पुन: मतदानका लागि आवश्यक तयारी पूरा

दोलखाका केही स्थानमा बिहीबार हुने पुनः मतदानका लागि आवश्यक तयारी पूरा भएको छ । मतदानका लागि कर्मचारी, मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्री मतदान हुने ११ वटै केन्द्रमा पुगिसकेको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।

मतदाता, मतदानस्थल र मतदान केन्द्रको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । यी १० केन्द्रका लागि ८० जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिनुभयो ।

नेकपा एमालेका उम्मेदवारले गत मङ्सिर ४ गते भएको मतदानप्रति असन्तुष्ट जनाइदिएको उजुरीमाथि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय दिएपछि पुनः मतदान हुन लागेको हो । मतदान हुनेमा वैतेश्वर गाउँपालिका–६ को वैतेश्वर मावि केन्द्रको क, ख र वडा नम्बर २ को जनज्योति मावि केन्द्रको क र ख वडा नम्बर ३ को कालीढुङगा माविका क, ख र ग रहेका छन् ।

त्यसैगरी, तामाकोसी गाउँपालिका–३ हेल्थ पोस्टको क र खमा मतदान हुन लागेको छ । मतदान हुने स्थल वैतेश्वर गाउँपालिका तामाकोसी गाउँपालिकामा स्वच्छ मतदानका लागि आज बुधबार राति १२ बजेदेखि कुनै पनि यातायात चलाउन नपाइने प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जानकारी दिनुभयो ।

बुधबार, मंसिर १४, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...