कम छैनन् महिला खेलाडी, खाँचो छ समान अबसरको

 नेपाली समाज अझै खुलिसकेको छैन । महिला कमजोर हुन्छन् भन्ने धारणा जर्बजस्त स्थापित छ । यसले गर्दा पर्याप्त मात्रामा महिला खेलकुदमा लाग्न सकिरहेका छैनन् । अभिभावक पनि आफ्ना छोरीलाई हत्तपत्त खेल क्षेत्रमा लगाउन चाँहदैनन् ।
अझ बुहारीलाई त खेलमा लाग्न ठूलो जोखिम मोल्नुपर्ने चुनौति छ । यस्तो चुनौतिका बाबजुद नेपालली खेल जगतमा महिला खेलाडी आउने क्रम विस्तारै बढ्दै छ । अवसर पाएका महिला खेलाडीले पुरुषले भन्दा राम्रो नतिजा निकालिरहेका छन् । जो महिला खेलकुदमा खुलेर लाग्ने आँट गरेका छन् । त्यस्ता महिला खेलाडीले आफू आफ्नो परिवार र देशका लागि नै ठूलो योगदान पु-याई रहेका छन् ।

आमाको सोच बदलियो


नेपाली एथलेटिक्सकी कीर्तिमानी खेलाडी सन्तोषी श्रेष्ठको अनुभव पनि आम नेपाली महिलाको जस्तै छ । सुरुमा सन्तोषी खेलमा लाग्दा उहाँको आमा त्यति खुशी हुनुहुन्थेन । ‘गाउँमा घाँसको भारी बोक्नु पर्ने । घर धन्दा र मेलापात गर्नुपर्ने । गह्रौँ भारी बोक्दा अधिकांश महिलाको पाठेघर खसेको हुन्थ्यो । आमालाई त्यस्तो पीडा हुने भएर होला हामीलाई पनि खेल्दा गाह्रो हुन्छ भन्नुहुन्थो,’ धादिङकी सन्तोषीले  खेलमा लाग्नु अगाडिको अनुभव सुनाउनुभयो ।
विस्तारै परिवारको मन जित्दै दौड सुरु गर्नुभएकी सन्तोषीले जब खेलकूदमा नाम, दाम र प्रतिष्ठा कमाउन थाल्नुभयो । आमाको भावनामा समेत परिवर्तन भयो । ‘अहिले आमाले खेलेर ठीक गरिस् भन्नुहुन्छ । हामीले अवसर नपाएर रहेछ । तिमिहरु राम्रो गर भन्नुहुन्छ । खेल खेल्दा महिलाको मानसिक र शारीरिक अवस्था झन् बलियो हुँदो रहेछ । यो कुरा नेपालको विकट स्थानमा रहनु भएका आमालाई बुझाउन  झनै जरुरी छ,’ सन्तोषी भन्नुहुन्छ ।
१३औँ दक्षिण एसियाली खेलकूद (साग) मा नेपाललाई १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण जिताउनु भएकी सन्तोषी अहिले नेपाली एथलेटिक्सको ‘रोल मोडल’ बन्नुभएको छ ।
सागपछि उहाँले खेलेको लामो र छोटो दूरीका नौ वटा प्रतियोगितामा नौ वटै स्वर्ण जितिसक्नु भएको छ । कोरोना महामारीले पछिल्लो दुई बर्ष अन्तर्राष्ट्रिय सहभागिता नहुँदा उहाँलाई आफ्नो प्रतिभा अझै खुम्चिएको भान भएको छ । नेपाली ‘गोल्डन गर्ल’ नामले परिचित सन्तोषी खेलकुदमा लागेपछि महिला सशक्तीकरण स्वतः बढ्ने बताउनुहुन्छ ।

खाँचो समान अवसरको

नेपाली टेबलटेनिसकी चर्चित खेलाडी एलिना महर्जन पहिलाको तुलनामा विस्तारै महिला खेलाडीलाई सहज बन्दै गएको बताउनुहुन्छ ।
‘शारीरिक रुपमा तुलना गर्दा पुरुषभन्दा महिला फरक नै हो । नेपालमा महिला खेलाडीलाई हेर्ने दृष्टिकोण अझै परिवर्तन भईसकेको छैन । महिला खेलाडीलाई आवश्यक तालिम लिने वातावरण छैन । खेलाडीको आर्थिक अवस्था पनि कमजोर छ । महिला खेलाडी खेलबाट जीवन धान्न नसकेपछि लामो समय टिकिरहन सकेका छैनन् । यदि सरकारले महिला खेलाडीलाई सामाजिक सुरुक्षासँगै अन्य सुविधा दिन सके महिला पनि खेलमा अब्बल हुन सक्छन् । विगतको भन्दा केही सुधार चाहि भए जस्तो लाग्छ,’ काठमाडौँकी एलिना भन्नुहुन्छ ।
खेलकूदमा लागेपछि महिला मानसिक र शारीरिक रुपले थप बलियो हुने एलिनाको अनुभव छ । खेलसँगै सामाजिक सेवामा सक्रिय एलिनाले सागमा पदक जितेपछि सरकारबाट प्राप्त आफ्नो पुरस्कार रकम कोरोना पीडित परिवारलाई खाद्यान्न लगायतमा सहयोग गर्नुभएको थियो । नेपालमा समान अवसर दिईएमा महिला खेलाडीले पुरुषले भन्दा धेरै राम्रो गर्ने एलिनाले बताउनुभयो ।
राम्रो उपलब्धि दिन तयार छौँ
नेपाली महिला राष्टिय फुटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको सोचाई पनि एलिनाको जस्तै छ । ‘महिला खेलाडीलाई केवल अवसर, उत्प्रेरणा र लगानीको खाँचो छ । नेपालमा पुरुषसरह महिला खेलाडीलाई पनि अवसर दिए पुरुषले भन्दा हामी राम्रो उपलब्धि दिन तयार छौँ,’ एन्जिला भन्नुहुन्छ ।


सन्तोषी, एलिना र एन्जिला प्रतिनिधि उदाहरण मात्र हुनुहुन्छ । पछिल्लो समय नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन नेपाली महिला खेलाडीको  योगदान उल्लेख्य रहेको छ । नेपालमा दुई बर्षअघि भएको १३औँ सागमा नेपालले ५१ स्वर्ण जित्दा आधा भन्दा बढी २९ स्वर्ण महिला खेलाडीले जित्न सफल भए ।
‘जलपरी’को रुपमा उदाउनु भएकी गौरिका सिंहले सागमा एक्लै चार स्वर्ण जितेर नयाँ कीर्तिमान रच्नुभयो । दुई सन्तानकी आमा आयशा शाक्यले पनि सागमा दोहोरो स्वर्ण जित्दै दुनिया चकित बनाउनुभयो । यसरी पछिल्लो समय नेपाली खेलकुदलाई कीर्तिमानी उपलब्धि सहित सशक्त बनाउने काम महिला खेलाडीबाट भईरहेको छ । गोरखापत्र अनलाइनका लागि गाेविन्द रेग्मीले तयार पारेको सामग्री सान्दर्भीक भएकोले साभार गरिएको छ । सम्पादक

मङ्लबार, फाल्गुन २४, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...