के हो चर्चामा आइरहेको हेल्थ कार्ड?

डा सुवास प्याकुरेल
भर्खरै सम्पन्न स्थानीय चुनाव जित्नु भएका मेयरज्युहरु अबिर मालासहित कुर्चीमा बस्ना साथको निर्णयमध्ये नागरिकको स्वास्थ्य बीमा गर्ने र हेल्थ कार्ड लागू गर्ने भन्ने पढ्न र सुन्न पाइयो। त्यस्तै, विदेश गएर फर्किएका व्यक्तिहरुले उता के गज्जब देखियो भनी वर्णन गर्दै जाँदा ‘त्यहाँ त जे बिरामी पर्दा पनि एउटा कार्ड बोकेर गए पुग्छ, सबैकुरा त्यसैभित्र देखिन्छ’ भनेर बखान गरेको पनि हामी धेरैले सुनेकै हो। अझ भनौं, नेपालमा नै दशकाैंदेखि एउटा बैंकको कार्डले अर्को बैंकको एटिएम मेसिनबाट अर्डर गरेजति पैसा निकालेकै हो र कार्डवाला बैंकको मेसेज टुङ्ग्टुङ्ग् मोबाइलमा बज्ने गरेकै हो।
खासमा हेल्थ कार्ड के हो?
हेल्थ कार्ड भनेको आफ्नो हेल्थ रेकर्ड राख्न मिल्ने, एउटै कार्डले धेरै अस्पतालमा जाँदा जानकारी र कनेक्सन प्राप्त गर्न मिल्ने र त्यसभन्दा बढी जुनसुकै सुविधा थप गर्न मिल्ने (जस्तो कि एटिएम कार्डको रुपमा, डेबिट कार्डको रुपमा, ट्रान्स्पोर्टेसन कार्डको रुपमा, बीमा कार्डको रुपमा) गरी अस्पताल लगायत अन्य स्वास्थ्य संस्था एवं बीमा कार्यक्रमका सफ्टवेयर वा सिस्टमसँग जोडिएर बस्ने कार्ड नै हेल्थ कार्ड हो। अर्थात, हेल्थ कार्ड भनेको कुनै पनि सम्भाव्य विधि जस्तो कि क्यूआर कोड, चिप्स, रेडियो फ्रिक्वेन्सी आदि मार्फत आफ्नो हेल्थ रेकर्ड भनौं या इलेक्ट्रोनिक मेडिकल रेकर्ड छिर्ने प्रवेशद्वार हो।
कसरी जोडिन्छ त यो कार्ड आफ्नो हेल्थ रेकर्डसँग?
कार्डलाई चिप्स वा क्यूआर कोडको सहायताले त्यस कार्ड वहाक व्यक्तिको युनिक हेल्थ नम्बर (बैंकको अकाउण्ट नम्बर जस्तो अरु कसैसँग नमिल्ने नम्बर हुन्छ, जुन पछि गएर राष्ट्रिय परिचयपत्र नम्बरमा नै मिलान भएर बहुउद्देश्यीय युनिक नम्बर बन्न पनि सक्दछ) मार्फत सुरक्षित तवरले उसको इलेक्ट्रोनिक मेडिकल रेकर्डमा छिर्न सकिन्छ र त्यसमा पहिलो चरणमा कुनै श्रोतबाट भरिएको जति रेकर्ड हेर्न सकिन्छ। प्रकारान्तरमा यस सिस्टमलाई वेब–बेस्ड प्रविधिमार्फत कुनै निश्चित पालिकाभित्रको वा प्रदेशभित्रको वा जुनसुकै अस्पतालको सफ्टवेयरसँग जोड्दै–जोड्दै बैंकको सिस्टम जस्तै गरी राष्ट्रिय स्वास्थ्य प्रणालीमा रुपान्तरित गर्न सकिन्छ।
इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टम भनेको के हो?
अस्पताल बाहिर बसेर सोच्ने हो भने व्यक्ति–व्यक्तिको पहिलेदेखिको मेडिकल रेकर्ड सुरक्षित भएर रहने क्लाउड बेस्ड कम्प्युटराइज्ड रेकर्ड सिस्टम नै इलेक्ट्रोनिक हेल्थ रेकर्ड हो। अस्पतालले भने आफूसँग सेवा लिएका बिरामीहरुको रेकर्ड यसैगरी आफ्नो सफ्टवेयर सिस्टममार्फत त्यही व्यक्तिको हो भन्ने हेक्का रहने गरी कोड नम्बर वा युनिक हेल्थ नम्बर सहित रेकर्डमा राखी चाहिएको बखत खोज्न, हेर्न र तोकिएको अर्को चिकित्सकलाई हेर्न दिने गरी व्यवस्थित ढंगले सुरक्षित गरिने रेकर्ड सिस्टम नै इलेक्ट्रोनिक मेडिकल रेकर्ड हो। सुरु–सुरुमा आफूसँग भएको रेकर्ड राखेर सिस्टम खोली बिस्तारै बिस्तारै अस्पतालहरुसँग जोड्दै जोड्दै त्यहाँ जचाँउन जाँदा उत्पन्न भएका तथ्यांक र जानकारी थप्पिदै थप्पिदै जाने र त्यसैलाई राज्य निकाय, बीमा, अनुसन्धान, हेल्थ टिप्स, टेलिमेडिसिन आदिसँग मिलान गर्दै लान सकिन्छ। मोबाइल एपमा यही सिस्टम लिंक गराई आफ्नो ल्याब रिपोर्ट, औषधि विवरण, हेल्थ टिप्स, औषधि खाने समय रिमाइण्डर जस्ता आवश्यक फिचर सजिलै थप्न–जोड्न सकिन्छ।
यो सिस्टमका फाइदा–बेफाइदा के के हुन सक्छन्?
फाइदा–बेफाइदालाई तराजुमा राख्ने हो भने फाइदाको पल्ला धेरै नै भारी हुन जान्छ। व्यक्ति वा बिरामीको कोणबाट हेर्ने हो भने आफ्नो चिकित्सकीय र स्वास्थ्य रेकर्ड सदैब सुरक्षित रहने भयो, खोजेको बखतमा खोजेकै कुरा तुरुन्तै प्राप्त हुनसक्ने भयो, त्यही जानकारीलाई ग्राफ र चित्रमार्फत विश्लेशणात्मक ढंगले उपलब्ध भै डायग्नोसिस र निर्णय प्रक्रियामा सहज हुने भयो। आखिर एक्सरे वा सिटी स्क्यानको कहिल्यै नगल्ने खालको त्यो प्लेट किन चाहियो? डस्ना मुनि वा दराजमाथि चाङ्ग बनाएर राख्यो, अस्पताल लग्दा कसको कुन, कहिलेको कुन? बेकार फोहोर उठाउन, ग्रहण हेर्न दुरुपयोग मात्र र राज्यको पैसा हुरहुरी त्यही किन्न विदेशतिर पठाउन मात्र।
यस्तै रेकर्ड सिस्टमले सबै कुरा सही समयमा सही तवरले हेर्न मिलिहाल्छ। चिकित्सक, नर्स वा अस्पतालको कोणबाट हेर्ने हो भने आफूले हेर्ने वा हेरेको बिरामीको सही सुचना प्राप्त हुनसक्दा डायग्नोसिस र उपचारसम्बन्धी निर्णय प्रक्रिया तार्किक हुने भयो, नछुट्ने भयो। आर्टिफिसियल इन्टेलिजेन्स जोड्न सकेको दिनमा त अझ सिस्टमले नै सम्झाइदिने भयो, यो टेस्ट पठाउनु पर्नेछ भनेर। यसो हुन सक्दा अस्पतालमा हुन सक्ने गाली,गलौज, झैँ–झगडा पनि न्यूनीकरण हुने भयो। सुरुको लगानीलाई आँखा चिम्लने हो भने स्वास्थ्य सेवातर्फको राज्य, अस्पताल, पालिकदेखी व्यक्तिसम्म सबैको पैसा हरतरहले जोगीने भयो। कागज त जोग्गीने नै भयो। विविध कारण र कठिनाइले गर्दा सबैले एकैचोटी यस्तो सुविधा प्राप्त गर्न सम्भव नहुनु, सूचना चुहावट वा दुरुपयोग हुन सक्नु, कार्ड हराएर नम्बर बिर्सिएमा समस्या हुनु जस्ता दुर्गुण भने यसले व्यहोर्दछ।
कस–कसले लागू गर्न सक्छन हेल्थ कार्ड सिस्टम?
अस्पताल, क्लिनिक, फार्मेसी, ल्याबजस्ता कुनै पनि स्वास्थ्य संस्थाबाट सुरु गर्दै यस सिस्टमलाई सियो–धागो मान्दै माला गास्दै नेटवर्क बढाउदै लान सकिन्छ। हो, व्यक्ति–परीवार र आफन्त सर्कलले चाहेर मात्रै चाँही यो सिस्टम लागु हुन नसक्ला। पालिका, प्रदेश वा देशले नै चाहँदा भने यो सिस्टम छिट्टै लागु हुन सक्दछ। कार्डको रुप–रंग कस्तो भन्ने सरोकार रहन्न, भरतपुर महानगरले नारायणी नदी वा गैडाको ब्याकग्राउण्ड राख्न सक्ला, गोकर्णेश्वर नगरपालिकाले मन्दिरकै, जसरी बैंकपिच्छेको कार्ड फरक फरक देखिन्छ। तर खाट्टी विषय भने नेटवर्किङ्ग हुन सक्ने क्लाउड सिस्टम र एकआपसमा बातचित गर्न सक्ने सफ्टवेयरको प्रयोगको हो। धुलिखेल अस्पतालले आफू र आफ्नो आउटरिच सेन्टरलाई एकै नेटवर्कमा ल्याउन यो पद्दति प्रयोग गर्न सक्ने भयो भने निजि क्लिनिक चेनले पनि आफ्ना सबै क्लिनिकलाई एउटै मालामा उन्न सक्ने भए। सेवाग्राहीले भने सुरुमा आफ्नो पालिकाको र एउटा–दुइटा आफूलाई आवश्यक अस्पतालको कार्ड बनाएर राख्नुपर्ने हुनसक्छ। जस्तैः धेरै बैंकमा खाता भएर पनि एटिएम कार्ड भने एउटै मात्र बोकेर सबैतिर कामगर्न मिलेको छ, त्यही रित र विकासक्रम अनुसार कालान्तरमा भने एउटै हेल्थ कार्ड नै देश–भरका लागि मात्र नभई विदेशका लागि पनि कामगर्ने दिन आउने निश्चित छ।
अन्यौल चिर्ने कसले, सुरु गर्ने कहाँबाट?
संघले नियम, कानुन, नियमन, जोड्ने सफ्टवेयरको संचालन, प्रयोग हुने सफ्टवेयरको गुणस्तर निर्धारण र अनुमति प्रणालीमा बढी ध्यान दिनुपर्दछ। प्रदेशले बेलैमा सबै स्वास्थ्य संस्था जोडिँदै जान सक्ने आर्किटेक्चर कोर्ने र भए–नभएको हेर्न सक्दछ भने, पालिकाले आफ्नो सिस्टम लागु गर्न सुरु गरिहाल्न सक्दछ। नेपालमा नै अहिले धेरै सफ्टवेयर निर्माण कम्पनीहरुले यस प्रकृतिको सफ्टवेयर उत्पादन गरिसकेका छन्। जसरी बैंकिङ सेक्टरलाई नेपाली कम्पनी, नेपाली डेभलपर, नेपाल सरकार, नेपाल राष्ट्र बैंक र बैंकहरु मिलेर एउटा उदाहरण पस्किएका छन्, त्यही मोडल नै हेल्थ कार्डका लागि उदाहरण बन्न सक्दछ।
अन्त्यमा,
सबै मिलेर संयोजित रुपमा लागिपर्ने हो भने नेपालमा भएका अस्पताल, डाक्टर, प्रविधी, तीन सरकारको उपस्थितिको सदुपयोग गर्दै विदेशमाझैँ झन्झटरहित स्वास्थ्य सेवा प्रवाह हुने दिन हेर्न अब धेरै कुर्नु पर्दैन, नेपालले नै छिट्टै विदेशको अनुभूति दिलाउन सक्दछ हेल्थ कार्ड सिस्टम मार्फत। स्वास्थ्य खबरबाट साभार

शनिबार, असार ४, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...