बाल्टीभरि भ्यागुतै भ्यागुता

समय परिवर्तनशील छ । समयसँगै त्यहाँको रहनसहन, भेषभुषामा पनि परिवर्तन हुन्छ । मानिसका सोच परिवर्तन हुन्छ । काम गर्ने शैली परम्परा परिवर्तन हुन्छ । धेरै कुराहरु परिवर्तन हुन्छन् । परिवर्तन हुँदै जाँदा कतिपय कुराहरु छाडिदै जान्छ । कति नयाँ नयाँ अवलम्वन गरिन्छ । कति पुरानै कुराहरु आत्मसाथ गरिरहेका हुन्छौँ हामी ।

हो, मेरो मनमा पनि छिमेकी मुलुक भारतको नागाल्याण्ड बारेमा त्यस्तै छाप परेको थियो । सानामा जे सुनियो त्यो सत्य लाग्ने । स्कूल पढ्दाताका साथीहरुले सुनाउँथे । ”नागाल्याण्डमा त मान्छेहरु नांगै बस्छन रे । नांगै हिँड्छन रे ।” मलाई कस्ता लाज नभएका भन्ने लाग्थ्यो त्यतिबेला । तर जब बुझ्ने भएँ, लाग्यो, शरीर छोपेर मात्रै लाज नछोपिदो रहेछ । हाम्रो मानसिकतामा रहेको लाज छोप्नै नसकिने गरी हामी अभ्यस्त भएका रहेछौँ । यो बुझ्न मलाई धेरै समय लाग्यो ।

मानसिकरुपमा हाम्रो चेतनाको स्तर कहाँ छ ? बुझ्न पनि समय निकै लाग्यो । अहिलेसम्म पनि प्रष्ट बुझ्न सकेको छैन । बुझ्ने कोसिस जारी छ ।

नागाल्याण्डका बारेमा मेरो मस्तिष्कमा परेको छाप मेटाउन मलाई नागाल्याण्ड नै पुग्नु पर्यो । म नागाल्याण्ड जानुभन्दा अघि मैले केही साथीलाई म नागाल्याण्ड जाँदैछु भन्दा ”त्यो त बहुत खतरा ठाँउ हो, नजानु” भन्ने सुझाव दिए । “एक्लै होइन समूहमा जाने हो” भन्दा पनि जानू भन्ने सुझाव एक जना साथीले मात्र दिए ।

उनले, “नयाँ ठाँउ, नयाँ परिवेश, नयाँ संस्कृतिको बारेमा बुझ्ने मौका पाइन्छ किन नजाने ? जाने नि । बरु गएर त्यहाँको बारेमा नागाल्याण्ड डायरी नै लेख्ने नि” भनेपछि ममा छुट्टै जोश आयो । फेरि खतरा भनेको कस्तो खतरा रहेछ । थाहा पाइहालौँ न त भन्ने पनि लाग्यो । सानामा नागाल्याण्ड बारेमा सुनिएका कुरा पनि मस्तिष्कमा आए । भारतको असाम, गुहाटीतिरका मानिसहरु हाम्रो गाँउमा धेरै छन् । असामी टोल नै छ । नागाल्याण्ड, असाम, गुहाटी सँगसँगै पर्ने भएकाले ती छिमेकीहरु पनि सम्झिएँ ।

नागाल्याण्डका लागि हिँडेदेखि नै मनमा एक प्रकारको कौतहुलता जागेको थियो । त्यहीमाथि साथीहरुले खतरा ठाँउ हो नजानू भन्ने सुझावले अस्थिर पनि भइरहेकी थिए । नागाल्याण्ड जाने समूहका साथीहरुलाई मैले पूर्वी नाका काकडभिट्टामा भेटेँ । फोनमा बारम्बर सम्पर्क भइरहेको थियो । पानी सिमसिम परिरहेको थियो । केही दिनदेखि बढेको गर्मीमा राहतको महसुस पनि भइरहेको थियो ।

मायामितु

सन् १९६३ मा छुट्टै राज्य घोषणा भएको नागाल्याण्ड युद्धकलाका लागि निपूर्ण मानिन्थ्यो रे । दुस्मनको गर्धन छिनाउनु त्यहाँको परम्पराजस्तै थियो रे । पहिले त्यहाँका बासिन्दाले आफ्नो गुप्ताङ्गमात्र छोपिने पशुका छाला, प्वाख आदिको प्रयोग गर्थे रे । रेलमा सहयात्री साथीमध्ये एकले सुनाउनुभयो । बारम्बार गइरहने भएकाले त्यहाँको बारेमा धेरै कुराको जानकारी थियो उहाँमा । सायद यही होला सानामा मैले सुनेको नागाल्याण्डका बासिन्दाहरु नांगै हुन्छन भन्ने ।

अनि हातमा भाला अनिवार्य हुन्थ्यो रे । त्यही भएर मलाई साथीहरुले खतारनाक ठाउँ हो नजाउ भनेका होलान् । यस्तै यस्तै सोचिरहे यात्राभरि ।

निर्धारित समयभन्दा निकै ढिला गरी ट्रेन आयो । हामी नागाल्याण्ड पुग्नैबित्तिकै साथीहरु एकछिन आराम गर्ने भन्न थाल्नु भयो । मलाई भने कतिखेर नागाल्याण्डको बजार घुमौँ जस्तै भएको थियो । केही समयको आरामपछि हामी साँझमा यसो चोकतिर निस्कियौं । त्यहाँका बासिन्दाको जातिअनुसार भेषभुषा, खानपान, रहनसहन छुट्टाछुट्टै । नागाल्यण्डमा विशेष गरी १६ जनजातिको बाहुल्यता रहेछ । जहाँको संस्कृति बर्मासँग मिल्दोजुल्दो लाग्ने ।

लगातारको पानीले त्यति धेरै घुम्न पाइएन । फेरि एकपटक राजधानी कोहीमासम्म जानु पर्छ भन्ने लाग्यो । राजधानी कोहिमा पुग्न सकिएन । लगातारको पानीले पहिरो गएर बाटो अवरुद्ध थियो । दिमापुर रेलवे स्टेशन नजिकैबाट हामी एउटा अटो लिएर घुम्न निस्कियौँ । अटो चालकले कहाँबाट आएको सोधे । नेपालबाट भन्यौँ । उनले अत्यन्तै सहज तरिकाले हामीलाई नयाँ नयाँ ठाउँको बारेमा जानकारी दिदैँ घुमाइदिए । नागाल्याण्डका मानिसहरु खतरनाक हुन्छन् भन्ने कुरालाई फेरि एकपटक अटो चालकले गलत साबित गरिदिए । घुमेर आउँदा नजिकैको बजार सोध्यौं । उनले आफ्नो अटो ग्यारेजमा राखेर हामीलाई बजारसम्मै पुर्यादिए । उनीप्रति नतमस्तक भएँ म । छुटिने बेलामा नाम सोध्छु भनेको भुसुक्कै बिर्सेछु ।

बाटाभरि ठूला बाल्टीमा भ्यागुतै भ्यागुता । जिज्ञासा लाग्यो । किन ? सोधेँ । त्यो त बिक्रीको लागि पो रहेछ । त्यहाँको मुख्य खानाअन्तर्गत नै पर्दाे रहेछ भ्यागुता । कुकुरको मासु पनि निकै रुचाइने खाना रहेछ । त्यहाँको बसाइभरि फलफूल र रोटी मात्र खाइयो । त्यहाँको मुख्य खाना मांसाहारी नै रहेछ । कुकुर, भ्यागुता, सर्प आदिको मासु निकै चर्चित रहेछ ।

नागाल्याण्डको सबैभन्दा ठूलो शहर दिमापुर नै रहेछ । जहाँ रेल, सडक तथा हवाई मार्गसमेत रहेको छ । मुख्य व्यापारिक केन्द्र दिमापुर नै भए पनि त्यहाँका स्थानीयभन्दा राजस्थान, गुजराततिरबाट गएर त्यहाँ व्यापार गर्नेहरुको बाहुल्यता रहेछ । दिमापुरबाट राजधानी कोहिमाको दुरी जम्मा ७४ किलोमिटर छ । पुग्न भने ७, ८ घण्टामा मात्रै पुगिने ।

हामी पुगेको बेलामा झन् लगातार पहिरो गएको खबर आइरहेको थियो । राजधानी पुग्न नपाए पनि दिमापुरमै २० वर्षदेखि होटल सञ्चालन गर्दै आउनुभएका झापा शिवगन्जका शिव ढुङ्गेलको सत्कार बिर्सिनसक्नुको थियो । ३५ जना कर्मचारी रहेको होटलका प्रायः सबैलाई नेपाली भाषा सिकाउनुभएको रहेछ । हाम्रो बसाई अवधिभर खानपान त्यही होटलमा भयो । होटलमा नेपाली कला, संस्कृति झल्कने चित्रहरु टाँगिएका । कर्मचारीहरु सबैलाई सामान्य नेपाली सिकाइएकाे । सबैले नेपाली भाषामै स्वागत गरे । नेपालमै छौँ कि जस्तो भान दिलाए । त्यहाँका अनुहारहरु पनि नेपालका राई, लिम्बु, तामाङहरुका जस्ता लाग्ने ।

मलाई सबैभन्दा राम्रो लागेको कुरा, त्यहाँको कुनै पनि होटल, रेष्टुरेण्टहरुमा बसेर मदिरा सेवन गर्न नपाइने हरेछ । यदि गर्नै परे घरमा या कोठाभित्र बसेर सेवन गर्नुपर्ने । पहिले पहिले दिउँसै मदिरा सेवन गरेर होहल्ला हुन्थ्यो रे । तर जब होटल, रेष्टुरेन्टमा बसेर सेवन गर्न बन्द गरियो । शहरको अवस्थै फेरियो रे ।  आफ्नो देश सम्झेँ । धेरै कुराहरु मिल्छ नेपाल र भारतको । रहनसहन, कला, संस्कृति आदि । मदिरा सेवन जहाँ पनि चल्छ । तर त्यसलाई कसरी प्रयोग गर्ने भन्ने मुख्य कुरा हो । लाग्यो, त्यहाँ जस्तै हाम्रोमा पनि मदिरा सेवन गर्ने निश्चित ठाउँ भएको भए, धर्म, संस्कृतिका नाममा चलाइएको चलनमा सगुनको रुपमा मात्र प्रयोग गरेको भए, विकृत मानसिकताको शिकार हामी हुनु पर्ने थिएन होला ।

हामी फलफूल किन्न जाँदा बढो बार्गेनिङ गर्छाैँ तर मदिराका लागि जति भन्यो त्यति तिर्न तयार हुन्छौं । यसमा मात्र थोरै ध्यान दिए पनि धेरैथोक गर्न सकिन्छ जस्तो लाग्छ । डा. बाबुराम भट्टराई अर्थमन्त्री भएको बेला नेपालमा मदिरा बिक्रीमा नयाँ नीति ल्याइएको थियो । चिया पसलदेखि किराना पसलमा पाइने मदिरा बिक्री र सेवनलाई अलिकति भए पनि कडाइ र व्यवस्थित गरियो । तथापि पछिल्लो समय मदिरा बिक्री र प्रयोग घट्नुको साटो बढेको छ । ग्रामीण र सहरका भित्री भागमा घरघरमा मदिरा उत्पादन हुने गर्छ । युवाहरु कुलतमा फसिरहेका छन् । युवा भन्नाले पुरुष मात्र होइन, युवती पनि भनिएको हो । आफ्नो उर्जाशील समय कुलतमा खेर फालिरहेका छन् । चुरोट, मदिरा र ड्रग्सको कुलतमा फस्दै गैरहेका छन् । ग्रामीण क्षेत्रमा रोजिरोटीकै लागि घरेलु मदिरा बनाउनेहरुका लागि स्थानीय सरकारले वैकल्पिक पेशाको व्यवस्था गरिदिए पनि केहीहदसम्म नियन्त्रण हुन सक्थ्यो कि ?

नागाल्याण्डको बसाईमा यही सोचिरहेँ ।

साँझ पनि बजारहरु चाँडै बन्द हुने । जसले गर्दा होहल्ला नहुने । शान्त लाग्यो मलाई । लगातारको झरीले मनभरि घुम्न नपाएकोमा थकथकी पनि लागिरह्यो । थप घुम्ने र बुझ्ने अतृप्त रहर बोकेर फर्कियौं हामी नेपाल ।

शुक्रबार, जेष्ठ १४, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...