पहिरोपीडित तथा कोरोना संक्रमित सँगै पुलाचौर रेडक्रस

‘सेवा नै धर्म हो’ भन्ने मूल नारासहित नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाले समुदायस्तरमा पुगेर सचेतनामूलक विभिन्न अभियानहरु सञ्चालन गरेको छ । खासगरी रेडक्रसले कोभिड–१९ विरुद्ध सचेतना अभियानका साथै कोरोनापीडित र पहिरो प्रभावितको घाउमा मल्हम लगाउने प्रयास थालेको हो ।
यसैक्रममा हालै परेको भीषण वर्षाका कारण पुलाचौरको विभिन्न टोल र वस्तीमा आएको बाढी तथा पहिरोबाट घरबासको क्षति बेहोरेका ७ जना पहिरो प्रभावितलाई एकएक थान त्रिपाल सहयोग गरिएको रेडक्रस पुलाचौर उपशाखाले जनाएको छ । उनीहरुमध्ये ५ जनालाई उपशाखाको पहलमा रेडक्रस जिल्ला शाखा म्याग्दी र २ जनालाई उपशाखामार्फत शुक्रबार त्रिपाल उपलब्ध गराइएको छ ।
यसैगरी कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका पुलाचौरका ३ जनालाई घरभेट कार्यक्रमको आयोजना गरी स्वास्थ्य सामग्री तथा पोसिलो खानेकुरा सहयोग गरिएको छ । उक्त कार्यक्रम स्वास्थ्यकर्मी बबि केसीसहितको टोलीले संक्रमितको घरमै पुगेर मास्क, स्यानीटाइजर, साबुन र पोषिलो खानेकुरा भिटामिन वितरण गरिएको रेडक्रस पुलाचौर उपशाखाका सभापति शिव बानियाँले बताए । त्यस्तै रेडक्रस उपशाखामार्फत एकएक जना विपन्न परिवार र बिरामीलाई खाद्यान्नलगायत सामग्री सहयोग गरिएको उनले जानकारी दिएका छन् ।
पुलाचौरका विपन्न शिव किसानलाई चामल, दाल, नुनतेल, चिनी, साबुन तथा ६ महिनादेखि बिरामी विदुरी परियारलाई जुस, बिस्कुटलगायत दैनिक उपभोग्य सामान हस्तान्तरण गरिएको छ । उक्त सामानहरु रेडक्रस विपद् व्यवस्थापन समितिका सचिव गजिन्द्र श्रेष्ठ, सदस्य खड्गप्रसाद श्रेष्ठको टोलीले वितरण गरेको थियो । त्यसैगरी रेडक्रस उपशाखाको पहल र जिल्ला शाखाको सहयोगमा उपलब्ध मर्यादा सामग्री (डिग्नीटी किट) पुलाचौरका ५ जना ४० वर्षमूनिका महिला तथा किशोरीलाई वितरण गरिएको छ । सोही अवसरमा उपशाखाका सल्लाहकार एवं पत्रकार प्रताप बानियाँले रेडक्रसमार्फत पुलाचौर स्वास्थ्यचौकीलाई एकएक वटा माइन्युट (रजिष्टर), जिन्सी खाता, डे–बुक र दुईवटा डट्पेन सहयोग गरेका छन् ।
त्रिपाल, डिग्नीटी किटलगायत सामग्रीहरु बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष लक्ष्मण बानियाँको प्रमुख आतिथ्य, रेडक्रस म्याग्दीका प्रथम यशस्कर सदस्य यामबहादुर बानियाँ र पुलाचौर समाज काठमाडौंका कोषाध्यक्ष गोपाल बानियाँको विशेष उपस्थितिमा वितरण गरिएको थियो । सामग्री वितरण गर्दै प्रमुख अतिथि बानियाँले मनसुन सक्रिय भएसँगै प्राकृतिक प्रकोप बाढीपहिरोको जोखिमलाई ध्यान दिएर रेडक्रस पुलाचौर उपशाखाले आफ्नो आपत्कालीन कार्य सक्रिय रुपमा सञ्चालन गरेकोमा प्रशंसा गरेका छन् ।
रेडक्रस उपशाखाका सचिव रेशमबहादुर बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष गिरेन्द्र बानियाँ, सदस्यहरु शान्ति शर्मा, लक्ष्मी शर्मा, पुलाचौर स्वास्थ्यचौकी प्रमुख विष्णुमाया कुँबरसहित स्वास्थ्यकर्मी तथा सरोकारवालाको सहभागिता थियो । रेडक्रस पुलाचौर उपशाखाले यसअघि पुलाचौरका ५२ जनालाई घरभेट कार्यक्रमको आयोजना गरी बाल्टिनलगायत स्वास्थ्य सामग्रीहरु उपहारस्वरुप प्रदान गरेको थियो भने गतवर्ष कोरोना भाइरसको संक्रमण हुनबाट बच्न पुलाचौरका सबै घरधुरीमा पुगेर मास्क र साबुन वितरण गरेको थियो ।

आइतवार, असार ६, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...