दुःख लुकाएर खुसी दिने आमा

आमा जगत्कै परम पवित्र शब्द हो । संसारमा सबैभन्दा सजिलो र अनमोल शब्द हो– आमा । आमा जननी, धरतीजस्ता पर्यायवाची शब्द हुँदाहुँदै पनि शब्दकोशमा यसको परिभाषा एउटै छ । आमा आफैँमा निर्मल निस्वार्थ माया मात्र नभई घाम हुँदा चाहिने छाया पनि हुन् । आमा शिक्षाको पहिलो हरफ, चेतनाको पहिलो ज्योति र साक्षरताकी खानी हुन् । आमा गल्तीलाई पनि सजिलै माफ गर्ने मोती हुन् । आमा भवसागर हुन्, जसको गहिराइ नाप्न कठिन छ । अन्यायको सामना गर्न सिकाउने, दुखेको घाउमा लगाउने मलम, प्रेरणाकी स्रोत र असल संस्कार सिकाउने गुरु पनि आमा नै हुन् । ‘मातृदेवो भव’ अर्थात् आमा देवता हुन्, उनको देवतासरह सम्मान गर्नुपर्छ ।

बूढी भए पनि, झुत्रो लुगा लगाए पनि, कुप्री, नेप्टी, थेप्ची, मोटी, पातली, गोरी, काली जस्ती भए पनि आखिर आमा त आमा नै हुन्छिन् । संसारकै सबैभन्दा सुन्दर व्यक्ति जसको कृपाले यो संसार अस्तित्वमा छ । जसको त्यागले यो संसार देख्ने अवसर मिलेको छ । हृदयदेखि नै धन्यवाद छ आमालाई, नमन छ सृष्टिकर्तालाई । कति मायावी शक्ति छ, यो आमा शब्दमा । कतै ठेस लाग्दा निस्किने पहिलो शब्द– आमा ।

घरको गेटबाट छिर्नेबित्तिकै आँखाले खोज्ने पहिलो व्यक्ति– आमा । छक्क पर्दा उच्चारण गर्ने शब्द– आमा । दुःखमा पुकार्ने शब्द पनि– आमा । वाचा–कसम खाँदा प्रयोग गरिने शब्द– आमा । बोली फुट्दा पहिलो उच्चारण हुने शब्द– आमा । स्रष्टा हुन्, धर्ती माता हुन् । यिनले नै विजलाई नौ महिनासम्म आफ्नो गर्भमा राखेर अनेक कष्ट सहेर जीवन अङ्कुराउँछिन् । जीवन दिन्छिन् । संसार देखाउँछिन् । यस धर्तीका प्रत्येक आमा महान् र पूज्य छन् । त्यसैले मेरो हृदयबाट नै सम्मान र सलाम छ, संसारका सबै आमालाई ।

सन्तानको दैनिक आवश्यकता के हो, आमाको प्राथमिकता त्यही हो । कहिलेकाहीँ मेरो कुण्ठाग्रस्त मनमा यस्तो प्रश्न पनि आउँछ, “आमाबुवाले हामी सन्तानका लागि आफूलाई बिर्सेर गरेको त्यो त्याग आज मैले पूरा गरेको छु ?” लाग्दैन म आफ्नै जिम्मेवारी पूरा गर्न सकेकी छु । त्यही भएर त बेलाबेला आमाले भनेको सम्झिन्छु, “आमा भएपछि थाहा पाउलिस् ।” सायद मैले थाहा पाउन त अझ धेरै बाँकी छ र केही केही कुरा थाहा पनि पाइसकँे । आमाहरू सन्तान हुर्काउन पाउँदा आफूलाई गौरवान्वित महसुस गर्छन् ।

blog

सन्तानको खुसी र सुखमा रमाउने पहिलो व्यक्ति नै आमा हुन् । सन्तानको खुसी उन्नतिको सधैँ प्रार्थना गर्ने आमा जीवनमा एक पटक बच्चा जन्मनासाथको रुवाइबाट औधी खुसी र आनन्द महसुस गर्छिन् । आफ्ना सपनाभन्दा उनीहरूले सन्तानका लागि देखेको सपना विशाल बन्छन् । त्यसैले सन्तान हुर्काउन गरेको सङ्घर्षमा आमालाई कुनै दुःखमनाउ छैन र हुँदैन पनि । हाम्रो संरचनाले आमालाई जसरी ‘बालबच्चा स्याहार्ने’ जिम्मेवारीमा खुम्च्याएको छ, त्यो उनीहरूमाथि थोपरिएको सामाजिक विभेद हो ।

मैले आमाको बहादुरी देखेकी छु । उनकोे दुःख देखेकी छु, खुसी देखेकी छु, स्वाभिमान देखेकी छु । आमाबाट सिक्नुपर्ने कुरा धेरै छन् । मेरी आमा मलाई संसारकै उत्कृष्ट लाग्छ । घरमा बुवा नहुँदा बच्चासँग एक्लै हुँदा ठूलो उद्देश्य लिएर आएको चोरसँग कुस्ती खेल्ने मेरी आमा साँच्चिकै बहादुर हुन् । सन्तानमाथि आमाले खर्चिएको त्याग, करुणा, समर्पण नजिकबाट देखेकी छु । त्यसैले आमाले आफ्नो जिउ दुखेर करकर खायो भनेको सुन्दा हामीलाई आमाले मिचिमिची तेल लगाइदिएको सम्झिदिऊँ, हिजो सानो हुँदा खाना नजान्दा सबै लुगा फोहोर पार्दा पनि गालामा म्वाइँ खाने आमालाई आज बुढ्यौलीमा हात काम्यो भनेर झर्को नमानिदिऊँ, कपडा लगाउन नसक्दा नजान्दा बाल्यकालको सम्झिऊँ सबैले, हामीले कपडा लगाउन जन्मिँदै जानेको त होइन नि ! आमाबाटै सिकेको हो ।

हो, आमाको यति धेरै महìव दर्शाइरहँदा पनि समाजमा ती आमाप्रति अहिले पनि विभेद कायमै छ । अझै त हाम्रो समाजमा छोरा र छोरीबीच भेदभाव छ भने आजभन्दा ४० वर्षअगाडि झन् कस्तो थियो होला ? अभाव र कष्टको बीचमै पनि माइती र मावलीको सहयोगमा तँलाई हुर्काउन सकेकी हुँ भन्ने आमाको कुरा सुन्दा मलाई आफूले आमालाई खुसी दिन नसकेको महसुस हुन्छ ।

आगामी दिनमा मैले सकेको कोसिस गर्नेछु आमा तिमीलाई खुसी पार्न । मातापिता रुवाउने काम नगरौँ है कसैले पनि । जति सक्छौँ उनको सेवा गरी खुसी बनाउने कोसिस गरौँ । आफ्नो दुःख लुकाएर पनि उनी हामीलाई भरपूर खुसी दिन्छिन् । हाम्रो खुसीमा झन् बढी खुसी हुन्छिन् । हाम्रो दुःखमा आमाको मन पोल्छ । त्यसैले देवतातुल्य बाबाआमालाई सम्मान गरे संसार जगमगाउँछ ।

वृद्धवृद्धाप्रति सम्मान गर्न सबैले सिक्नुपर्छ, बुबाआमा सहाराविहीन हुने दृश्य अब कसैले पनि देख्न-हेर्न नपरोस् । आमाले दिने माया संसारमा अरूबाट पाउने मायासँग तुलना गर्न सकिन्न । यो अतुलनीय माया गर्ने आमालाई आजैबाट आफ्नो सर्जक, पालक, गुरु र निस्वार्थी संरक्षकका रूपमा ग्रहण गरी सम्मान गर्न सुरु गरौँ । मातृऋणबाट मुक्त हुनका लागि माथि उल्लिखित उपायलाई सबै सन्तानले व्यवहारमा उतारौँ । बाबुआमाले आफ्ना सन्तानप्रति धिक्कार होइन, गौरव गर्ने वातावरण निर्माण गरौँ । यो अभियान हामी समाजका सबै सन्तानको कर्तव्य हो । सबैले आफ्नो कर्तव्य पूरा गरेमा समाज पनि कर्तव्यनिष्ठ नागरिकले भरिनेछ । कुनै पनि बुवाआमाले बूढेसकालमा एक्लो महसुस गर्नुपर्ने छैन । दुःखी भई रोएर बस्नुपर्ने छैन । सन्तानले आमाको महìव बुझौँ । आमाको मुख हेर्ने दिनले सबै आमामा खुसी ल्याओस् । गोरखापत्रअनलाइनबाट

शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...