सरकारी अस्पतालले जिल्लामै दिएको खुशी

अमृत बास्कुने
मुस्ताङको थासाङ गाउँपालिका–३ घर भएका मनिस र अनिता परियारले सदरमुकाम जोमसोममा कोठा लिएर बस्न थालेको १५ दिन भएको थियो । गर्भवती श्रीमती अनितालाई डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार होस र सजह तबरले सुत्केरी गराउन सकियोस भनेर मनिसले अस्पतालमा नियमित चेक जाँच सहित जोमसोम बस्दै आउनु भएको थियो । साउन २५ गते सुत्केरी हुने समय चिकित्सकले दिएको भएपनि सुत्केरी ब्यथा नलागेपछि एमडीजीपी डाक्टर कुन्दन कर्णसँग परामर्स लिँदा सल्यक्रिया गर्नु परे पनि जिल्लामै हुने भने पछि ढुक्क भएर परियार दम्पत्ती जोमसोम बस्दै आउनु भयो । साउन २९ गते आइतबार जब अनितालाई सामान्य ब्यथा लागेको संकेत देखिएपछि अस्पतालमा भर्ना गर्नुभयो पति मनिसले । अस्पतालमा भर्ना गरेको चौथो दिन बिहान सल्यक्रिया गरेर डा.कर्णको टिमले नबजात छोरीको जन्म गराउनुभयो ।


नेत्र सहायक (Ophthalmic assistant)को अध्ययन गरेका मनिसलाई डाक्टर कुन्दन कर्णले सल्यक्रियाका लागि आवश्यक सामग्री सेटअप गरीएकोले जोमसोममै सुत्केरी गराउन सकिने भन्नुभए पछि मनिसले डाक्टरको सल्लाह बमोजिम चुनौती झेल्न तयार हुनुभयो । मनिस भन्नुहुन्छ–म पनि धेरथोर मेडिकल लाइन अध्ययन गरेको हुँदा डाक्टरको भनाई र मेरो बुझाइ पनि मिल्यो अनि चुनौती हुन्छ होला भन्दै पनि यहीँ राख्ने निर्णय गरे । मनिस भन्नुहुन्छ साउन २९ गते सामान्य व्यथा लागेको अनिताले भनिन् र उनको हल्का रक्तश्राब पनि भएको थियो त्यही कारण उही दिन राती अस्पताल भर्ना गरे १ गते बिहानै देखि डाक्टरले प्रयास गर्नुभयो र साढे छ बजे तिर सल्यक्रियाबाट बच्चा निकाल्नुभयो । अहिले आमा बच्चा दुवै सुरक्षित छन्, घर परिवार तथा आफन्तहरुले भिडियो कल गरेर खुशी व्यक्त गर्नुभएको छ, अवस्था मेरो सामान्य छ अनिताको भनाई छ । जिल्लामै सल्यक्रिया गरेरै बच्चा जन्माउन पाएँ यो भन्दा अरु खुशी के होला र ?
निजी क्षेत्रले आँखै नलगाउने दुर्गम तथा हिमालपारीको जिल्ला मुस्ताङमा रहेको एक मात्र सरकारी मुस्ताङ जिल्ला अस्पतालले पहिलो पटक शल्यक्रिया गरेर थासाङ गाउँपालिका–३ का मनिस परियारकी पत्नी अनिता परियारको बच्चा जन्माएको छ । भदौ १ गते जिल्लामै पहिलो पटक सल्यक्रिया मार्फत कुनै पनि प्रकारको उपचार यो नै पहिलो थियो । वि.सं. २०२९ सालमा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्थापना भई २०३१ सालमा जिल्ला अस्पतालको रुपमा स्तरोन्नती भएको मुस्ताङ जिल्ला अस्पताल २०५३ देखि १५ शैया र २०७७ देखि २५ शैया अनुमती पाएर सञ्चाल भएको थियो । मुस्ताङ अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेण्ट डाक्टर बिशाल तिवारीले अनिता परियारको शल्यक्रिया गरेर २ किलो ८ सय ग्रामको बालिका निकालीएको जानकारी दिनुभयो । शल्यक्रियाका लागि अस्पतालका एमडीजीपी डाक्टर कुन्दन कर्णको नेतृत्वमा डा. विशाल तिवारी, डा. राजिव सापकोटा, स्टाप नर्स सुनिता श्रीमल, निता घर्ती र सहयोगी सनिलाल परियारको टोली खटिएको थियो ।
तीन वर्ष अगाडी श्रीमती सुत्केरी हुनुभन्दा २ महिना पहिला नै पोखरा पुगेर डेरा लिएर बसेको सम्झनुहुन्छ थासाङ गाउँपालिका–५, कुञ्जोका जीवन गोतामे । गोतामेले आफ्नी श्रीमती सुत्केरी हुनुभन्दा २ महिना पहिला देखि पोखरामा डेरा लिएर बस्नु परेको भन्दै अहिले जिल्लामै यो सुविधा पाउने भए पनि निम्न आयस्तर भएका नागरिकहरुको उपचार कसरी गर्ने भन्ने चिन्ता हटेको बताउनुभयो । सुत्केरी हुनुभन्दा दुई महिना पहिला र सुत्केरी भएपछि पनि केही दिनको बसाइ पोखरामा हुदा दुई लाख रुपियाँ भन्दा धेरै खर्च जिल्लामै हुँदा पुरै जोगिने गोतामेको भनाई छ ।


छ महिना अगाडी निमित्त मेडिकल सुपरिटेण्डेण्टका रुपमा मुस्ताङ आउनुभएका तिवारीले संघिय सरकार तथा प्रदेशबाट आवश्यक बजेट तथा सामग्री ल्याएर झण्डै दुई महिनालगाएर सामग्री सेटअप गरिएको बताउनुभयो । डा. तिवारी भन्नुहुन्छ म भन्दा पहिलाका निमित्त मेडिकल सुपरीटेण्डेण्ट डा.मनोज घिमिरेले यहाँ शल्यक्रियाका लागि आवश्यक पहल थाल्नु भएको थियो । तिवारी भन्नुहुन्छ –डा.मनोजको मुस्ताङमै सल्यक्रिया गर्ने सपना मेरो पालामा साकार भयो, आज म भन्दा धेरै खुशी डा. मनोज हुनुहुन्छ साहेद ।
चिकित्सकले २०७९ असार १६ गते सुत्केरी हुने डेट दिएका बिनीता परियारलाई उहाँका पति सुनील नेपालीले जेठ २५ गते पोखरा पठाउनुभयो । १६ गतेको सुत्केरी हुने समय आउनै लाग्दा आफू असार १२ गते पोखरा झर्नुभयो । असार २८ गते सम्म सुत्केरी नभएपछि २९ गते सल्यक्रिया गरेर पत्निलाई सुत्केरी गराए पछि साउन १२ गते जिल्ला फर्कनुभयो । डाक्टर सँग सल्लाह गरेरै समस्या हुन सक्ला भन्ने लागेपछि तेकिएको मिति भन्दा पहिल्यै पोखरा झरेका थियो–सुनिल भन्नुहुन्छ । पोखरा पुग्दा आर्थिक व्यवस्थापन र मानसिक पिडा अलिक बढी नै हुन्छ, तर अहिले जिल्लामै सल्यक्रिया हुन थालेपछि अब भने मुस्ताङीहरुलाई सहज हुनेछ ।
अहिले सम्म सामान्य सर्जिकलका लागि पनि बाहिर जान पर्ने अवस्था थियो अब हामीले यही सबै सेटअप गरेका छौं, अबदेखि हाडजोर्नी, एपेण्डिसाइट, हाइड्रोसिल तथा अन्य चिरफारको काम पनि जोमसोममै हुने छ निमित्त मेडिकल सुपरीटेण्डेण्ट डा.तिवारीले भन्नुभयो । जिल्ला अस्पताल सल्यक्रियाको सुविधा नहुँदा प्रसूति लगायतका अन्य सल्यक्रिाको सुविधा लिन महंगो खर्च गरेर पोखरा–काठमाडौं लैजानु्पर्ने बाध्यता अब भने समाधान भएको छ ।

 

शनिबार, भदौ ४, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...