठ १५ गतेसम्म थप भएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले वैशाख ३१ गते सूचना प्रकाशन गर्दै जेठ १५ गते राति १२ बजेसम्म निषेध आदेश थप भएको  जानकारी दिनुभएको छ । नेपाल सरकार सङ्घीय मन्त्री परिषदको वैशाख ६ गतेको निर्णय र जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको वैशाख २१ गतेको निर्णय अनुसार सङ्क्रामक रोग ऐन, २०२० को दफा २, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) ले दिएको अधिकार प्रयोग गरी जिल्लाभर निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारीद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।

म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार कोभिड–१९ को सङ्क्रमण दर बढ्दै आएपछि यसको रोकथाम र नियन्त्रणका लागि म्याग्दीमा निषेध आदेशको अवधि १० दिन थप भएको छ । यसअघि बेनी नगरपालिका क्षेत्रमा १० दिन र अन्य स्थानीय तहमा समेत लगाइएको निषेध आदेश वैशाख ३१ गते राति १२ बजे सकिँदै थियो । सोही अवधिलाई निरन्तरता दिँदै वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्म लागु हुने गरी निषेध आदेशको अवधि थप गर्ने डिसिसिएमीको बैठकमा निर्णय भएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा कोभिड–१९ बाट ५ सय जनाभन्दा बढी सङ्क्रमित हुने जिल्लामा अर्घाखाँची, दाङ, बाँके, रुपन्देही, कपिवस्तु, पाल्पा, बर्दिया र नवलपरासी पश्चिम रहेका छन् भने २ सय बढी सङ्क्रमित हुने जिल्लामा गुल्मी र रोल्पा रहेका छन् । लुम्बिनी प्रदेशमा हालसम्म होम आइसोलेशनमा १९ हजार ३ सय ९१ जना, संस्थागत आइसोलेशनमा २ हजार २ सय ५ जना, आइसियुमा १ सय ६४ जना र भेण्टिलेटरमा १६ जना सङ्क्रमितहरू रहेका छन् ।

रुपन्देही प्रतिनिधि रिमा बिसीका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले पीसीआर परीक्षण शुल्कको मूल्य वैशाख ३१ गतेदेखि घटाएको छ । सरकारले १ हजार रुपियाँ शुल्क लिएर पीसीआर परीक्षण गर्ने भने पनि लुम्बिनी प्रादेशिक अस्पतालले २ हजार रुपियाँ शुल्क लिने गरेको थियो । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भोजप्रसाद श्रेष्ठको निर्देशनपछि शुल्क घटाएको अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर राजेन्द्र खनालले बताउनु भयो ।

नवलपरासी पश्चिम प्रतिनिधि नारायण पराजुलीका अनुसार कोभिड–१९ सङ्क्रमणको दरमा कमी नआएपछि जिल्लामा लगाइएको निषेध आदेश जेठ १५ गतेसम्मका लागि थप गरिएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले वैशाख ३१ गते राति १२ बजेदेखि लागु हुने गरी निषेध आदेश थप गरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताउनु भयो ।

कर्णाली प्रदेश

हुम्ला प्रतिनिधि नन्द सिंहका अनुसार कोभिड–१९ बाट सङ्क्रमित सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीलाई श्वास–प्रश्वासमा समस्या भएपछि वैशाख ३१ गते हेलिकोप्टरमार्फत थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको छ । वैशाख ३० गते साँझदेखि जिल्ला अस्पतालमा उपचाररत धामीको श्वास–प्रश्वास ४० मा झरेपछि थप उपचारका लागि जुम्ला पठाइएको स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताउनु भयो । धामीको श्वास–प्रश्वासको अवस्था निकै जटिल भएपछि सर्केगाड गाउँपालिकाले आधा र सङ्क्रमितले आधा व्यवस्थापन गर्ने गरेर ९ लाख ५० हजार रूपियाँमा सिम्रिक हेलिकप्टरबाट उद्धार गरिएको सर्केगाड गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रूद्रबहादुर शाहीले बताउनु भयो । उहाँका अनुसार सर्केगाड गाउँपालिकाका लागि एन्टिजेन किट र अन्य स्वास्थ्य सामग्री लिन सिमकोट आएका धामीलाई वैशाख २८ गते गरिएको पीसीआर परीक्षणमा पोजेटिभ देखिएको थियो ।

सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार अक्सिजनको अभाव भएपछि कर्णाली प्रदेश अस्पताल सुर्खेतले थप सङ्क्रमित बिरामीहरूलाई भर्ना गर्न नसकिने जनाएको छ । अस्पतालका निर्देशक डाक्टर डम्मर खड्काले भन्नुभयो– ‘हाल अस्पतालमा रहेको मौजात अक्सिजनले यहाँ उपचाररत बिरामीहरूलाई नै पुग्दैन ।’ कोभिड अस्पताल समेत रहेको यस अस्पताललाई दैनिक ३ सय सिलिण्डर अक्सिजन आवश्यकता पर्नेमा केही दिन अघि २ सय सिलिण्डर ल्याइएकोमा दुईदिनदेखि अक्सिजनको हाहाकार भएको निर्देशक खड्काले बताउनु भयो । नेपालगञ्जमा अक्सिजन अभाव भएकोले ल्याउन नसकिएको र अन्यत्र समन्वय गरिरहेको डाक्टर खड्काको भनाइ छ । अस्पतालमा २ सय बिरामीहरूलाई राखेर उपचार गर्न सकिने भएपनि अक्सिजनको अभावमा हाल ९८ जनाको मात्र उपचार भइरहेको तथा जनशक्ति र बेड भएपनि पर्याप्त मात्रमा अक्सिजन नहुँदासम्म नयाँ भर्ना लिन नसकिने डाक्टर खड्काले बताउनु भयो । अस्पतालले हाल दुईवटा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याए पनि ती प्लान्टहरूले हाइफ्लोमा अक्सिजन दिन नसकिरहेको र त्यहाँ उत्पादित अक्सिजन अस्पतालमा उपचाररत बिरामीहरूलाई समेत अपुग रहेको अस्पतालका डाक्टर नमराज केसीले बताउनु भयो ।

मुगु प्रतिनिधि जीवन सेजुवालका अनुसार कोभिड–१९ को सङ्क्रमण बढिरहेको भन्दै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र तथा जिल्ला सुरक्षा समितिको वैशाख ३० गतेको बैठकले एक हप्ताका लागि निषेधाज्ञा थप गर्ने सिफारिस गरेको छ । वैशाख २२ गतेदेखि ३१ गतेसम्म जारी निषेधाज्ञामा एक हप्ता थप गरेर जेठ ७ गतेसम्मका लागि सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर सिवाकोटीले बताउनु भयो ।

सुदूरपश्चिम प्रदेश

कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार विश्वभरी फैलिरहेको कोभिड–१९ को दोस्रो लहरले नेपालमा पनि सङ्क्रमित र मृत्यु हुनेहरूको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै गएको अवस्थामा यसको रोकथाम तथा नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश नागरिक समाजले वैशाख ३१ गते बिहान जुम बैठकको आयोजना गरी सङ्घीय, प्रादेशिक सरकार र स्थानीय तहको ध्यानाकर्षण गराएको छ । अस्पतालहरू कोभिड सङ्क्रमितहरूले भरिभराउ भएको, शैया नपाएर अस्पतालका बरण्डा तथा ग्यालरी र बाहिर टेन्ट लगाएर समेत बिरामीहरू बस्नु परेको, अक्सिजनको अभावले बाँच्न सक्ने सङ्क्रमितहरूलाई समेत उचित व्यवस्था तथा हेरविचार गर्न नसकेर बचाउन नसकेको, सङक्रमितहरूलाई आवश्यक पर्ने स्वास्थ्य उपकरण र औषधिहरूको चर्को मूल्यमा विक्री वितरण भइरहेको अवस्थामा तीनै तहका सरकारहरूको आपसी समन्वय नभएकोले जनताले थप समस्या झेल्नु परेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । इन्सेक, गैसस महासङ्घ, जिल्ला बार इकाई, पत्रकार महासङ्घ लगायत सुदूरपश्चिममा कार्यरत विभिन्न सङ्घ–संस्थाहरूको साझा मञ्चका रूपमा रहेको सुदूरपश्चिम नागरिक समाजद्वारा जारी गरिएको ध्यानाकर्षण पत्रमा सम्पूर्ण जनताका लागि कोभिड विरुद्धको खोपको अविलम्ब व्यवस्था गर्नु पर्ने, प्रदेशमा बिरामीहरूले अस्पतालमा शैया र स्वास्थ्यकर्मीको अभाव भएकोले तत्काल गेटा मेडिकल कलेज लगाएतका सम्भावित स्थानमा अस्थायी अस्पताल निर्माण गरी आवश्यक दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गरी सञ्चालनमा ल्याउनु पर्ने, सबै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सहित आइसियु र भेण्टिलेटर सेवा विस्तार गरिनु पर्ने, दीर्घरोगीहरूलाई चाहिने आवश्यक औषधिको पर्याप्त मात्रामा आपूर्ति गरिनु पर्ने, सुदूरपश्चिम प्रदेशमा रहेको एक मात्र अक्सिजन उत्पादन प्लान्ट हाल बिग्रिएर बन्द भएकोले अविलम्ब सञ्चालनमा ल्याउने व्यवस्था गर्नु पर्ने, निषेध आदेशको स्थितिबाट दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने विपन्न परिवारहरू नराम्ररी प्रभावित भइरहेकाले उनीहरूका परिवारको जीवन रक्षाका लागि विशेष राहतका प्याकेजहरूको यथाशिघ्र व्यवस्था गरी उनीहरूको खाद्य अधिकार सुनिश्चित गर्नु पर्ने लगायतका मागहरू उल्लेख गरिएको छ ।

दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार जिल्लामा कोभिड सङ्क्रमण दिनप्रतिदिन बढ्दै गएको भन्दै कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको वैशाख ३१ गते बसेको बैठकले निषेध आदेश जेठ १० गतेसम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताउनु भयो । जिल्लामा अत्यावश्यक सेवा बाहेकका सार्वजनिक सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिनु भयो । जेठ १ गतेदेखि लागु हुने गरी बैङ्क तथा वित्तीय संस्थाहरू बिहान ८ बजेदेखि १० बजेसम्म मात्रै सञ्चालन हुने र खाद्यान्न, तरकारी, दुध डेरी बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्न सकिने जिल्ला प्रशासन, कार्यालयद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

त्यसैगरी, अपि हिमाल गाउँपालिकामा कोभिड सङ्क्रमण दिनानुदिन बढ्दै गएपछि स्थानीय कोभिड–१९ सङ्कट व्यवस्थापन समिति र सर्वपक्षीय बैठकले अपि हिमाल गाउँपालिकाको वडा नम्बर १, २, ४ र ६ मा पाँच÷पाँच ओटा आइसोलेशन शैया बनाउने निर्णय गरेको छ । अपि हिमाल गाउँपालिकाको वडा नम्बर ५ मा निर्माणाधीन मकरीगाड हाइड्रोपावरको सामाजिक उत्तरदायी कोषबाट आइसोलेशनका लागि चाहिने सामग्री उपलब्ध गराउन बैठकले आग्रह गरेको विपद् व्यवस्थापन अधिकृत पानसिंह धामीले बताउनु भयो । सङ्क्रमण नियन्त्रण र रोकथाम गर्न अपि हिमाल गाउँपालिकाको वडा नम्बर ५ को मकरीगाड बजारलाई बिहान ८ बजेदेखि १० बजेसम्म र खण्डेश्वरी बजार दिउँसो २ बजेदेखि ५ बजेसम्म खुला गर्ने,  गाउँपालिकामा रहेका बैङ्क तथा वित्तीय संस्थाहरू हप्तामा तीन दिन खुला गर्ने तथा गाउँपालिका भरी कोभिडको बारेमा माइकिङ तथा प्रचार प्रसार गर्ने निर्णय बैठकले गरेको धामीले बताउनु भयो ।

डडेल्धुरा प्रतिनिधि भूपेन्द्र विष्टका अनुसार कोभिड भाइरसको सङ्क्रमणका बेला अग्र पङ्तीमा रहेर काम गर्ने सञ्चारकर्मीहरूको जोखिम व्यवस्थापनका लागि नेपाल पत्रकार महासङ्घ, डडेल्धुरा शाखाले १० शैयाको आइसालेशन निर्माण गर्ने निर्णय गरेर निर्माणको कार्य सुरु गरेको छ । पत्रकार महासङ्घ, डडेल्धुराको आफ्नै भवनको चार ओटा कोठामा आइसोलेशन निर्माण गर्ने कार्य सुरु गरिएको पत्रकार महासङ्घ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मतबहादुर सिंहले बताउनु भयो । कोभिड माहामारी दिनप्रतिदिन बढ्दै गएको अवस्थामा जिल्लामा क्रियाशील पत्रकारहरू कोभिड सङ्क्रमित भएमा उनीहरूको उपचारमा सहयोग गर्ने उद्देश्यले कोभिड आकस्मिक कोषको पनि स्थापना गरिएको पत्रकार महासङ्घ डडेल्धुरा शाखाका अध्यक्ष सिंहले बताउनु भयो ।

डोटी प्रतिनिधि वाशुदेव जोशीका अनुसार जिल्ला सङ्कट व्यवस्थापन समितिको वैशाख ३१ गते बसेको बैठकले जिल्लामा कोभिड भाइरसको सङ्क्रमण स्थानीय तहमा फैलिदै गएकोले यसको नियन्त्रण तथा न्यूनिकरणका लागि जेठ १५ गतेसम्म निषेध आदेश थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनु भयो । निषेध आदेश अवधिभरी अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द रहने र निषेध आदेश उल्लङ्घन गरिएको अवस्थामा सङ्क्रमण रोग ऐन अनुसार कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताउनु भयो । त्यसैगरी, गाउँपालिका भित्रै कोभिडका बिरामीहरू बढ्दै गएपछि बड्डी केदार गाउँपालिकाले १० बेडको आइसोलेशन निर्माण गरी कोभिडका बिरामीहरूको उपचार भइरहेको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनु भयो ।

बैतडी प्रतिनिधि नरी बडुका अनुसार कोभिड भाइरसको सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि जिल्लाभरी निषेध आदेश जारी रहेको भएपनि यसको पूर्ण रूपमा पालना नभएको पाइएको छ । कोभिड सङ्क्रमण बढी रहेको अवस्थामा जिल्लामा निषेध आदेश जारी गरेकै बेलामा पुर्चौंडी नगरपालिका–५ कुवाकोटस्थित दिपज्योती आधारभुत विद्यालयले भौतिक दुरीको समेत प्रवाह नगरी विद्यालय व्यवस्थापन समिति गठन गर्ने भन्दै अभिभावकहरूको भेला गरेको छ । विद्यालयमा व्यवस्थापन समितिको म्याद सकिएको र नयाँ व्यवस्थापन समिति गठनका लागि भेला गरिएको भएपनि विवाद बढेपछि भिडभाड भएको विद्यालयका प्रधानाध्यापक तुलाधर पन्तले बताउनु भयो । वडा कार्यालयले नै सूचना जारी गरेर भिडभाडका कार्यक्रम नगर्न भनेको भएपनि सो भेलामा वडाध्यक्ष नागीसिंह खडायतको समेत सहभागिता रहेको थियो । कोभिड भाइरसको सङ्क्रमण तीव्र रूपमा फैलिरहेको भन्दै स्थानीय प्रशासनले निषेध आदेश जारी गरेका बेला भइरहेका यस्ता भीडभाडले कोभिडको जोखिम झन् बढाएको स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख योगेश भट्टले बताउनु भयो । पुर्चौंडी नगरपालिकाका उपप्रमुख जानकी ऐर बमले विद्यालयमा भेला गर्ने बारे नगरपालिकालाई जानकारी नभएको र यो विषयमा विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण सोधिने बताउनु भयो । http://inseconline.org/np/news/%e0%a4%95%e0%a5%8b%e0%a4%ad%e0%a4%bf%e0%a4%a1-%e0%a5%a7%e0%a5%af-%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%a3%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ac-235/

शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...