जनताको पक्षमा काम गर्नका लागि म उम्मेदवार : थकाली

सञ्जय कुमार थकाली घरपझोङ गाउँपालिका र समग्र मुस्ताङ जिल्लाको लागि नौलो नाम होइन । घरपझोङ गाउँपालिका वडा नं.–१ चिमाङमा जन्मीएकाा थकाली हाल ५२ वर्षका भए । थकालीले २०४६ साल देखि तत्कालिन नेकपा माले अनि एमालेको राजनीतिमा संगठीत भएका थिए । नेकपा एमालेमा संगठित भई विद्यार्थी जीवनदेखि आफ्नो राजनैतिक कृयाकलाप अगाडी बढाउँदै तत्कालिन समयमाा युवाहरुको जोश जाँगरलाई राजनैतिक चेतना भर्दै संगठित गर्दै नेकपा एमालेको युवा संगठन प्रजातान्त्रीक राष्ट्रिय युवा संघ जिल्ला कमिटी मुस्ताङको अध्यक्षमा निर्वाचित भई आफ्नो कार्यकाल पुरा गरेका थिए । नेकपा एमाले मुस्ताङ जिल्ला कमिटीमा २ कार्यकाल सदस्यको रुपमा कार्यसम्पादन गरिसके पछि १ कार्यकाल तत्कालिन नेकपा एमाले धौलागिरी अञ्चल कमिटीका सल्लाहकार भई पार्टीको लागि महत्वपूर्ण सल्लाह शुझाब सहितको महत्वपूर्ण कार्यकाल सकेका थिए । त्यस पछि नेकपा एमाले मुस्ताङ-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षको रुपमा २ कार्यकाल नेतृत्वदायी भूमिका निभएका थिए । त्यसपछि हाल सञ्जयकुमार थकाली नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्यका रुपमा पार्टीमा कृयाशिल रहेका छन् । आगामी बैशाख ३० गते हुने स्थानियतह निर्वाचनमा घरपझोङ गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्षको उम्मेदवार रहेका सञ्जयकुमार थकाली सँग आसन्न निर्वाचन संग सम्बन्धीत रहेर समसामयिक विषयमा इरुप्से डटकमका मुस्ताङ प्रतिनिधि तिलक बि.क.ले गरेको कुराकानीको सम्पादीत अंश :-


प्रश्न  :- घरपझोङ गाउँपालिका अध्यक्षमा तपाईको उम्मेदवारी के को लागि ?
उत्तर :– घरपझोङ गाउँपालिकामा कृषि, पर्यटन र भौतिक पूर्वाधार अन्तरगत जनताको आय आर्जन र जनजिविकाको सवाललाई मुख्य प्राथमिकता राखी शिक्षा, स्वास्थ्य र रोजगारी, उत्कृष्ट एवम् सर्वसुलभ तबरले नागरिक सेवा, सम्पादनलाई केन्द्र बिन्दुमा राखेर गाउँपालिकाको चौतर्फी विकास गर्नका लागि नेतृत्व गर्ने उद्देश्यले मैले अध्यक्षको उम्मेदवारी दिएको हुँ ।
प्रश्न :- कृषि र पर्यटनको विकास भन्नुभयो जनताले बुझ्ने गरी भन्दा खासमा के हो त कृषि र पर्यटन विकास ?
उत्तर :- अहिलेको हाम्रो कृषि प्रणाली निर्वाहमुखी छ । आधुनिक प्रविधियुक्त र व्यवसायीक छैन । यसलाई सुधार गरी कृषि र पशुपालनलाई व्यवस्थीत गरी निर्यात मुखी, व्यवसायीक कृषि पशुपालन, उद्यमशिलता परियोजना सञ्चालन गर्ने नीति लिनेछु । तलबाट भरी ट्रक जिल्ला भित्रिए पछि जिल्लाबाट पनि हाम्रा उत्पादन बोकेर भरि ट्रक बाहिरीनु पर्छ भन्ने मान्यतामा म दृढ छु । त्यसको लागि मुस्ताङलाई स्याउको जिल्ला भनि चिनिए जस्तै घरपझोङलाई बेमौसमी तरकारीको गाउँपालिकाको रुपमा चिनाउन र जनतालाई आय आर्जन गराउन गाउँपालिकाको तर्फबाट बजेट बिनियोजन गरी ठोस कार्य गर्ने गरी नीति बनाउने छु । साथै यस गाउँपालिकामा उत्पादिन स्याउलाई बृहत कोल्ड स्टोर (सितभण्डार) र ग्रेडीङ केन्द्र स्थापना गरी ग्रेडिङ गरेको गुणस्तरीय स्याउहरु (ए, बि, सि, डि ग्रेड छुट्याएर) सोही मापदण्डको ग्रेड अनुसारको प्याकीङ गरी निकासी एवम् बजार प्रबर्धन गर्ने कार्यलाई अगाडी बढाउने छु । जसले गर्दा कृषि उत्पादन आय आर्जन रोजगारी समेत बृद्धि भई जनताको जीवनस्तर माथी उठ्नेछ । अर्कोतर्फ तपाईले उठाउनु भएको प्रसंग पर्यटनको विषयमा भन्नुपर्दा मुस्ताङ आफैमा पर्यटकीय जिल्ला हो । यहाँ आन्तरीक तथा बाह्य पर्यटकको आगमनमा कुनै कमी छैन । तर मुस्ताङ जिल्लामा सडक सञ्जाल जोडिएपछि पर्यटकको बसाई छोटो भएको छ । हाम्रो घरपझोङ गाउँपालिकामा बैकल्पीक पर्यटकीय गन्तव्यको पहिचान र पूर्वाधार निर्माण गरी पर्यटकको बसाई लम्बाई पर्यटन व्यवसायीलाई प्रवर्धन गर्न ध्यान दिनेछु । पर्यटकीय गन्तव्यको जानकारी दिनलाई हाम्रो गाउँपालिकामा सञ्चालित होटल, रेष्टुरेन्ट र मुख्य चोकहरुमा घरपझोङ गाउँपालिका भित्रका धार्मीक पर्यटकीय, सांस्कृतिक महत्वका ठाउँहरुको जानकारी सहितका फोटो, होडीङबोर्ड, लोकेशन बोर्ड आदी राखी पर्यटन प्रवद्र्धन गरिने छ । लज तथा होटल रेष्टुरेन्टहरुमा अधिकतम स्थानीय कृषि उत्पादनलाई उपभोग गर्ने नीति बनाई कृषिलाई पर्यटन सँग जोड्ने कार्यक्रम ल्याईने छ । मूल सडकदेखि पछाडी परेका गाउँमा होमस्टेको विकास गर्न प्रोत्साहन गरिनेछ ।
प्रश्न :- भौतिक पूर्वाधारको विकास गर्ने सम्बन्धमा तपाईको के कस्तो योजना छ ?
उत्तर :- गाउँपालिकाको समग्र विकास हुनलाई भौतिक पूर्वाधारको विकास अपरिहार्य छ । बेनी–जोमसोम सडकको घरपझोङ खण्डमा सडक स्तरोन्नती र कालोपत्रे गर्ने काम सडक विभाग र ठेकेदार कम्पनीबाट ढिलासुस्ती भएको छ । त्यसलाई जति सक्यो चाँडो सम्पन्न गर्नका लागि ताकेता गरी सिघ्र काम सम्पन्न गर्न लगाइने छ । बैकल्पीक पर्यटकीय गन्तव्यहरु जस्तैः मिनि मुस्ताङ परियोजना, भ्यू टावरमा सामुदायिक रेष्टुरेन्ट तथा आवास, ढुम्बा तालमा पूर्वाधार थप गर्ने, छैरो झरना दृश्यावलोकन, पूर्वधार निर्माण, जंगल ट्रेकिङ आदी लगायतका क्षेत्रहरुमा पूर्वधार निर्माण गरी पर्यटकीय वसाईलाई सहज गराउँदै पर्यटन प्रवद्र्धन गरिनेछ ।


प्रश्न :- मानव जीवन सँग सिधा जोडिएको शिक्षा र स्वास्थ्यको क्षेत्र विकासलाई तपाई विजय भएपछि कसरी हेर्नुहुन्छ ?
उत्तर :- हाम्रो गाउँपालिका जिल्ला सदरमुकाम अवस्थित गाउँपालिका भएको हुनाले यहाँ आधारभूततहदेखि, बोर्डीङ तथा क्याम्पस तह सम्म शैक्षिक संस्थाहरु सञ्चालित छन् । विद्यार्थीहरुलाई आधारभूत तहदेखि साधनश्रोत सम्पन्न बनाई अंग्रेजी माध्यमबाट स्तरीय पठनपाठन गराउने, माध्यमिक तहमा कक्षा ९ र १० को पढाइको स्तरबृद्धि गरी एसईईमा राम्रो नतिजा निकाल्नका लागि अनिवार्य होस्टेल राख्ने व्यवस्था मिलाउने र नपुग बजेट गाउँपालिकाबट दिने, तेज निरला जनहित बहुमुखी क्याम्पसमा स्नातक तहको संकाय थप्ने विषयमा उचित निर्णय लिनेछु । त्यसैगरी स्वास्थ्य क्षेत्रको कुरा गर्दा स्वास्थ्य बिमा सबै नागरिकलाई अनिवार्य गर्ने गराउने । ६० वर्ष माथिका सबै जेष्ठ नागरिक, गर्भवती महिलालाई घरमै गई भत्ता बितरण गर्ने र स्वास्थ्य परीक्षण गराउनुका साथै प्रत्येक छ/छ महिनामा विशेषज्ञ सुविधा सहितको टोलीद्वारा स्वाथ्य शिविर सञ्चालन गर्ने नीति लिनेछु । साथै घरपझोङ गाउँपालिका भित्र पालिकाको अनुदानमा निःशुल्क एम्बुलेन्स र सव बहान सेवा उपलब्ध गराउने गरी पहल गर्नेछु ।
प्रश्न :- तपाईले घरपझोङ गाउँपालिकामा चुनावमा जित्ने अधार के छ त?
उत्तर :- पहिलो कुरा मैले २०५४ सालको चुनावमा जितेर जिविस सदस्य भएपछि मेरो क्षेत्रको जनताको पक्षमा प्रसस्तै काम गरेको छु । म जनताको पक्षमा काम गर्छु र त्यो कुरा जनताले यसले काम गर्न सक्छ भनेर बुझ्नु भएकै छ । त्यस बेला जिविस सदस्य चुनावमा मेरो क्षेत्र इलाका नं. ९ मा पर्दथ्यो । ९ नं. इलाकामा साविक कोबाङ र टुकुचे गाविस पर्दथ्यो । ती २ गाविसमा ४७/४७ गरी ९४ भोट थियो । तर मेरो पार्टी नेकपा एमालेको जम्मा २६ भोट थियो । केही स्वतन्त्र र अरु सबै नेपाली कांग्रेसका समर्थकको भोट थियो । जित्नका लागि ४८ भोट चाहिन्थ्यो । म २६ भोट भएको उम्मेदवारले त्यो बेला ४७ भोट ल्याएर जितेको थिएँ । नेपाली कांग्रेसका उम्मेदवारले ४४ भोट ल्याएका थिए । त्यसैले नि प्रमाणीत हुन्छ कि म जनताले रुचाएको व्यक्ति हुँ भन्ने । अर्को कुरा मैले जे जति विषय वस्तु उठान गरे ति मेरो एजेण्डा हो मेरो पार्टीको समृद्ध नेपाल सुखी नेपाली बनाउने र दुरगामी महत्व राख्ने एजेण्डा हुन् । चुनाव नीति र एजेण्डाले जित्ने हो मसल र मनीले होइन । ढुक्क हुनुहोस मेरो जित सुनिश्चित छ ।
प्रश्न :– तपाई काठमाडौंमा होटल चलाएर बस्ने व्यक्तिले चुनाव जीते पनि नजिते पनि सञ्जय स्थायी रुपमा जिल्लामा बस्दैनन् भोट दिएर के गर्ने भन्दै कुरा गरेको सुनियो, यस विषयमा घरपझोङका मतदातालाई स्पष्ट पारिदिनुहोस न ।
उत्तर :– पहिलो कुरा यसै गाउँपालिकाको वडा नं. १ चिमाङको पुख्र्यौली बासिन्दा हु । मेरो गाउँमा कृषि कर्म गरी मनग्ये खान पुग्ने जग्गा जमिन छ । खेती लगाउने सिलसिलामा आउने जाने सँधै गरीरहन्छु । दोश्रो कुरा पेशा व्यवसायको हिसाबले जिल्ला बाहिर केही वर्ष अगाडीदेखि बसेको पनि हो । तर पनि राजनीतिक र सामाजिक कार्यको हिसाबले हाल सम्म मुस्ताङ कहिल्यै छाडेको छैन र छाड्दीन पनि । मुस्ताङ सँग जोडिएर मुस्ताङका जनता र पार्टी नेता कार्यकर्ताहरु सित सहकार्य गर्दै सँगै छु सँधै जसो । म दुई वर्ष अगाडी देखि मुस्ताङमा आई स्थायी रुपले बसेर राजनीतिक र सामाजिक कार्यमा खटीन खोजको भए पनि तत्कालिन अवस्थामा कोभिड–१९ ले गर्दा त्यो तत्काल सम्भव भएन । तरहाल आएर मेरो मुस्ताङआइ स्थानीयवासीको सेवा गर्ने तिब्र अभिलासालाई नेकपा एमालेले पुरा गराईदिएको छ । पछिल्लो समय पटकपटक जिल्ला आएर यहाँ बस्ने माहौल मिलाउनका लागि प्रयास गर्दै आएको र अहिले यही बसी रहेको अवस्थामा मेरो जन सेवा गर्ने चाहनालाई अहिलेको चुनावले थप मजबुत बनाएको छ । मेरो चाहनालाई नेकपा एमालेले उच्च सम्मान गरेको छ भने जनताले त्यो मेरो चाहनालाई मूर्त रुप दिनका लागि मलाई जिताउनुहुनेछ । मैले चुनावमा होमीदै गर्दा जित हार स्वभाविक हो तर पनि म यही क्षेत्रको नागरिक हो र यही क्षेत्रमा बसेर काम गर्ने मेरो इच्छालाई जनताले पनि साथ दिनु हुनेछ । घरपझोङबासी आदरणीय आमा बुबा, दाजुभाई दिदी बहिनीलगायत समस्त मतदाताहरुको हातमा हात मिलाएर यही निरन्तर काम गर्ने मेरो चाहना हो र त्यही गर्ने हो पनि । त्यसैले कसैले मेरो पक्षमा बनेको माहौल देखेर अत्तालिएर केहीले यहाँ बस्दैन भनेर भ्रम फिजाएको हुन सक्लान् तर त्यो यथार्थ होइन । म यहीको नागरिक हो र यही ठाउँमा बसेर जनताको सेवा गर्ने हो ।
प्रश्न  :– अन्त्यमा तपाई गाउँपालिकाका मतदालाईहरुलाई केही भन्न चाहनुहुन्छ?
उत्तर :– यही बैशाख ३० गते सम्पन्न हुन गईरहेको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट यस घरपझोङ गाउँपालिकामा अध्यक्ष पदको उम्मेदवारको रुपमा म सञ्जयकुमार थकाली र उपाध्यक्षमा मिमकुमारी शेरचनलगायतका वडा अध्यक्ष, सदस्य समेत पार्टीका उम्मेदवार टिमलाई सात कोठा भित्र मतदान गरी अत्यधिक मतले बिजयी गराई घरपझोङ गाउँपालिकाको चौतर्फी विकास एवम् नेकपा एमालेको आफ्नो गाउँ आफै बनाउँ भन्ने मूल मन्त्रलाई साकार पार्न सम्पूर्ण घरपझोङ बासी आदरणीय मतदाताहरुमा हार्दिक अपिल गर्दछु । मलाई एमालेले आफ्नो तर्फबाट उम्मेदवार बनाएको हो तर म घरपझोङ गाउँपालिकाको उम्मेदवार हो र म पार्टी भन्दा पनि माथि उठेर राष्ट्रियता र जनसेवालाई मुख्य मर्म मानेर अगाडी बढ्नेछु । यस लोकप्रिय अनलाइनले पनि मेरो र मेरो पार्टीको धारणा मतदाता समक्ष पुर्याउन अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दछु ।

मङ्लबार, बैशाख २०, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...