मेरा पनि बाउ थिए अरे

 पवित्रा खड्का

घरतिरका हजुरबा खानमा सोखिन हुनुहुन्थ्यो । सबै कुरा चट्ट मिलेको र मीठो चाहिने । त्यो समयमा धान कुटाउने, पिठो पिस्ने मिल थिएनन् । सबै सामलहरू जाँतो र ढिकीमै तयार पार्नुपर्ने ।

हजुरआमालाई पिठो मसिनो पारेर पिँध्नुपर्ने हुन्थ्यो । मकैको च्याँख्ला एउटै साइजका हुनुपर्ने । धान ढिकीमा कुट्दा कनिका धेरै भयो भने या कुनै सामलमा कसिङ्गर भेटियो भने आमैले बबण्डर मच्चाउनुहुन्थ्यो ।

यदि कुनै बाउहरूले झुक्किएर आफ्नी श्रीमतीको पक्ष लिए भने आमै त फरिया उचालेर रुँदै घरपछाडिको गल्लीबाट उँभो लागिहाल्ने । ठूली भिरबाट हाम फालेर मर्छु । यो घरमा बस्दिन भन्दै पछाडि फर्कंदै, रुँदै, तिमीहरूलाई स्वास्नी भएपछि आमा किन चाहियो र भन्दै बतासे डाँडा पुग्ने । बतासे डाँडा पुग्न हाम्रो घरबाट तेर्सो र उकालो हिँड्दा पाँच मिनेट लाग्छ । आमैभन्दा पहिला बाउहरू पुगेर चुच्चे ढुङ्गोमुनि लुकेर आमालाई हेरेर बस्थे । आमैको गन्तव्य पनि त्यहीँसम्मको मात्र हुन्थ्यो ।

‘कान्छी, तिम्री सासू एकदमै छुच्ची छिन्,’ मेरी आमालाई गाउँलेहरू भन्ने गर्थे । मेरी आमालाई बाउका घरतिरकाले कसैले कान्छी भन्थे, कसैले भाउजू वा काकी । मेरी आमाको नाम त मामाघरमा मात्र सुन्न पाइन्थ्यो । आ–आफ्नो साइनोअनुसार गीता, गीता दिदी, गीता बहिनी, गीता छोरी भनेर बोलाउँथे । म पनि गीता नै भन्थेँ आमालाई र तँ नै भन्थेँ ।

बुबा बितेपछि हामी झण्डै चार/पाँच वर्ष मामाघरमा नै बस्यौँ । मामाघर रामेछापको बिजुलीकोटमा हो, घरचाहिँ रामेछापकै तिलपुङमा हो । मामाघरमा आमालाई सबैले गीता नै भन्थे । मलाई के थाहा आमा भन्नुपर्छ भन्ने, तपाईं भन्नुपर्छ भन्ने ? मामाघरमा कान्छी सानिमा, कान्छो मामा, मेरी आमा, हजुरबा, हजुरआमा र म थियौँ । माहिलो मामाचाहिँ नागाल्याण्ड जानुभाको थियो रे । उहाँलाई नागाहरूले मारे भन्ने खबर आएछ ।

सधैँ दसैँको टीकाको भोलिपल्ट मामाको श्राद्ध पर्छ । ठूलो मामा आर्मीको जागिरे । कहिलेकाहीँ घर आउनुहुन्थ्यो । उहाँ घरमा आएको बेला हजुरबा–हजुरआमाबाहेक हामी सबैको सातो जान्थ्यो । उहाँको अगाडि हिँड्दा, खाँदा आवाज निकाल्नु हुँदैनथ्यो । भात खाएर थालमा चुठ्न नहुने, थाल चाट्न नहुने । ठूलो मामा घरमा हुञ्जेल हामीलाई भोक पनि नलागे हुन्थ्योजस्तै लाग्थ्यो ।

हामी भात खाएपछि थाल नचाटी कहिल्यै अघाएजस्तो हुन्नथ्यो । सानिमा र म धेरै मिल्थ्यौँ । म आमाभन्दा पनि सानीमासँग नजिक थिएँ । हामीलाई एउटै थालमा खानुपर्ने । सानिमाले चपाएर खुवाइनन् भने त्यो दिनभरि रुन्थेँ रे । थाल पनि पालैपालो चाट्थ्यौँ । एक दिन मामालाई छलेर थाल चाट्दै थियौँ, देखिहाल्नुभएछ । सानिमाको मुखमा नै थाल टाँसिदिनुभयो । बसेकै ठाउँमा पिसाब फेरेर हुँक्कहुँक्क गर्दै रुन थालेँ म। उठेर आमासम्म जान सकिनँ । मैले आमालाई ‘आमा’ भनेको र ‘तपाईं’ भनेको पनि ठूलो मामाले गर्दा नै रहेछ ।

ठूलो मामाको अगाडि म आमाको दूध पनि खान्नथेँ । मलाई याद छ । म सात/आठ वर्षसम्म आमाको दूध खान्थेँ, आमाको काखमा नअटाए पनि, लडीबुडी गर्दै लम्पसार भएर । स्कुलबाट आएर सबैभन्दा पहिला आमाको काखमा घुसिहाल्थेँ ।

आमालाई थाहा नै नदिई बुबाको घरतिर अंशवण्डा गर्न लागेका रहेछन् । कतैबाट थाहा पाएर आमा मलाई लिएर आउनुभयो । मामाघरबाट बुबाको घर आएपछि मसँग सानिमा पनि थिइनन् । केही समय म एक्लोजस्तो भएँ । सानिमा र कान्छो मामा हामीलाई पुर्‍याउन आएका थिए रे । तर, एक रात पनि बस्न मानेनन् रे । ‘हामी भिनाजु नभएको घरमा बस्दैनौँ’ भनेर तुरुन्तै फर्के रे । तर, मेरी आमाले यत्रो वर्ष त्यो घरमा कसरी बिताउनुभयो ? म कल्पनासमेत गर्न सक्दिनँ ।

हामीले छोडेर आएको घर पनि मेरी आमा र मेरी सानिमाको हैन । मामाको घर थियो । आमा–सानिमाहरू त्यहीँ जन्मे हुर्के । तर, पछि उनीहरू त्यस घरमा पाहुना नै थिए । बुबाको घर पनि मेरी आमाका लागि आफ्नो थिएन । कमसेकम उता त आफूलाई जन्म दिने बा–आमा थिए । तर, यता त कोही पनि थिएनन् । थिए त केवल लोग्नेकी आमा, दाजु, भाउजू । सबै लोग्नेसँग जोडिएका नाता तर तिनै नाता जोडिदिने लोग्ने भने थिएनन् ।

आमाले कति दुःख भोगिन्, म अनुमानसम्म लाउन सक्दिनँ । म आफैँले खेपेको आरोपलाई थेग्न सकेकी थिइनँ । घरकाले भन्थे– बाउ खाइहालिस्, मुल्याही । अंश खान आ’की । गएर चाट् अंश । तेरी आमाले तीन/तीनवटी छोरी पाउँदा एउटा छोरो पाउन सकिनँ ।’ म भने रुँदै बस्थेँ । धन्न मेरा दिदीहरूले कुनै कुरा सुन्नु परेन । एउटी जन्मँदा जन्मँदै मरेकी रे । अर्की चार महिनाजति बाँचेर मरेकी रे । मलाई पनि ‘यो पनि मर्छे‘ भन्थे रे । म अलि ठूली भएपछि गाउँका मान्छेले मलाई पोल सुनाउँथे, ‘छोरी मरिहाल्छे, आमा पोइल गइहाल्छे । अंश दिनै पर्दैन’ भन्थे रे घरमा ।

सानिमा र  म पालैपालो थाल चाट्थ्यौँ । एक दिन मामालाई छलेर थाल चाट्दै थियौँ, देखिहाल्नुभएछ । सानिमाको मुखमा नै थाल टाँसिदिनुभयो । म बसेकै ठाउँमा पिसाब फेरेर हुँक्कहुँक्क गर्दै रुन थालेँ । उठेर आमासम्म जान पनि सकिनँ ।

तेस्रो सन्तान म पनि छोरी भएर जन्मिएपछि घरका सबैले हेला गर्न थालेछन् । राम्रोसँग खान पनि नदिने । वचन कडा वाणजस्ता आउने । आमाले सहन नसकेर म जन्मेको तीन महिनामा माइतीतिर लाग्नुभएछ मलाई बोकेर ।

कतिलाई आमाले भन्नु पनि भयो रे ‘मेरी छोरी आँटिली छे । मेरा लागि यही छोरो हो’ भनेर । तर, म त आँटिली थिइनँ । मलाई त आमालाई बाहेक अरु कसैलाई जवाफ फर्काउन र घुर्क्याउन कहिल्यै आएन । जति घुक्र्याएँ, कराएँ, रोएँ आमासँग मात्रै । आमासँग मनको भँडास पोख्न सजिलो हुन्थ्यो । अहिले पनि हुन्छ । गल्ती नै भए पनि आमासँग माफी माग्नु पर्दैन । किनभने अरुको जस्तो दुखिहाल्ने छाती होइन मेरी आमाको । आमाले मलाई कहिलेकाहीँ दूध खान दिनु भएन भने म रुँदै तल्लो घरका ठूला बालाई बोलाउँथेँ, कुरा लगाउँथेँ । ठूला बाले ‘ए कान्छी, एउटी छोरीलाई दूध खान दे । खाने अरु छैनन् त अब । अर्को पाउने पनि होइनस् क्यारे’ भन्थे ।

आमा केही बोल्नुहुन्थेन । मेरो ध्याउन्न आमाको दूध खाने हुन्थ्यो, आमाको काखमा लम्पसार परेर । धेरै बेरसम्म आमा बोल्नु भएन भने म दूधको मुन्टा टोकिदिन्थेँ अनि आमा झसंग हुनुहुन्थ्यो । तर, मेरी आमाले ‘ऐयाss’ भनेको मैले खासै सुनिनँ । के मेरी आमाको छात्ती विशाल छ वा ‘ऐयाss’ भनेको सुन्ने मानिस नै नभएर उहाँले नभन्नुभएको हो ? उहाँको मौनताले मलाई कहिलेकाहीँ तर्साउँछ । यो कस्तो सहनशीलता हो ? जस्तै दुःखमा पनि मौन ।

आमा आफ्नो खेतबाट आउँदा होस् या अरुको मेलापातबाट, आमाको मुखमा औँला हालेर एकएक खोतल्ने, पोल्टो खातल्ने गर्थें म । आमा नभएको बेलामा कुखुराको चल्ला, बाख्राका पाठापाठी सबैलाई पालैपालो पानीको खाल्डोमा लगेर नुहाइदिने गर्थें । भोक लागेपछि घरछेउको ढिस्कोमा चढेर आमालाई बोलाउँथेँ । आमा कहाँ काम गर्दै हुनुहुन्थ्यो ? मैले बोलाएको उहाँले सुन्नुहुन्थ्यो कि हुन्थेन ? मलाई केही थाहा थिएन । लाग्थ्यो– मैले बोलाएपछि आमा त आउनुपर्ने । बेलुका आमा आएपछि घुर्की लगाउन थाल्थेँ, बाउ चाहियो भनेर ।

रिसाएको बेला म आमालाई भन्थेँ, ‘तपाईंसँग नबस्ने, म मेरै बाउकोमा बस्छु । धेरै वर्षसम्म मेरी आमासँग टोलाउनेबाहेक केही शब्द थिएनन् मेरा लागि । म बढ्दै गएपछि भने उहाँले मलाई आफैँसँग बोलेझैँ गरेर भन्न थाल्नुभयो, ‘मैले कति दुःख गरेर हुर्काइहालेँ । हातगोडा लाग्ने भैहाले । जाँ जान मन लाग्छ जानू । जन्मेर सात दिनसम्म दूध नखाकी छोरी । मरे फाल्छु, बाँचे पाल्छु भनेर यो घरबाट निस्केर हिँड्दा तेरो घरभरि मान्छे थिए । कसैले रोकेनन् । पुर्‍याउन साथ पनि आएनन् । यत्रो बाटो माइत कसरी पुर्‍याएँ ? कसरी हुर्काएँ ? मलाई मात्र थाहा छ ।’

हामी मामाघरमै हुँदा ठूलो मामाले आफूसँगै आर्मीमा जागिर भएको केटोसँग बिहे गराइदिन खोज्नुभएको रहेछ आमालाई । अनि मामाले आमालाई सोध्नुभएछ, ‘केटो असल छ । बिहे गर्छेस् ? छोरीलाई समेत स्वीकार गर्छु भनेको छ ।’ मैले दुःख पाउँछु भनेर आमाले त्यतिखेर बिहे गर्नु भएनछ । मेरो अनुहारमा नहेरी आमा भन्नुहुन्थ्यो, ‘यही दिन देख्नलाई रहेछ ।’ आमाका कुराले मेरो रिस सबै पखालिन्थ्यो । र, आमाको चित्त दुखाएकोमा पश्चात्ताप हुन्थ्यो । आमासँगै टाँसिन पुग्थेँ । तर, अर्को घटना नहुञ्जेलसम्मलाई मात्रै हो ।

मलाई स्कुल जान कहिल्यै मन परेन । आमाले बाँसको सिर्कनो बोकेर स्कुल पुर्‍याएर घर पुग्दा नपुग्दै म घर फर्किसकेकी हुन्थेँ । कहिलेकाहीँ फकाउनु पनि हुन्थ्यो । ‘पढेर ठूलो मान्छे बन्ने । छोरो भएर आमालाई पाल्ने । मैले पढ्न पाइनँ । तैँले त जसरी पनि पढ्नु नै पर्छ । सबैलाई जागिर खाएर देखाउनुपर्छ ।’ म अचानक कुरा बुझेझैँ गरेर ज्ञानी हुन्थेँ । आज्ञाकारी हुन्थेँ । तर के गर्नु, स्कुलमा मेरी आमाजस्तै फकाएर पढाउने शिक्षक थिएनन् । स्कुलका सबै शिक्षकहरू मलाई मेरा ‘ठूला मामा’जस्तो लाग्थ्यो । अझ मामाले त कहिल्यै पिट्नु भएन । बाउ लिएर आइज भन्नु भएन । स्कुलमा त बाउ चाहिने । भर्ना गर्दा पनि बाउकै नाम लेख्नुपर्ने ।

अरु साथीहरू त आफ्नो बाउ ल्याउँथे । बाउ घरमा छैनन् भने आमाहरू आएर भन्थे, ‘यसको बाउ इन्डिया हुनुहुन्छ, काठमाडौंमा हुनुहुन्छ वा कतै हुनुहुन्छ ।’ मैले त झन् मेरो घरमा बाउ त के बाउको फोटोसम्म पनि देखेको थिइनँ । कहाँबाट ल्याउनु बाउलाई ? आमालाई सोध्यो भने उत्तर आउने होइन । अनि मलाई रिस उठ्थ्यो, म कुदेर मामाघर जान्थेँ । मामाघर पुग्न हाम्रो घरबाट हिडेर पाँच/छ घण्टा लाग्थ्यो । तर, मलाई डर लाग्दैनथ्यो । जगंलमा कुद्ने गर्थें । गाउँ आउँदा विस्तारै हिँड्ने गर्थें । अचम्म त के भने, मलाई गाउँभरि वा बाटोभरिका मान्छेले कान्छाकी छोरी भनेर चिन्थे । तर, ती कान्छा को हुन् ? कहाँ छन् ? म चिन्दिनथेँ । मेरा लागि त्यो बाटो नै साक्षी होला, म आमाकी छोरी हुँ । मानिसहरूका कुराले मलाई बाउको भ्रम भइरह्यो । अरुका बाउजस्तै एक दिन मेरा बाउ मेरा लागि नयाँ लुगा र चकलेट लिएर आउनेछन् ।

अचेल आमा र म मामाघर जाने बाटोमा हिँड्दा पनि केही मानिसले सोध्ने गर्छन्, सानोमा यही नानी हैन कुदेर मावल जाने भनेर । तिनै गाउँलेहरूले भनेका मलाई, मैले सानोमा आमालाई धेरै दुःख दिने गर्थें रे । अहिले गाउँलेको कुरा सुनेर आमा भने मेरो अनुहारमा हेर्दै मुस्कुराउनुहुन्छ । सायद ती सबै दुःख अचेल मलाई हेरेर बिर्सिनुहुन्छ आमा ।

उमेरमा सानो भए पनि गाउँका केटाकेटीहरूभन्दा अग्ली, मोटी, ठूलो ज्यान भएकी थिएँ म । सबैले मलाई दिदी भन्नुपर्थ्यो । उमेरअनुसार होइन, उचाइअनुसार । हातको बित्ताबित्ता नापेर हामी को जेठो, को कान्छो भनेर छुट्याउँथ्यौँ । धेरैले भन्थे, ‘छोरो भएर जन्मनुपर्ने यो त, ज्यान छोराको जस्तो छ । तर, त्यही एउटा चीज अभागी छोरीको भयो ।’

म आमाको पेटमा हुँदादेखि नै मानिसहरू आमाको पेटमा हेरेर फेरि पनि छोरी नै जन्मिन्छे भन्ने अनुमान गर्थे रे । गाउँले र परिवारको कुरा सुनेर आमासँग उनका श्रीमान् पनि बोल्न छाडेका थिए अरे । त्यही दिनचाहिँ किन बोल्नुपरेको थियो मेरी आमासँग ? वर्षाका लागि सामान लिन सिन्धुली जाने बेलामा ‘आफ्नो ख्याल गर भनेर मेरी आमालई किन भन्नुपरेको थियो ?’ आमाले मलाई त्यो भयानक घटनाको कथा सुनाएदेखि म कतै हिँड्दा मेरो मुखसम्म आए पनि मैले भनिनँ, ‘आफ्नो ख्याल राख्नु है’। मैले त्यो वाक्य उच्चारण गरेमा मेरी आमालाई त्यही दिनको याद आउनेछ ।

हुन त पछि उहाँले विवाह गर्नुभयो र दोस्रो श्रीमान्‌बाट तीनवटा छोराहरू छन् । (आमाको दोस्रो बिहेबारेमा सकेँछु भने कुनै बेला लेख्नेछु ।) अचेल आमा र म सँगै छैनौँ । मलाई देख्दा आमालाई तिनै दिन याद आउँछ । म भएको पेट ठूलो पेट । घरभरि मान्छे जम्मा भएका थिए अरे । साँझको समय थियो अरे । आमा वस्तुभाउ गरेर । बाख्रालाई घाँस लिएर कुलेसोमा पुग्नुभएको थियो अरे । एक्कासि आमैको स्वर आमाको कानमा चट्याङजस्तै बज्रियो अरे ।

‘मेरो छोरोलाई काँचै खाइस् हैन अलक्षिनी’ भन्दै झम्टिन आउनुभयो अरे । सबै पुरुषहरू मुखामुख गर्दै थिए अरे । महिलाहरू आमातिर हेर्दै खासखुस गर्दै थिए अरे । हाम्रो घरमा मान्छेहरू आउने क्रम जारी नै थियो अरे, एकैछिनमा झन रुवाबासी चर्किन थाल्यो अरे । मेरी आमाको कानमा अचानक कान्छालाई यस्तो उस्तो भन्ने आवाज कानमा गुञ्जियो अरे । सबै चीज तन्द्राजस्तै लाग्दै थियो अरे । त्यसपछि मेरी आमाले केही पनि थाहा पाउनु भएन अरे । मुर्छित आमाले के थाहा पाउनु ? पेट भित्रकी मैले झन् के थाहा पाउनु ?

स्कुलमा मेरी आमाजस्तै फकाएर पढाउने शिक्षक थिएनन् । स्कुलका सबै शिक्षकहरू मलाई मेरा ‘ठूला मामा’जस्तो लाग्थ्यो । अझ मामाले त कहिल्यै पिट्नु भएन । बाउ लिएर आइज भन्नु भएन । स्कुलमा त बाउ चाहिने । भर्ना गर्दा पनि बाउकै नाम लेख्नुपर्ने ।

मैले निक्कै पछि मात्रै वास्तविक कुरो बुझेँ । म आमाको पेटमा हुँदा नै आमाको श्रीमान् बित्नुभयो अरे । मेरी आमाले आफ्नो श्रीमान्‌को सास जाँदै गर्दा मुख पनि हेर्न पाउनुभएन अरे ।

जेठ महिनाको अन्तिम दिन अर्थात् असारको अघिल्लो दिन गाउँका अरु लोग्नेमान्छेहरूसहित उहाँ पनि वर्षालाई चाहिने नुन, तेल, मरमसला लिनका लागि सिन्धुली जान घरबाट हिँड्नुभयो अरे । त्यति बेला गाउँलेहरू एकजुट भएर खेती सुरु हुनुभन्दा अगाडि र दसैँअघि खाद्यसामाग्री लिनका लागि सिन्धुली जाने चलन थियो । उहाँलाई आँप एकदमै मन पर्थ्यो अरे । उहाँ एकदम फुर्तिलो र बलियो हुनुहुन्थ्यो अरे । उहाँ कान्छो सन्तान । सबैले भन्ने गर्थे रे ‘आमाले धेरै पोसेको छोरो’ भनेर । उहाँ रुखहरू चढ्ने, दाउरा चिर्ने, अरुहरूले उचाल्न नसक्ने ठूला मुढाहरू सजिलै उचाल्ने गर्नुहुन्थ्यो अरे । आर्मीमा भर्ती पनि हुनुभएको थियो अरे । घर आएको बेला युनिफर्मको जुत्ता हराएछ । सजाय पाइन्छ भनेर जागिरमा फर्केर जानु भएन रे । अलिक जिद्दी स्वभावको हुनुहुन्थ्यो रे ।

त्यो दिन पानी परिरहेको थियो । रुखमा नचढ्, चिप्लो छ । अहिले आँप नखाँदा पनि हुन्छ । अरु साना बोटहरू पनि भेटिन्छन् भन्दै थिए अरे साथमा गएका गाउँलेहरू । उहाँको साइँलादाइले पनि रोक्नुभएको रे । तर, उहाँ मान्नु भएन अरे । आफूले बोकेको खाङ्ग्रे डोको भुइँमा फालेर रुख चढ्नुभयो अरे । अरु पनि भुइँमा डोको राखेर बस्दै बिँडी सल्काउन लागे अरे ।

त्यो आँपको रुख मन्थलीनजिकै कुदौरी भन्ने ठाउँमा थियो अरे । त्यो रुखमा पाँच किसिमका आँपहरू फल्थे अरे । त्यस रुखका किंवदन्तीहरू पनि थुप्रै थिए । औँसी, पूर्णिमा, सङ्क्रान्ति र मसान्तहरूमा त्यो रुख तामाकोसीमा नुहाएर सिधा हुन्थ्यो अरे । अनि रुख भएको ठाउँमा अचानक बाजा बज्ने, सुुसेलेको आवाज आउने गर्थ्यो अरे । हाम्रो घुर्‍यानमा पनि आँपको रुख थियो । ‘तेरो बाउले त्यही रुखको आँप ल्याएर अरुलाई खान पनि नदिई सिङ्गै दाना रोपेका हुन्’ भनेर भन्नुहुन्थ्यो मेरी आमा । अहिले भने ती दुवै रुखहरू छैनन् । मेरो बाउ सम्झाउने त्यो आँपको रुख बाटो बनाउँदा डोजरले उखेलेर फालेछ ।

आँप टिपेर मुखमा राख्न पाउनुभयो या भएन । तर, उहाँले टेकेको हाँगो र समाएको हाँगो दुवै लाछिएर भुइँमा बजारिनुभयो । अरुहरूले खाँदै गरेको बिँडी आधा पनि भएको थिएन । बिँडी फालेर उहाँको छेउमा सँगैका साथीहरू पुग्दा उहाँको धुकधुकी मात्रै बाँकी थियो । त्यहीँ भएकामध्येका कसैले तामाकोसीबाट पानी ल्याएर उहाँको मुखमा हाल्दासम्म उहाँको प्राण गइसकेको थियो ।

त्यति बेला फोन थिएन । उहाँलाई घरमा लानेभन्दा पनि त्यतैबाट अन्तिम संस्कारका लागि तिल्पुङ खोला लाने, घरमा कोही खबर लिएर जाने र मलामीसहित दाउरा लिएर झर्ने निधो गरेछन् । तिल्पुङ खोला हाम्रोतिर मरेका मान्छेलाई पोल्ने ठाउँ हो । किनार तामोेकोसीकै हो, रामेछाप जिल्लाकै हो । तर, कुदौरीको तामाकोसी होइन, तिल्पुङ गाविसको तामाकोसी हो । घरबाट उँधो झर्नुपर्छ साढे २ घण्टा जति लास पोल्ने ठाउँमा पुग्न । कुदौरीबाट पनि त्यस्तै २ घण्टाजति लाग्छ होला पोल्ने ठाउँमा पुग्न ।

कुदौरी बाट हाम्रो घरसम्म पुग्न छिटो हिँड्ने मान्छेलाई ५ घण्टा लाग्छ । एक जना गाउँले खबर लिएर घरमा आइपुग्दा साँझ नै परिसकेको थियो । त्यति बेला हाम्रो घरमा झण्डै बाइस जनाको जहान थियो । पाँच बाउका पाँच श्रीमतीहरू र सबैका छोराछोरीहरू । दुई फुपूहरू फुपूका छोराछोरीहरू र हजुरआमा । हजुरबाचाहिँ बितेको दुई वर्ष पुग्न लागेको थियो । हजुरबा पनि नभएको घरमा म जन्मिँदा मेरा बुबा पनि थिएनन् । मैले र आमाले आशा गर्ने ठ्याक्कै अर्को मान्छे त्यस घरमा थिएनन् । हामी आमाछोरी एकअर्काका निरीह सहारा थियौँ । एउटी आइमाईलाई श्रीमान् र सन्तानलाई बाउ किन चाहिन्छ होला ? मैले बाउ नभएर केके गुमाएँसम्म मलाई पत्तो छैन । यत्ति भन्न सक्छु– मेरा पनि बाउ थिए अरे ।

बुधबार, भदौ १६, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...