फुटबलमा खिंगा, आर्चरीमा दाना पहिलो

अमृत सुवेदी

हिमालपारीको जिल्ला मुस्ताङको मुक्तिनाथमा आयोजित यार्तुङ मेला–२०७९को अवसरमा भएको फुटबल प्रतियोगितामा मुस्ताङको थोरङ पास युवा क्लब खिङ्गा र आर्चरी खेलमा एरो एण्ड बो क्लब म्याग्दीको दानाले पहिलो स्थान हासिल गरेको छ ।
साउन २३ गते देखि शुरु भएको यार्तुङको अवसरमा आयोजना भएको फुटबल प्रतियोगिताको फाइनलमा बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका–१ खिङ्गाको थोरङ पास युवा क्लबले पहिलो स्थान हासिल गरेको छ । थोरङ पास युवा क्लबले जनहित युवा क्लब‘बि’ जोमसोमलाई शुन्यका बिरुद्ध १ गोलले पराजित गर्दै उपाधि जितेको हो । फुटबल प्रतियोगितामा मुस्ताङ जिल्ला भित्र र बाहिरका गरी १६ टिम सहभागी थिए । प्रतियोगितामा विशिष्ट खेलाडीमा थोरङ पास युवा क्लबका महेश लामा, उच्च गोलकर्ता थोरङ पास युवा क्लबलेका टाटटु सुनुवार, विशिष्ट गोलकिपरमा जनहित युवा क्लब‘बि’का जितेन्द्र चौधरीलाई नगद सहित ट्रफि तथा प्रमाणपत्र प्रदान गरिएको थियो । फुटबल प्रतियोगितामा पहिलो हुनेले ५० हजार दोश्रो हुनेले २५ हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको थियो ।
त्यस्तै सोही अवसरमा आयोजित आर्चरी प्रतियोगितामा अन्नपुर्ण गाउँपालिका–३ दानाको एरो एण्ड बो क्लब पहिलो भएको छ । एरो एण्ड बोले कुल १०३ स्कोर गर्दै पहिलो स्थान हासिल गरेको हो । त्यस्तै फाइभ स्टार क्लब घरपझोङ गाउँपालिका जोमसोमले ९९ स्कोर गर्दै दोश्रो र ९७ स्कोर गर्दै मिलिजुली युवा क्लब मार्फाले तेश्रो स्थान हासिल गरेको बाह्रगुङ मुक्तीक्षेत्र गाउँपालिका–१ का वडा सदस्य पेम्बा छिरिङ गुरुङले बताउनुभयो । गुरुङका अनुसार मनाङका सोनम लामा सवोत्कृष्ट खेलाडी र विशिष्ट खेलाडी म्याग्दी दानाका कुमार पुर्जा हुनुभएको छ ।
आर्चरीमा पहिलो दोश्रो र तेश्रो हुने टिमले ५० हजार, २५ हजार र १५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
मुक्तिनाथको रानिपौवामा आयोजना भएको यार्तुङ मेला २७ गते सकिने छ । हरेक वर्षको जनैपूर्णिमामा स्थानीय संस्कृति सँग जोडिएको यार्तुङको विशेष कार्यक्रम हुने गर्दछ । त्यसैले जनैपूर्णिमाको दिनमा सकिने गरी विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेर पुराङ जनप्रिय युथ कलबले यार्तुङ मनाउन लागेको हो ।
पछिल्ला दुई वर्ष नेपाल सरकारले २५ जना भन्दा बढी मान्छे जम्मा हुने गरी कुने पनि कार्यक्रम गर्नका लागि रोक लगाएको कारणले गर्दा आफूहरुले गर्न नसकेको यार्तुङ यस वर्ष गरिएको गुरुङले बताउनुभयो । यार्तुङ मेला कहिले देखि शुरु भयो भन्ने एकिन नभए पनि परापूर्व काल देखिनै मनाउँदै आएको स्थानियको भनाई छ । मुक्तीनाथ क्षेत्रका झारकोट, पुराङ, खिङ्गा, झोङ, छोङ्गोर, पुटागाउँका गाउँलेहरुले मनाउँदै आएको यार्तुङ मध्ये पुराङ गाउँले रानीपौवामा आयोजना गर्ने यार्तुङलाई त्यस क्षेत्रको विशेष पर्वको रुपमा लिइने गरिन्छ । यार्तुङ मेलामा देश विदेशबाट पर्यटकहरु आएको जनप्रिय युथ कलबका अध्यक्ष उर्केन पाल्देन गुरुङको भनाई छ ।
बर्खायामको खेतीपाती सकेर यार्तुङअघि गाउँका सबै स्थानीयले अन्नबाली थन्क्याइसकेका हुन्छन् । यार्तुङ सकिएलगत्तै बर्खा सकिएर हिउँदयामको झल्को दिन्छ । १६ औं सताब्दीबाट भएको भन्ने आफूहरुले सुनेको भए पनि यार्तुङ मेला निकै पुरानो मध्येको संस्कार रहेको गुरुङको भनाई छ ।
हिमालपारीको जिल्ला मुस्ताङका बासिन्दाहरु वर्षा सकिए पछि हिउँदको चिसो छल्नका लागि बेँसी झर्ने परम्परा नै रहेको छ । यही परम्परा सँगै यार्तुङ पनि जोडिएको स्थानीयको भनाइ छ । जाडो छल्नका लागि बेँसी झर्नु पहिला तीन दिन सम्म रमाइलो गर्ने समय पनि हो यार्तुङ । यार अनि तुङ शब्दको समिश्रण हो यार्तुङ । मुस्ताङको त्यस क्षेत्रमा यार भनेको बर्खा र तुङको अर्थ बर्खाको बिदाई भन्ने बुझीने बताइन्छ ।

 

बिहिबार, साउन २६, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...