कोरोना संक्रमणबाट बालबालिकालाई सुरक्षित राख्ने यस्ता छन् उपाय -बालरोग विशेषज्ञसँग जिज्ञासा

कोरोना भाइरसको दोस्रो लहरमा बालबालिकामा पनि बढी संक्रमण देखिन थालेको छ। अघिल्लो वर्षको तुलनामा बालबालिकामा पनि कोरोना संक्रमण दर बढेकोले बालबालिकालाई जोगाउन अभिभावक सचेत हुनु पर्दछ।

खोप नलगाएका अभिभावकले मात्र होइन खोप लगाएका अभिभावकले पनि आफूले कोरोनाको खोप लगाएपछि अब बच्चाबच्चीलाई लाग्दैन भन्ने भ्रम पाल्नु हुँदैन। खोप लगाउँदैमा कुनै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने संक्रमण दर हट्ने होइन। कोरोना संक्रमण भएकालाई पनि फेरी संक्रमण हुन सक्छ। गम्भीर स्थितिमा पुग्नबाट बचाउने मात्र हो। खोप लगाएका र नलगाएका सबै अभिभावकले बालबालिकालाई जोगाउन सावधानी अपनाउनु जरूरी छ।

अभिभावकले बालबालिकालाई कोरोना संक्रमणबाट बचाउन अपनाउनु पर्ने सावधानीका विषयमा केन्द्रित रहेर इनेचरले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका बालरोग विभाग प्रमुख तथा बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलासँग गरिएको कुराकानी।

कोरोना संक्रमणको दोस्रो लहरबाट बालबालिका कत्तिको जोखिममा छन् ?

कोरोनाको दोस्रो लहरसँगै बालबालिकामा पनि संक्रमण दर बढेको छ। गत वर्षको भन्दा कोरोना संक्रमणको दोस्रो लहर बढी जोखिम र लक्षण नै फरक प्रकृतिको देखिएको छ।

फरक प्रकृतिको कोरोनाको लक्षण देखिएको बताउनुभयो। पहिले र अहिले के कस्ता फरक लक्षणहरू छन् ?

सामान्यतया कोरोना संक्रमण भएको शंका गर्ने भनेको रुघाखोकी लाग्नु, ज्वरो आउनु, शरीर दुख्नु, स्वाद, गन्ध थाहा नपाउनु लगायतका लक्षण हुन्छन्। कोरोनाको यस्ता लक्षण अभिभावकमा मात्र होइन बालबालिकामा पनि देखिन्छन्। यस्ता लक्षण देखिएपछि कोरोना संक्रमणको आशंका गरेर परीक्षण हुँदै आएको छ।

तर दोस्रो लहरमा यो भन्दा फरक समस्या लिएर उपचार गर्न आएका बिरामी बालबालिकामा पनि कोरोना संक्रमण देखिएको छ। जस्तै पिसाब रोकिएर आएका बालबालिका, हातको औंलाको छाला खुइलिएर आएका, छारेरोगको लक्षण भएर आएका बालबालिकामा पनि उपचारका क्रमा कोरोना त होइन भनेर स्वाब टेस्ट गर्दा कोरोना संक्रमण देखिएको छ। यसैले दोस्रो लहर नयाँ-नयाँ लक्षणको साथै जोखिम र संक्रमण दर पनि बढेको छ।

यस्तो अवस्थाका बालबालिकालाई कसरी उपचार हुँदै आएको छ। कतिको संख्यामा बिरामी आएका छन् ?

यस्तो अवस्थामा आएका बालबालिकालाई अवस्था हेरेर बाल सघन उपचार कक्ष, नवजात सघन उपचार कक्ष (एनआइसियु) मा राखेर उपचार हुँदै आएको छ। श्वास प्रश्वासमा समस्या भएका, अक्सिजन लेवल घटेका जटिल र गम्भीर अवस्थाका बिरामीलाई भेन्टिलेटरमा राखेर २४ सै घण्टा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ। अहिलेसम्म पहिलो लहरमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा दुईजना कोरोना संक्रमित बालबालिकाको उपचार भएको थियो। पछिल्लो लहरमा सातजना बालबालिका (२८ दिन भित्रका नवजात शिशु सहित) उपचारकालागि आएका छन्।

नवजात शिशुमा पनि कोरोना संक्रमण देखिएको भन्नुभयो, कस्ता अवस्थामा कोरोना संक्रमण भएको पाइएको छ ?

नवजात शिशुमा बिशेष गरी आमामा कोरोना संक्रमण भएको अवस्थामा बच्चालाई पनि संक्रमण भएको पाइएको छ। बिहीबार सत्र दिनको बच्चालाई कोरोना संक्रमण देखिएपछि मनिपाल शिक्षण अस्पताल पोखराले ९० हजार रुपैयाँ धरौटी मागेकोले दिन नसकेकोले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराउन आएको भनी अभिभावकले बताएका छन्। बालकलाई एनआइसीयुमा राखेर उपचार गरिरहेका छौं।

बालबालिका उपचारको क्रममा मृत्यु भएका केस अहिलेसम्म गण्डकी अस्पतालमा छ छैन ? छ भने कस्तो अवस्थाका बिरामी बालबालिकाको मृत्यु भएको छ ?

अहिलेसम्म पहिलो लहरमा एकजना र दोस्रो लहरमा एकजना गरी दुईजना बालबालिकालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गर्दा गर्दै बचाउन सकेनौं। पहिलो लकडाउनअघि फागुन महिनामा पूर्व घर भई पोखरा ७ बस्ने अभिभावकले ज्वरो आएको अवस्थामा पाँचौ दिनमा गण्डकी अस्पतालमा बालकलाई जचाउन ल्याउनु भएको थियो। उहाँहरूले निजी अस्पतालमा उपचारका क्रममा गरेको चेकजाँचको रिपोर्टमा निमोनिया थियो। छातीमा खराबी थियो। पाँचौ दिन निजी अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि गण्डकी अस्पतालमा ल्याउनु भएको थियो।

श्वासप्रश्वास प्रति मिनेट ७६ थियो। दुई महिनासम्मको बच्चामा ६० वा सो भन्दा बढी श्वासप्रश्वास भए निमोनिया भएको हुन्छ। यसैले एक्सरेमा पनि निमानिया देखिएको थियो। त्यतिबेला पीआइसीयो बनेको थिएन। एनआइसियुमा राखेर उपचार भयो। सिपाप भन्ने मेसिनमा राखेर तीन दिन र हेडबक्समा राखेर दुई दिन उपचार गरियो। तर समस्या जटिल भइसकेकोले बचाउन सकिएन।

दोस्रो लहरमा उपचार गर्न आएका बालबालिकाको अवस्था कस्तो छ ? उपचारको क्रममा कसैको ज्यान गएको छ वा छैन ?

दोस्रो लहरमा कोरोना संक्रमित बालबालिका अहिलेसम्म पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ७ जना भर्ना भएका थिए। अहिले एक जना १७ दिनको कोरोना संक्रमित बालकको मात्र गण्डकी अस्पतालमा उपचार भइरहेको छ।

दोस्रो लहरमा उपचार गर्दा गर्दै एकजना बालकलाई बचाउन सकिएन। गत बैशाखमा तीन वर्षको पोखरा ३३ को बालक अर्धचेतन अवस्थामा आएका थिए। जाँच गर्दा प्रेसर कम थियो। अक्सिजन लेबल पनि कम थियो। उपचारका क्रममा परीक्षण गर्दा मृगौला, मुटु, फोक्सो सबै अंगमा असर परिसकेको अवस्थामा थियो।

ज्यादै कडा संक्रमण भइसकेको थियो। कोरोनाको लक्षण बालकमा थियो। यसैले पिसिआर गर्न पठाएका थियौं। पहिलो लहरमा भेन्टिलेटरमा राखेको बच्चालाई पनि बचाएका थियौं। यस पटक पनि कडा मेहनत गरेर बच्चा वार्डको पिआइसियु वार्डमा उपचार गरिरहेका थियौं। कोरोनाको रिपोर्ट भने आइसकेको थिएन। ४ दिनसम्म बचायौं। त्यो भन्दा धेरै बचाउन नै सकेनौं। बालकको मृत्यु भएको भोलिपल्ट रिपोर्ट आयो। रिपोर्ट पोजेटिभ थियो । यति जटिल कोरोनाको केस पहिलो थियो। जटिल अवस्थामा पुग्नुअघि नै बच्चालाई अस्पताल ल्याउन सकेको भए बचाउन सकिन्थ्यो भन्ने लाग्छ। यसैले अभिभावक सचेत हुनुपर्छ।

यसअघिका कोरोना संक्रमित बालबालिका कस्तो-कस्तो अवस्थाका थिए ?

यसअघि मस्तिष्कघात सहितको कोरोना संक्रमण भएका, छारेरोगको लक्षण भएका बच्चालाई पनि हामीले उपचार गरेर बचाएका थियौं। यसै गरी ९ दिनको बच्चालाई पिसाब रोकिएको अवस्थामा अभिभावकले अस्पताल ल्याएका थिए। परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो। मृगौला पनि खराब थियो। यसैले पिसाब रोकिएको थियो । समयमै ल्याएकोले पाँच दिनको उपचारमै राम्रो भएर डिस्चार्ज भएका थिए।

कोरोना संक्रमणबाट जोगाउन अभिभावकले कस्तो-कस्तो कुरामा ध्यान दिनु पर्छ ?

कोरोना संक्रमणबाट आफ्ना बच्चाहरूलाई जोगाउन अभिभावकले बच्चामा कोरोनासँग मिल्ने लक्षण जस्तो छिटोछिटो श्वास फेरेको छ छैन ख्याल गर्नुपर्छ। यसै गरी दुई दिनभन्दा बढी ज्वरो आयो भने डाक्टरसँग परामर्श गरिहाल्नु पर्छ। पाँच दिनसम्म लगातार ज्वरो आयो भने अलि जटिल नै भएको हो कि भन्ने सोच्नु पर्छ। रुघा खोकी बेसरी लागेको छ, पखाला लाग्ने, वान्ता आयो भने पनि डाक्टरकोमा जानु पर्छ। दुई दिनमै ज्वरो सन्चो भयो भने नियमित भाइरल ज्वरो सम्झनु पर्छ।

तर पछिल्लो समयमा अघि भनिएका कोरोनाका लक्षणसँग मिल्दा बाहेक शरीरमा बिमिरा आएका, पिसाब रोकिएको, छारेरोगको लक्षण भएका बालबालिकामा पनि उपचारका क्रममा स्वाब टेष्ट गर्दा कोरोना संक्रमण देखिएकोले यस्तो बेलामा पनि अभिभावक सचेत हुनु पर्दछ।

होमआइसोलेसनमा बसेर पनि निको हुने खालको अवस्थाका कोरोना संक्रमित बालबालिकालाई के कसरी घरमै राखेर कोरोनासँग लड्न सकिन्छ ?

हल्का ज्वरो आएको छ, रुघा लागेको छ भने यस्तो अवस्थामा डाक्टरसँग सल्लाह गरेर बालबालिकालाई ज्वरो र रुघाको औषधी खुवाउनु पर्छ। अवस्था हेरी भिटामिन सी, भिटामिन डी पनि खुवाउन सकिन्छ। सकेसम्म आफैले घरमै फलफूल, सागपात, जुस, सन्तुलित पौष्टिक भोजन खुवाउन सके भिटामिन नखुवाउँदा पनि हुन्छ। खुवाउँदा फाइदा नै गर्छ। तातोपानी, तातो सुप प्रशस्त खानु पर्छ। जिम्मु पानी, बेसार पानीले पनि फाइदा गर्छ। होमआइसोलेसनमा बस्ने बालकालिकामा श्वासप्रश्वास छिटो-छिटो भएको अवस्थामा अस्पताल लगिहाल्नु पर्छ। दुई दिन भन्दा बढी ज्वरो आएको अवस्थामा, कडा रुघाखोकी लागेको अवस्थामा पनि डाक्टरसँग परामर्श लिइहाल्नु पर्छ। नियमित अक्सिजनको लेबल पनि नाप्ने गर्नु पर्छ। बालबालिकाले खानपानमा रुची नगरेको अवस्थामा पनि डाक्टरसँग सल्लाह गर्नु पर्छ। नियमित डाक्टरको सम्पर्कमा रहिरहनु पर्दछ।

होमआइसोलेसनमा बस्ने बालकालिकामा श्वासप्रश्वास छिटो-छिटो भएको अवस्थामा अस्पताल लगिहाल्नु पर्छ। दुई दिन भन्दा बढी ज्वरो आएको अवस्थामा, कडा रुघाखोकी लागेको अवस्थामा पनि डाक्टरसँग परामर्श लिइहाल्नु पर्छ। नियमित अक्सिजनको लेबल पनि नाप्ने गर्नु पर्छ।

कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन लगाएको छ । विद्यालय बन्द छन् । यस्तो अवस्थामा बालबालिकालाई कोरोनासँग लड्ने इम्युनिटी बढाउन अभिभावकले के कस्ता कुरामा ध्यान दिनु पर्छ ?

यो सारै महत्वपूर्ण प्रश्न हो। बच्चालाई स्वस्थ र इम्युनिटी पावर बढाउन बालमैत्री खुला वातावरणमा बच्चालाई खेल्न रमाउन दिनु पर्दछ। कोठाभित्र थुनेर मोबाइल, ल्यापटप, कम्प्युटरमा दिनभर भुलाउँदा बच्चाहरू कोठामा गुम्सिन्छन्। घर फराकिलो छ। करेसाबारी छ भने माटोमा खेल्न दिनुपर्छ। तरकारी, फलफूलको बारीमा रमाउन बच्चालाई दिनुपर्छ। विभिन्न खेलकुद खेलाएर व्यस्त पनि गराउन सकिन्छ। लामो समयसम्म मोवाइल, ल्यापटपमा भुलाउनु हुँदैन। पौष्टिक आहार खुवाउने विषयमा त यसअघि नै भनिसकेको छु।

बच्चालाई स्वस्थ र इम्युनिटी पावर बढाउन बालमैत्री खुला वातावरणमा बच्चालाई खेल्न रमाउन दिनु पर्दछ। कोठाभित्र थुनेर मोबाइल, ल्यापटप, कम्प्युटरमा दिनभर भुलाउँदा बच्चाहरू कोठामा गुम्सिन्छन्।

कोरोनाको तेस्रो लहर पनि आउने सम्भावना कतिको छ ? बालबालिका यसबाट कतिको जोखिम हुन सक्छन् ?

हामीकहाँ गत वर्ष पनि चैत, बैशाखमै कोरोना संक्रमण देखिएको थियो। दोस्रो लहर पनि चैत, बैशाखमै देखिएको छ। यो हिसाबले तेस्रो लहर पनि आउन सक्छ। सुरक्षित रुपमा बस्नु नै उत्तम हुन्छ। गर्मी महिना सकिएर जाडो महिना सुरू हुने बेला असोज, कात्तिक महिनातिर तेस्रो लहर आउन सक्छ। त्यसैले सचेत भएर सरकारले भनेका मापदण्डलाई मान्दै सबै सुरक्षित रहनु नै वर्तमान जटिल अवस्थामा सबैको कल्याण हुन्छ।

(फोटोहरु डा. रामचन्द्र बास्तोलाबाट प्राप्त भएका हुन्) इनेचरन्युज डटकमबाट साभार

बुधबार, असार ९, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...