आफूलाई कहिले बनाउने ?

हामी प्रायः अरुको बारेमा चिन्ता गर्छौं- यो यस्तो, उ उस्तो, यसले यसो गऱ्यो, उसले त्यसो भन्यो… ! जिन्दगीमा अरुलाई दोष दिएका घटनाहरू हाम्रावरिपरि धेरै छन् । पहिला-पहिला कसले के गऱ्यो, किन गऱ्यो भन्ने कुराको बढी चर्चा हुन्थ्यो भने हिजोआज कसले किन बोल्यो या लेख्यो, कसले किन बोलेन या लेखेन भन्ने विषयमा पनि चिन्ता लिन थालिएको छ । विगतमा मान्छे भेटेरै कुरा सुन्नुपर्ने भएकाले आफूवरिपरिकै भए पनि मानिसका विचार सुन्न महिनौँ कुर्नुपर्थ्यो । अहिले सामाजिक सञ्जालले हामीलाई एकर्काका सोचहरू सहजै बुझ्न सक्ने बनाइदिएको छ । केही घटना हुनासाथ कतिपय मानिस संस्था, समूह या ब्यक्तिको नाम लिँदै ‘यस्तो घटना हुँदा यिनीहरू के हेरेर बसेका छन् ?’ भनी लेख्ने/बोल्ने गर्छन् । कुनै घटनाविशेषलाई आधार मानेर सामाजिक सञ्जाल अध्ययन गर्ने हो भने यो घटनामा मैले यसो गरेँ, यहाँहरूले पनि यस्तो गरिदिनुभयो भने सहयोग पुग्छ भन्ने ज्यादै कम र अरुलाई आक्षेप लाउनेहरूको सङ्ख्या ठुलो छ । यसरी प्रहार गरिन्छ मानौं सम्बन्धित पक्ष या ब्यक्तिलाई घटना हुँदैछ भन्ने कुरा पहिल्यै थाहा थियो । त्यही काम गर्न उ ठिक्क परेर बस्नुपर्ने थियो तर बसेन !

केही दिनअघि पत्रकारसँग सम्बन्धित एउटा घटना बाहिर आएको पच्चिस मिनेटजतिमा एक परिचितले स्टेटस लेखे- ‘यत्रो घटना भइसक्यो पत्रकार महासङ्घ के हेरेर बसेको छ ?’ मैले उनलाई इनबक्समा लेखेँ- ‘पत्रकार महासंघ भनेको त्यसका पदाधिकारी हुन्, कोही कता कोही कता होलान्, पहिला उनीहरूले घटनाको बारेमा जानकारी पाउनु पऱ्यो, त्यसपछि यो विषय के हो भनेर बुझ्नुपऱ्यो, यसमा के गर्न सकिन्छ ? भनेर पदाधिकारीहरूबीच छलफल गर्नुपऱ्यो । कतिपय घटनामा अपराधको प्रकृति हेरेर कुनै कुरा सार्वजनिक गर्नुअघि अन्य सतर्कता अपनाउनुपर्ने पनि हुन सक्छ । आलोचना गर्न कति हतार गर्नुभएको ?’ जवाफमा उनले भने- ‘हुन त हो तर बोल्नुपऱ्यो नि !’ केही नबुझी हतारमा बोल्नुभन्दा बुझेर सम्बन्धित पक्षले न्याय पाउने गरी ‘एक्सन’मा जानु राम्रो होइन र ? यो प्रश्नपछि संवाद बन्द भयो ।

अरुलाई राम्रो बनाउन, परिवर्तन गर्न, सुधार्नमा हामीलाई रुचि धेरै छ । अरुको बानी सुधार्ने बारेमा लेख्दै गर्दा त्यहीँ कतै हामी लेखिरहेका हुन्छौँ, मेरो त बानी यस्तै छ, म त यस्तै हो ! आफूले आफैलाई सुधार गर्न नसक्नेले अरुलाई कसरी सुधार्ने त ? हामी आफूले अरुलाई भन्नैनपर्ने अनेक कुरा भनेर, लेखेर, कसैको आत्मसम्मानमा चोट पुऱ्याएर आफू राम्रो देखिने कोशिस गरिरहेका हुन्छौँ । अरुको बारेमा अनेकौँ कोणबाट सोच्ने हामी आफ्नो बारेमा भने त्यसरी सोचिरहेका हुदैनौँ । अरुलाई राम्रो बन्न सुझाव दिनुअघि आफैले आफूलाई राम्रो बनाउन आवश्यक हुन्छ । आफूले आफैलाई समय दिएर हेर्नुपर्ने हुन्छ- मेरो एटिच्युट कस्तो छ ? म अरुलाई कस्तो ब्यवहार गर्छु ? अरुको बारेमा के-कस्ता टिप्पणी गर्ने गरेको छु ? मैले अरुलाई प्रयोग गर्ने भाषा सम्मानजनक छ कि छैन ? शब्दहरू कस्ता छन् ? शैली कस्तो छ ? विभिन्न विषयलाई हेर्ने दृष्टिकोण कस्तो छ ? अरुको दुःखमा म दुःखी भइरहेको छु कि खुशी छु ?

कुनै घटनाविशेषलाई आधार मानेर सामाजिक सञ्जाल अध्ययन गर्ने हो भने यो घटनामा मैले यसो गरेँ, यहाँहरूले पनि यस्तो गरिदिनुभयो भने सहयोग पुग्छ भन्ने ज्यादै कम र अरुलाई आक्षेप लाउनेहरूको सङ्ख्या ठुलो छ । यसरी प्रहार गरिन्छ मानौं सम्बन्धित पक्ष या ब्यक्तिलाई घटना हुँदैछ भन्ने कुरा पहिल्यै थाहा थियो । त्यही काम गर्न उ ठिक्क परेर बस्नुपर्ने थियो तर बसेन !

कसैको बारेमा राम्रो सोच्नलाई आफू असल हुनुपर्छ । अरुको बारेमा सकारात्मक सोच्नका लागि आफू सकारात्मक हुनैपर्छ । मनमा नकरात्मक भाव राखेर कसैले ‘तिमी कस्तो राम्रो’ भन्छ भने त्यो भनाइ दीगो रहँदैन । यदि राम्रो भावले भनेको छ भने क्षणिक बुझाइमा यसले त्यसै भन्यो जस्तो लागे पनि ब्यवहारमार्फत दीर्घकालसम्म प्रभाव पारिरहेको हुन्छ ।

आफूलाई राम्रो भन्ने सकारात्मक भाव बोकेको मान्छेले सामान्यतः नराम्रो गर्न सक्दैन । भन्नका लागि भनेको हो भने केही समयपछि नै उसको रूप देख्ने र आफूप्रतिको दृष्टिकोण बुझ्ने अवसर मिलिहाल्छ । आफूलाई राम्रो बनाउन मानिसले निकै मिहेनत गर्नु पर्छ । जथाभावी पोखिन खोज्ने आफ्ना भावनाहरूलाई नियन्त्रण गर्न सक्नु रातारात हुने काम होइन । यसका लागि राम्रा कुराहरूको अध्ययन र सकारात्मक विचार मष्तिष्कमा ल्याउनु आवश्यक हुन्छ । हेर्दा सामान्य झैँ लागे पनि खासमा जिन्दगीको ब्यवस्थापन निकै गाह्रो कुरा हो । शरीर र मनसँग जोडिएका विभिन्न खालका विचार, भावना, उत्तेजना, उर्जालगायतको बहावलाई सामान्य बनाएर जीवन अघि बढाउन सक्नु निकै ठुलो सफलता हो । तपाईंलाई अलि-अलि चिन्ने या चिन्दैनचिन्ने मानिसले भयङ्कर सफल ब्यक्तिका रूपमा हेर्छन् तर वरिपरिका मानिसले भने तपाईं आफ्नो छेउछाउ नभएकै राम्रो महसूस गर्छन् भने त्यो सफलता होइन ।

सफलता धनसम्पत्ति, नाम, मान, ज्ञान या चर्चासँग नभएर आफूवरिपरिका मानिसले कस्तो महसूस गर्छन् भन्ने कुराले निर्धारण गर्छ । तपाईंले रेष्टुरेन्टमा वेटरलाई गर्ने ब्यवहार कस्तो छ ? घरमा सहयोगी भए उनीहरूलाई गर्ने ब्यवहार कस्तो छ ? कार्यालयमा आफ्नो मातहतमा कार्यरत साथीहरूसँग कसरी प्रस्तुत हुनुहुन्छ ? सभा, समारोहमा तपाईं जाँदा या तपाईंले बोल्दा त्यहाँ माहौल कस्तो बन्छ ? कतिपय मानिसले सभा, समारोहमा बोल्दै गर्दा या बोलेपछि बोलाउने मानिसलाई बेकारै बोलाएछु जस्तो हुन्छ । कसैले बोल्दा वरिपरिकोे वातावरण बिषाक्त झैँ बन्छ भने त्यो मानिस जतिसुकै ठुलो पदमा पुगे पनि उ सफल ब्यक्ति होइन ।

जिन्दगीलाई कसरी सहज बनाउने भन्दा कसरी सफल बनाउने भन्ने कुरामा प्रायः हाम्रो ध्यान गइरहेको हुन्छ । सहज हुनु र सफल सफल हुनु फरक कुरा हुन् । सफलता अरुले देख्ने कुरा हो, सहजपन आफूले महसूस गर्ने कुरा हो । भौतिक सुखसुविधाले मात्र जिन्दगी सहज हुँदैन । हामी आफूले आफैलाई बनाउनका लागि आफूलाई केही समय भने दिनैपर्ने हुन्छ । दिनभरी आफूले गर्ने कामको लागि ‘माइण्ड म्यापिङ’ गर्दै गर्दा म केको लागि यो काम गरिरहेको छु ? भनेर सोच्न सकियो भने आफूले गर्नुपर्ने कामको प्राथमिकता आफै निर्धारण हुन्छ । विशेषगरी नेतृत्वमा रहेका मानिसहरूले आफूले गर्न खोजेका, चाहेका काममा प्राथमिकता निर्धारण गर्नु आवश्यक हुन्छ । महत्वपूर्ण कुरा के हो भने अघि-पछिको कुरा हो तर मेरो मृत्यु त निश्चित छ भनेर सोचियो भने अरुले कसले के पाए, के लाए, के खाए जस्ता कुरामा खासै चिन्ता हुँदैन र जीवन आफै सहज भएर जान्छ ।

मृत्युको बारेमा सोच्ने मान्छेका लागि यो पृथ्वीमा आफ्नो उपस्थिति ज्यादै छोटो समयका लागि छ । हरेक मानिसको जीवन कुनै न कुनै सम्भावनाले भरिएको हुन्छ । मानिसको जीवनप्रतिको आशा पनि तिनै सम्भावनाहरू हुन् । जतिसुकै सम्भावनाले भरिए पनि हामीसँग समय भने सीमित छ, त्यसैले अरुलाई राम्रो बनाउनुअघि आफूलाई असल बनाऔँ । कसैले तपाईं र मलाई आफूले चाहेजस्तै बनाउन सक्छ भने त्यो हामी आफै हो । घटना र बिचार बाट

बुधबार, असार १, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...