अरुको छोरी माल, तिम्रो छोरी लक्ष्मी ?

सविनाको बोली अरुलाई तुरुन्त प्रभावित पार्ने खालको थियो । जीवनको पहिलो जागिर उनले बोर्डिङ्ग स्कुलमा एक काउन्सिलरबाट सुरु गरिन् । हाम्रो स्कुलमा यस्ता सुविधा छन्, पढाइ असाध्यै राम्रो छ । शिक्षकहरू सबै राम्रा छन् भनेर उनले अभिभावकलाई आफ्नै स्कुलमा भर्ना गर्न लालायित गर्थिन् । उनले काउन्सिलको रुपमा त्यो स्कुलमा काम गर्न थालेपछि विद्यार्थी संख्या बढेको थियो । त्यो वर्षको ‘वेष्ट कर्मचारी’ अवार्ड सविनाले प्राप्त गरिन् ।

स्कुलमा काम गर्दा विद्यार्थीको अभिभावकहरूसँग उनको निकटता बढ्यो । घरमा तह लगाउन नसकिने कति विद्यार्थी जो स्कुलको होस्टलमै बस्थे, तिनीहरूका अभिभावकको आउजाउ धेरै हुन्थ्यो । हरेक थरिका अभिभावकसँग उनको चिनजान भयो । कतिले सविनालाई चिया कफीको पनि अफर गर्थे तर उनी त्यस्तो कुरालाई वेवास्ता गरेर आफ्नो काममा लाग्थिन् ।

स्कुलमा काम गरेको तीन वर्ष वित्न लागिसक्दा पनि तलब खासै वृद्धि नहुँदा भने उनी दिक्क थिइन् ।  त्यसैबखत एक अभिभावकले उनलाई भने, ‘तपाईंको यहाँ तलब कति छ, त्यसको दोब्बर दिन्छु । मेरो कन्सल्टेन्सी छ, पुतलीसडकमा । काम गर्ने हो ?’ भनेर सोधे । त्यसरी जागिरको अफर गर्ने त्यो मान्छे पहिलोे थिएन । त्यो बेला उनले सोचेर जवाफ दिने बताइन् ।

त्यसको केही समयपछि सविनाले आफ्नो तलब वृद्धि गनुपर्ने माग राखिन् । तर स्कुलले थोरै मात्र बढाउने सक्ने कुरा गर्यो । उनलाई दोब्बर तलबको अफर थियो । त्यसैले, उनले स्कुलको काममा निरन्तरता दिन नसक्ने भनेर छोडिन् र कन्सल्टेन्सीमा काम सुरु गरिन् ।

कन्सल्टेसीमा पनि उनले आफ्नो प्रतिभाको जलवा देखाइन् । आइएलटिएस, जिम्याट पढ्ने विद्यार्थीको घँुइचो लाग्यो । पहिले वर्षभरीमा विदेश पठाउने विद्यार्थीको संख्या उनी आएपछि एक इनटेकमै पठाउन थालियो । कन्सल्टेन्सीको व्यापारले सविनाको भाग्य चम्कियो । तलबबाहेक अफिसबाट प्रतिविद्यार्थी बोनस आउँथ्यो । उनले एकै वर्षमा स्कुटर किनिन् । दसंैमा घर जाँदा आमालाई सुनको तिलहरी र बुवालाई कोट पाइन्ट सिलाएकी थिइन् । उनी कन्सल्टेन्सीको जागिरदेखि सन्तुष्ट थिइन् ।

सविनाको ब्याचलरको परीक्षा सकिएको थियो । त्यो बेला उनलाई ‘बोस’ले बिहानको ड्यूटी हेर्दिन आग्रह गरे । विद्यार्थीको चाप बिहानमा थियो । बिहान अबेलासम्म सुत्नु भन्दा भनेर उनले त्यो प्रस्ताव सहर्ष स्वीकार गरिन् । र, भोलि पल्टैदेखि बिहानै अफिस पुग्न थालिन् ।

बिहानै काममा आउने कर्मचारीको लागि होटलबाट खाना मगाइदिन्थ्यो अफिसले । एकदिन सविना मिटिङ हलमा खाना खाने तयारी गर्दै थिइन्, बोस आइपुगे र भने, ‘मीठो–मीठो सधैं एक्लै खान्छेऊ, सरलाई कहिले खाम् भन्दिनऊ’ ?

‘सर आउनुस् खाऊँ’ भन्दै उनले बोसलाई पनि भाग लगाइन् ।

सबिनाको बोली राख्ने बानी थियो । त्यो दिन पनि उनलाई आफ्नै बोलीले फसायो । ‘सर, होटलको खाना मीठो हुँदैन, यो भन्दा मीठो म आफै कोठामा पकाएर खान्छु ।’

खाना लिंदै बोसले भने, ‘कहिले बोलाउँछ्यौ त सरलाई तिम्रो कोठामा खाना खान’ ?

बोसको कुरा सुनेर उनी अचम्ममा परिन् तर केही जवाफ दिइनन् ।

खाना खाँदै कुरा गर्ने क्रममा बोसले भने,‘म प्रायः घरमा खाना खाँदिन । कतिपटक भोकै अफिस आएको छु । म्याडमसँगको सम्बन्ध राम्रो छैन, सधैंको झगडाले तनावमा हुन्छु । बाहिरबाट हेर्दा सबै पर्फेक्ट देखिन्छ तर भित्र धेरै थोक मिलेको छैन । दुई वर्ष अगाडि म्याडमको पाठेघरको क्यान्सर भएर काटेर फालेको हो, उनलाई ‘पेन’ हुन्छ । श्रीमान्–श्रीमतीबीच फिजिकल इन्टिमेसी हुन नसक्नुले सम्बन्धमै दरार उत्पन्न हुन सक्ने रहेछ । एउटा छोरी छन्, उनकै लागि पनि हामी डिभोर्स गर्न सकिरहेका छैनौ । एउटै घरको छतमुनि हामी अन्जान जस्तो भएका छौं । तिमीलाई के लाग्छ, फिजिकल इन्टिमेसी कति महत्वपूर्ण छ ?’

बोसको कुरा सुनेर सविनाको एकछिन त होशै उड्यो । त्यो समस्या हुन सक्छ तर मलाई सुनाउन के आवश्यक ? बोसले आफ्नो दुःख, पीडा व्यक्त गरेको या अरु केही कुराको संकेत उनले छुट्याउन सकिनन् । मेडमको पाठेघरको क्यान्सर र फिजिकल इन्टिमेसी हुने र नहुने कुरा किन र के–का लागि ठानेर सुनाए उनले ? यस्तो समस्याको बारेमा आफूलाई केही जानकारी नभएको भन्दै उनी आफ्नो क्याविनमा आएर बसिन् ।

एकदिन बोस बिहानै अफिस आए, क्लास चलिरहेको थियो । बोसले भने,‘सविना तिमी बिहानको समयमा एकाउण्ट पनि हेरिदेउ । एकाउण्ट सरले कामको चाप भयो भन्नुभएको छ । फुर्सदमा तिमीले हेर्यौ भने सरलाई सहयोग हुन्छ ।

–सर मलाई कम्प्युटरमा ट्याली चलाउन आउँदैन ।

–खासै गाह्रो छैन म सिकाइदिन्छु ।

उनले टाउको हल्लाउदै सहमति जनाइन् । उनी खुसी पनि थिइन्, अब एकाउन्टिङ पनि सिकिने भयो भनेर ।

दुई घण्टापछि बोस ट्याली सिकाइदिने भन्दै आए । सविना आफ्नो कुर्सीमा थिइन्, कम्प्युटर अगाडि थियो । पछाडिबाट उनलाई पुरै कभर हुने गरी धाप मार्दै बोसले कम्प्युटरको माउसमाथि रहेको उनको हातमाथि हात राखेर ‘यसो गर, उसो गर’ भनेर सिकाउन थाले । तर सविनाको ध्यान पछाडिबाट बोसको छाती आफ्नो ढाडमा ढुक्कले टँसाएकोे र आफ्नो हातमाथि रहेको बोसको इन्टेसनतिर केन्द्रीत रह्यो ।

मनमा यावत प्रश्न उब्जे पनि वातावरण सहज होस् भनेर उनले आफ्नो शरीर थोरै अगाडि सारिन् । यो अवस्था असहज भएको बोसले थाहा पाओस् भन्ने उनको मनसाय थियो । एकछिनमा विस्तारै बोस अगाडि सर्यो र पहिले जस्तै टाँसियो । उनी फेरि अगाडि सरिन् । तर उनी जति अगाडि सरिन्, बोस उति अगाडि बढ्दै टाँसिए । अगाडि सर्दै गर्दा सविनाको टाउको कम्प्युटरको स्क्रिनमा गएर ठोक्कियो र भनिन् ‘सर यहाँ भन्दा अगाडि सर्ने ठाउँ छैन,’ उनको कुराले बोस झनक्क रिसायो । ऊ कम्प्युटरको माउस बजार्दै क्याविनबाट निस्कियो ।

त्यो दिनदेखि अफिसमै उनको र बोसबीच बोलचाल भएन । केही दिनमा अचानक ह्युमन रिसोर्सले उनलाई बोेलायो र भन्यो ‘तपाईंले अफिसमा मन लगाएर काम गुर्नभएको छैन । पर्फमेन्स यस्तै रहेमा अर्को महिनादेखि बाँकीको एग्रिमेन्ट अगाडि बढ्दैन, काममा कन्सनटेन्ट हुनुस् ।’

ह्युमन रिसोर्सको कुरा सुनेर सविना अचम्म परिन् । यो अफिसमा के हुन लागेको ? मसँग हुन लागेको चाहि के हो ? यति मेहनत गर्दा पनि काम भएन ? यही काम पहिले हुने, अहिले नहुने ? उनी बोसकोमा पुगिन् र भनिन्, ‘मलाई अफिसले निकाल्दै रैछ ?

बोसले ह्युमन रिसोर्स डिपार्टको कुरा आफूलाई जानकारी नहुने बताए ।

त्यो डिपार्ट देखाउनको लागि मात्रै राखिएको हो, त्यहाँबाट हुने हरेक निर्णय तपाईंको हो । त्यसैले मलाई अफिसले किन निकाल्दै छ ? त्यसको कारण मलाई यहाँबाट चाहियो । तपाईंले जुन कामको लागि मलाई हायर गर्नुभएको थियो, त्यो जिम्मेवारीमा म कहाँनिर चुकेको छु ? तपाईं जस्तो कर्मचारी मेरो अफिसमा चाहिएको छ भन्दै मलाई ल्याउनु भएको होइन ? मेरो काममा कम्प्लेन गर्नुस्, त्यो म स्वीकार गर्छु । तर कुरा अरु नै इन्टेसनको हो भने यहाँ मैले तर्क गरेर बस्नुको कुनै फाइदा छैन । यसरी उनले आफ्ना कुरा राखेर बोसको क्याविनबाट निस्किन् ।

त्यो दिन अफिसबाट निस्कने बेला सविनाले साथी अम्विकालाई फोन गरिन् र भेट्न बोलाइन् । बोसले गरेको सबै कुरा बेलीबिस्तार लगाउँदै भनिन्, ‘यो मान्छेको हरेक कर्तुत म बाहिर ल्याउँछु’ । उनको कुरा सुनेर अम्विकाले जवाफ दिइन्, ‘त्यसपछि तिमीलाई कतै जागिर पाइँदैन, बजारमा तिम्रो बदनाम हुनेछ । यो समाजमा नारीले समवेदना पाउन बलात्कृत भएर मारिनुपर्छ, योनीमा भाला रोपिएको लास जङगल वा खेतको कुलोतिर भेटिनुपर्छ । एसिड आक्रमणमा परेर अनुहार जल्नुपर्छ, तब ‘कठै विचरी’ भन्छ । नत्र तिमीलाई जिस्क्याउनु, घोरिएर हेर्नु, शरीरमा छुनु जस्ता क्रियाकलापलाई पुरुषले जन्मसिद्ध अधिकार मानेको छ । यस्ता सामान्य क्रियाकलाप विरुद्ध आवाज उठायौ भने तिमीलाई नै चरित्रहीन ठहर्याइनेछ । हिसाब नमिलेर आएको घटना भन्नेछन् ।

साथीले केही राहत देलिन् भन्दा उल्टै निराश बनाइन् । अब मालिकसँग बाझेर उसैको अफिसमा के काम गराइ हुन्छ । त्यसैले उनले जागिर छोड्ने निर्णय गरिन् । आमा बुवा सम्झेर त्यो रात उनी बेस्सरी रोइन् । निम्न वर्गको छोरीले थोरै अगाडि बढ्छु भन्ने सपना देख्न यो शहरमा अभिसाप नै पो रहेछ ।

भोलिपल्ट, सविनालाई ह्युमन रिसोर्सले अफिस बोलायो । अफिसबाट निकाल्ने कुरा नभएको थोरै आफ्नो परफर्मेन्समा ध्यान दिनु मात्र भनेको भन्दै लफडा सुल्झाउनतिर लाग्यो । जागिर नभए  काठमाडौंमा टिक्न मुस्किल हुने कुरा सम्झिदैं उनी त्यही दिनदेखि काममा लागिन् । तर हिजो अस्तिसम्म आफ्नै लागेको त्यो अफिस आज विरानो लाग्यो उनलाई । काममा लगाव हराएको थियो । यिनीहरूले चाहेमा जतिबेला पनि मलाई निकाल्न सक्ने रहेछन् भन्ने कुराले मनमा डेरा जमायो । अफिसले कममा बोलाए पनि अब उनलाई त्यो अफिसमा निरन्तरता दिन सक्छु जस्तो लागेन उनलाई ।

एकदिन अचानक बिना खबर बोसको श्रीमती र छोरी अफिस प्रवेश गरे । एउटा आइएलटिएस पढ्ने केटोले बोसको १४÷१५ वर्षकी छोरीलाई देखेर कति च्वाँक केटी भन्यो । केटोले उनीहरू को हुन् चिन्दैनथ्यो । तर दुर्भाग्य केटोको बोली बोसले सुने । आफ्नी टिनेजर छोरीमाथिको त्यो भद्दा शब्दले उनले रिस थाम्न सकेनन् र विद्यार्थी केटोको कठालो समातेर कुट्न थाले । अफिसमा हंगामा मच्चियो । विद्यार्थीहरू, एकाउण्ट र एचआरका सरहरूलाई रोक्न हम्मे–हम्मे पर्यो । ‘मेरो छोरी जिस्क्याउने साले, यसलाई यही मारिदिन्छु’ भन्दै बोसले आगो ओकल्यो तर केटो भागिहाल्यो । बोसले आफ्नो मुखबाट अपशब्दका खोलो बगाउन बाहेक त्यो बदमास केटोलाई केही गर्न सकेन । छोरीका अगाडि लाचार बन्न एउटा बाउलाई कति गाह्रो हुँदो रहेछ, त्यो सविनाले प्रत्यक्ष देखिन् ।

त्यो घटनापछि उनका मनमा अनेक प्रश्नहरू तेर्सिन थाले । यस्ता बाउहरू कतिलाई थाहा होला आफ्ना छोरीहरू त्यो भन्दा भयानक हिंसाबाट गुज्रिनुपर्छ ? बोसले ममाथि गरेको हर्कत गाउँमा खेती किसानी गरेर बस्ने मेरो बुवाले थाहा पाए, हलोले हानेरै यिनको प्राण पखेरु उडाइदिन्थे । आफ्नो छोरीमाथि भएको अभद्र व्यवहार कुन बाउले हेरेर बस्ला ? तर अरुको छोरी माल, तिम्रो छोरी लक्ष्मी मान्दिनु पर्ने के छ ? तिम्रो छोरीलाई दुनियाँले लक्ष्मी मान्नुपर्छ भने, ए ‘बोस’ आफ्नो वानी सुधार्न सुरु तिमी आफैले गर ।

शनिबार, माघ १५, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...