महिनावारी विभेदको नालीबेली

राधा पौडेल
यो पृथ्वीमा पाठेघर र अण्डाशय लिएर जन्मिएका व्यक्तिहरु अपवादमा बाहेक सबै महिनावारी हुन्छन्, जुन अनिवार्य जैविक प्रक्रिया हो । चिम्पाञ्जीको उदयसँगै वा चार खर्ब बर्षदेखि महिनावारी विद्यमान भएको रेकर्डमा देखिन्छ ।
विशेषतः मानव विकासका क्रममा कृषि युगको शुरुवात हुँदै गर्दा महिलाहरु महिनावारी भएको देखेपछि डर, आश्चर्य, शंका सँगसँगै महिलालाई फरक दृष्टिकोणले हेर्दै विभेद र ‘फोहोरी’ व्यवहार गर्न थालेको अनुमान गर्न सकिन्छ । यही परिवेशमा समाजलाई अनुगमन गर्न बनेका नियम वा धर्ममा त्यही फोहोरी व्यवहार पापमा स्थापित हुँदै अन्ततः महिलाहरु फोहोरी, अपवित्र भन्ने सोच स्थापित हुँदै गयो ।
अझ केही महिलाहरुलाई महिनावारीका कारण देखिने केही गम्भीर अवस्थाका कारण महिलाहरु खासमा कमजोर प्राणी हुन् भन्ने कुराले स्थान पाएको देखिन्छ । यसै कारणले महिनावारी भएका बेला के–के खान हुन्छ/हुँदैन, के–के छुन हुन्छ/हुँदैन, कहाँ कहाँ जान हुन्छ/हुँदैन भन्ने सीमा र बन्देजहरु निर्माण भए । अभ्यासमा आए । बानी परे वा परम्परा बने । संस्कार बने ।
महिलालाई कमजोर, शक्तिविहीन, पापी वा फोहोरी मानिएका कारण उनीहरुलाई जीवनभर कमजोर र परनिर्भर बनाइयो । विभिन्न नियमहरुको निर्माण गरी महिलालाई नियमन गरियो । जसले गर्दैन, उसलाई बहिस्करण गर्ने, होच्याउने वा सजाय दिने आदि गरेरै भए पनि महिलाहरु पुरुषको मातहतमा राख्ने पद्दति बन्यो ।
ऐतिहासिक र संस्कृतिकरुपमा महिलाहरु निम्छरो बनेपछि यसको प्रभाव समाजका अन्य अयवयमा पनि पर्दै गयो । अन्ततः शक्तिको बागडोर नै पुरुषमा पुग्यो ।
एउटा परिवारमा शक्ति निर्माण र पितृसत्तात्मक सोचको निर्माण र सामाजिकीकरण कसरी भैरहेको हुन्छ भनेर हेर्नु पनि जरुरी हुन्छ । बच्चा जन्मेपछि करीब तीन बर्षको उमेरमा नै आमा वा बाको गतिविधिमा चासो हुन्छ । केही समयसम्म स्मरण पनि गर्न सक्ने क्षमता भएकाले मेरी आमा महिनावारीको अभ्यासमा छिन् भन्ने थाहा पाएको हुन्छ । तर, करीब ६–९ बर्षदेखि आफ्नो जीवनमा जोडेर हेर्न थाल्छ ।
छोरीहरुले आफू महिनावारी हुनुपूर्व नै ‘म ठूली भएपछि महिनावारी हुन्छु, मैले पनि आमा बाले भनेझैँ, गरेझैँ सबै बन्देजहरु गर्नुपर्छ, म फोहोरी, म अरुभन्दा सानी, म पापी (ठाउँ अनुसार शब्द फरक हुनसक्छ, तर मान्यता एकै हो) आदि । यो अवस्था करिब ६ बर्ष ( ७ बर्षदेखि १३ बर्ष सम्म–यदि महिनावारीको १२ बर्षमा भएको मान्ने हो भने) यो बुझाई यतिसम्म सशक्त हुन्छ कि कुनै पनि व्यक्ति वा निकायले यो सोच बदल्न हम्मेहम्मे पर्छ ।
धेरैजसो अवस्थामा स्वतःस्फूर्तरुपमा किशोरीले आफैं यस्तो महसुस गर्न थाल्छिन् वा महिनावारीका बन्देज अभ्यास गर्छिन् । म महिला भएर जन्मनु मेरो भाग्य हो, मैले प्रश्न गर्न हुँदैन, सहनुपर्छ आदि आफूलाई निम्छरो देख्ने बिम्बहरू सिक्ने, आफूले अर्थ लगाउने, नयाँ अभ्यास वा नियम पनि निर्माण गर्ने भएर जान्छ । उनलाई आफू र आमाभन्दा भाइ, दाइ वा बाप्रति विश्वास र भरोसा लाग्न थाल्छ ।
अर्कोतिर, छोराहरुमा त्यही उमेरमा म पवित्र, कहिल्यै महिनावारी हुनु नपर्ने र म खास मान्छे भन्ने भावनाको विकास हुन्छ । परिवार र समाजको सदस्य वा उनीहरुको व्यवहारले पनि यही कुरा पुष्टि गर्दै गएको हुन्छ ।
हरेक दिन समुदायमा वा हरेक महिना परिवारमा कोही न कोही महिनावारी हुने हुँदा यो शक्ति निर्माण प्रक्रिया र पोजिसनिङ पनि स्मरण, पुनःस्मरण हुँदै जाँदा बलियो पनि हुन्छ । अन्ततः सबैतिरबाट छोरीहरु कमजोर र छोराहरु बलिया भन्ने अवधारणा निर्माण र लागू हुन्छ । यसरी महिनावारी विभेदले शक्ति र पितृसत्तात्मक सोच दुबैको सँगसँगै निर्माण र सामाजिकीकरण हुन्छ ।


मार्क्सवाद वा अन्य सिद्धान्तले पितृसत्तात्मक सोचको निर्माणको ब्याख्या फरक तरिकाले गर्ने/गरेकाले पनि महिनावारीको विभेद बहसमा आउन नसकेको हो । शहर वा विकसित देशमा पनि महिनावारी विभेद फरक नाम, स्वरुप वा बहानामा अभ्यासमा छन् । कतिपय ठाउँमा सजिलै देखिन्छ भने कतिपय ठाउँमा देखिँदैन ।
अन्य सामाजिक अवस्थाका कारण तरिकाहरु फरक होलान् । आयाम फरक हुनसक्छन् । धेरै थोरै होलान् । तर, केही न केही विभेद जहाँसुकै छ । इलाम/काठमाडौँ/पोखरामा महिनावारी भएका बेला छुटै कोठा/कुनामा सुत्छन्, देखिँदैन । तर, पश्चिम नेपालका केही भागमा देखिन्छ ।
सन् २०२१ को जनवरीमा बेलायतमा गरिएको एक अध्ययनमा १० जना महिनावारी भएका महिलामध्ये ९ जनाले चिन्ताको महसुस गर्छन् भनिएको छ । अझै रजनोबृतिको, यौन तथा लैंगिक अल्पसंख्यक, अपांगता भएका, प्रकोप र महामारी भएका समयका कुरा गर्ने हो भने यो अझै डरलाग्दो छ ।
कोरोनाको मूल मानिने युआन, चीनका महिला स्वास्थ्यकर्मीहरुले महिनावारी विभेदका कारण लुकेर गर्भ निरोधक औषधि सेवन गर्न बाध्य भएको घटनाले स्पष्ट पार्दछ कि महिनावारी विभेदको जटिल र बहुआयामिक प्रकृति नेपालबाहिर पनि छ ।
हो, महिनावारी विभेद एकदम जटिल र बहुआयामिक छ । यो केवल पाँच दिन बग्ने पाँच पसर वा ८० मिलि रगतको कुरा होइन । महिनावारी विभेदले पेटमा बच्चा आएदेखि मृत्युपर्यन्त नकारात्मक असर गरेको हुन्छ । लिंग पहिचान गरेर भ्रुणहत्या गर्ने, जन्मेपछि बाकसमा राखेर झाडी वा खोल्सोमा फाल्ने, स्याहार सम्भार कम गर्ने, नपढाउने, पढाए पनि सामान्य स्कुलमा राख्ने, धेरै काम लगाउने आदि कसलाई गरिन्छ ? जबाफ आउँछ –छोरीहरुलाई ।
महिनावारी बार्ने भए स्कुल जान नपाउने, गए पनि विभेदका कारण ४ बजे नै उठेर तयारी गर्नुपर्ने, गृहकार्य गर्नलाई अनुकुल वातावरण (बस्ने ठाउँ, उज्यालो, कपि किताब आदि) नहुने, स्कुलमा पनि महिनावारीलाई लाज वा निषेध गर्ने/हेर्ने भएकाले भित्तो, कुनोमा बस्ने, बाक्ला लुगा वा डबल लुगा लगाउने, हेर्दै उज्यालो नदेखिने लुगा लगाउने, पढाइ भन्दा रगत देखिन्छ वा बेञ्चमा लाग्छ कि भनेर सोच्ने आदि समस्याहरु छन् ।
स्कुलको संरचना महिनावारीप्रति मैत्रीपूर्ण नहुने आदि कारणले पढाइ बिग्रने/असफल हुने र अन्तत भागेर वा परिवारले बिबाह गरिदिने अभ्यास देखिन्छ । यहाँनेर महिनावारी विभेद एक्लै र सिधा देखिएको छैन । यो कारण र नतिजा दुबै हो ।
माथि उल्लेख गरिएका आनीबानी र उल्लेख नगरिएका अदृश्य क्रियाकलापहरु जस्तो– सफा लुगा लगाउने, सधैं सुत्ने ओछ्यानमा नसुत्ने, भोक तिर्खा लाग्दा आफंै सधैंझैँ झिकेर खान नपाउने आदि कुराहरु संयुक्त रास्ट्र संघको यौनिक र लैगिक हिंसाको परिभाषामा पर्दछन् । साथै नेपालको घरेलु हिंसा कसुर ऐन २०६६ ले परिभाषित गरेको हिंसामा पर्दछ । त्यस्तै, यसबाट नेपालको संविधानले ग्यारेन्टी गरेका मौलिक अधिकारहरु, जस्तो– सम्मानपूर्वक जिउन पाउने अधिकार, स्वतन्त्रताको अधिकार, खाना, बासको अधिकार, शिक्षा, स्वास्थ्यको अधिकार, छुवाछुतबिरुद्धको अधिकार, महिलाको हक आदिको हनन पनि भैरहेको हुन्छ ।
यसो त महिनावारी विभेदले विवाह मात्र हैन, २४ सै घण्टा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा अनवरत असर पुर्याइरहेको हुन्छ । तर, दृष्टिकोण नै फरक भएकाले यो महिनावारीकै कारण हो भन्ने नै महसुस नभएको अवस्था छ ।
अलिकति हाम्रो विगतलाई नियालेर हेर्ने हो भने सन् १९४८ बाट वा ७३ बर्ष देखि विश्वले मानव अधिकारमा काम गरिरहेको छ । तर, माथि उल्लेख गरिएका विभेदले हनन गरेको मानव अधिकारको आवाज बिरलै सुनियो भन्दा अतिशयोक्ति नहोला ।
त्यसैगरी सन् १९७९ देखि वा ४२ बर्ष देखि महिला माथि हुने सबैखालका विभेद बिरुद्धको महासन्धिमा काम भैरहेको छ । तर, महिनावारी विभेदले पलपल निम्त्याएका विभेद र हिंसाहरुको मानव अधिकारमुखी सुनुवाई भएको देखिँदैन ।
पछिल्लो समय संसारभर बढी चर्चामा भएको नीति भनेको लैंगिकता र समावेशी नीति हो, जसलाई जेसी नीति वा जेसी विज्ञ वा लैंगिक उत्तरदायी बजेटका नामले सरकार र गैरसरकारी निकायमा प्रशस्त सुनिन्छ । तर, ती नीति वा विज्ञले महिनावारी विभेदको उच्चारण पनि गरेको देखिँदैन ।
समस्या नै पहिचान नभएको अवस्थामा सम्बोधन (मर्यादित महिनावारी) हुन्छ भनेर विश्वास गर्नु भ्रम मात्र हो । मर्यादित महिनावारी विभेद न्यूनीकरण गर्ने रणनीति वा रोडम्याप हो ।
केही विज्ञहरुलाई लाग्न सक्छ कि मैले वा हामीले विगत २७ बर्षदेखि अर्थात् सन् १९९४ कायरो सम्मेलनदेखि नै प्रजनन अधिकारमा काम गरेका छौं । झट्ट हेर्दा हो जस्तो पनि लाग्छ । तर, मर्यादित महिनावारीमा काम गरेको भन्न गाह्रो छ । किनभने, नेपालमा प्रजनन स्वास्थ्यमा काम गर्न थालेपछि लाज, निषेध, विभेदका बीच नै महिनावारी शरीर विकासको एक चरण, सामान्य लक्षण हुँदै सुरक्षित मातृत्वमा केन्द्रित रह्यो, जुन केही हदसम्म सफल पनि छ । तर, महिनावारी र योसँग जोडिएको विभेद यसको व्यक्ति (किशोरी, महिला, क्विर, ट्रान्स म्यान) को जीवनचक्रसँगै सामाजिक, आर्थिक, राजनीतिक, पर्यायवरणीय आदि पक्षलाई विश्लेषण गरिएन अर्थात् महिनावारी विभेदले बहसका लागि प्राथमिकता पाएन ।
अर्कोथरी विज्ञहरुको मत हुन्छ कि हामीले मर्यादित महिनावारीमा काम गरेका छौं, किनभने प्याड बाँडछौं, चर्पी बनाउँछौं वा पानीको व्यवस्था गर्छौं । झट्ट सुन्दा हो कि झैँ लाग्छ । तर, यो महिनावारी सरसफाइमा काम गरेको हो । तपाईले बाँड्नुभएको प्याड, बनाउनुभएको चर्पी, वा सहयोग गर्नुभएको स्कुल मर्यादित महिनावारीमैत्री छन् कि छैनन् भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
आँप रोपेर ओखर नफलेझैँ मर्यादित महिनावारीका लागि विभेद छ कि छैन भन्ने कसी लगाउनुपर्छ । यो आफैंमा गाह्रो पनि छ । व्यक्ति धेरै पढेको वा विदेशमा पढेको हुन सक्छ । संस्था धनी हुन सक्छ । तर, मर्यादित महिनावारीमैत्री व्यक्ति/संस्था नहुन सक्छन् । मर्यादित महिनावारी व्यक्ति, परिवार, संस्था, स्कुल, सार्वजनिक/निजी कार्यालय, सबैतिर २४ सै घण्टा हुनुपर्छ ।
जसको सामान्य आधार भनेको बहस खुल्ला गर्ने, विभेद नगर्ने, आचारसहिंता बनाएर लागुगर्ने, आदि कुराहरु पर्छन् । अर्थात् महिनावारी हुनुपूर्व, भैसकेको, हुँदै गरेको, सुक्दै गरेको वा सुकेको (रजनोवृति) सबै तप्कालाई मर्यादित वातावरण हुनुपर्छ ।
अर्थात्, महिनावारिकै कारण लज्जित हुनुपर्ने, जागिरमा खटपट हुने, सम्बन्धमा दरार आउने, अमर्यादित व्यवहार नहुने, हीनताबोध हुने आदि अवस्था निस्तेज हुनुपर्छ । त्यसैले मर्यादित महिनावारी नीतिगत तहमा आई मूलप्रवाहीकरण हुनु आजको आवश्यकता हो ।
तर, अफसोच नै मान्नुपर्छ कि हामी अधिकांशले सबै तह र तप्कामा महिनावारी विभेदलाई बुझ्न नै खोजिरहेका छैनौं । कसैका लागि नारीवादीको ठेक्का, कसैका लागि विकासे एजेन्डा वा डलरवादी त कसैका लागि महिलाको मामला, कसैका लागि गरीब/अशिक्षितहरुको सबाल अनि कसैका लागि सेलिब्रिटी बन्ने माध्यम र कसैका लागि संस्कृति आदिका रुपमा हेरिएको छ ।
हामी बदलिन बाध्य छौं । बदलिइरहेका छौं । सिक्दैछौं । सिक्दै रहनुपर्छ वा सच्चिन तयार हुनुपर्छ । आज सिकेका, ठीक भनेका मानकहरु अनुसन्धान र अनुभवले भोलि बेठिक बन्छन्, बन्न सक्छन् । आज पनि धेरैलाई आफूले महिनावारीका कारणले सधैं गर्ने क्रियाकलापबाट छुट्टिएको वा महिनावारी भएका बेला गरिरहेका आनीबानी फरक हुन् भन्ने स्वीकार गर्न गाह्रो लाग्न सक्छ । अग्लो सफा घरमा, धनी परिवारमा, इन्टरनेट र टेलिभिजनसहित फरक क्रियाकलाप महिनावारी बार्ने अभ्यास वा विभेदको स्वरूप हो भन्ने लागेको छैन ।
त्यसैगरी भाषाले केवल सञ्चारको मात्र काम गरेको हुँदैन, यसले सोच निर्माण गर्न पनि उत्तिकै भूमिका खेलेको हुन्छ । समाजले हिजो अस्ति देखेका, बोलेका भाषाको मर्म खोजेको छ । मानवता छ कि छैन, विश्लेष्ण गरेको छ । अनि गरेको छ मर्यादा । किनभने, समाजले यसकै लागि वा लोकतन्त्रका खातिर लडेको छ ।
व्यक्ति होचो–अग्लो, गहुँगोरो –गोरो, धनी–गरीब, गाउ– शहर आदि सबै फरक–फरक हुन्छन् । तर, साझा कुरा मर्यादा हुनुपर्छ । मर्यादा सिथिल भएर वा थिचिएर समाज अग्रगमन हुन सक्तैन । यसका लागि फेरि पनि पलपल नै लोकतान्त्रिक अभ्यास हुन जरुरी छ । सुन्न जरुरी छ । भोग्नेको आबाज सुन्न जरुरी छ ।
महिनावारी विभेद दृश्य महिनावारीले निर्माण गर्ने अदृश्य शक्ति निर्माण गर्ने राजनीतिक सवाल हो । मर्यादित महिनावारीलाई राजनीतिक अधिकारका रुपमा सम्बोधन गरेमा मात्र महिनावारी विभेद र यसले सिर्जना गर्ने तमाम विभेदको न्यूनीकरण सम्भब छ । (लेखक राधा पौडेल मर्यादित महिनावारी अभियन्ता हुन्) महिला स्वास्थ्यका लागि सान्दर्भिक भएकोले रातोपाटी डटकमबाट साभार गरिएको

सोमवार, अशोज ११, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...