निर्वाचन, म्यादी र रोजगारी

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सरकार केन्द्रीत भएको छ । निर्वाचनका लागि निर्वाचन आयोगका साथै सबै तहका सुरक्षा निकायहरु तदारुकताका साथ बसेका छन् भने निर्वाचन तयारी पनि निकै अगाडि पुगिसकेको छ । निर्वाचनमा प्रयोग हुने मसी तथा पेपर खरिद गरेर मतपत्र छपाइतर्फ निर्वाचन आयोग पुगिसकेको छ भने दुई करोड मतपत्र छपाई गर्ने तयारी छ । स्थानीय तह निर्वाचनका लागि १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताको नामावली निर्वाचन आयोगले प्रकाशन गरेको छ । मतदाता नामावली प्रकाशन भएसँगै अब यस पटकको निर्वाचनमा मतदान गर्न योग्य मतदाता भनेकै त्यही नै हो । त्यसैले अब निर्वाचन आयोगले प्रकाशन गरेको मतदाता नामावलीमा नाम नभएकाहरुले अर्को निर्वाचनमा मात्रै मतदान गर्न पाउनेछन् ।
नेपालमा भएका धेरै परिवर्तनले के ल्यायो भन्नेहरुको जमात पनि देखिन्छ । योग्य नभएर हो भन्नेहरुको भीडलाई यस पटकको म्यादी प्रहरीमा आवेदन दिएकाहरुको अवस्थाले पनि देखाउँछ । यदि योग्य नै नभएको भए स्थानीय निर्वाचनका लागि आवश्यक १ लाख म्यादी प्रहरीका लागि आवेदन दिएकामध्ये ३ सय ४१ जनाको शैक्षिक योग्यता स्नातक वा सोभन्दा माथि हुने पक्कै थिएन । प्रहरी प्रधान कार्यालयका अनुसार स्नातक वा त्यसभन्दा माथिल्लो योग्यता भएकाहरुमा प्रदेश–१ मा ४७ जना, मधेश प्रदेश–२ मा २६ जना, बागमती प्रदेशमा ३७ जना, उपत्यकामा ७० जना, गण्डकी प्रदेशमा ३७ जना, लुम्बिनी प्रदेशमा ६२ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ५५ जना रहेका छन् । सुदूरपश्चिम प्रदेशको कैलालीमा मात्रै ४६ जना कम्तीमा स्नातक उत्तीर्णले म्यादीका लागि आवेदन दिएका छन् । त्यस्तै कपिलवस्तुमा १८ जना, कास्कीमा २० जना, काठमाडौंमा ४६ जना, ललितपुरमा १८ जना, चितवनमा १८ जना, मोरङमा १६ जना, ईलाममा १४ जना र उदयपुरमा १२ जना छन् । १ लाख म्यादी प्रहरीका लागि आह्वान गरिएको भर्ना आवेदनमा २ लाख ९३ हजार ३ सय १४ जनाले आवेदन दिएका छन् । म्यादी प्रहरीमै पनि आवेदन माग गरेभन्दा तीन गुणा बढीले आवेदन दिएको अवस्थाले देशमा बेरोजगारीको अवस्थालाई छर्लड्ड पारेको छ ।
देशमा अहिले न्युनतम शैक्षिक योग्यता हासिल गरेकाहरु पनि धेरै बेरोजगार छन् । अहिले हामीले के गर्नेभन्दा पनि नेतृत्वमा आएकाहरु र त्यसलाई अब कसरी अगाडि बढाउने भन्नेतर्फ ध्यानकेन्द्रीत गरेर अगाडि बढ्नु आवश्यक छ । कुनै पनि काम गर्नका लागि योग्य जनशक्ति आवश्यक पर्छ । तर हामीले सबैलाई एकै ठाउँमा भन्दा पनि सबैलाई सबैतिर खटाउनका लागि कसरी सोच्ने भन्ने हो । म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिएकामध्ये प्लस टु मात्र उत्तीर्णको संख्या ३२ हजार १२ जना रहेको छ । यसैगरी एसएलसी वा एसइई उत्तीर्ण ८३ हजार २ सय ११ रहेका छन् । साधारण लेखपढ गर्न जान्नेको संख्या १ लाख ७७ हजार ७ सय ५० रहेको छ । आवेदन भरेकामध्ये ६९ हजार ६ सय ८० महिला र दुईजना तेस्रोलिड्डी रहेको प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाउँछ । त्यसैले अब आउने नेतृत्वले रोजगारीको एजेण्डासहित आउनुपर्छ । कुनै पनि हालतमा योजना र एजेण्डा बिनाको नेतृत्व सबल र सक्षम पक्कै होइनन् । युवालाई रोजगारमा कसरी आबद्ध गर्न सकिन्छ भन्ने योजनासहित अब चुनाबी मैदानमा होमिन सबै तयारी हुनुपर्ने देखिन्छ ।

बुधबार, चैत्र १६, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...