रामचन्द्रको अवकाश

एक वर्ष कान्छा शेरबहादुर देउवासँग अघिल्लो महाधिवेशनमा सभापतिमा पराजित भएपछि साढे ५ वर्षसम्म पार्टीभित्रै खरो प्रतिपक्षी भूमिकामा बसेका ७७ वर्षीय पौडेल आफ्नै समूहको असहयोगले यस पटक प्रतिस्पर्धामा उत्रिनै पाएनन्, यससँगै उनको झन्डै ६ दशकको सक्रिय राजनीतिक यात्रामा बिराम लागेको छ

जीवनभर कांग्रेसको राजनीति गरेका वरिष्ठ नेता पौडेल १४ औं महाधिवेशन चलिरहेका बेला आँसु झार्दै घरतिर लागे । कांग्रेसको मूल्य, मान्यताप्रति सधैं अडिग रहेका उनी पार्टीको दोस्रो नेता र सरकारको उपप्रधानमन्त्री भए । तर, पार्टी र सरकारको पहिलो पदमा नपुगी राजनीतिक जीवनको उत्तरार्द्धमा पुगेका छन् ।

पार्टीमा प्रतिपक्षका रूपमा रहेका उनले सभापति शेरबहादुर देउवाका गलत कार्यशैलीप्रति सधैं प्रश्न उठाए । जे देखे, त्यो बोले तर कांग्रेसभित्रको गुट, उपगुट र सत्तास्वार्थका कारण पार्टीको कार्यकारी पदबाट बिदा लिनुपर्ने अवस्थामा पुगे । उनको झन्डै ६ दशकको सक्रिय राजनीतिक यात्रामा बिराम लाग्यो ।
कांग्रेसका संस्थापक नेताद्वय गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जीवनको उत्तरार्द्धमा पार्टीबाट अलग भएका थिए । तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले लिएका नीति र कार्यशैलीगत व्यवहारका कारण जसरी सिंह र भट्टराईले पार्टीबाट अलग हुने बाटो रोजे, करिब त्यस्तै नियतिमा पुगेका छन् पौडेल । त्यतिबेला सिंह र भट्टराईको गुनासो गिरिजाप्रसादसँग थियो । पौडेलको गुनासो सिंहपुत्र प्रकाशमान र गिरिजाप्रसादका भतिज शेखरप्रति छ । उनीहरूको महत्त्वाकांक्षाको सिकार आफू बन्न पुगेको भन्दै पौडेलले चित्त दुखाएका छन् ।

बोहोराटारस्थित आफ्नो निवासमा शनिबार बिहान सञ्चारकर्मीसँग उनी भावुक भए । त्यसबेला उनले संस्थापनबाहेकबाट साझा उम्मेदवार बन्न नसकेकाले आफू ‘दलदल’ मा फस्न नचाहेको भन्दै आँसु पुछेका थिए । गत बुधबार चाक्सीबारी बैठकबाटै पौडेलले राजनीतिबाटै अलग हुने अभिव्यक्ति दिएका थिए । त्यसपछि पनि उनलाई सर्वस्वीकृत उम्मेदवार बनाउन पहल भए । आफैंले नेतृत्व गरेको समूहमा सभापतिको साझा उम्मेदवार बन्न नसकेपछि शनिबार उनले केन्द्रीय सदस्यमा पनि उम्मेदवारी दिएनन् । राष्ट्रिय राजनीतिको भूमिकामा रहिरहने उद्घोष गरेका उनले पार्टी जीवनको प्रतिस्पर्धामा अब नफर्कने सन्देश छाडेका छन् ।

‘१४ औं महाधिवेशनसम्म आइपुग्दा मैले अनेक प्रपञ्च भोगेको छु, प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अँगालेर अथक् प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्नैपर्ने अवस्थामा म पुगें,’ पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘तथापि एउटा इमानदार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध भने लडिनै रहनेछु ।’

उनले आफ्नो विज्ञप्तिमा लोकतन्त्रको आस्था, मनभरि भरिएका कांग्रेसजन र विशेषगरी नयाँ शिक्षित पुस्ताले नेपाली कांग्रेसलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल आदर्शमा स्थापित गर्ने प्रयास अघि बढाउने अपेक्षा नमेटिएको बताएका छन् । ‘राष्ट्रिय राजनीतिमा मेरो भूमिका रहिरहनेछ, प्रतिस्पर्धाबाट म अलग रहे पनि आस्थावान साथीहरूले आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउनुहुनेछ भन्ने शुभेच्छा व्यक्त गर्दछु,’ उनले भनेका छन् ।

पौडेललाई एक पटक पार्टी र सरकारमा पहिलो भएर केही गरौं भन्ने हुटहुटी चलिरहेको थियो । आफ्नै समकालीन साथी शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री र कांग्रेस (प्रजातान्त्रिक) सहित दुई पटक पार्टीको सभापति बन्दा पौडेलले भने पार्टी र राज्यसत्ताको पहिलो पद कहिल्यै पाउन सकेनन् । लामो समय उनले मध्यमार्गी राजनीतिमा आफूलाई डोर्‍याए । गणेशमान, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको झगडा मिलाउन उनले जहिल्यै मध्यमार्गी भूमिका खेले । कसैको पक्षधरता लिएनन् । कोइराला परिवारसँग त उनको संघर्षकै गाथा छ । २०५९ सालमा कांग्रेस विभाजित हुँदा पौडेल कांग्रेस (प्रजातान्त्रिक) को सभापति बन्न खोजेको चर्चा पनि चलेको थियो ।

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल पौडेलको मध्यमार्गी भूमिकालाई कमजोरीका रूपमा लिन्छन् । त्यही कमजोरीले पौडेललाई शीर्ष नेतृत्वमा पुग्न नदिएको उनको भनाइ छ । ‘मध्यमार्गी नेताहरूलाई नेतृत्वमा पुग्न कठिन हुन्छ, राजनीतिमा स्पष्ट अडान र दृष्टिकोण राखेर हिँड्नुपर्ने हुन्छ, कुन ठीक, कुन बेठीक भन्ने कुरा छुट्याउनुपर्छ, मध्यमार्गी धारका नेताले सबैको समर्थन खोज्न थाल्छ,’ उनले भने, ‘रामचन्द्रजीमा पनि सबैको हुनुपर्छ भन्ने भावना थियो । सबैको हुन खोज्दा कसैको पनि नहुने अवस्था आयो ।’

उमेरले पौडेल ७७ वर्षमा लागे । देउवा ७६ वर्षमा छन् । ‘देउवा सभापतिको प्रत्याशी बन्दा ममाथि किन अन्याय ?’ पौडेलले आफ्नै समूहका नेताहरूलाई भन्दै आएका थिए । तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि पौडेल पार्टीमा कार्यवाहक सभापति भए तर राज्य र पार्टीको कार्यकारी प्रमुख हुन सकेनन् । २०६५ सालमा उनले प्रधानमन्त्रीका लागि सत्र पटक प्रतिस्पर्धा गरेका थिए । त्यसमा उनको कमजोरी थिएन, तत्कालीन संवैधानिक व्यवस्थाका कारण उनले सत्र पटकसम्म प्रतिस्पर्धामा उत्रिनुपर्‍यो तर पनि प्रधानमन्त्रीका रूपमा सिंहदरबार प्रवेश गर्न सकेनन् ।

तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि पार्टीमा उनी कार्यवाहक सभापतिसम्म भए । त्यसपछि पौडेलले कोइराला परिवारको विरासत बोकेर पार्टीभित्रका दुई समूहको अन्तरसंघर्षमा उनी एउटा कित्तामा उभिए । त्यसअघिसम्म पौडेलको पार्टीमा कुनै समूह र गुट थिएन । १३ औं महाधिवेशनबाट उनले कार्यवाहकको फुर्को हटाउन चाहेका थिए तर देउवासँग पराजित भए । त्यसपछि उनी साढे पाँच वर्ष पार्टीमा प्रतिपक्षी नेता बनेर बसे ।

पौडेलको भूमिकालाई लिएर देउवाले अनौपचारिक बैठकमा ‘म सभापति निर्वाचित भएको रामचन्द्र्रले स्वीकार नै गर्न सकेका छैनन्’ भनेर सुनाउने गर्थे । १६ वर्षको विद्यार्थी जीवनदेखि राजनीतिमा होमिएका पौडेललाई यस पटक अन्तिम प्रतिस्पर्धा गर्ने उत्कट चाहना थियो । राजनीतिक इतिहासमा एक पटक पार्टी सभापति र प्रधानमन्त्री भएर नाम लेखाउने चाहना उनको थियो । त्यसका लागि उनले एक वर्षमात्रै सभापति हुने प्रस्ताव पनि आफ्नो समूहमा राखेका थिए । यस पटक प्रतिस्पर्धाबाट बाहिरिएसँगै पौडेलको राजनीतिक जीवन ‘अवकाश’ तिर मोडिएको छ ।

‘बीपीपछि संगठनभित्रबाट चिन्तन गर्ने समकालीन नेतामा रामचन्द्रभन्दा अर्को मैले देखेको छैन, विचार प्रवाहको हिसाबमा प्रदीप गिरी अगाडि छन् तर उनको विचार प्रवाह पार्टीको सांगठनिक दायराबाहिर छ,’ पौडेलबारे प्राध्यापक खनाल भन्छन्, ‘समय र ऐन–मौकामा नेतृत्व लिन नसक्दा रामचन्द्रजी पछि पर्नुभयो । अगाडि नै नेतृत्व लिन सकेको भए अहिले यो स्थिति नहुन सक्थ्यो । सत्ताको भर्‍याङ बनाउन गरिने अस्वस्थ प्रतिस्पर्धामा उहाँ पीडित बन्नुभएको हो । शेरबहादुरको पछि लागे यो–यो पाइन्छ, पौडेलको पछि लागे के पाइन्छ ? राजनीतिक दर्शन र सिद्धान्तका तिनै कुरा कति सुन्ने भन्ने मनोविज्ञानको राजनीति चल्न थाल्यो । यसले पौडेलजस्ता नेता पाखामा परे ।’

२०४८ सालदेखि पौडेल कांग्रेसको सक्रिय राजनीतिमा निरन्तर छन् । गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादपछिको पुस्तामा पनि यी तीनै नेताको अवधारणा थियो । जसलाई ‘आरएसएस’ अर्थात् रामचन्द्र, शेरबहादुर र शैलजा आचार्य भनिन्थ्यो । शैलजाको नेतृत्व तहमा नपुगीकनै निधन भयो । उनको निधनपछि तीन आरएसएसमध्ये शेरबहादुर र रामचन्द्र अहिले पार्टीको पहिलो पुस्तामा छन् । पौडेलले नेतृत्वको दाबी छाडेपछि अहिलेको प्रतिस्पर्धा पहिलो पुस्ताका शेरबहादुरविरुद्ध दोस्रो पुस्ताका प्रकाशमान, शेखर र विमलेन्द्र निधिबीच छ ।

२०७४ बाहेक पौडेलले सबै आमनिर्वाचन जित्दै आएका थिए । उनले सत्तामा पुग्ने थुप्रै अवसर पाए । २०४८ देखि निरन्तर अवसर पाउने र मन्त्री बन्ने नेतमध्येमा उनको नाम पनि जोडिन्छ । २०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी स्थानीय विकासमन्त्री बनेर सिंहदरबार प्रवेश गरेका थिए । त्यसपछि कृषिमन्त्री भए । २०५१ को मध्यावधि निर्वाचनपछि सभामुख बने । सभामुख भएर उनले पाँच वर्षको कार्यकाल बिताए । २०५६ को निर्वाचनपछि उनी उपप्रधान, गृह र सञ्चारमन्त्री बनेका थिए । २०६३ मा माओवादी शान्ति प्रक्रियामा आएपछि उनी शान्ति तथा पुनर्निर्माणमन्त्री बने । २०६५ मा संसदीय दलको नेता भए ।

२०१७ सालपछि राजनीतिमा सक्रिय पौडेल २०४४ बाटै पार्टीको केन्द्रीय सदस्य भएका हुन् । त्यसपछि महामन्त्री, उपसभापति र कार्यवाहक सभापतिसम्म भए । थुप्र्रै अवसर पाएर पनि समकालीन नेताहरूमा उनी बेदागी मानिन्छन् । आफैंले नेतृत्व गरेको समूहमा सभापतिका दुई जना उम्मेदवार भएपछि पौडेल कहाँ रहन्छन् भन्ने उत्सुकता छ । पौडेलले भने अहिलेसम्म आफ्नो कित्ता प्रस्ट पारेका छैनन् । उनी जहाँ रहे पनि अब उनले सम्हालेको समूहको नेतृत्व सिंह वा कोइराला परिवार कसले लिने भन्ने मुख्य प्रतिस्पर्धा छ ।

आइतवार, मंसिर २६, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...