द्वैध चरित्रले भयो जर्मनी विभाजन

डेभ रस 

जर्मनीलाई भोगचलनका आधारमा चार क्षेत्रमा विभाजित गर्ने अस्थायी उपाय अन्ततः शीतयुद्धमा एक राष्ट्र विभाजनको कारण बन्यो । जतिबेला सन् १९४५ मे ८ मा मित्रराष्ट्रहरू युरोपमा जितको विजय दिवस मनाइरहेका थिए बेलायती सैनिक कमान्डर बर्नार्ड ल मन्टगोमरीले आफ्ना सैनिकलाई सचेत गराउँदै भने, “हामीले जर्मनीसँगको युद्ध जितेका छौँ । अब हामीले शान्ति हासिल गरौँ ।”

दोस्रो विश्वयुद्धमा जर्मनीले बिनासर्त आत्मसमर्पण गर्नु महिनौँ पहिले मित्रराष्ट्र गुटका मुख्य तीन शक्ति अमेरिका, ब्रिटेन र सोभियत सङ्घका प्रतिनिधिबीच जर्मनीको भविष्य बारे छलफल गर्न याल्टा सम्मेलनमा भेटघाट भएको थियो । उनीहरू सबै प्रथम विश्वयुद्धपछि जे–जस्ता घटना भए तिनको पुनरावृत्ति नहोस् भन्न चाहन्थे, जुनबेला प्रथम विश्वयुद्धपछिका दिनमा आर्थिक व्यवस्था धराशायी भएर राष्ट्रवादी रोष जागृत भयो र अतिवादी राजनीतिक दल नाजीको उदय हुन पुग्यो ।

दोस्रो विश्वयुद्धपछि जर्मनको अवस्था अत्यन्त खराब थियो । मित्रराष्ट्र गुटको बम वर्षाबाट सहरका सहर नष्ट भएको हुँदा लाखौँ मानिस घरवारविहीन भएका थिए । त्यसमाथि सोभियत सङ्घले निष्कासन गर्दा पोल्यान्ड र पूर्वी प्रसियामा बसोबास गरिरहेका लाखौँ जर्मनेलीले शरणार्थी बन्नु प-यो । जर्मनीको अर्थतन्त्र र सरकारसमेत अस्तव्यस्त भएको हुँदा मित्रराष्ट्रहरूले नाजी पतनपश्चात् आइपर्ने सङ्क्रमणकालीन अवस्थामा शान्तिपूर्ण निकासको सुनिश्चितता गर्न जर्मनीमा कब्जा गर्नु आवश्यक रहेको निष्कर्ष निकालेका थिए ।

मित्रराष्ट्रहरूले कहिल्यै सोचेका थिएनन्, आफूहरूले मित्र समूहका फरक सैन्य शक्तिका आधारमा चार भाग लगाएर जर्मनीमाथि अस्थायी रूपमा भोगाधिकार कायम गर्ने कदम अन्ततः जर्मनी विभाजनको कारण बन्नेछ ।

अमेरिकन आर्मी सेन्टर अफ मिलेटरी हिस्ट्रीका एक इतिहासवेत्ता थोमस बोगहार्ट भन्छन्, “समयका साथ शीतयुद्धले सोभियत सङ्घ र पश्चिमा मित्रराष्ट्रबीचको विश्वास समाप्त हुँदा ती अधिपत्य क्षेत्र सङ्गठित भएर दुई फरक जर्मनी स्थापना भए ।”

सन् १९४५ जुलाईमा ‘बिग थ्री’ अर्थात मित्र गुटका प्रमुख तीन राष्ट्रका प्रतिनिधिबीच पोट्सड्याम सम्मेलन भयो । याल्टामा मित्रराष्ट्रबीच एक विस्तृत रूपरेखामा सहमति भएको थियो । जसअन्तर्गत जर्मनीको असैनिकीकरण, लोकतान्त्रीकरण र अनाजीकरणलगायतका प्रस्ताव थिए । युद्ध औपचारिक रूपमा समाप्त भएसँगै अधिनस्थ जर्मनीमाथि मित्रराष्ट्रले आफ्नो कार्ययोजना थालनीका लागि कम्मर कस्नुपर्ने बेला भयो ।

मित्रराष्ट्रहरूले युद्धपछि जसरी अस्ट्रियामा सत्ता व्यवस्थापनको अभ्यास गरेका थिए त्यसको विपरीत पोट्सड्याममा के निर्णय गरियो भने जर्मनीलाई चार विशिष्ट क्षेत्रमा विभाजन गरी अस्थायी अवधि शासन विधि सञ्चालन गर्ने । फ्रान्ससहित ‘बिग थ्री’ का राष्ट्रलाई जर्मनीका चार हिस्सा भाग लगाउँदा ब्रिटेनले उत्तर पश्चिम, फ्रान्सले दक्षिण पश्चिम र अमेरिकाले दक्षिणपूर्वको जिम्मेवारी पाए । सोभियत सङ्घले पहिले नै जर्मनीको पूर्वी क्षेत्रका धेरै भाग कब्जा गरिसकेको हुनाले उसलाई उत्तर पूर्वको जिम्मेवारी दिइयो, जसमा राजधानी बर्लिनसमेत पर्दथ्यो । बर्लिन स्वयंलाई समेत चार भागमा विभाजित गरेर ब्रिटेन, अमेरिका, फ्रान्स र सोभियत सङ्घलाई आ–आफ्नो किसिमले नगर व्यवस्था गर्ने भए । जबकि बर्लिन पूर्ण रूपमा सोभियत सङ्घ शासित क्षेत्रले घेरिएको थियो ।

बोगहार्टद्वारा लिखित पुस्तक ‘कोभर्ट लिजन्स : यूएस आर्मी इन्टेलिजेन्स इन जर्मनी, १९४४–१९४९’ मा उल्लेख गरिएको छ ‘पोट्सड्याम सम्मेलनमा कस्तो विचार बनाइएको थियो भने अलाइड कन्ट्रोल काउन्सिल नामको केन्द्रीय नियोगले संयुक्त निर्देशन जारी गर्ने र त्यसलाई तल्लो तहमा मित्रराष्ट्रहरूले आ–आफ्नो शासित क्षेत्रमा कार्यान्वयन गर्ने । दुष्टात्मा त्यसैमा थियो । जति लामो अवधि मित्रराष्ट्रहरूको स्वशासन चल्यो त्यसले स्पष्ट भयो यस व्यवस्थाले काम गरिरहेको छैन ।’

आरम्भदेखि सोभियत सङ्घले आफ्नो शासित क्षेत्रमा ब्रिटेन, फ्रान्स र अमेरिकाको भन्दा बेग्लै ढङ्गले व्यवस्था सञ्चालन ग-यो ।

“सोभियत सेना र रुसी नागरिकले युद्धका बेला नाजीको हातबाट अतिशय क्षति बेहोरेका थिए । यसै कारण जब अनाजीकरण सम्बन्धमा संयुक्त निर्देशिका कार्यान्वयन गर्ने समय आयो, उदाहरणका लागि उनीहरूले नाजी अधिकारीहरूलाई मात्र पक्राउ गरेनन् जर्मनीका प्रमुख जमिन्दारलाई समेत नाजी मानेर व्यवहार गरे । यस कारण ती जर्मनको जमिन खोसियो,” बोगहार्टले भनेका छन् ।

संयुक्त निर्देशिकामा के पनि भनिएको थियो भने स्व–शासनका लागि छुट्याइएका हरेक क्षेत्रमा स्वतन्त्र र लोकतान्त्रिक निर्वाचन विधि स्थापित गर्ने । सतही रूपमा त सोभियत सङ्घले आफ्नो शासित क्षेत्रमा स्वतन्त्र राजनीतिक दलहरू स्थापना गर्न दियो तर सोभियतले चाँडै ती सबै दललाई मास्कोद्वारा नियन्त्रित हुने गरी आपसमा समाहित भएर कम्युनिस्ट गठबन्धन बनाउन बाध्य पा¥यो । सोभियत सङ्घको यस कदमको पश्चिमा मित्रराष्ट्रले निकै आलोचना पनि गरे तर उसको कदम रोकिएन ।

तर सोभियत सङ्घ र जर्मनीमा तोकिएको क्षेत्रमा आफ्नो शासन चलाइरहेका अन्य राष्ट्रबीच वास्तवमा ठूलो मनमुटाव त्यतिबेला आयो जब युद्धको हर्जानाको विषय उठ्यो । पहिलो विश्वयुद्धपछि जर्मनीको अर्थतन्त्र धराशायी हुनुको एक मुख्य कारण थियो पराजित भएको जर्मनीले भर्साइको सन्धिबमोजिम अर्बौं अमेरिकी डलर हर्जाना तिर्नुपर्ने भयो । ब्रिटेन, फ्रान्स र अमेरिका अब त्यस प्रकारको गल्ती नदोहोरियोस् भन्ने चाहन्थे तर दोस्रो विश्वयुद्धमा जर्मनीको हमलाका कारणले आफ्नो अर्थव्यवस्था तहसनहस भएको भन्दै सोभियत सङ्घचाहिँ जर्मनीले हर्जाना दिनुपर्ने माग तेस्र्याएर अडियो ।

आठ वर्षसम्म त्यहाँ कमजोरी रह्यो । जो पूर्वी जर्मनीबाट पलायन हुन चाहन्थे उनीहरूलाई धेरै नै सहज थियो । यसका लागि तपाईंले गर्नुपर्ने काम भनेको पूर्वी जर्मनीको सबवेमा प्रवेश गर्ने र पश्चिम जर्मनीमा ओर्लने, बस यति गर्नुपथ्र्यो ।

विवादबीच एक सम्झौता भयो, सोभियत सङ्घले आफ्नो शासित क्षेत्रमा फलाएका अन्नपातको व्यापार गरी नगदका रूपमा हर्जाना असुल गर्ने तथा पश्चिमाहरूद्वारा शासित क्षेत्रमा रहेका जर्मनीका उद्योगबाट मालवस्तु उत्पादन गर्ने तर सोभियत सङ्घले आफ्नो कृषि उत्पादनको आपूर्ति भनेअनुसार गर्न नसकेपछि पश्चिमा राष्ट्रले हर्जाना रकम भुक्तानी बन्द गरिदिए ।

सन् १९४६ मा रोमानिया, बुल्गेरिया, युगोस्लाभिया र अल्बानियामा कम्युनिस्ट शासन व्यवस्था स्थापनामा सोभियत सैन्य शक्तिको सहयोग भएपछि मनमुटाव झनै बढेर गयो । ब्रिटेनका तत्कालीन प्रधानमन्त्री विस्टन चर्चिलले आफ्नो एक प्रसिद्ध मन्तव्यमा सोभियत साम्यवादको खतरालाई ‘आइरन कर्टेन” अर्थात् फलामे पर्दाका रूपमा व्याख्या गरे । उनका अनुसार यो व्यवस्था सम्पूर्ण युरोप महादेशमा अवतरित हुँदै थियो र यो शीतयुद्ध थालनीको सङ्केत थियो । अब जर्मनीमा आ–आफ्नो क्षेत्रमा शासन गरिरहेका पश्चिमा राष्ट्रहरू र सोभियत सङ्घबीच सहयोगको सम्भावना तीव्र रूपमा क्षीण हुँदै गयो ।

सन् १९४७ मा ब्रिटेन र अमेरिकाले आ–आफ्ना शासित क्षेत्रमा आर्थिक सहयोग थप सुदृढ बनाउन आफ्ना क्षेत्रलाई आपसमा समाहित गर्ने निर्णय गरे । यसरी बनेको नयाँ ठूलो क्षेत्रलाई बाइजोनिया भनियो । यसले ती दुई क्षेत्रको प्रतिनिधित्व गर्दथ्यो जो यिनको सीमाबाट बनेको थियो ।

पश्चिमा राष्ट्रले थप कदम अगाडि बढाउँदै मार्सल प्लानअन्तर्गत बाइजोनियालाई आर्थिक सहायता तथा फ्रान्स शासित क्षेत्रलाई नगद सहयोग उपलब्ध गराउने काम भयो । उनीहरूले जर्मनीको नराम्रोसँग स्फ्रीति भएको मुद्रा राइक्समार्कलाई समेत परिवर्तन गरिदिए । नयाँ तथा बढी स्थिर मुद्रा डोइच मार्क प्रचलनमा ल्याइयो । यी सबै कार्य सोभियत सङ्घको सहमतिबेगर गरिएका थिए ।

जब पश्चिमा राष्ट्रहरूले बर्लिनमा नयाँ मुद्रा डोइच मार्क प्रचलनमा ल्याउने कोसिस गरे विवाद शिखरमा पुग्यो । सोभियत सङ्घले अलाइड कन्ट्रोल काउन्सिल बहिष्कार ग¥यो तथा पश्चिमा राष्ट्रहरू सोभियत सङ्घको मागमा टेरपुच्छर लगाएनन् जोसेफ स्टालिनले बर्लिनमा पूर्णतया नाकाबन्दी लगाउन आदेश दिए । बर्लिन सोभियत शासित क्षेत्रमा एक सय ६० मिलोमिटर भित्र पर्दथ्यो ।

बोगहार्टले पुस्तकमा भनेका छन्, “सोभियत क्षेत्रमा बर्लिन एक टापुसरह छ । स्टालिनले पश्चिमा गुटलाई जहाँ ती कमजोर छन् त्यसैमा प्रहार गरे । उनले पश्चिम बर्लिन जाने सबै मार्ग बन्द गरिदिए, रेल र पानीजहाज समेत बन्द गरिए तर हवाई सेवा जारी रह्यो ।”

सोभियत क्षेत्रमा बर्लिन एक टापुसरह छ । स्टालिनले पश्चिमा गुटलाई जहाँ ती कमजोर छन् त्यसैमा प्रहार गरे ।

अमेरिका, ब्रिटेन र फ्रान्सले हवाई उद्धार व्यापक स्तरमा सञ्चालन गरेर सोभियत नाकाबन्दीलाई प्रतिउत्तर दिए । एक महिना लामो अभियानमा विमानबाट खाद्यान्न र इन्धन पश्चिम बर्लिनमा झारियो । अन्ततः बर्लिनमा सोभियत सङ्घले लगाएको नाकाबन्दी सन् १९४९ मा तोडियो ।

सोही वर्षपछि फ्रान्सले समेत आफूद्वारा शासित क्षेत्रलाई आधिकारिक रूपमा बाइजोनियामा समाहित गर्ने निर्णय ग-यो । जसबाट स्थापना भयो सङ्घीय गणतन्त्र जर्मनी । जो पश्चिम जर्मनी नामबाट परिचित भयो । सन् १९४९, अक्टोबरमा सोभियत सङ्घले पश्चिम जर्मनी स्थापनाको प्रतिवादमा साम्यवादी राज्य पूर्वी जर्मनी स्थापना गरेर जवाफ दियो ।

सन् १९५२ मा पूर्वी जर्मनीले पश्चिम जर्मनीमा इन्जिनियर, वैज्ञानिक र चिकित्सकलाई विमानबाट जान रोक्न  आफ्नो पश्चिमी सीमामा नियमन गर्न थाल्यो । चाखलाग्दो कुरा के थियो भने बर्लिनभित्रको सीमामा चाहिँ कडा नियन्त्रण थिएन ।

बेगहार्टको भनाइमा, “आठ वर्षसम्म त्यहाँ कमजोरी रह्यो । जो पूर्वी जर्मनीबाट पलायन हुन चाहन्थे उनीहरूलाई धेरै नै सहज थियो । यसका लागि तपाईंले गर्नुपर्ने काम भनेको पूर्वी जर्मनीको सबवेमा प्रवेश गर्ने र पश्चिम जर्मनीमा ओर्लने, बस यति गर्नुपथ्र्यो ।”

सन् १९६१ अगस्त १२–१३ को राति बर्लिनमा रहेका पूर्वी जर्मनीका सैनिकले कैयौँ किलोमिटर लम्बाइमा काँडेतार लगाइदिए, जो बर्लिन वाल अर्थात बर्लिनको पर्खालका रूपमा परिचित भयो । यसले आगामी २८ वर्षसम्म पश्चिम जर्मनीको सीमा बन्द गरिरह्यो । जुन वाल सन् १९८९ नोभेम्बरमा भत्काएर जर्मनी एकीकृत भयो ।

– हिस्ट्रीबाट उमेश ओझाद्वारा अनुवादित तथा सम्पादित । गोरखापत्र अनलाइनबाट साभार

आइतवार, असार १२, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...