३१ वर्षको संसदीय यात्राबाट विश्राम लिँदै एमाले उपाध्यक्ष शाक्य

नेकपा (एमाले) ले केही दिनअघि काठमाडौंका सबै निर्वाचन क्षेत्रका लागि उम्मेदवारका आकांक्षीहरूको नाम संकलन गर्‍यो। काठमाडौंमा क्रियाशील एमालेका जिल्ला नेतादेखि पदाधिकारी सम्मले नाम टिपाए। एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भने उम्मेदवार बन्ने आकांक्षा राखिनन्।

२०४८ सालमै राष्ट्रिय सभाको सांसद भइसकेकी शाक्यलाई अहिले भइरहेको चुनावी चहलपहलले छोएको छैन। उनी मंसिर ४ मा हुने चुनावी दौडमा छैनन्। अर्थात् उनले अब संसदीय राजनीतिबाट विश्राम लिने सोच बनाएकी छन्।

बिहीबार सेतोपाटीसँग कुराकानी गर्दै शाक्यले आफू संसदीय यात्राबाट विश्राम लिने निष्कर्षमा पुगेको बताइन्।

‘मैले राष्ट्रिय सभामा अवसर पाएँ, प्रतिनिधि सभामा सांसद भएँ, संविधान सभा सदस्य पनि भए अनि प्रदेश सभामा पनि गएँ,’ उनले भनिन्, ‘कहिले चुनाव हारें, कहिले जितें। मन्त्री भएँ, मुख्यमन्त्री भएँ। अब अरूलाई अवसर दिनुपर्छ, युवालाई अवसर दिनुपर्छ।’

२०४८ देखि २०५० सम्म राष्ट्रिय सभा सांसद भएकी शाक्य २०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौंबाट निर्वाचित भएकी थिइन्। उनी २०६१ सालमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा महिला मन्त्री बनेकी थिइन्। २०६४ सालको संविधान सभामा भने उनी पराजित भइन्। २०६५ सालमा उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उद्योग मन्त्री बनेकी थिइन्। २०७०को संविधान सभामा समानुपातिक सांसद बनेकी शाक्य २०७४ सालमा भने वागमती प्रदेश सभा सदस्य बनेकी थिइन्।

सुरूमा उनी मुख्यमन्त्रीकी दाबेदार थिइन्। एमालेको बहुमत भएको अवस्थामा संसदीय दलको निर्वाचनमा उनी डोरमणि पौडेलसँग पराजित भइन्। एमालेकी उपाध्यक्ष रहेकी शाक्य, लो प्रोफाइलका पौडेलसँग पराजित हुनु तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली उनीप्रति अनुदार हुनु मुख्य कारण थियो।

एमाले भित्रको अन्तरसंघर्ष चरम उत्कर्षमा पुगेका बेला २०७८ भदौ ३ गते उनी बागमतीकी  मुख्यमन्त्री बनेकी थिइन्। एमाले विभाजन भएर बहुमत गुमाएसँगै २०७८ कात्तिक ११ गते शाक्य मुख्यमन्त्रीबाट बाहिरिनु पर्‍यो।

पार्टीभित्र अन्तरसंघर्षमा लामो समय माधवकुमार नेपालको पक्षमा रहेकी शाक्यले पार्टी विभाजनको अन्तिम समयमा भने उनलाई साथ दिएकी थिइनन्।

२०२८ सालदेखि नै सक्रिय राजनीतिमा लागेकी शाक्य नेकपा एमालेको पाँचौं महाधिवेशनपछि केन्द्रीय सदस्य निर्वाचित भइन्।

२०७१ सालमा भएको एमालेको नवौं महाधिवेशनबाट उनी उपाध्यक्ष चुनिएकी हुन्। २०७८ मा चितवनमा भएको दसौं महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित भएकी ६९ वर्षीय शाक्यले ११ औं महाधिवेशनमा भने पार्टीको कार्यकारी पदमा दाबी गर्न पाउने छैनन। एमालेको विधान अनुसार ७० वर्ष पुगेपछि कार्यकारी पदमा बस्न पाइँदैन।

‘एघारौं महाधिवेशनसम्म उपाध्यक्षको हैसियतमा पार्टीमा सक्रिय रहन्छु। त्यसपछि सक्रिय राजनीतिबाट अवकास लिनैपर्छ,’ उनले भनिन्,‘राजकीय जिम्मेवारीमा भने अब नजाने निर्णयमा पुगेको छु। त्यही भएर संसदीय चुनावमा चासो नदेखाएको हो।’

यस्तो छ शाक्यको राजनीतिक यात्रा

शाक्यको जन्म २०१० सालमा भएको थियो। विजयादशमीको अष्टमीका दिन जन्मिएकाले उनको नाम अष्टलक्ष्मी राखिएको थियो। पाँच दिदीबहिनीमध्ये उनी माइली हुन्।

काठमाडौंमै जन्मे-हुर्केर पनि शाक्य परिवारबाट विद्रोह गरी राजनीतिमा लामो संघर्ष गरी खारिएर आएकी नेता हुन्।

वामपन्थी आन्दोलनमा पाँच दशक बिताएकी ६९ वर्षीया शाक्य २०२८ सालमा झोंसेको बाल सेवा माध्यमिक विद्यालयमा पढ्दादेखि नै कम्युनिस्ट राजनीतिमा लागेकी थिइन्।

त्यसबेला शाक्य नेपाल कम्युनिस्ट पार्टी (श्यामप्रसाद समूह) थिइन्।

त्यसबेला अहिलेको एमालेका संस्थापक नेताहरू भर्खर संगठन बनाउन लागिरहेका थिए। जनताका बीचमा जान राजनीतिक दललाई पञ्चायतकाल बाधक थियो। खुला गतिविधि र संगठन विस्तार गरे जेल पुगिन्थ्यो।

काठमाडौंमा हुनेखाने र सम्पन्न वर्गमै जन्मिएकी शाक्यको परिवार बौद्धमार्गी थियो। बौद्धमार्गमा अन्याय सहनु हुँदैन, गरिब मानिसलाई माया गर्नुपर्छ, समाज वा राज्य व्यवस्था दुबैबाट कसैलाई पनि थिचोमिचो भएको सहनु हुँदैन भन्ने मान्यता थियो।

तर, काठमाडौंको नेवारी परिवार धार्मिक रूपमा जस्तोसुकै मार्गमा बाँधिए पनि ‘कट्टर’ थियो। छोरी मान्छे बाहिरफेर संगठन बनाउने, राजनीति गरेर हिँड्ने कुरा पटक्कै मन नपराउने पारिवारिक बन्धनभित्र शाक्य जेलिन पुगिन्।

२०२९ सालमा एसएलसी दिएपछि उनी रत्न राज्यलक्ष्मी क्याम्पसमा पढ्न थालिन्। क्याम्पस पढ्न थालेपछि उनी शिक्षण पेसामा पनि सक्रिय भइन्। शिक्षण पेसाबाट आउने थोरै कमाइ पार्टीलाई लेबी बुझाउँथिन्। शिक्षण पेसा गर्दै राजनीतिक जीवन पनि अगाडि बढाउँदै थिइन्।

पञ्चायत उग्र बन्दै गइरहेको थियो। भित्रभित्रै ‘भूमिगत’ रूपमा कम्युनिस्टहरू भुसमा आगो सल्किएजस्तै संगठन विस्तार गर्दै थिए। सूचना पञ्चायती शासकको कानमा पुगिहाल्थ्यो।

शाक्यसहितको प्रगतिशील मार्क्सवादी विचार भन्ने समूह थियो। यही समूहमा रहेर उनीहरू भविष्यको कम्युनिस्ट राजनीतिबारे अध्ययन-चिन्तन गर्थे।

घर बाहिर-बाहिर रहनुपर्ने भएपछि उनलाई परिवारले बन्देज लगाउन खोज्यो। विवाहको प्रस्ताव ल्यायो।

परिवारलाई सम्झाइबुझाइ गरेर उनले त्यो विवाह प्रस्ताव किनारा लगाइन्। तर, राजनीतिको सक्रियतालाई पाखा लगाउन उचित ठानिनन्। त्यसका लागि घरको ‘अधिनस्त’बाट मुक्त हुनुपर्थ्यो। सोचाइ त विस्तारै अगाडि बढिरहेको थियो।

त्यो बीचमा उनको भेट सिन्धुपाल्चोकका अमृतकुमार बोहरासँग भइसकेको थियो। २०३२ सालमा बोहोरा कम्युनिस्ट कोअर्डिनेसन केन्द्रको संस्थापक सदस्य बनेका थिए।

बोहराले बाग्मती अञ्चललाई केन्द्रित गरेर विशाल कार्यक्षेत्र बनाएका थिए। त्यही क्रममा पाटनका वामपन्थी नेता सुशीलचन्द्र अमात्यको घरमा शाक्यसँग भेट भएको थियो। कोअर्डिनेसन कमिटी हुँदै नेकपा माले बन्यो।

२०३५ सालमा शाक्यको समूह मालेमा मिसिँदा उनालाई पनि नेकपा मालेको सदस्यता दिइयो। सदस्यता दिएपछि शाक्यलाई गाउँमा जानुपर्छ भन्ने प्रस्ताव राखिएको थियो। उनी औपचारिक रूपमै परिवारबाट ‘विद्रोह’ गरेर निस्किइन्।

त्यसअघि उनलाई कैयौं दिन त परिवारले घरमै ताला लगाएर थुनेका पनि रहेछन्। तर, अनुशासित भएर बस्ने बताएपछि मुक्त भएकी रहिछन्।

सिन्धुपाल्चोकको तिस्कर गाउँ बोहराको थियो। वर्गीय आधारमा संगठन निर्माण गर्नुपर्ने भएकाले पार्टीमा असल र जनताको सेवा गर्ने मानिस खोजी गरिरहेका बेला बोहराले शाक्यलाई रोजेका थिए। शाक्यले त्यहाँको इलाका कमिटी सदस्यका रूपमा संगठित सदस्य हुँदै जिल्ला कमिटीमा काम गरिन्।

‘नि:स्वार्थ भावना, इमानदारिता, अनुशासित र मेहनती देखेँ। घर छाडेको मानिस,’ बोहराले गत वर्ष सेतोपाटीसँग भनेका थिए, ‘म माथिल्लो कमिटीको संगठक थिएँ। एकले अर्काले मन पराउने स्थिति भयो।’

उनीहरू बिहे गर्ने निर्णयमा पुगे। तर बिहे गर्न व्यक्तिगत रूपमा पार्टीमा आवेदन दिनुपर्थ्यो। पार्टीले अध्ययन, छानविन समिति गठन गरेर पक्का गरेपछि मात्रै स्वीकृति दियो।

२०३७ सालमा काठमाडौंका रवि चित्रकारको घरमा उनीहरूको ‘भूमिगत’ बिहे भयो।

‘त्यसबेला प्रेम विवाहलाई प्राथमिकता नै दिइन्थ्यो पार्टीमा,’ बोहराले सम्झिए।

चित्रकार झलनाथ खनालका ससुराली हुन्। २०३७ साल माघको पहिलो साता बोहरा र शाक्यले पार्टीको झन्डा साक्षी राखेर बिहे गरे। सिपी मैनाली, झलनाथ खनाल, माधव नेपाल, जीवराज आश्रित लगायत उपस्थित त्यो बिहेको खर्च चित्रकारले नै बेहोरिदिएका थिए।

पञ्चायतको सक्रियताका कारण परिवारमा विद्रोह, श्रीमान-श्रीमती सधैं सँगै बस्ने स्थिति थिएन। न एकले अर्कोलाई परिचित गराउने अवस्था थियो।

बिहेपछि सँगै बसेको छोटो समयमा उनीहरूका छोराछोरी जन्मिए- आस्था र विश्वास। तर उनीहरूलाई कष्टले हुर्काउनुपर्‍यो, राजनीतिकै कारण।

‘मेरा आफन्तकहाँ केटाकेटी राख्ने अवस्था थिएन। नातागोता सबै सरकारको निगरानीमा थिए। मामाघरमा सम्पर्क थिएन,’ बोहराले भने, ‘कहिले काठमाडौं, भक्तपुर, ललितपुरमा किसान जनताका घरमा लुकाउँदै राख्नुपर्‍यो।’

२०३९ सालसम्म शाक्य सिन्धुपाल्चोकमै सक्रिय भइन्। त्यसपछि उनलाई पार्टीले काठमाडौंमा सरुवा गर्‍यो। टोखा, कीर्तिपुरलगायत ठाउँमा संगठित भएर लागिन्। उनी अखिल नेपाल महिला संघमा पनि आवद्ध थिइन्।

२०४० सालमा सिन्धुपाल्चोकको तिस्करमा पञ्चायती सरकारले नरसंहार गर्‍यो। त्यसको प्रतिवाद गरेपछि त बोहराको घरनिरै प्रहरी चौकी नै राखियो। खोजीनिती र निगरानी बढेका बेला बोहरालाई पार्टीले पूर्वाञ्चल ब्युरोमा पठायो। मदन भण्डारीलाई काठमाडौं बोलाएर उनको ठाउँमा बोहरालाई त्यहाँ पठाइयो।

केही समयपछि शाक्यलाई पनि पार्टीले झापामा पठायो।

‘झापामा केटाकेटी घुमाउँदै राखियो। किसानकै भेषभूषामा राख्यौं। पठन-पाठनको अवसर पनि मिलेन,’ बोहरा भन्छन्।

झापा जिल्ला कमिटी हुँदै शाक्य मेची अञ्चल कमिटीमा संगठित भइन्। २०४५ सालमा पार्टी र अखिल नेपाल महिला संघको काममा इलाम जिल्लामा जाँदा पक्राउ परिन्।

जेलमा शाक्यले यातना पाएको सुनेपछि बोहराले उनको माइती पक्षसँग सम्पर्क बढाए। दिदी तारामार्फत् ससुरा तीर्थबहादुर शाक्यलाई जानकारी दिए। यो बीचमा बिहे भएको र छोराछोरी भइसकेको कुरा सबै बताए।

शाक्यले छोरी जीवित रहेको सुन्दा हर्षका आँशु खसालेका थिए। भेट्न इलाम जेल पुगे। कसो गरेर शाक्य छुटिन्। त्यसपछि एकैपटक बोहरा र शाक्यले २०४६ सालको आन्दोलनमा झापामा विशाल आन्दोलन चलाए।

शाक्य आन्दोलनकारीका सदस्यसहित पक्राउ परिन्। पञ्चायत ढलेपछि जनआन्दोलन सकिएको भोलिपल्ट विर्तामोडको खुला सभामा पहिलोपटक बोहरा-शाक्य दुबै खुला राजनीतिमा आए।

२०४७ सालपछि उनीहरू नेकपा मालेमा रहेर काठमाडौं हिँडे। शाक्य अनेमसंघको काममा व्यस्त भइन्। उनी भूमिगतकालमै अखिल नेपाल महिला संघको अध्यक्ष भइसकेकी थिइन्। पछि भने सहाना प्रधान अध्यक्ष हुँदा उनलाई महासचिव बनाइयो।

२०४९ सालमा शाक्य नेकपा एमालेको पाँचौं महाधिवेशनपछि केन्द्रीय सदस्य निर्वाचित भइन्। २०४८ सालमा राष्ट्रिय सभा सदस्य चुनिइन्। २०५४ सालमा एमालेबाट विभाजन भएर वामदेव गौतमले माले गठन गरे। २०५६ सालमा चुनाव हुँदा काठमाडौं क्षेत्र नम्बर ६ मा सहाना र शाक्य आमनेसामने भए।

शाक्यले शानदार जित हासिल गरिन्।

शाक्य नवौं महाधिवेशनमा केन्द्रीय उपाध्यक्ष भएकी थिइन्। २०५९ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उनी पहिलोपटक महिला, बालबालिका तथा समाज कल्याण मन्त्री बनेकी थिइन्। गणतन्त्र आएपछि २०६५ सालमा उद्योग मन्त्री बनेकी थिइन्। शाक्य २०७४ सालमा भएको प्रदेश सभामा काठमाडौं निर्वाचन क्षेत्र ८ (ख) बाट निर्वाचित भएकी थिइन्।

सन्जिब बगालेले सेतोपाटी डटकमका लागि तयार पारेको सामग्री सान्दर्भीक देखिएकोले साभार गरिएको छ :सम्पादक

बिहिबार, भदौ २३, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...