बकमफुसे हुमाँगाईको अस्वभनिय हर्कत्

जित’ जित नै हुन्छ, चाहे त्यो आधिकारिक अन्तर्राष्ट्रिय फुटबल होस या मैत्रिपूर्ण, त्यसले जितको रशपानमा कुनै फरक पार्दैन । हिजो बंगलादेशविरुद्धको मैत्रिपूर्ण खेलमा खेलाडी र दर्शकहरुले यस्तो जितको रशपान गरे । जस्मा नेपालले बंगलादेशलाई नमिठो पराजयको स्वाद चखाएको थियो । त्यसमा अँझ सुनमा सुगन्ध थप्ने कार्य अञ्जन विष्टको ह्याट्रिकले गरेको थियो । जो आफैमा चर्चा र प्रशंसा गर्न लायक थियो । अन्तर्राष्ट्रिय फुटबलमा भरखरै बामे सर्न लागेको नेपालको लागि यस्ता स–साना जितका नजिताले पनि धेरै अर्थ राख्छ र आत्मसन्तुष्टि दिलाउँछ ।

जित पछिको खुशी अवश्य जायज हुन्छ र खुशी मनाउनु पर्छ पनि । तर उन्मादले भरिएको र असुहाउँदो चाहिँ पक्कै हुुनुहुदैन । अँझ व्यवसायिक धर्म निभाउने ले त यो बारेमा सयौं पटक सोच्नुपर्छ । क्षणिकरुपमा बहकियर अशोभनिय प्रदर्शन गर्न कदापी मिल्दैन । शौम्य अन्दाजमा आफ्नो व्यक्तित्वको प्रदर्शन गर्न सक्नुपर्छ ।

पोष्ट म्याच कन्फरेन्समा विशेष गरेर दुई पक्षले आफ्नो कमिकमजोरी, रणनीति र पाएको सफलताको बारेमा जानकारी गराउँछन् । तर त्यहाँ त्यस्तो केही देखिएन, देखियो त केवल दम्भ, घमण्ड र आक्रोस मात्रै । यस्तो हरकत गर्ने दुस्साहस गरे प्रशिक्षक हुमाँगाईले । पत्रकार सम्मेलन शुभारम्भ हुनासाथ हुमाँगाईले डायसवाट उठेर जुन महा नौटंकि देखाए त्यो …लाई भन्दा देख्नेलाई लाज भएको थियो । उनको फुर्ति हेर्दा कुनै बाघ मारेको भन्दा कम थिएन ।

हुँमागाईले उक्त पत्रकार सम्मेलनमा आफु बसेको ठाउँवाट जुरुक्क उठ्दै पत्रकारलाई लक्षित गर्दै ‘सर्वप्रथम पत्रकारको अनुहार हेर्न मन लाग्यो’ भनेका थिए । नेपालको जितसंगै उनको दम्भ यति बढेको थियो कि उनले आफु कहाँ छु र के बोलिरहेछु भन्ने कुराको समेत चाल पाएनन् । हुमाँगाई यसरी असभ्यरुपमा प्रस्तुत भएपछि उपस्थित संचारकर्मीहरुले उनको अस्वभाविक र अपाच्य ब्यवहारको वारेमा समेत चर्चा गर्न समेत भ्याएका थिए ।

पत्रकार सम्मेलन उनको नेतृत्वमा नेपाली राष्ट्रिय टोलिले प्राप्त गरेको विजयको बारेमा आफ्नो कुरा राख्नकै निम्ति आयोजना गरिएको थियो । तर हुमाँगाई भने शुरुदेखि नै पत्रकारप्रति भडास निकाल्ने तर्फ नै केन्द्रित देखिए । उनले खेलअघि पत्रकारहरुले उनको बारेमा लेखेको समाचारलाई लक्षित गर्दै पत्रकारप्रति खनिन पुगे । जुन उनले देखाउँदै आएको नौंटकीको अर्को नयाँ नमुना थियो । नौटंकि गर्नमा पारंगत मानिएका हुमाँगाईले देखाएको यो अर्को नौटंकिले पत्रकारहरुलाई ससंकित बनाएको छ । जस्ले हुमाँगाईको मपाइत्व गर्ने बानीलाई प्रमाणित गरेको थियो ।

पत्रकार सम्मेलनमा आफुलाई विश्वकै अब्बल प्रशिक्षक झैं बताउन र जताउन खोजेका हुमाँगाईले नयाँ नौटंकि देखाउने क्रममा आफ्नो धोती फुस्केको समेत पत्तो पाएनन् । पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्न आउनु अघि नै घुमाउँरो पाराले नेपाली पत्रकारहरुलाई पत्रकारिता र राष्ट्रियताको पाठ पढाउन समेत बाँकि राखेनन् । यस्तो दुःस्साहस गरिसकेपछि हुमाँगाईले नेपाल खेलकुद पत्रकार मञ्चलाई जितको खुशीयालीमा पचास हजार सहयोग गर्ने घोषणा गरेर पत्रकारको सम्मान गरेका हुन् कि अपमान ?

राष्ट्रियताको चर्काे गर्जन लगाउँदै भाषण छाटेका हुमाँगाईले आफ्नो राष्ट्रियताको बारेमा बिर्सिएकी के हो ? नेपाली नागरिकता त्यागेर संयुक्त राज्य अमेरिकाको पासपोर्ट बोकेर नेपाल आएका हुमाँगाईले नेपाली जन र पत्रकारलाई राष्ट्रियताको बारेमा पाठ पढाउँदा जग हास्नु स्वभाविक नै हो ।

मञ्चलाई हुमाँगाईले पचास हजार सहयोग गर्ने उद्घोष गरेपछि उपस्थित पत्रकारहरुले खिस्सी उडाएरै खितिति हासेको सम्भवत उनको कानले पनि सुनेको हुनुपर्छ । एक जना पत्रकारले त चाँहिदैन पचास हजार माइक मै गएर भन्दिनु पर्ला कि क्या हो भन्दै हुमाँगाईको नौटंकिको जवाफ दिन खोजेका पनि थिए । तर …लाई चलाए दुर्गन्ध आउने कुरालाई राम्रोसंग बुझेका ति पत्रकारले पछि यो कुरालाई अगाडि बढाउन चाहेनन् ।

नेपाली संचारमाध्यमले जहिले पनि नेपाली फुटबलमात्र नभई कुनै पनि खेलसँग जोडिएका ब्यक्तित्वहरुलाई सम्मान गर्दै आएको र भविष्यमा गरिरहनेछ । तर प्रशिक्षक हुमाँगाईले आफ्नो ब्यक्तित्व र आफ्नो शैलीमाथि पत्रकार र स्वयं उनी संलग्न फुटबल क्षेत्रकै ब्यक्तिहरुले उनको अस्वभाविक शैली सुधार्न आवश्यक छ भनेर बारम्बार औल्याउँदा पनि किन यति बिघ्न दम्भ देखाउन तल्लिन भएका हुन्, त्यो खुद हुमाँगाईको स्वास्थ्यकै लागि समेत राम्रो मान्न सकिदैन ।

प्रशिक्षकले त सारा राष्ट्रको आशलाई प्रतिनिधित्व गर्दै ब्यवसायिक धर्म निभाउनुपर्ने बाध्यता रहन्छ । संचारमाध्यमले त जे देख्छ, त्यही लेख्छ । कसैको गुणगान र कसैको उछितो काट्ने धर्म संचारमाध्यमको होइन । जस्तो विरुवा उस्तै फल न फल्ने हो । नेपालले जित्दा हुमाँगाईको ब्यवसायिक धर्मभित्रको एउटा पाटो मात्र त हो ? यसमा आकाशको तारा नै झारे जसरी अनावश्यक चुरीफुरी देखाउन कदापी मिल्दैन । जति काम हो त्यति नै अभिब्यक्ति दिदाँ पुग्ने ठाउँमा अनावश्यक लफडा गर्नतर्फ लाग्न आवश्यक नै छैन ।

यो जितको सम्पूर्ण श्रेय नेपाली खेलाडीहरुलाई जान्छ । किनकि यो हुमाँगाईले दुई दिनमा तयार पारेको राष्ट्रिय फुटबल टोली कदापी होइन । यो टीम तयार हुन बर्षौं लागेको छ । यो कुरा हुमाँगाईले राम्रोसंग बुझ्न जरुरी छ । एउटा राजनीतिक दलको नेताको आशिर्वादले प्राप्त गरेको कार्यवाहक प्रशिक्षकले सर्वप्रथम आफ्नो अनुहारमा ऐना हेर्दा राम्रो होला । यसर्थमा कि त्यहाँ हुमाँगाईको स्पष्ट रङ्ग रुपको छवी देखिनेछ । त्यसपछि हुमाँगाई नेपाली फुटबलको प्रशिक्षक हुन् उनी कति कालो, गोरो र गहुँगोरो छन् । सोही ऐनाको विम्बले उनको रंग देखाउने पक्का छ ।

त्यसैले अनाहकमा बकमफुस्से फुर्ति लगाउनुभन्दा आफ्नो कामप्रति फोकस गर्नु नै हुमाँगाईको लागि राम्रो हुनेछ । मेरोखेल डटकमबाट साभार

बुधबार, अशोज १२, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...