माओवादीको पिँढीमा बाबुरामको बास

संविधान जारी भएलगत्तै २०७२ असोज ९ मा एकीकृत नेकपा माओवादी परित्याग गर्दा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भनेका थिए- ‘चुहिएको घरमा फर्केर जाने होइन, नयाँ घर बनाउने हो ।’ काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले पटक पटक संविधान जारी भएपछि पुरानो राजनीतिक दलको औचित्य सकिएको दाबी गरेका थिए । ‘पुँजीवादी क्रान्ति सम्पन्न गर्नका लागि नेकपा माओवादी बनाएका थियौं, अब एउटा कालखण्डको काम पूरा गर्‍यौं’, अब त्यही पुरानो पार्टी अगाडिको दिशामा पुग्दैन; त्यसका लागि नयाँ सोच आवश्यक भइसकेको छ‚’ भट्टराईले भनेका थिए ।

नयाँ सोच र नयाँ घरको कुरा गरेर बाहिरिएका भट्टराई करिब सात वर्षपछि त्यही घरमा ओत लाग्न खोजेका छन् । आउँदो प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि उनले माओवादी केन्द्रकै चुनाव चिह्नमा लड्ने मौखिक सहमति दिइसकेका छन् । अब सोमबार लिखित सहमति गर्ने तयारी छ । वैचारिक रुपमा कम्युनिस्ट विचारधारा छाडेका भट्टराईले अब माओवादीसँगै चुनावी घोषणापत्र जारी गर्नेछन् ।

यसबीचमा आफ्नो राजनीतिक आर्किटेक्टमा नयाँ घर निर्माण गर्न खोजेका थिए । तर‚ त्यसको स्ट्रक्चर नै बनाउन नसकेपछि उनी आफैँले छाडेर हिँडेको घरमा शरण लिने अवस्थामा पुगेका हुन् ।

आइतबारसम्म भएको मौखिक सहमतिमा रातारात कुनै प्रलय नआए अब भट्टराईको चुनाव चिह्न पनि ‘गोलाकारभित्रको हसियाँ हथौडा’ हुनेछ । भट्टराईले एक दशकपछि पुन: ‘गोलाकारभित्रको हसियाँ हथौडा’ चुनाव चिह्नमा चुनाव लड्न लागेका हुन् ।

वैकल्पिक नयाँ राजनीतिक शक्ति निर्माण गर्न भन्दै उनले थालेको अभियानले राम्रोसँग संगठित आकारसमेत ग्रहण गर्न नसक्दै पुरानै धारमा समाहित हुन आइपुगेको छ । यो सात वर्षमा भट्टराईले एउटा चक्र पूरा गरेका छन् ।

संविधान जारी भएको एक सातामै पार्टी छाड्दा भट्टराईले लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर आर्थिक विकास र समृद्धि हुँदै समाजवादको दिशामा जाने अबको नयाँ युग सुरु भएको बताएका थिए । आफ्नो जीवनको महत्त्वपूर्ण समय लगाएर निर्माण गरेको माओवादी पार्टी निर्माणको वैचारिक कार्य पूरा भएको दाबी गरेका थिए ।

अन्तिमसम्म हार खाने होइन, लडिरहनुपर्छ भन्ने व्यक्तिगत स्वभाव भएका उनले असफलताकै बीचमा पनि मैदानमै बसेर एकपछि अर्को प्रयोग गर्ने गरेका छन् । पार्टी छाड्दा मात्रै नभएर पछि पनि भट्टराई पुरानो राजनीतिक दल तथा उनीहरुले अबलम्वन गर्दै आएको वैचारिक धारको चर्को आलोचना गर्दै आएका थिए । खासगरी कम्युनिस्ट राजनीतिप्रति उनको कडा टिप्पणी हुने गर्दथ्यो । त्यसको औचित्य समाप्त भएको दाबी हुने गर्दथ्यो । तर‚ एकपछि अर्को राजनीतिक प्रयोगहरू असफल भएर शक्ति क्षीण हुँदै गएपछि भट्टराई आफैँले छाडेको मा‌ओवादीकै चुनाव चिह्न लिएर चुनाव लड्न तयार भएका छन् ।

‘उहाँले मैले कम्युनिस्ट पार्टी छाडेँ, मा‌ओवाद छाडेँ, यो रातो स्किटर टाँसेको घर हो भन्दै निस्किनु भएको थियो । हरेक चुनावमा गएर १-२ सिटका लागि गठबन्धन गर्ने काम भएको छ । एउटा वैकल्पिकको ओरिजिनल आइडेन्टिटी निर्माण हुन नदिने यो वामपन्थी अवसरवाद हो‚’ भट्टराईसँग वैकल्पिक राजनीतिकमा अभियानमा जोडिएका डम्बर खतिवडाले भने । गत महिनासम्म खतिवडा भट्टराईकै दलमा रहेका थिए ।

अहिले स्थानमा ल्याइपुर्‍याउन भट्टराईले अभ्यास गर्न खोजेको राजनीतिको असफलताले मुख्य भूमिका खेलेको छ । माओवादी पार्टी छाडेयता नेता भट्टराईले विभिन्न प्रकारको प्रयोग गर्न खोजेका थिए । ती एकपछि अर्को गर्दै असफल हुँदै गए ।

माओवादी केन्द्र परित्याग गरेपछि भट्टराईले आफ्नो नेतृत्वमा नयाँ शक्ति पार्टीको घोषणा गरे । २०७३ जेठ २० मा प्रमुख दैनिक पत्रिकाहरु ‘ज्याकेट एड’ र दशरथ रंगशालामा भव्य कार्यक्रम आयोजना गरेका भट्टराईको नयाँ शक्तिले २०७४ सालको चुनावमा गतिलो प्रदर्शन गर्न सकेन । नयाँ शक्तिको घोषणा सभामा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेक सबैलाई नयाँ शक्तिले धक्का दिने बताएका थिए । तर‚ बाबुरामबारे ओलीको त्यो भविष्यवाणी मिलेन । २०७४ सालको स्थानीय र आम निर्वाचनमा उनको पार्टीले कसैलाई धक्का दिन त के डेग चलाउनसम्म सकेन । नेपाली कांग्रेससँग चुनावी गठबन्धन गरेका भट्टराईको पार्टी गोरखाबाट आफ्नो सिट र प्रदेश सभामा तीन स्थान सुरिक्षत गरे पनि राष्ट्रिय दल बन्न असफल नै रह्यो ।

२०७४ मा विभिन्न चरणमा सम्पन्न निर्वाचनमा स्थानीय तहमा १ सय १०, प्रदेशसभामा ३ जना उम्मेदवार विजयी भएका थिए । त्यसमध्ये पनि रसुवाबाट बागमती प्रदेश सभामा चुनाव जितेका प्रेम तामाङ कांग्रेसमा प्रवेश गरिसकेका छन् ।

यसबीच भट्टराईले उपेन्द्र यादव तथा अशोक राईसँग मिलेर वैकल्पिक शक्ति निर्माण गर्ने कोसिस गरेका थिए । संविधानसभाबाट जारी गरिएको संविधानमा मधेसी, थारु, आदिवासी जनजाति, दलितलगायत विविध समुदायको कतिपय असन्तुष्टि कायमै रहेको स्थितिमा तिनलाई सम्बोधन गर्ने गरी आवश्यक संशोधन गर्नुपर्ने भट्टराईको मत रहँदै आएको छ । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली एवं पूर्ण समानुपातिक संसद् नै सर्वोत्तम विकल्प हो भन्ने मान्यता अगाडि सारेका छन् । संविधान जारी हुँदा नै उनले उक्त संविधानलाई आधा भरिएको गिलास भनेका थिए । संविधानलाई हेर्ने आलोचनात्मक दृष्टिकोणकै कारण भट्टराईप्रति मधेसी दलहरू उदार थिए । जसले मधेसी दलभित्रै भट्टराई स्वीकार्यता बढाएको थियो ।

यादव र राईको संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच ०७६ वैशाख २२ मा नेपालमा नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको घोषणासहित पार्टी एकता भयो । त्यसमा भट्टराईले प्रमुख तीनवटा क्लस्टर खस-आर्य, जनजाति र मधेसको नेतृत्वमा अघि बढ्ने धारणा राखेका थिए । त्यसैअनुसार पार्टी अध्यक्षमा मधेसीमूलका उपेन्द्र यादव, खस-आर्यका बाबुराम भट्टराई संघीय परिषद् अध्यक्ष र आदिवासी जनजातिका अशोक राई वरिष्ठ नेताको रुपमा रहे । भट्टराईको यो राजनीतिक अर्किटेक्ट ३ वर्षभन्दा लामो समयसम्म टिक्न सकेन । यादव र राईसँग गत महिना भट्टराई छुट्टिएका छन् ।

यसबीचमा २०७७ को सुरुमै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर संघीय समाजवादी फोरम विभाजन गर्न खोजेपछि त्यसलाई रोक्न महन्थ ठाकुर र राजेन्द्र महतोको राष्ट्रिय जनता पार्टी (राजपा)सँग उनले रातारात एकीकरण गरेका थिए । जनता समाजवादी पार्टीको गठनले फोरमको सम्भावित विभाजनलाई रोके पनि ठाकुर र महतोसँगको सहकार्य एक वर्ष पनि चल्न सकेन । ठाकुर र महतोले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनाए । त्यसको एक वर्ष नपुग्दै जसपामा समेत विभाजित बन्न पुग्यो । यादव र भट्टराईले फरक फरक पार्टीको नेतृत्व गरे । जसपाबाट बाहिरिएका भट्टराई र महिन्द्र राय यादव दुई जना अध्यक्ष रहने व्यवस्थासहित नेपाल समाजवादी पार्टी (नेसपा) गठन गरेका छन् । सोही नेसपा साझा घोषणापत्र जारी गर्दै माओवादी केन्द्रको चुनाव चिह्नमा उम्मेदवार हुन तयार भएको हो ।

वैशाख ३० मा भएको स्थानीय चुनावले उनको गृह जिल्लामा भएको प्रदर्शनले पनि त्यसतर्फ लगेको देखिन्छ । स्थानीय तह चुनावमा ११ स्थानीय तहमध्ये माओवादी केन्द्रले ९ जित्न सफल भयो भने कांग्रेस २ पालिकामा समेटिन पुगेको छ । भट्टराईका लागि कांग्रेस र आफ्नो शक्तिले मात्रै गोरखा आगामी प्रतिनिधिसभा चुनाव जित्न कठिन हुने देखिन्छ।

जसपामा विवाद चर्किँदै गर्दा भट्टराई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि संवादमा रहेका थिए । तर गोरखामा पहिलेदेखि नै कमजोर जनाधार भएको राजनीतिक दल हो । भट्टराईले आफ्नै गृह नगरपालिका पालुङटारमा एमाले तामलेमबाट गर्न खोजेको प्रयोग असफल भयो । त्यस समयमा भट्टराई पाँच दलीय गठबन्धनमै रहेका थिए ।

भट्टराईको राजनीतिक यात्रा करिब चालीस वर्षको छ । ०३९ सालमा कम्युनिस्ट पार्टी सदस्यता, मोहनविक्रम सिंह नेतृत्वको चौममा सक्रिय, पछि नेकपा (मसाल), ०४८ सालमा मसालबाट विद्रोह गरेर नेकपा (एकता केन्द्र)सँग एकता गरे । ०५१ सालदेखि नेकपा माओवादीमा ०५२ सालबाट सुरु जनयुद्धको नेतृत्व तहमा बसेर काम गरे । उनी ०६५ सालदेखि एकीकृत माओवादीको उपाध्यक्ष, ०६८ असोज १२ देखि ०६९ फागुन ३० सम्म प्रधानमन्त्री बने । ०७२ असोज ३ मा संविधान जारी भएलगत्तै ९ असोजमा एमाओवादी पार्टी र संसद् सदस्य पद त्यागे । ०७३ जेठ ३० मा काठमाडौं रंगशालाबाट नयाँ शक्ति पार्टी गठनको घोषणा गरे । दुईवटा संविधानसभामा (०६४ र ०७० सालमा) गोरखाबाट निर्वाचित भए । ०७४ को संसदीय निर्वाचनमा नयाँ शक्ति पार्टीका तर्फबाट (कांग्रेस सँगको तालमेलमा) गोरखाबाटै निर्वाचित भए ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ ले २ वा २ भन्दा बढी राजनीतिक दललाई एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था गरे पनि चुनाव पछि फरक अस्तित्वमा पार्टी सञ्चालन गर्ने व्यवस्थामा भने जटिलता रहेको छ । त्यसले अन्ततोगत्वा पुर्‍याउने भनेको पार्टी एकता नै हो । मणि दाहालले कान्तिपुर अनलाइनका लागि तयार पारेको सामग्री

आइतवार, साउन २९, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...