१९ औं जेसीज कप हुने

म्याग्दीमा गतवर्ष कोरोना संक्रमणको जोखिमका कारण स्थगित भएको अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिता यसवर्ष हुने भएको छ । ‘खेलाडीहरुको प्रतिभा प्रष्फुटनमा हाम्रो पहल, जेसीजकप फुटबल’ भन्ने मूल नाराका साथ सञ्चालन हुने १९औं संस्करणको प्रतियोगिता आउँदो मंसिर २१ गतेदेखि २५ गतेसम्म सदरमुकाम बेनीस्थित खुलामञ्चमा सञ्चालन गर्न लागिएको हो ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितालाई सफल रुपमा सम्पन्न गर्नका लागि आर्थिक सङ्कलन, प्रचारप्रसारलगायत आवश्यक तयारी सुरु गरिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताए । प्रतियोगितामा विजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद ५२ हजार दुईसय २२ र उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रसहित ३२ हजार दुईसय २२ रुपैयाँ पुरस्कार प्रदान गरिने प्रतियोगिताका मूल संयोजक कुमार बानियाँले जानकारी दिए ।
यसैगरी उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई विभिन्न अवार्डबाट दुई हजार पाँचसय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ भने अनुशासित टिमलाई सातहजार सातसय ७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिता सञ्चालनका लागि आठलाख ६८ हजार खर्च हुने अनुमान गरिएको छ । जेसीजकप फुटबल म्याग्दीको विद्यालय तहमा हुने जिल्लास्तरीय चर्चित फुटबल प्रतियोगिता मानिन्छ । ‘सन्तोष श्रेष्ठ स्मृति कोष’ मुख्य प्रायोजक रहने यस प्रतियोगितामा आर्थिक सङ्कलनका लागि टाइटल स्पोन्सर, प्रायोजक र सह–प्रायोजकको लागि समेत आह्वान गरिएको आयोजकले जनाएको छ ।
म्याग्दीमा हुने माविस्तरीय फुटबल प्रतियोगिताबाट खेलाडीको उत्पादन तथा क्षेत्रीय र राष्ट्रियस्तरको खेलसम्म पुग्न सहज भएको छ । पत्रकार सम्मेलनमा नेपाल जेसीजका वर्तमान राष्ट्रिय उपाध्यक्ष तथा शाखाका पदाधिकारी एवं पत्रकारको सहभागिता थियो ।

सोमवार, मंसिर ६, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...