१४ सय वर्षअघिको शिलालेखका १५ पङ्क्तिले खुलाएका नयाँ ऐतिहासिक तथ्यहरू

अनिता भेटवाल पाटन दरबार क्षेत्रको ढलमा भेटिएको १४ सय वर्षअघिको शिलालेखका १५ पङ्क्ति अध्ययन गर्न लिपिविद्लाई १० दिन लागेको छ भने त्यसले नयाँ ऐतिहासिक तथ्य उजागर गरेको छ।

५ पुस २०७८ मा पाटन दरबार अगाडि ढल उत्खनन गर्दा लिच्छविकालीन शिलालेख भेटियो। करीब ६ फुट अग्लो शिलालेखको अध्ययन गर्ने जिम्मा पाए, लिपिविद् श्यामसुन्दर राजवंशीले।

लिपिविद् राजवंशीका अनुसार, प्रारम्भिक अध्ययनमा अंशुवर्माले लिच्छवि राजा वृषदेवले मंगलबजारमा निर्माण गराएको बौद्ध विहारबारे जानकारी दिन यो शिलालेख राखिएको पाइएको थियो। त्यसपछि उनले थप अध्ययन थाले।

त्यसका लागि उनले शिलालेखमा कुँदिएका अक्षरमाथि सेतो कागज टाँसेर मसी पोते। यसो गर्दा कागजमा अक्षर उतारिए। जसमा लिच्छवि लिपि र संस्कृत भाषामा कुदिएका १५ पङ्क्ति थिए। “शिलालेखका १५ पङ्क्ति अध्ययन गर्न करीब १० दिन लाग्यो,” राजवंशीले हिमालखबरसँग भने, “यो शिलालेख अध्ययनबाट यति धेरै ऐतिहासिक प्रमाणहरू प्राप्त भएका छन्, जसबाट एउटा पुस्तक नै तयार हुन्छ।”

पाटन दरबार क्षेत्रको ढलमा भेटिएको १४ सय वर्षअघिको शिलालेख।
लिपिविद् राजवंशीले शिलालेख अध्ययन गरेर पुरातत्त्व विभागलाई प्रतिवेदन बुझाइसकेका छन्। यो शिलालेखबारे विस्तृत जानकारी दिन पुस्तक नै तयार गर्नुपर्ने उनी बताउँछन्। आखिर शिलालेखका १५ पङ्क्तिमा के छ, जसबाट पुस्तक नै तयार हुन्छ? उनले यसबारे हिमालखबरसँगको कुराकानीमा खुलाएका छन्।

राजा अंशुवर्माले संवत् ५३६ ज्येष्ठ शुक्ल पूर्णिमाको दिन यो शिलालेख स्थापना गराएको उनको अध्ययनमा देखिएको छ। यो भनेको १४ सय वर्षअघि हो।

यो अभिलेख राख्नुको मुख्य उद्देश्य राजा वृषदेवले बनाएको धातु चैत्यरथ मन्दिरलाई अंशुवर्माले नयाँ मन्दिर बनाई त्यसको जिउनीका लागि संरक्षण र सञ्चालन गर्न दिएको आदेश थियो। जसलाई शिलालेख ‘सनद’ भनिने लिपिविद् राजवंशी बताउँछन्। “अहिलेको पाटन दरबार क्षेत्रमा लिच्छविकालमा बौद्ध विहार थियो, जुन वृषदेवले बनाएका थिए,” लिपिविद् राजवंशी सुनाउँछन्, “अंशुवर्माले मन्दिर सञ्‍चालन गर्ने जिम्मा गुठीलाई दिए। त्यसपछिका राजाहरूले समेत यसलाई नियम सम्झेर आदेशको पालना गर्नेछन् भनेर लेखिएको छ।”

त्यस्तै, मन्दिर सञ्चालनको अधिकार पनि तीन वटा गाउँलाई दिएको शिलालेखमा खोपिएका अक्षरले उद्घाटन गरेको छ। “दैनिक पूजाको जिम्मा भगवद् वाशुदेव गोष्ठीलाई दिइयो,” राजवंशी भन्छन्, “यसमा कुनै किसिमको विचलन नआओस् भनी गोष्ठीलाई चित्त बुझ्ने गरी खर्च उपलब्ध गराउन योब्रङ् ग्राम, लवण ग्राम तथा सौपलिङ ग्राम पाञ्चालिकालाई अधिकार सुम्पियो।”

शिलालेखबाट उतारिएका अक्षर।
यो अध्ययनका क्रममा उनले शब्द-शब्दको अर्थ केलाउने कोशिश गरेका छन्। यही क्रममा उनको ध्यान ‘धातुचैत्यरथ’ शब्दले तानेको बताउँछन्। त्यति मात्र नभएर ‘श्री वृषदेव राजकारित’ भनेरै स्पष्ट उल्लेख भएकाले ‘धातुचैत्यरथ’ राजा वृषदेवले बनाएको सम्पदा भनेर किटान गर्न सकिने उनको भनाइ छ। “वृषदेवको पालामा नै धातुको चैत्यरथ बनिसकेको रहेछ भन्ने लिखित प्रमाण हो, यो। जुन अहिलेसम्म पाइएको थिएन,” इतिहासको नयाँ तथ्य सुनाउँदा उनी खुशी देखिन्छन्।

उनका अनुसार, अभिलेखमा केवल धातुचैत्य मात्र भनेर उल्लेख गरिएको भए केवल धर्मधातु चैत्य वा वज्रधातु चैत्यमध्ये कुनै एउटा हुन सक्थ्यो। तर, ‘धातुचैत्यरथ’ भनेपछि मानदेवका जिजुबुबा वृषदेवको पालामा नै धातुकलाको नमूना चैत्य थियो भन्ने प्रमाण हो।

यससँगै अर्को विषय हो, भगवद् वाशुदेव गोष्ठी। जुन शिलालेखमा स्पष्टसँग पढ्न सकिन्छ। बौद्ध शिलालेखमा भगवद् वाशुदेव गोष्ठीको उल्लेख कसरी आयो भन्ने प्रश्न उठ्छ। तर, हिन्दू देवदेवालयको मात्र नभई त्यहाँ गरिने सारा पूजाको नियमन यही गोष्ठीले गर्ने भएकाले यस्तो लेखिएको उनी बताउँछन्।

शिलालेखबाट उतारिएका अक्षर।
राजवंशीका अनुसार, राजा अंशुवर्मा हिन्दूधर्ममा जति आस्था राख्थे, त्यति नै आस्था बौद्ध धर्ममा राख्ने गरेका थिए। अंशुवर्माकै अभिलेखबाट यो प्रष्ट हुने बताउँदै उनी भन्छन्, “त्यसैले यो अभिलेखमा धातुचैत्यरथ सहितको मन्दिर बनाएर निरन्तर पूजा गर्न गोष्ठीलाई नै जिम्मा दिएको रोचक विषय हो।”

यो अभिलेखसँगै तीन वटा गाउँको नाम पनि उजागर भएको छ। शिलालेखमा योब्रङ ग्राम, लवण ग्राम र सोपलिङ्ग ग्राम उल्लेख छ। अब यी गाउँ कहाँका हुन् भन्ने खोजीको विषय बनेको उनी बताउँछन्। यसअघि पनि लिच्छविकालका दुई गाउँ लेम्वटी र कुर्पासी शिलालेखमा भेटिएका थिए। जसमा लेम्वटी ग्राम भन्नाले लेले र कुर्पासी भन्नाले खोपासी गाउँ पुष्टि भएको थियो। अब नयाँ तीन गाउँको अहिलेको नाम पत्ता लागेमा अन्य इतिहासका फेहरिस्त पनि खोलिंदै जाने राजवंशीको विश्वास छ।

तत्कालीन समयमा अंशुवर्माले धातुचैत्यरथका लागि पूजा चलाउन दिएको आदेशको साक्षी भने कुमारामात्य चन्द्रजीव थिए। लिच्छविकालको शिलालेखमा प्रायः राजाले अति उच्चपदस्थ व्यक्तिलाई दूतक राख्ने चलन थियो। त्यसरी दूतकमा युवराजलाई समेत राखिएका अभिलेख छन्। यस अभिलेखमा कुमारामात्य चन्द्रजीव दूतक भनेर राखिएको उल्लेख छ। यसले चन्द्रजीव सम्भवतः राजा अंशुवर्माको अत्यन्त नजिकका सहयोगी हुन सक्ने लिपिविद् राजवंशीको अनुमान छ।

यो अभिलेख विशेष गरी बौद्ध धर्मावलम्बीका लागि उपयोगी हुने उनी बताउँछन्। राजवंशी भन्छन्, “पाटनमा विहार भएको लिखत र चित्राङ्कित प्रमाण योभन्दा प्रष्ट अरू कहाँ होला र!”

लिपिविद् श्यामसुन्दर राजवंशी।
यस शिलालेखले धातुचैत्यरथ सम्पदा, बौद्ध शिलालेखमा ‘भगवद्वाशुदेव’ र तीन वटा नयाँ गाउँका नामको उल्लेख, अंशुवर्मामा दूतक कुमारामात्य चन्द्रजीव रहेको खुलासा लगायत तथ्य बोलेको छ। पुरातत्त्व विभागले यी तथ्यको अझै सूक्ष्म अध्ययन गरेमा लिच्छविकालको इतिहासमा अर्को अध्याय थपिने उनको विश्वास छ। “यस्ता तथ्यलाई समाचारमा मात्र सीमित गराउनु हुँदैन। यो त इतिहास खोज गर्ने प्रत्येक विद्यार्थीले जान्नैपर्ने तथ्य हो,” उनी भन्छन्।

इतिहासमा धातुको प्रयोग पैसा बनाउनबाट शुरू भएको भन्ने धेरैको बुझाइ छ। तर, १४ सय वर्षअघि धातुको रथ नै वृषदेवले बनाएको तथ्य जानकारी दिन पुरातत्त्व विभाग र शिक्षा सरोकार निकायले भूमिका खेल्नुपर्ने उनको भनाइ छ।

यसै गरी, यो अभिलेखको दोस्रो, आठौं, बाह्रौं र तेह्रौं पङ्क्तिका अधिकांश अक्षर मेटिएको र केही बीचका अक्षर पढ्न नसकिएको उनी बताउँछन्। यस शिलालेख फेला परेको ठाउँमा ४० वर्षअघि ढलको पाइप बिछ्याइएको थियो। पाइप बिछ्याउँदा सिमेन्टको संरचना बनाएकाले अक्षर मेटिएको उनी बताउँछन्।

लिपिविद् श्यामसुन्दर राजवंशीले गरेको लिप्यन्तर

१) ॐ स्वस्ति कैलाशकूट भवनाद विचलित कर्मफल रत्न सम्यक (१,२)

२) (१, २, ३, ४, ५, ६, ७, ८, ९) योब्रङ् ग्राम लवण ग्रामाथः सौपलिङ्गग्राम निवासि

३) न कुटुम्विन (यथा) प्रधानङ्कुशलमाभास्य समाज्ञा पयति विदितम्भवतु भ

४) वताङ् (शुवर्मन, १, २, ३). श्री वृषदेव राजकारित धातुचैत्य रथ कृ (यन)

५) पश्चाद्भि (१, २, ३, ४, ५) प्रवेशे नवः प्रासाद कृतो भगवद्वाशुदेव

६) (१, २) गौष्ठि (१, २) च निमित्तं योब्रङ्ग्राम पाञ्चालिकेभ्यो दिग विकासार्थ

७) (१, २) विलिविक्ष (१, २, ३) दे (१) लवण ग्रामेण सोम्पलिङ्ग ग्राम पाञ्चालिके

८) भ्य तुष्ट (१, २, ३, ४, ५, ६, ७,८) स्तैरर्धशायद्विभकस्यम्प्रति.(१, २, ३) ञ्चतु पण

९) सहित सभव (१, २) तरेव स्नातभूत्र्तरागत्य सर्वै: सम्य परि धम्म वदा.

१०) तद्यथा वदु (१, २, ३, ४, ५) म्परिभ्रम्य स्व मां ७ सन्नसंप्राप्नोती (१, २, ३, ४, ५)

११) प्रसादोपजीविभिण्यैर्वा न कैश्चिदयम्प्रसादोन्यथा कर (१, २)

१२) (१, २, ३, ४, ५, ६, ७). न्यथाकुर्यात्तम राजाज्ञाव्यतिक्रमकरिण (स्तीव्रं १)

१३) (१, २, ३, ४, ५, ६, ७, ८) भविष्यद्भि भूपतिभि (१, २) कृत प्रसादानुपालना दृतैर्ना

१४) वृति भाव्यञ्चिरस्थितयेचास्य प्रसाद शिलापट्ट शासन मिदन्दत्त मितिस्व.

१५) यमाज्ञा दूतकोत्र कुमारामात्य चन्द्रजीव।। संवत् ५३६ ज्येष्ठ शुक्ल पूर्णिम्यायाम्

भाषान्तर भावार्थ

कल्याण होस्। कैलाशकूट भवन (दरबार)बाट आफ्नो कर्ममा विश्वास गरी अलिकति पनि विचलित नभई मेहनत गर्ने योब्रङ् ग्राम, लवण ग्राम त्यो भन्दा माथिका सोम्पलिङ् ग्रामका निवासी जनता र त्यहाँका प्रधानहरूलाई कुशल मंगल सोधेर आज्ञा गर्नु भएको छ।

श्री अंशुवर्माले राजा श्री वृषदेवले बनाएको धातुचैत्यरथलाई नयाँ मन्दिर बनाइ दियो। यसको दैनिक पूजाका लागि भगवद् वाशुदेव गोष्ठीलाई नै जिम्मा दिइयो। यसमा कुनै किसिमको विचलन नआओस् भनी गोष्ठीलाई चित्त बुझ्ने गरी खर्च उपलब्ध गराउन योब्रङ् ग्राम, लवण ग्राम तथा सौपलिङ् ग्राम पाञ्चालिका समेत तीनै पाञ्चालिकालाई अधिकार सुम्पियो। यो कुरा तिमीहरूलाई थाहा होस्।

तसर्थ यो कुरा थाहा पाएर हाम्रो तर्फबाट जीविका चलाउनेहरूले र अरूहरूले पनि कसैले यो धर्मको कामलाई अन्यथा नगर्नू। जसले यो आज्ञालाई नटेरेर अन्यथा गर्ला त्यसलाई हामी सहनेछैनौं। पछि हुने राजाहरूले पनि नियम कानूनलाई ठूलो सम्झेर धर्मको कामको पालना आदरपूर्वक गर्नुपर्छ।

संवत् ५३६ ज्येष्ठ शुक्ल पूर्णिमा। यस वातका दूतक (मार्फत) कुमारामात्य चन्द्रजीव छन्।

भाषान्तरः श्यामसुन्दर राजवंशी, लिपिविद्

श्रोत  https://www.himalkhabar.com

शुक्रबार, पुस ३०, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...