एक्लै तीन करोडको स्याउ बेच्नु हुन्छ कर्मगुरुङ

नेपाली घरघरमा यदी कसैले स्याउको नाम लियो भने पक्कै पनि मुस्ताङी स्याउको स्वाद नै जिब्रोले थाहा पाउँछ । हिमालपारीको जिल्ला मुस्ताङमा परापूर्व काल देखिनै स्याउ खेती हुने गरेको भए पनि व्यवसायीक रुपमा स्याउ खेती हुन थालेको भने खासै धेरै समय भएको छैन । स्याउलाई व्यवसायकै रुपमा थाल्ने मध्येको पहिलो व्यक्ति भन्ने गरिन्छ घरपझोङ गाउँपालिका–५, ढुम्बाका कर्म गुरुङलाई । मुस्ताङको सदरमुकाम जोमसोम भन्दा ठीक पारिपट्टी रहेको क्षेत्रमा उहाँको मुख्य रुपमा स्याउ खेती रहेको भएपछि अन्यत्र ७ स्थानमा बगान छ ।
गत वर्ष स्याउको उत्पादन खासै राम्रो भएको थिएन त्यसैले करिब २ करोडको स्याउ बेचेको थिएँ–कर्मको भनाई छ । कर्म भन्नुहुन्छ–यस वर्ष स्याउको बोटमा लागेको फल र बजार मुल्यको अनुमान गर्दा झण्डै तीन करोड मूल्य पर्ने अपेक्षा लिएको छु । चार सय रोपनी क्षेत्रफलमा २ हजार ७ सय स्थानीय जात र २० हजार बोट उच्च घनत्वको स्याउ लगाउनु भएका गुरुङले यस वर्ष गत वर्षको तुलानामा ३० प्रतिशत भन्दा बढी उत्पादन देखिएको बताउनुहुन्छ ।


प्राङ्गारिक मल मात्रै प्रयोग गर्ने गरेका कर्मले मुस्ताङमा सबै भन्दा पहिला उच्च घनत्वको स्याउ लगाउन थालेको दावी गर्नुहुन्छ । बाउबाजेले स्याउ लगाए तर स्याउको बारेमा ज्ञान नहुने भएकाले आफ्नै प्रयोग मात्रै थियो । स्याउको बोटको गुणस्तर हेरेर त्यो बोटले कति स्याउ थेग्न सक्छ भन्ने ज्ञान नहुदा धेरै फल लाग्ने र हाँगा भाँचिएर बोट नै मर्ने सम्मको समस्या पहिला थियो । स्याउका लागि प्राकृतिक रुपमा महत्वपूर्ण हावापानी भएको मुस्ताङमा उत्पादन हुने स्याउ निकै गुणस्तरीय भए पनि यसको उचित प्रचार हुन नसक्दा बजारीकरणमा समस्या हुने गरेको छ । उचित प्रचार र यातायातको साधन तथा सडक सञ्जालमा हुने नियमित अपरोधले गर्दा पनि स्याउ बजार पु¥याउने बेलामा ढुवानीको समस्या हुने गरेको उहाँको गुनासो छ ।


स्याउका उपभोक्ताहरुले पनि अन्यत्रबाट कृतिम रुपमा चम्कीलो बनाइएका स्याउ प्रयोग गरी रहेकोले मुस्ताङको स्याउको गुणस्तर र स्वाद नै फरक हुने कुराको ज्ञान हुनुका साथै आर्गनिक स्याउ चिन्न सक्नु पर्ने उहाँको तर्क छ । हामीले विषादी रहित स्याउ उत्पादन गर्छौं, त्यसैले बिषादीरहीत स्याउमा केही दाग लागेको हुन सक्छ र सामान्य किराको आक्रमण पनि हुन सक्छ भन्ने हेक्का उपभोक्तामा भएको खण्डमा उहाँहरुले मुस्ताङमा उत्पादीत गुणस्तरीय स्याउ प्रयोग गर्न सक्ने बताउनुहुन्छ ।
स्याउ खेतीका लागि खेती मात्रै नभएर व्यवसायीक खेती गर्न तर्फ लाग्नु पर्ने आवश्यकता अहिले रहेको छ । हिमाली जिल्लाहरुमा हुने मरुभूमिमा स्याउ उत्पादनका लागि राज्यले सोच्नु पर्ने गुरुङको तर्क छ । गुरुङका अनुसार नाङ्गो तथा बाँझो जग्गालाई व्यवस्थीत गर्नुका साथै सिंचाईको व्यवस्था राज्यले गरेर व्यवसायीक स्याउ उत्पादन गर्ने तर्फ लागेको खण्डमा राज्यको पनि आम्दानी बढ्ने र रोजगारी पनि सृजना हुन्छ ।


बाबा आम्ची पेम्बर गुरुङ र आमा डोल्मा गुरुङका १२ सन्तान मध्येका १२ औं सन्तानका रुपमा जन्मीनुभएका कर्म अहिले ५८ वर्ष पुग्नु भयो । आधुनिक प्रविधिको प्रयोग गरेर स्याउ खेती गर्ने मुस्ताङका पहिलो व्यक्ति कर्मले विकसीत मुलुकमा प्रयोग भएको प्रविधिहरु इन्टरनेटको मद्दतले हेरेर आफ्नो बगानमा समेत लागु गरेको बताउनुहुन्छ । अन्य जिल्लामा समेत तालिमका लागि पुगेर सिकेका कुराहरु आफ्नो स्थानमा गरेको प्रयोगले सही काम गरेकोले स्याउको पनि उत्पादन बढ्दै गएको उहाँको भनाई छ ।
कर्मले नेदरल्याण्डका एन्थोन नामका स्याउ बिज्ञ सँगको तालिम पहिला मनाङमा गएर लिएको र पछि उहाँलाई मुस्ताङमै झिकाएर पनि तालिम लिए पछि व्यवसायीक स्याउ उत्पादनलाई थप हौसला मिलेको बताउनुहुन्छ ।

गुरुङलाई संविधान दिवस –२०७७ मा कृषि क्षेत्रमा योगदान पु¥याएको भन्दै राष्ट्रिपति बाट विभुषण समेत प्राप्त भएको थियो ।

मङ्लबार, भदौ १४, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...