एमाले नमिल्नुमा नेपालकै अनिच्छा

घटनाक्रमले नेकपा एमाले मिल्न नसक्नुमा माधवकुमार नेपालकै अनिच्छा प्रमुख कारण देखिएको छ। एकताभन्दा पनि एमालेको ठुलो हिस्सा लिएर नेकपा माओवादी केन्द्रसँग एकीकरण गर्ने वा छुटै पार्टी बनाएर जाने योजना देखिन्छ। गत फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि उनका हरेक गतिविधि एमाले एकताभन्दा अन्यत्र छ। एमालेको ठुलो हिस्सा लिएर माओवादी केन्द्रसँग मिल्न वा छुटै पार्टी निर्माण गरेर जाने उनको चाहना उनका क्रियाकलापले बताउँछन्। फागुन २३ मा उनी एमालेको पार्टी कार्यालय धुम्बाराही जानु साटो माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा पुगेर यही योजना र रणनीतिका साथ फर्किए। पेरिसडाँडा गइरहे तर न धुम्बाराही न त प्रधानमन्त्री कार्यालय बालुवाटार नै गए।

माधवकुमार नेपाल लागि परेका भए एमालेको एकता असम्भव थिएन। नेपालले माग गरेबमोजिम २०७५ जेठ २ मा फर्किने पनि असहज थिएन तर उनी कुनै पनि हालतमा ओलीसँग बसेर काम गर्न सक्ने मनस्थितिमा छैनन्। उनको ओलीप्रति मोह भंग भइसकेको छ।

यही योजना र रणनीतिअनुसार नेपाल ओलीसँग आन्तरिक संघर्ष गर्नुको साटो देशभर समानान्तर गतिविधिमा क्रियाशिल रहे। समानान्तर गतिविधिलाई पार्टीको अन्तरसंघर्षका रूपमा आमकार्यकर्ताले बुझे र उनीहरू क्रियाशिल पनि रहे। ओली नै पार्टी एकताको पक्षमा छैनन् भन्ने कार्यकर्तालाई विश्वस्त बनाउने उनको योजना थियो। नेपालले अनेरास्ववियु, युवा संघ नेपाल, अखिल नेपाल महिला संघलगायतका भातृसंगठनदेखि जिल्लास्तरमा समानान्तर कमिटी बनाए। नेपालले यो तीन महिनाको अवधिमा एमाले एक हुनुपर्छ भन्ने कुनै पनि गतिविधि गरेनन्। उनले पार्टी अध्यक्षसँग भेटघाटको प्रयास र पहलसमेत गरेनन्। पार्टीअध्यक्ष ओली र सरकारविरुद्ध प्रतिपक्षी दलभन्दा खरो रूपमा उत्रिए। आफू समर्थक कार्यकर्तालाई ओलीविरुद्ध उचालेर एक हुन नसक्ने अवस्था बनाउनु उनको उद्देश्य थियो।

दोस्रो तहका नेतासँग पटक पटक पार्टी एकताका लागि पहल गर्न दबाब दिए पनि नेपालले खासै ठाडो कान लगाएनन्। एमाले र माओवादी केन्द्र ब्युँतिएपछि वैशाख ८ मा ओली र नेपालको एकपटक मात्र भेट भयो। सर्वोच्चको निर्णयको पनि एक महिनापछि मात्रै भएको उक्त भेट पनि दोस्रो तहका नेताको दबाबमा भएको थियो। चैत्र २ मा धुम्बाराहीमा भेट हुँदा ओलीले चैत ५ र ७ मा हुने केन्द्रिय समितिको बैठकमा आउन निमन्त्रणा गरे तर उल्टै नेपाल पक्षले चैत्र ४ र ५ मा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्‍यो। संस्थापन पक्षले बोलाएको केन्द्रीय कमिटीको बैठकमा गएनन्। वैशाख ८ को भेटघाट पनि आफूनिकट २७ जनालाई प्रतिनिधि सभाका सदस्यलाई स्पष्टीकरण सोधिएपछि नेता योगेश भट्टराई र घनश्याम भुसालको अनुनय विनयपछि भएको थियो।

सुरुआतमा जिल्ला तहमै छुटै गतिविधि गरेर आफ्नो पक्षलाई बलियो बनाउन ध्यान केन्द्रीत गरेका नेपालले केन्द्रिय तहमा उनका अति विश्वास पात्र मूलधारमा फर्किन थालेपछि भने झस्किए। सबैभन्दा विश्वास पात्र विष्णु रिजालले पनि उनलाई छोडे। लालबाबु पण्डित, शेरबहादुर तामाङ र कृष्णभक्त पोखरेल लगायतले यसअघि नै छोडिसकेका थिए। एकताका योगेश भट्टराई, गोकर्ण बिष्टजस्ता जनाधार रहेका नेताको दबाब उनमा पर्‍यो तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको ढाडसमा पाइरहे। दाहालले पनि ओलीविरुद्ध नेपाललाई उचालिरहे। प्रधानमन्त्रीको ओलीको विश्वास मत लिने भनिएकै दिन नेपाल पक्षले राजीनामा दिने तयारी थियो। आफूनिकट सबै सांसदलाई सिंहदरबार बोलाइयो तर भविष्य भएका दोस्रो तहका नेताले राजीनामा दिन अस्विकार गरे। पार्टीको ह्विप उल्लंघन गरी त्यसपछि अनुपस्थित भई ओलीलाई विश्वासको मत लिनबाट वञ्चित गराउने काम भयो। वैशाख २७ गते बिहान राजीनामा दिन बसेको नेपाल पक्ष अनुपस्थित हुने निर्णय गरेर बाहिरियो।

त्यसपछि दोस्रो तहका नेताको प्रयासमा नेपालसहितका निलम्बनमा परेका भिम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको कारबाही फुकुवा गरियो। वैशाख ३० मा ओली र नेपालबीच बुढानिलकण्ठमा वार्ता भयो। अध्यक्ष ओेली नेपाल पक्षका मागमा सहमत पनि भए। आमकार्यकर्तामा आशाको सञ्चार पनि भयो। अब एमाले मिल्ने भयो भन्दै कार्यकर्तामा खुसीयाली पनि छायो। त्यसमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी राखियो। दुवै पक्षका पाँच पाँच जनाको कार्यदल पनि बन्यो। कार्यदल एकताका एजेन्डा बनाउन लाग्यो। कार्यदलमा योगेश परेनन्, विश्वासपात्र रघुजी पन्तलाई राखियो। नेपालले पार्टीको आधिकारिक उम्मेद्वार रामबहादुर थापालाई सहयोग नगरेर स्वतन्त्र उमेद्वार डा. खिमलाल देवकोटालाई जिताए। यसअघि पार्टीको ह्वीपविरुद्ध कर्णालीमा फ्लोर क्रस गराउने र लुम्बिनीमा आफूनिकट सांसदलाई राजीनामा गराएर एमालेलाई सत्तामा जान नदिने र ओलीलाई सत्ताच्यूत गर्ने काममा नेपाल क्रियाशिल रहे।

अर्कोतिर पार्टी अध्यक्षलाई प्रधानमन्त्री बनाउने योजनाविरुद्ध देउवा निवासमा भएको छलफलमा नेपाल सहभागी हुन पुगे। यता पार्टी एक ढिक्का गर्न आचारसंहिता बनाउन कार्यदल लागिरहेको थियो। दलका सदस्य भीम रावललाई लिएर नेपाल देउवा निवास पुगी उनलाई प्रधानमन्त्री बनाउन आफ्नो पक्षको हस्ताक्षरसहित आउने विश्वास दिलाए। यसमा केही सांसद असहमत भएपछि आफैं प्रधानमन्त्री हुने भन्दै हस्ताक्षर गर्न लगाए। नेपाल २६ सांसदको हस्ताक्षरसहित उपस्थित भएर देउवालाई समर्थन जनाउन राष्ट्रपति कार्यालय पुगे। यस्तो अवस्थामा पनि दुवै पक्षका दोस्रो तहका नेता भने फुटबाट रोक्न प्रयासरत रहे।

ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली लागेका थिए भने नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई। दुवै पक्षका ६ नेताले जेठ ९ मा चार घण्टा लामो अन्तिम गृहकार्य गरे। जसमा ओली जेठ २ मा फर्कन सहमत भएको सार्वजनिक अभिव्यक्ति दिने र आवश्यक परे लिखित प्रतिवद्धता नै जनाउने र नेपाल पक्षका सांसद सर्वोच्च अदालत जानबाट पछि हट्ने सहमतिजस्तै भयो। ओली पनि सहमत भइसकेका थिए। जेठ १० मा दिउँसो साढे १२ बजे बालुवाटारमा बैठक  बोलाइयो। रावलले सुरुमा हुन्छ भन्ने जवाफ दिए। बालुवाटारमा ओली र सो पक्षका ५ नेता नेपाल पक्षका नेतालाई १ बजेसम्म कुरेर बसे। तर नेपाल पक्ष सर्वोच्चतिर गयो। नेपाल कुनै पनि हालतमा ओलीसँग मिल्न नसक्ने मनस्थिति पुगेका थिए।

नवौ महाधिवेशनमा पराजित भएपछि नेपालको तुस ओलीप्रति थियो। नेकपा एकीकरण पनि उनले सहज मानेनन्। ओली र दाहालले चोसोमोचो मिलाएर आफूलाई एक्ल्याएको आरोप उनको थियो। ओली र दाहालको सम्बन्ध बिग्रिन थालेपछि भने नेपाल दाहालसँग मिलेर ओलीविरुद्ध खनिए। दाहालले ओलीविरुद्ध ल्याएको १९ बँुदे आरोप पत्रमा नेपालको समर्थन र सहयोग रह्यो। नेकपा रहँदा नै दाहाल, नेपाल, गौतमलगायत सचिवालयका बहुमत सदस्य ओलीविरुद्ध लागे। पार्टीकै नेताहरू आफूलाई सरकारबाट च्युत गराउन सक्रिय भएपछि ओलीले २०७७ पुस ५ प्रतिनिधि सभा नै विघटन गरिदिए।

यसपछि त दाहालसँग मिलेर नेपालले ओलीलाई चारपटक साधारण सदस्यबाटै निकालेको घोषणा गरे। उल्टै ओलीलाई निकालेर नेपाललाई अध्यक्ष बने। देशभर दाहाल नेपालले प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन छेडे। २०७७ फागुन ११ मा एक्कासि प्रतिनिधि सभा पुनस्र्थापित भयो। सबैभन्दा खुसी माधव नेपाल भए। फागुन २३ मा नेपाल र दाहालले नसोचेको फैसला अदालतबाट आयो। उनीहरूले सोचेकै थिएनन् नेकपा खारेज हुन्छ भनेर। सर्वोच्चले नेकपा ऋषि कट्टेलको भनिदियो। अब एमाले र माओवादी केन्द्रलाई ब्युँतियो। नेपाल र दाहाल छाँगाबाट खसेझैं भए। अब भने निष्कासित नेपाल  एमालेमा बसिरहने मनस्थितिमा भएनन्।

नेपाल ओलीसँग मिल्न नचाहनु कुनै वैचारिक र सैद्धान्तिक कारण नभएर इगो मात्रै थियो। १५ वर्ष एकछत्र पार्टीमा राज गरेका नेपाललाई अर्को व्यक्तिको मातहतमा काम गर्न अत्यन्त असहज भयो। ओलीबाट उनले सम्मान पाएनन्। २०७१ सालको पार्टीको अध्यक्ष पराजित हुनुलाई पनि उनले स्वाभाविक ठानेनन्। उनी गुटलाई मजबुद बनाउनतिर क्रियाशिल रहे। एमालेमा नेपाल र ओली दुवै जनताको बहुदलीय जनवादका पक्षपाती हुन्। जबज नै एमालेको मार्गदर्शक सिद्धान्त हो। नेपाललाई भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, वेदुराम भुसाल, मुकुन्द न्यौपानेदेखि युवा नेतृ रामकुमार झाँक्रीलगायतको साथ रह्यो। ओलीप्रति सबैभन्दा अनुदार यी नेता पनि ओलीसँग मिलेर जाने पक्षमा थिएनन्। अध्यक्ष र प्रधानमन्त्री हुँदा नै असहयोग गरेको भन्दै झलनाथ खनाल त ओलीप्रति असन्तुष्ट थिए नै।

सबै घटनाक्रमले नेपाल एमालेमा रहने मनस्थिति नरहेको स्पष्ट हुन्छ। दोस्रो तहका नेता र कार्यकर्ताको मन राख्न मात्रै नेपाल एकताको नाटकमा सहभागी भएको देखिन्छ। नेपाल लागि परेका भए एमालेको एकता असम्भव थिएन। नेपालले माग गरेबमोजिम २०७५ जेठ २ मा फर्किने पनि असहज थिएन तर उनी कुनै पनि हालतमा ओलीसँग बसेर काम गर्न सक्ने मनस्थितिमा छैनन्। उनको ओलीप्रति मोह भंग भइसकेको छ। त्यसैले उनले अध्यक्ष ओली र एमालेको संस्थापन पक्षविरुद्ध गतिविधि गरिरहे। १५ वर्षको नेतृत्व गरेको नेतालाई आफ्नो गतिविधिले पार्टी एकढिक्का हुन सक्दैन भने कुनै शंका नै थिएन। अन्नपुर्णपोष्ट अनलाइनबाट

शुक्रबार, जेष्ठ १४, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...