मजदूर बनेर बेनीबजार पसेका नुवाकोटका राजन लामा होटल मालिक बनेर उदाए

जीवनमा केही गर्न सपना देख्नुपर्छ। सपना देख्नेहरू लक्ष्यमा पुग्न मिहेनत गर्छन्। आत्मविश्वास, लगन, धैर्य र इमान्दारीले सफलता दिलाउँछ। संघर्षका भर्‍याङ चढेर जब मान्छे शिखरमा पुग्छ तब उसले फर्केर आधारशिविरतिर हेर्छ। यसरी आफ्नो धरातल नबिर्सनेहरू कहिल्यै थाक्दैनन्। निन्तर कर्म गरिरहन्छन्। त्यस्तै एक जना भुइँमान्छे हुन्–राजन लामा।

उनी म्याग्दीको सदरमुकाम बेनीबजारमा ‘लामा रेष्टुरेन्ट एण्ड भान्छा घर र लामा कुदाप लज एण्ड रेष्टुरेन्ट’ चलाउँछन्। नेपाली, इण्डियन र कन्टिनेन्टल खानाका लागि उनको रेष्टुराँ लोकप्रिय छ। त्यस्तै आरामदायी बासका लागि लज।

भान्छाघर र लजको दूरी करिब ५ सय मिटर छ। उनको लज र रेष्टुराँमा १६ जना रोजगार छन्। भान्छाघरमा ७० जना र लजको रेष्टुराँमा एकैपटक ३५ जना बसेर खानपिन गर्न सक्छन्। लजमा एकै रात ३० जनासम्म बस्न मिल्छ।

कर्मदिने आमा नानुकुमारी श्रेष्ठबाट आर्शिबाद लिँदै।

राजन बिहानदेखि बुलेकीसम्म व्यवस्थापनका काममा सक्रिय हुन्छन्। उनकी श्रीमती सारिका थापा मगर पनि लज सम्हाल्छिन्। मिलिजुली व्यवसाय सम्हालेका छन् उनीहरूले।

‘यहाँसम्म आइपुग्नुमा श्रीमति सारिकाको ठूलो योगदान छ’, राजन गर्व गर्छन्, ‘कुनै पनि पुरुषको सफलतामा महिलाको हात हुन्छ भन्थे हो रैछ।’

सरल जिन्दगी बाँच्दै छन् उनीहरू। पैसा पनि कमाउँदैछन् तर उनीहरूमा कुनै घमण्ड छैन।

आखिर कुनै काम सानो वा ठूलो हुँदैन भन्ने उनीहरूले राम्ररी बुझेका छन्। त्यसैले उनीहरू हिजोआज पनि आवश्यकता पर्दा रेष्टुराँका भाँडा माझ्नेदेखि पाहुनालाई खाना बाँड्ने काममा अग्रसर हुन्छन्।

उनीहरूले घर भाडामा लिएर लज र रेष्टुराँ चलाएका हुन्। दुबैको भाडा मात्र मासिक एक लाख सत्तरी हजार रुपैयाँ तिर्नुपर्छ।

उनीहरूले कर्मको फल टिपिरहेका छन्। कमाई राम्रै छ। त्यसैले त होटल नजिकै महिना दिन अगाडि मात्र उनीहरूले घडेरी जोडिसके।

म्याग्दीको सदरमुकाम बेनीबजारमा ‘लामा कुदाप रेष्टुरेन्ट एण्ड लज’ चलाउँदै आएका राजन लामा र सारिका थापा मगर।

‘अब चाँडै त्यहाँ भवन बनाएर होटल चलाउँछौं, ३५ वर्षे लामा भन्छन्, ‘केही ऋण लिएको छु। कमाएर तिर्दै जानेछौं।’

एकैछिन उनका पुराना दिन सम्झौं है त, १६ वर्ष अघि राजन होटल मजदूरका रुपमा बेनीमा पसेका थिए। आज उनी आधुनिक होटल सञ्चालक बनिसके।

बेनीबजारका तन्नेरीहरू उनलाई ‘लामा दाई’ भनेर सम्मान गर्छन्।

उनको रेष्टुराँको साजसज्जा लोभलाग्दो छ। गजब्बको। त्यहाँ परम्परा र आधुनिकताको फ्युजन गरिएको छ। सबैभन्दा ठूलो कुरा खाना मिठो र व्यवहार आत्मीय पाइन्छ।

उनले वि.सं. २०७२ भदौ १ गते रेष्टुराँ सुरु गर्ने बेलामा बेनीमा केही रेष्टुराँ स्थापित थिए। उनी फरक रुपमा उभिएर रेष्टुराँ कल्चरमा नयाँनयाँ आयाम थपिदिए, ग्राहकका तस्बिर खिचिदिने, बर्थडे पार्टि व्यवस्थापन गर्नेलगायतका काम पनि गर्न थाले।

‘सबैभन्दा महत्वपूर्ण कुरा कष्टुमर केयर हो’, उनले सफलताको राज खुलाए, ‘चाहे एक कप कफी खाने हुन् या हजारौं रुपैयाँको पार्टी गर्नेहरू सबैलाई हामी समान र आत्मीय व्यवहार गर्छौं।’

छोरी सारांशसँग सारिका।

उनको कामबाट युवाहरू प्रभावित भएका छन्। ‘साथमा केही नलिई बाहिरी जिल्लाबाट आएको मान्छेले पनि यत्तिको उद्यम गर्न सक्छ भने हामीले किन सक्दैनौं’ भनेर उनको सिको गरेर कतिले रेष्टुराँ खोलेका छन्।

उनीहरूको कदम सकारात्मक छ। सफल हुन निरन्तरको लगन र इमान्दारी मात्र भएर पुग्दैन, धैर्यता पनि चाहिन्छ।

‘धैयर्ता हुनुपर्ने रहेछ’, उनले भने, ‘दुई दिनमै कमाई भएन भनेर आत्तिनु हुँदैन। निरन्तर संघर्ष गर्नुपर्छ। एक दिन पक्कै सफल भइन्छ।’

एक पछि अर्को सफलताका खुट्किला चढ्दैछन् राजन। यहाँसम्म आइपुग्दा उनले धेरै पापड बेल्नु पर्‍यो। फर्केर हेर्दा आफ्नो जिन्दगी आफैंलाई कथा जस्तो लाग्छ उनलाई। नुवाकोटको शिवपुरी गाउँपालिका–३, मझुवा गाउँका राजनको जन्म काठमाडौंको ठमेलमा भएको थियो।

बेनीको होटल डल्फिनमा मजदूरी गर्दा।

उनले सुरुका केही वर्ष काठमाडौंमै पढे। पछि परिवार गाउँ फर्कियो। उतै पढे। तिनताका माओवादी द्वन्दको भुँग्रोमा मुलुक पिल्सिएको थियो। गाउँमा अशान्ति थियो। उनी कक्षा १० मा पढ्दै थिए। घरको आर्थिक अबस्था पनि बिग्रियो। त्यसैले उनी वि.सं. २०५८ माघ ११ गते भागेर काठमाडौं पसे।

जीवन नयाँ मोडमा पुग्यो। काठमाडौंमा मजदूरी गरेर बसे। अनि वि.सं. २०५९ जेठ १५ गते राम्रो अबसरको खोजीमा बागलुङ हान्निए। काठमाडौंमा छँदा होटल लाइनमा काम गरेको अनुभव थियो।

सुरुमा बागलुङ बजारको लालीगुराँस होटलमा जागिर खाए। खाना बनाउने, सरसफाई गर्ने सबै काम गर्नुपथ्र्यो। पछि त्यहीँको हिमालयन क्याफेमा पनि अनुभव सँगाले।

बागलुङबजार मुन्तिर आफ्नै रफ्तारमा कालीगण्डकी बगिरहे जसरी राजन पनि निरन्तरको मेहनतले काममा निखारिँदै गए। होटलका सबै काम सिक्दै गए। एक दिन साथीले भन्यो, ‘बेनीको होटल डल्फिनमा कुक मागेको छ रे। राम्रो तलब दिन्छन् रे!’

अनि उनले बागलुङ छाडे र वि.सं. २०६२ असार अन्तिम सातादेखि डल्फिनमा जोडिए।

डल्फिनको जागिर उनको जीवनको टर्निङ पोइन्ट बन्यो। भाँडा माझ्ने, कोठा सफा गर्ने र खाना पकाउने सबै काम गरे। उनको परिश्रम र इमान्दारीबाट होटल सञ्चालक हरिकृष्ण श्रेष्ठ र नानुकुमारी पनि प्रभावित बने।

लजको कोठा।

‘डल्फिनमा काम गर्दा होटल कसरी चलाउनु पर्दोरहेछ भन्ने सिकें’, उनले सम्झे, ‘भान्छा व्यवस्थापन, अतिथि सत्कार र कर्मचारी व्यवस्थापन गर्ने कला पनि सिकें।’

त्यति मात्र होइन, सफल हुन काममा समर्पण हुनुपर्छ भन्ने समेत बुझे। त्यहाँ एक दशक काम गरेपछि आफैं ‘लामा रेष्टुरेन्ट एण्ड भान्छा घर’ खोले। डल्फिनकी  सञ्चालक नानुकुमारीका हातबाट उनले रेष्टुराँ शुभारम्भ गराए।

नानुलाई उनी ‘मम्मी’ सम्बोधन गर्छन् किनकी जन्म नदिए पनि उनले कर्म दिइन्। त्यसैले त आमाको मुख हेर्ने दिन राजन उनलाई कोसेली अर्पण गर्छन्।

राजनलाई जन्म दिने बुबा रामबहादुर र आमा राममाया यो धर्तिमा छैनन्। उनीहरूले लामो यात्रा तय गरिसके । सन्तानको खुसी हरेक बाबूआमाले चाहन्छन् सायद उनिहरु पनि अदृश्य भएर छोराको प्रगतीमा खुसीका आँसु खसाल्दै होलान्!

बेनीमा श्रीमति सारिका, ९ वर्षिया छोरी सारांश र सासुआमासहित बसोबास गर्छन्।

सारिकासँगको प्रेम फेवातालमा सन् २०१० मा।

उनले प्रेम विवाह गरेका। वि.सं २०६३ सालमा भएको म्याग्दी महोत्सवमा सारिकासँग चिनापर्चि भयो। बिस्तारै मायाप्रेम झाँगियो। केही वर्षको संगतपछि वि.सं. २०६९ मंसिर १८ गते उनीहरूले झ्याइँ पारे।

सारिकाको माइती बागलुङको तित्याङमा छ। बिहे हुँदा उनले स्नातक उर्तिण गरिसकेकी थिइन्। राजनले भने बेनीमा आएर वि.सं. २०६५ मा एसएलसी उर्तिण गरे। र, बिबिएस सेकेण्ड इयर पढ्दापढ्दै छाडे।

लभ्लीहीलमा

सारिकाले ५ वर्ष बेनीका विद्यालयमा पढाइन्। लजमा व्यस्त हुनुपरेपछि पढाउन छाडिन्।

‘जीवनमा प्रगती गर्न शिक्षा चाहिन्छ’, राजनले शिक्षाको महत्व बुझेका छन्, ‘तर मैले पढाईलाई निरन्तरता दिने फुर्सदै पाइनँ।’
पढेर भन्दा पनि परेर धेरै कुरा सिके उनले।

उनको लजको नाम ‘लामा कुदाप लज एण्ड रेष्टुरन्ट’ छ। तामाङ भाषाको शब्द ‘कुदाप’को अर्थ हुन्छ, ‘चुल्हो।’

उनकोमा आइपुग्ने कुनैकुनै पाहुना तामाङ परिकार खोज्छन्। चाँडै नै उनी काठमाडौंमा ‘कुदाप रेष्टुरेन्ट’ चलाउँदै आएका गायक फूलकुमार बम्जनसँग सहकार्य गरेर मेनुमा तामाङ परिकार राख्ने योजनामा छन्।

‘हामीले ६ लाख रुपैयाँबाट भान्छाघर सुरु गरेका थियौं। अहिले रेष्टुराँ र लजमा गरेर डेढ करोड रुपैयाँ लगानी भैसक्यो’, उनले सुनाए, ‘रेष्टुराँ र लजको व्यवस्थापन गर्दा मैले दिनमा २२ घन्टासम्म काम गरेको छु।’

उनले अर्काको होटलमा भाँडा माझ्ने बेलामै मालिक बन्ने सपना देखेका रहेछन्।  ‘स्कुल पढ्दा त्यस्तो खासै सपना थिएन। पछि होटलमा मजदुरी गर्दा कुनै दिन म पनि साहुजी बन्छु भन्ने लागेको थियो’, उनले भने, ‘त्यही सपनामा डोरिएर यहाँसम्म आइपुगें।’

आफ्नै रेष्टुराँ खोल्न उनलाई कलेजका साथीहरूले हौस्याएका हुन्। तिनले होस्याएनन् मात्र, आर्थिक सहयोग पनि गरे। जहाँ इच्छा त्यहाँ उपाय, उनलाई सहयोग जुट्यो। उनले पनि कम्मर कसे।

बेनी बजार

‘कलेजका साथीहरूले मलाई धेरै मोटिभेट गर्थे। धन नभए पनि इच्छाशक्ति भए तिमीले गर्न सक्छौ भन्थे’, उनीहरूलाई राजनले सम्झिए, ‘जेनिश श्रेष्ठ, हाल अष्टे«ेलियामा भएका मिलन भण्डारी, जापानमा रहेका ज्ञानेन्द्र पौडेल, ओखलढुङ्गाका केसी साथीहरू र बहिनीज्वाईँ सजिता श्रेष्ठ र सुझाब शाक्यको गुन म कहिल्यै बिर्सन्न।’

उनको होस्टेमा म्याग्दी उद्योग वाणिज्य संघका पदाधिकारीले पनि हैंसे गर्दै आएका छन्। शिरमा मम्मी नानुको आशीबार्द त छँदैछ।

उनको काँधमा भाइ तथा भतिज पढाउने जिम्मेवारी पनि छ। दुःखका सागर तर्दै, संघर्षका पहाड फोर्दै उनी सफलताको शिखर चुम्ने प्रयासमा छन्। उनको शब्दकोषमा थकान छैन। सधैं मिठो मुस्कानले पाहुनाको सत्कार गर्छन्।

उनको नाउँ राजन। राजनको अर्थ हुन्छ ‘राजा।’ उनी मिहेनतको अर्थात् कामको राजा बने। सधैं व्यस्त हुन्छन्। बिहान ६ नबज्दै उठ्छन् भने राती सुत्ने बेलामा १२ बज्छ।

समयसँगै उनको सपना बढ्दै गएको छ। ‘धौलागिरि क्षेत्रमा लामा कुदाप रेष्टुरेन्टका कम्तिमा १० वटा शाखा खोल्न चाहान्छु’, उनी लामो उडान भर्न चाहन्छन्, ‘आँटेको काम फत्ते गर्न मिहिनेत, इमान्दारी र धैर्यता चाहिन्छ। त्यो म गर्छु।’

त्यसबाहेक होटल व्यवसायलाई मर्यादित पेशाका रुपमा स्थापित गराउने उनको अठोट छ।

उनलाई धेरैले हौसला दिएका छन्। उनको संघर्षलाई नजिकबाट नियालिरहेका  म्याग्दीका पर्यटन अभियन्ता एवं युवा उद्यमी राजेश शाक्य भन्छन्, ‘मिहेनत गरे संसार जित्न सकिन्छ भन्ने उदाहरण हुन् राजन। उनी प्रेरणाश्रोत पनि हुन्।’

अहिले संसाभर कोरोनाको साम्राज्य फैलिएको छ। त्यसैले अचेल मुस्ताङ, डोल्पा, धौलागिरि, ढोरपाटनलगायत गन्तव्यमा जाने पर्यटक कम हुँदा बेनीबजारमा चहलपहल कम छ। उनको रेष्टुराँका ग्राहक स्थानीय नै हुन्। कोरोनाका कारण अरुलाई झैं उनलाई पनि केही मर्का परेकै छ। तैपनि उनी आशावादी छन्। आशाले नै त मान्छेलाई बचाउँछ।

उनीहरूको जीवनसंघर्षको कथा प्रेरणादायी छ। मुलुकमै केही गर्न चाहने युवालाई उनीहरूको कथाले धेरै कुरा सिकाउँछ।

अर्को कुरा स्वदेश तथा विदेशका हजारौं पर्यटकले उनीहरूको सेवा पाइसके। ति मध्ये कसैले पनि उनीहरूको संघर्षको कथा सुन्न पाएका छैनन्। त्यसैले रेष्टुराँ र लजका भित्तामा ‘सञ्चालकलाई चिनौं’ भनेर फोटोसहित छोटकरीमा उनीहरूको जीवनकथा लेखेर टाँसेमा पर्यटकहरूले पनि प्रेरणा पाउँथे। र, सम्मानस्वरुप उनीहरूसँग सेल्फी खिच्नेथे।

अन्त्यमा, सदियौंदेखि म्याग्दी र कालीखोलाको किनारमा लमतन्न सुतेको छ बेनीबजार जहाँ हजारौंले सपनाको बिस्कुन फिँजाइरहेका छन्। तिनले सफलताको मन्त्र यिनै राजन लामाबाट सिक्ने कि !

सम्पर्क
राजन लामा
लामा कुदाप लज एण्ड रेष्टुरेन्ट
हस्पिटलचोक, बेनीबजार, म्याग्दी
फोन :- ९८४७६३३८९४

सेतोपाटी डटकमका लागि अमृत भादगाउँलेले तयार पारेको सामग्री साभार गरी प्रकाशन गरिएको छ ।

शनिबार, पुस १०, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...