एमाले म्याग्दीको अधिवेशन तयारी तीव्र, ६ गते वडा र ९ गते पालिका अधिवेशन हुने

नेकपा एमाले म्याग्दीले वडा अधिवेशन यही कार्तिक ६ गते शनिबार सम्पन्न गर्ने भएको छ । केन्द्रीय कमिटीको निर्देशन र कार्तिक ४ गते बसेको एमाले म्याग्दीको सचिवालय कमिटीको बैठकको निर्णयअनुसार जिल्लाका सबै वडामा कार्तिक ६ गते अधिवेशन गर्नेगरी तयारी गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जिल्लाका ४५ वटा वडामध्ये केही वडाबाहेक सबैमा कार्तिक ६ गते अर्थात् भोलि नै अधिवेशन सम्पन्न गर्नेगरी तयारी गरिएको जानकारी दिनुभयो । धवलागिरी गाउँपालिका १ गूर्जा लगायतका केही वडामा भने कार्तिक ८ गतेभित्र अधिवेशन सम्पन्न गर्ने उहाँले बताउनुभयो । यसैगरी कार्तिक ९ गते पालिका अधिवेशन सम्पन्न गरिने पनि अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
हाल एमाले म्याग्दीको क्रियाशील सदस्य संख्या ३१ सयबढी पुगेको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकामा पार्टीको सदस्य संख्या बढी भएको एमालेले जनाएको छ । प्रथम विधान महाधिवेशनबाट सङ्गठनात्मक व्यवस्थामा पनि केही परिवर्तन भएको छ । जसअन्तर्गत वडा कमिटिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव २ र बढिमा ३१ सदस्य सम्म रहन सक्ने छन्भने पालिकाको हकमा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव २ गरी बढीमा ७५ सदस्यीय बनाउन सकिने त्यसमा ३३ प्रतिशत महिलालाई अनिबार्य समावेश गर्नु पर्ने ब्यबस्था रहेको श्रेष्ठले बताउनुभयो ।
अधिवेशन सम्पन्न गर्नका लागि जिम्मेवारीसहितको निर्देशन पार्टीले दिएको छ । साथै अधिवेशन सफल पार्नका लागि जिल्ला कमिटी तथा प्रदेश कमिटीका नेताहरुले समन्वय तथा सहजीकरण गरिरहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

शुक्रबार, कार्तिक ५, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...