ती पुष्पलाल, यी कम्युनिष्ट !

पुष्पलाल श्रेष्ठको जन्म वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारीको माइलो छोराको रूपमा भएको थियो । १९९७ सालमा आफ्नो जेठो दाजु गंगालाल श्रेष्ठसहितलाई गोली ठोकी मार्नु ठीक एक दिनअघि भद्रगोल जेलमा दाजुलाई भेट्न गएका थिए, पुष्पलाल । गंगालालले उनलाई भनेका थिए, ‘माइला ! मैले प्रजातन्त्रको निमित्त बालेको दियोलाई तैंले प्रज्ज्वलित गर्नेछस्, निभ्न दिने छैनस् ।’

त्यतिबेला उनी १६ वर्षको कलिलो उमेरका थिए । दाजुको त्यही भनाइ राजनीतिमा प्रवेश गर्ने प्रेरणाको स्रोत बन्यो । वि.सं १९९८ मा पुष्पलाल श्रेष्ठले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजासँग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन गरे ।

प्रतिज्ञापत्रमा रगतको सही

सम्पूर्ण सदस्यले आफ्नो रगतले प्रतिज्ञापत्रमा सही गरेर मात्र पार्टीको सदस्य हुने नियम बनाइयो । २००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसले नागरिक अधिकार प्राप्तिका लागि गरेको आन्दोलनको नेतृत्व कमरेड पुष्पलाल श्रेष्ठले नै गरेका थिए । जनताले गरेको नेपालको पहिलो जनआन्दोलनका रूपमा २००४ सालमा गरिएको आन्दोलनलाई विश्लेषण गरिन्छ । नेपालमा जहानियाँ राणाशासन कायम रहेका बेला भारतको कलकत्ता, श्याम बजारमा गोप्य रूपमा र भूमिगत तरिकाबाट नेपाल कम्युनिष्ट पार्टी स्थापना गरियो ।
२००६ साउन ७ अर्थात् सन् १९४९ अपि्रल २२ का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापनाका साथै कमरेड पुष्पलालले दुई वर्ष (२००८ साल) सम्म महासचिव चलाए । सामान्यतया पुष्पलाल भन्नेबित्तिकै सबैको मानसपटलमा ‘कम्युनिष्ट’ भन्ने चिज झल्याकझुलुक पर्न थाल्छ । पुष्पलालले २००५ सालमा कम्युनिष्ट घोषणापत्रको पहिलोचोटि नेपालीमा अनुवाद गरे । त्यसलगतै उनले कम्युनिष्ट विचारधारा अनुरुप लेखेको पहिलो लेख नेपाली भाषामा लेखिएको कम्युनिष्ट घोषणापत्र हो ।

पुष्पलालले कम्युनिष्ट पार्टीमा गरेको योगदान अतुलनीय छ । वास्तवमा जनवादको नारा उनैले लगाए । उनलाई मौलिकवादी चिन्तक पनि मानिन्छ । उनले गणतन्त्रको नारा लगाउँदै क्रान्तिको दिशानिर्देश गरे भने द्वन्द्ववादी दृष्टिकोणको विचार विश्लेषण गर्ने सबै कुराको श्रेय पुष्पलाललाई जान्छ । २२ अपि्रल १९४९ का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भारतको कलकत्ता श्याम बजारमा भएको हो । त्यहीबेला संस्थापक महासचिव क. पुष्पलालले नेतृत्व गरेर उहाँसहित ६ जना पुष्पलाल, नरबहादुर कर्माचार्य, नारायणविलाश जोशी, मोतीदेवी, निरन्जन गोविन्द वैद्य संस्थापकको रूपमा चिनिए ।

अल्पमतमा पुष्पलाल

२००६ सालपछि नेपाली समाजलाई हेर्ने वैज्ञानिक दृष्टिकोण पनि पुष्पलालले अगाडि सारे । त्यसभन्दा पहिला धार्मिक कुराले समाजलाई गाँजेको थियो । त्यतिबेला नेपालमा ईश्वरले यो पृथ्वी सिर्जना गरेको, जे कुरा हुन्छ ईश्वरको देन वा कृपाका कारणले हुन्छ भन्ने जुन धार्मिक अतिवादी सोच थियो ! त्यो सोचभन्दा फरक भौतिकवादी दृष्टिकोणले हेर्न बाध्य पार्ने श्रेय पनि पुष्पलाललाई नै जान्छ ।

पुष्पलाल जुनसुकै विषयमा पनि अतिवादी हुनुहुँदैन भन्ने विचारधारा राख्थे । कम्युनिष्ट पार्टी संगठन, नेता, सिद्धान्त र संघर्षबाट बन्ने प्रगतिशील पार्टी हो र यसको मेरुदण्ड पनि यिनै विषय हुन् भन्ने मान्यता उनको थियो । २००८ सालको पहिलो सम्मेलनबाट उनी आफैंले स्थापना गरेको पार्टीको महासचिव पदबाट हटाइए र उक्त पदमा मनमोहन अधिकारी पुगे । पुष्पलालले शायदै कल्पना गरेका थिए किÙ आफूले स्थापना गरेको कम्युनिष्ट पार्टीमा आफैं अल्पमतमा पर्छु भनेर !

उनी अल्पमतमा परेपछि कम्युनिष्ट पार्टी विचार, संगठन, सिद्धान्त र संघर्षबाट चल्ने हुनाले सम्पूर्ण दस्तावेज, घोषणापत्र, लेखरचना पुष्पलालको विचार भएकाले आफू नेतृत्वमा नभए पनि कम्युनिष्ट सिद्धान्त अगाडि बढेको भएर चित्त बुझाउने गरेको मानिन्छ ।

२०१० सालको पहिलो महाधिवेशनबाट सबै मिलेर क.पुष्पलाललाई फेरि अल्पमतमा पारियो र तेस्रो महासचिव तुलसीलाल अमात्य बने । यसबीच कांग्रेसले नेतृत्व गरेको सरकारले ने.क.पा.लाई प्रतिबन्द समेत लगायो । २०१५ सालको नेपालको इतिहासकै पहिलो आम निर्वाचनमा ने.क.पा.ले ४ सिट जितेको थियो । २०१५ देखि २०१७ सम्म बीपी कोइराला नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए । २०१७ सालपछि तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्त गरेर पञ्चायती व्यवस्था लागू गरेपछि फेरि ने.क.पा.लाई पञ्च र राजाले प्रतिबन्ध लगाए ।

त्यसक्रममा केशरजंग रायमाझी समूहले पञ्चायती व्यवस्थाको समर्थन गरेपछि ने.क.पा.फुट्यो र विभाजन भयो । विभाजनपछि झापामा वर्ग शत्रु सफाया अभियान चलाउँदै झापा क्रान्तिमार्फत ने.क.पा.माले र हालको एमालेको रूप लिएको हो । मनमोहन र पुष्पलालको धार २०४७ सालमा एकीकृत भएर एमाले भयो ।

मोहनविक्रम सिंह, निर्मल लामाहरूको नेतृत्वमा विभिन्न समूह ने.क.पा.चौम, मोटो मशाल, ने.क.पा. पातलो मसाल, ने.क.पा. एकताकेन्द्र हुँदै हालको माओवादी धार बन्यो । मोहनविक्रम सिंह भने पातलो मसाल बोकेर बसिरहेका छन् । २०१५ सालमा ४ सिट जितेको ने.क.पा.पञ्चायतकालमा विभिन्न आरोह/अवरोह, विभाजन भएर पनि तत्कालीन माले र माक्र्सवादी मिलेर बनेको एमालेले २०४६ सालपछिको जनआन्दोलनपछि ६९ सिट र माओवादीले ९ सिटसहित तेस्रो दल भएको थियो । २०५१ सालको आम निर्वाचन बहिष्कार गरी माओवादीले संसदीय व्यवस्थाको विरोध गरी २०५२ साल फागुन १ गतेदेखि जनयुद्धको शंखघोष गर्‍यो ।

त्यस्तै एमाले २०५१ सालको आम निर्वाचनमा ८८ सिटसहित पहिलो पार्टी बन्यो र दक्षिणएशियामा नै पहिलो पटक कम्युनिष्ट पार्टीको एकल सरकार गठन भयो । यस सरकारलाई निकै लोकप्रिय सरकारको रूपमा पनि हेर्न सकिन्छ । तर यो सरकार जम्मा ९ महीना मात्र टिक्यो । फेरि २०५४ सालमा पार्टी विभाजित भयो । २०५६ को आम निर्वाचनमा ७० सिटसहित एमाले दोस्रो पार्टी बन्यो ।

२०६२/६३ को जनआन्दोलनपछि संविधानसभाको निर्वाचनमा माओवादी प्रत्यक्षतर्फ बहुमतसहित सबैभन्दा ठूलो दल बन्यो । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमाले दोस्रो र माओवादी तेस्रो बन्यो । यसबीचमा कम्युनिष्ट पार्टीबाट क. मनमोहन अधिकारी, माधवकुमार नेपाल, पुष्पकमल दाहाल (प्रचण्ड), झलनाथ खनाल, बाबुराम भट्टराई, केपी शर्मा ओली प्रधानमन्त्री बन्न सफल भए । २०७४ सालको प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचनमा गठबन्धन बनाएर निर्वाचनमा होमिएका दुई कम्युनिष्ट पार्टीले करीब दुई तिहाइ बहुमत सिट जित्न सफल भएका थिए ।

यो कम्युनिष्ट पार्टीको एकता नै नेपालमा कम्युनिष्ट पार्टीको सबैभन्दा ठूलो सफलता थियो । पाँच वर्षको लागि बनाइएको दुई तिहाइ नजिकको कम्युनिष्ट सरकार आजसम्म आइपुग्दा तीन वर्ष जसोतसो सरकारको नेतृत्व गरेका केपी ओलीले बारम्बार संसद विघटन गरी अदालतबाट सत्ताच्यूत भएका छन् । कम्युनिष्ट पार्टी विभिन्न गुट, समूह मिलेर छियाछिया भएसँगै आजसम्म २००६ देखि २०७८ साउन ६ गतेसम्म आइपुग्दा विभिन्न आरोह र अवरोहको अवरोध पार गर्दै यहाँसम्म आइपुगेको छ ।

पुष्पलालको शक्ति विचार हो । उनकै विचारका कारणले कम्युनिष्ट पार्टी अहिलेसम्म जीवित छ । सामान्य नेता आन्दोलनले जन्माउँछ ! त्यसले आन्दोलन र विद्रोह पनि जन्माउँछ भन्ने प्रमाण पुष्पलाल हुन् । यो सबै नेपाल कम्युनिष्ट पार्टीको नाम र योगदान विना सम्भव थिएन । नेपालमा ने.क.पा. र कम्युनिष्ट आन्दोलनका प्रणेता र इतिहासपुरुष पुष्पलाल हुन् । उनलाई नसम्झी कम्युनिष्ट पार्टी सम्झनु अपुरो र साँघुरो रहन्छ ।

सेमन्त उपाध्यायले अनलाइनखबरका लागि तयार गरेको सामग्री

इटहरी -५, सुनसरी

बिहिबार, साउन ७, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...