अंगालोः एक रोमान्टिक प्रेमकथा

कल्पना खरेल

ढल्किँदो उमेर । चाँद फुल्यो । सिर फुल्यो । बद्लियो कपालको रंग, कपासजस्तो सेताम्मे । सेतो टाउको । दारीजुँगा फुल्यो । भित्री रौँहरु फुले । छ दशक पारी । भरिलो गाला चाउरिन थाल्यो । परिवर्तनशील समयको प्रभाव । मन त जवानै छ । अनेकौँ कल्पना गर्छ मनले । टिन एजको जस्तै । ऐनामा हेर्यो, फुलेको कपाल । ओइलिएको जवानी । चाउरिँदै गरेको स्वरूप । समयको रफ्तार कति छिटो फट्को मारेको ! अस्ति जस्तो लाग्छ । जवानीको तरङ्गहरुमा उरण्ठेउलो स्वभाव ! सम्झिँदा अचम्म लाग्छ ।

यतिकैमा प्यारी श्रीमतीलाई बोलाएँ, ‘सुशीला आउन, बस । गफ गरौँ ।’

सुशीला भान्साबाट आइन् । म सँगै बसिन् । बुढाबुढी गफियौँ । मैले भनेँ, ‘सुशीला पहिला हाम्रो जिम्मेवारी थियो । बच्चा हुर्काउने पढाउने, बढाउने । म अफिसमा ठिक्क । तिमी घरधन्दामा ठिक्क । कहिल्यै राम्रोसँग घुम्न पाइएन । राम्रोसँग सँगै बस्न पाइएन । जागिरको दौरान कहिले कता । कहिले कता । अब अवकाश पाएँ । अफिस जानु छैन । अफिसियल कामको टेन्सन रहित भएँ । कुनै झन्झट छैन । छोराछोरी आ-आफ्नै सेटल भए । निस्फिक्री छौँ । अब हामीले आफूलाई माया गरौँ । आफ्ना स्वास्थ्यको ख्याल गरौँ । आफ्ना रुपको ख्याल गरौँ । जवानीमा आफैँ राम्रो । जवानीमा स्याल पनि घोर्ले हुन्छ । तर ढल्किँदो उमेरमा रहेछ मेकअप । म तिम्रो कपाल रँगाउछु । तिमी मेरो कपाल रँगाउ ।’

मेरो कुराले सुशीला फुरुङ्ग भइन् । मैले दारी काटेँ । उनले मेरो कपालमा कालो लागाइदिइन् । मैले उनको कपाल कालो लगाइदिएँ । दुवैले मन तातो पानीले नुहायौँ । फ्रेस भयौँ । मैले बुढीको शरीरभरी लोसन लागाइदिएँ । उनले पनि मेरो शरीरभरी लोसन लागाइदिइन् । रुखो शरीर चम्किलो भयो । उज्यालो कपडा लगाइयो । फुर्सदिलो समय ।

मैले प्यारी बुढीलाई भनेँ, ‘सुशीला त्यो के हो । लाली पाउडर पनि लगाऊ न । मेकअप गर । जवानीमा आफैँ राम्रा थियौँ बिना मेकअप । अब त मेकअप आवश्यक रहेछ । तिमीलाई राम्री हेर्न चाहन्छु ।’

उनले मेरो आज्ञा पालना गरिन् । ‘हुन्छ मेरो हजुर’ भनिन् । मेकअप गरिन् । बुढी मेकअपमा चिटिक्क भइन् । मैले उनलाई हेरिरहेँ । रुप नै परिवर्तन ।

मैले प्रशंसा गरेँ, ‘सुशीला कति राम्री भयौ ।’

उनले पनि मलाई प्रशंसा गरिन्, ‘हजुर पनि कति राम्रो हुनुभयो, त्यो सेतो फुलेको दारी कपाल फालेर ।’

उनको प्रशंसामा मख्ख भएँ ।

मैले भनेँ, ‘सुशीला मेन्टेन राख्नु भनेको यही हो । अब त म तिम्रो घनस्याम, तिमी मेरी राधा पियारी । हैन त सुशीला ?’

उनले मस्किँदै ‘हो नि हजुर’ भनिन् ।

उनलाई सुम्सुम्याएँ । किस गरेँ ।

‘बल्ल लभ पर्दै छ सुशीला । मायाको मूल्य त बल्ल थाहा भयो । आत्मीयताको भ्यालु यो उमेरमा अनुभूति गर्दै छु । उमेरमा जवानीको जोस मात्र । जवानीमा मोज मस्ती मात्र । अत्याधिक भोग गर्ने इच्छा । आत्मीयता भन्ने थाहै भएन । अब बल्ल लभ पर्दै छ । तिम्रो साथ छोड्न मन लाग्दैन । तिमीबिना एक्लै बस्न सक्दिनँ । दरो माया त बुढेसकालमा । तिमीबिना अधुरो लाग्छ ! सच्चा प्रेम भनेकै बुढेसकालमा । बिसन्चो हुन्छौ कि भन्ने चिन्ता लाग्छ । सँगै बाच्ने, सँगै मर्नेको अर्थ बुझ्दै छु ।’

समर्पणको भाव पोखिँदै थियो । सुशीलाले अँगालो हालिन् । तप तप उनको आँखाबाट आँसु झरे । थाहै नपाई मेरो आँखा रसायो । भावुक भयौँ । चरम प्रेमबिन्दुमा पुग्यौँ ।

https://nepalnamcha.com/entertainment-literature/6957/

शनिबार, जेष्ठ १५, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...