भिल्ला रियल च्याम्पियन

स्पेनिस क्लब भिल्लारियलले युरोपा लिग फुटबलको उपाधि जितेको छ। बुधबार राति भएको खेलमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडलाई सडन डेथमा ११–१० ले पराजित गर्दै भिल्लारियल च्याम्पियन बनेको हो।

पोल्यान्डको पोल्साट एरिनामा भएको रोमाञ्चक खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएको थियो। खेलको २९औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्ला रियललाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ५५औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई खेलमा फर्काएका थिए। त्यसपछि निर्धारित समय र थप गरिएको अतिरिक्त समयमा पनि दुवै टोलीबाट गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। भिल्ला रियल च्याम्पियन

२२ पेनाल्टी भएको खेलमा म्यानचेस्टर युनाइटेडका गोलरक्षक डेभिड डी जिया चुक्दा भिल्लारियलले पहिलो पटक उपाधि जित्न सफल भयो। जियाको प्रहार भिल्लारियलका गोलरक्षक जेरोनिमो रुलीले बचाएका थिए।

भिल्लारियलका जेरार्ड मोरेनोले टाइब्रेकरमा पहिलो प्रहारलाई गोलमा परिणत गरेका थिए। युनाइटेडका लागि जुआन माटाले पनि पहिलो प्रहारमा गोल गरे। ड्यानी राबाले भिल्ला रियलका लागि दोस्रो प्रहारमा गोल गरेपछि एलेक्स टेलेसले युनाइटेडलाई बराबरीमा ल्याए। तेस्रो प्रहार गर्न आएका पाको अल्कासेरको प्रहार गोलरक्षक जियाको हातमा लाग्दै गोल भएको थियो। युनाइटेडका लागि पनि ब्रुनो फर्नान्डेसको प्रहार गोलरक्षक जेरमिनो रुल्लीको हातमा लाग्दै गोल भयो।

चौथो प्रहारमा अल्बर्टो मोरेनोले गोल गर्दै भिल्ला रियललाई अग्रता दिलाए। मार्कस रासफोर्डले पनि युनाइटेडको चौथो प्रहारमा कुनै गल्ती गरेनन्। भिल्ला रियलका ड्यानी परेहोले पाँचौं प्रहारलाई गोलमा परिणत गर्दै युनाइटेडमाथि दबाब बनाएका थिए। उरुग्वेली फरवार्ड एडिन्सन काभानीले पनि सहजै गोल गर्दै खेल सडन डेथमा लम्ब्याएका थिए। मोई गोमेजले गोल गर्दै भिल्ला रियललाई पुनः अग्रता दिलाएका थिए। त्यसपछि फ्रेडले गोल गर्दै खेल बराबरीमा ल्याए।

कप्तान राउल आल्बिओलले गोल गर्दै भिल्ला रियललाई पुनः अग्रता दिलाए। ड्यानिएल जेम्सले पनि सहज ढंगले गोल गर्दै खेल बराबरी गरे। त्यसपछि फ्रान्सिस कोकेलाइनले टप कर्नरमा पेनाल्टी प्रहार गर्दै गोलरक्षक जियालाई कुनै अवसर नै दिएनन्। लुक शको प्रहार गोलरक्षक रुल्लीको हातमा लाग्दै गोल भएको थियो। मारियो गास्परले गरेको शक्तिशाली प्रहारलाई जियाले बचाउन सकेनन्। एक्सेल तुआनजेबेले गोलरक्षकलाई विपक्षी दिशामा पठाउँदै खेल दसौं प्रहारसम्म लम्ब्याए।

पाउ टोरेसले गोल गरेपछि भिल्ला रियल अग्रता लिन सफल भयो। भिक्टर लिन्डलफले पनि आफ्नो प्रहारमा कुनै गल्ती नगरी दुवै गोलरक्षकलाई प्रहार गर्न निम्त्याएका थिए। भिल्ला रियलका गोलरक्षक रुल्लीले गोल गरे भने म्यानचेस्टर युनाइटेडका डेविड डी जियाको प्रहार रुल्लीले बचाएपछि भिल्ला रियल उपाधि जित्न सफल भएको थियो।

भिल्ला रियलले पहिलो पटक युरोपा लिगको उपाधि जितेको हो। भिल्ला रियलको इतिहासमा यो नै सर्वाधिक ठूलो उपाधि हो। म्यानचेस्टर युनाइटेड भने दोस्रो पटक युरोपा लिगको उपाधि जित्न असफल भयो। यसअघि म्यानचेस्टर युनाइटेडले सन् २०१७ मा उपाधि जितेको थियो। त्यसयता युनाइटेडले कुनै पनि उपाधि जित्न सकेको छैन।

शुक्रबार, जेष्ठ १४, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...