ट्वाँके टहरोमा ट्याङ्की टक !

आच्छुछुु…..जाडो पनि कति साह्रो ! ए साहुनी आज त ट्याङ्की नै घोप्ट्याउनुपर्ला जस्तो छ मुखमा ।

ट्याङ्की त भए पो घोप्ट्याउनु ! भएभरका ट्याङ्की कांग्रेसको महाधिवेशनमा घोप्टी हाले त !

नघोप्ट्याउन पनि किन ? जाडो यस्तो छ । त्यसमाथि रातभर भोट दिन र भोट गन्न भनेर सडकको बास । बाहिर लगाएको कोट र ओभरकोटले के काम गरोस् ? ट्याङ्की घोप्ट्याएरै भित्री ओभरकोट लगाए होला पक्का ।

हैन के भन्छन् यिनीहरु ? कांग्रेस अधिवेशनमा ट्याङ्कीमा भोट खसालेको कि, ट्याङ्कीबाट मुखमा ट्वाँक खसालेको ?

ट्याङ्की लगेको चाहिँ भोट खसाउनै हो । तर पानी खाने र पानी नै चुहाउने ट्याङ्कीले भोट खाने र भोट नै चुहाउन थालेपछि ट्वाँकको तलतल मेटेन भनेर कसले पत्याउने ! ट्याङ्कीले पनि ट्वाँक खायो, ट्याङ्की लानेहरुले पनि ट्वाँकको तलतल मेटे ।

हो हो पक्का हो । ट्याङ्कीमा भोट पनि खसाले । ट्याङ्कीका ट्याङ्की ट्वाँकको खोलो पनि बगाए ।

खै हामीले त ट्याङ्कीमा भोट खसालेको र ट्याङ्कीबाट भोट घोप्ट्याएको मात्र देख्यौँ । ट्वाँक नै घोप्ट्याउँछन् भन्ने थाहा पाएको भए हामी पनि जान्थ्यौँ नि ।

उहिले कुन चाहिँ नेताले हो ट्याङ्कीमा पैसा पनि लुकाएको भन्थे । अहिले भोट खसाउन पनि ट्याङ्की नै चाहिने, ट्वाँक खान पनि ट्याङ्की चाहिने….हैट !

ल नदेखेको कुरामा धेरै बकबक नगर साथी हो । तिमी हामी ट्वाँके भयौँ भन्दैमा ट्याङ्कीमा भोट खसाल्ने पनि ट्वाँके नै हुन्छन् भनेर आरोप लगाउन मिल्दैन । त्यसैले ट्वाँकको कुरा छोड, ट्याङ्कीका कुरा गर ।

ल ल ट्याङ्कीकै कुरा । हैन ट्याङ्कीमा त पानी पो खसाल्ने हो । भोट खसाल्न कसरी मिल्छ ?

खसाएपछि किन मिल्दैन ? मिल्यो त । पुरानो पार्टीको पुरानो पारा ।

त्यही त भन्दैछु, ट्याङ्कीमै चाहिँ किन खसाएको ?

मैले गिदीलाई निकैबेर मन्थन गरेपछि, यसको खाँटी रहस्य पत्ता लगाएको छु ।

के को ट्वाँकको ?

ट्वाँकको हैन क्या, ट्याङ्कीको । ट्याङ्कीमा किन भोट खसालेको भन्ने खाँटी कुरा ।

ल सुनौँ न त के रहेछ ट्वाँकेको गिदीले निकालेको खाँटी कुरा ।

घरमाथि छतमा पानी राखेको ट्याङ्की खोलेर हेरेका छौ ? छैन होला । छतमा राखेको ट्याङ्की बाहिरबाट हेर्दा टिलिक्कै देखिन्छ । ट्याङ्की हुँदै धाराबाट झर्ने पानी पनि सफै देखिन्छ । तर ट्याङ्कीभित्र गएर हेर्दा त छि….कस्तो घिनलाग्दो फोहोर हुन्छ ।

भनेपछि ट्याङ्कीबाट निस्केको मत सफा देखिए पनि ट्याङ्कीभित्र मत खसाउनेको मन फोहोर ट्याङ्कीजस्तै हुन्छ ।

करेक्ट, एस, ठीक….। ठ्याक्कै पार्यौ । मत खसाउनुअघि मेरो मन सफा छ भनेर जति खोके पनि मत दिँदा तिनको मन सफा हुँदैन । यही कुरा थाहा पाएर भित्र फोहोर देखिने ट्याङ्की नै भोट खसाल्न रोजेका हुन् ।

तर हेर ट्याङ्कीबाट पछि खसेको मत त निकै सफा देखियो । ट्याङ्कीबाट आशालाग्दा भर्भराउँदा युवा पो निस्के त !

निस्कन त निस्के । तर ती ठ्याक्कै ट्वाँकको सितनजस्ता हुन् क्या । जिब्रोलाई ट्वाक्क, मिठो ! तर ट्वाँकले टिल्ल बनाउँछ, सितनले जिब्रोलाई एकछिन स्वादिलो मात्रै । हालीमुहाली त ट्वाँककै हुन्छ नि । त्यसैले हेर भाइ हो ट्याङ्कीबाट पहिल्यै टिल्ल हुने ट्वाँक निस्किसक्यो, पछि निस्केका सितनको केही अर्थ छैन ।

मेरो दिमागको लेभलभन्दा माथिको अमूर्त दर्शन नछाँट यार, खै त्यो सितन यता सार ।

तर जे भए नि साथी हो, ट्याङ्की त पानी राख्नै बनाएको हो नि । भोट खसाल्न त अकैं ढ्वाङ हुन्छ । जुन कुरा जेको लागि भनेर बनाइएको हो, त्यो त्यसकै लागि पो प्रयोग गर्नुपर्ने हो नि !

हरे यो ट्वाँकेको बुद्धि ! हाम्रोमा हुने नै यही हो । यहाँ माथि हेर त के लेखेको छ–चिया पसल । चिया पसल भनेपछि चिया मात्रै पाउनुपर्ने हो नि, तर हामी चिया पसलमा ट्वाँक तान्दैछौं । चिया पसलमा ट्वाँक तान्न हुने, अनि पानी राख्ने ट्याङ्कीमा भोट खसाल्न किन नहुने ?

त्यो त हो मोबाइलको काम त फोन गर्नका लागि हो नि । तर हामी यही मोबाइलमा रेडियो पनि सुन्छौँ, लुँडो पनि खेल्छौँ, फेसबुक पनि चलाउँछौँ, टर्च पनि बाल्छौँ । लुँडो खेल्न भनेर मोबाइल किनेको होइन, तर लुँडो खेल्छौँ नि ।

ल यसलाई ट्वाँकले भेटिसकेछ । विद्वानले जस्तो तार्किक कुरा पो गर्न थाल्यो ।

ट्वाँक चढेपछि यस्ता तार्किक कुरा कति आउँछ कति ! ल सुन अब अर्को झन् खत्राको विश्लेषण । सरकार र पार्टीहरुको काम के हो ? देश र नागरिकको हितमा काम गर्ने । नागरिकका लागि जे जे गर्नुपर्ने हो, त्यही त्यही गर्ने । तर हाम्रो देशका सरकार र पार्टीहरुले जे गर्नुपर्ने हो, त्यो गरिरहेका छन् त ?

कहाँ हुनु, जे जे गर्न नहुने हो त्यही त्यही गरिरहेका छन् । प्रधानमन्त्री निवासमा एकछिन टुसुक्क बस्न फुर्सद नपाउने प्रधानमन्त्री पार्टीको चुनावमा रातभर चिसोमा बसेर कार्यकर्तालाई हात जोड्न भ्याउँछन् । सरकार बाहिर बसेर नि देश हितको काम गर्छु भन्ने विपक्षीका नेता विरोधीलाई धारे हात लगाउँछन् ।

अनि त….यिनीहरुले पनि जे काम गर्नुपर्ने हो त्यो गरेनन् । अथवा जे काम नगर्नुपर्ने हो, त्यही गरे ।

भनेपछि भोट खसाउनको लागि नबनेको ट्याङ्की पानी भर्नको लागि मात्र होइन, भोट खसाउनको लागि पनि काम लाग्यो । यो हो नि विश्लेषण भनेको !

त्यसैले हेर केटा हो जसको जे काम हो, त्यसले त्योभन्दा अरु काम गर्ने परम्परालाई निरन्तरता दिन ट्याङ्की रोजेको हो । अनि त्यस्तै परम्परालाई निरन्तरता दिन सक्ने मान्छे जिताउन ट्याङ्कीमा त्यसैगरी मत खसाएको हो ।

हैट ट्याङ्की टक लामो भयो । ट्याङ्कीको कुरा गर्दागर्दै यहाँ मेरो ट्याङ्की खाली गर्नुपर्ने भयो, हिँड घरतिर अब ।

ए साहुनी अर्कोपटक चाहिँ ट्वाँकको ट्याङ्की भरी बनाएर राख्नु है । अब मत गनेर सक्न लागे, फर्काउलान् नि ट्याङ्की ।

उसले फर्काएर के गर्नु, अर्को पार्टीको पनि अधिवेशन आउन लाग्यो रे । त्यो त झन् मतपत्र च्यात्ने पार्टी रे । मतपत्र नै च्यात्नेले मत खसाल्ने ट्याङ्की बाँकी राख्लान् र ?

सोमवार, पुस ५, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...