कालरात्री व्याण्डद्वारा साङ्गीतिक सामग्रीहरु सहयोग

कालरात्री व्याण्ड बेनीबजार म्याग्दीले अस्ति (शनिबार) नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहलाई साङ्गीतिक सामग्रीहरु सहयोग गरेको छ । बालगृहमा बसेर आवासीय सुविधासहित अध्ययन गर्दै आइरहेका बालबालिकाहरुलाई लक्षित गरी कालरात्री व्याण्डले सङ्गितका सामग्री उपलब्ध गराएको हो ।
कालरात्री व्याण्डले अध्ययनका साथै बालबालिकालाई अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउने उद्देश्यका साथ बालगृहमा रहेका बालबालिकाहरुलाई सङ्गितका विभिन्न सामग्रीहरु सहयोग गरेको जनाएको छ । कालरात्री व्याण्डको सहयोगमा सङ्गितका विभिन्न साधनहरुमध्ये गितार, मादल, किबोर्ड, बाँसुरी र खैंजडी लगायतका सामग्री प्रदान गरिएको थियो ।
उक्त सामग्री कालरात्री व्याण्डका अध्यक्ष सन्दीप श्रेष्ठसहित अन्य पदाधिकारीहरुले नेपाल बाल सङ्गठनका जिल्ला अध्यक्ष राजेश शाक्य र सचिव सन्दीप खत्रीलाई हस्तान्तरण गरेका थिए । सामग्री ग्रहण गर्दै अध्यक्ष शाक्यले मानव जाति आफूसँग जे स्रोतसाधन छ, त्यसैमा रमाउन सक्नुपर्नेमा जोड दिए । उनले बालगृहमा रहेका बालबालिकाहरुको लागि साङ्गीतिक चिज नौलो र नयाँ भए पनि अध्ययनका साथै मनोरञ्जन क्षेत्रमा रमाउने बालबालिकाहरुलाई सङ्गितका सामग्रीहरुले सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन् ।
साङ्गीतिक सामग्रीहरु हस्तान्तरण कार्यक्रमको अवसरमा कालरात्री व्याण्डले बालगृहका बालबालिकाहरुलाई खीर परिकारसहित बिहानको भोजनग्रहण समेत गराएको थियो । कार्यक्रमको सञ्चालन कालरात्री व्याण्डका राजु खानले गरेका थिए । हाल म्याग्दी बालगृहमा ११ जना अभिभावक नभएका बालबालिकाहरुले अध्ययन गर्दै आइरहेका छन् ।

आइतवार, चैत्र २०, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...