श्री रामजानकी गार्गी कन्या गुरुकुलम् : एक परिचय

प्राच्य ज्ञान विज्ञानको मूलथलो नै उच्च हिमशैलको दक्षिणी शैलमैदान भएको र यस हिमवत्खण्डमा धेरै आर्य महर्षिहरू र गौतमी, अनसूया, गार्गी जस्ता नारीरत्न विदुषीहरूले पनि साधना गरेको गौरव गाथा गाउँदै आएका हामी नेपालीहरूले ती प्राग्ऐतिहासिक कथा र गाथा गाएर मात्र बसिरहनु हुँदैन भन्नेमा सहमत हुँदै नेपालका पर्वतीय र उच्च हिमालयहरूको अमूल्य जीवनदायी वनस्पति जडीबुटीहरूको अपार भण्डार हो भन्ने तथ्यबोध गरेर पनि त्यसको समुचित अनुसन्धान प्रयोग र अधिकतम नेपाली जनसाधारणमा जानकारी दिन नसकिरहेको कुरामा ध्यान दिँदै, नेपालमा शिक्षा उपार्जन गर्न प्रयत्नरत रहँदारहँदै पनि आर्थिक, सामाजिक, संस्कारगत आदि कारणले गर्दा संस्कृतसहितको राम्रो शिक्षा प्राप्त गर्न नसकेका नेपाली कन्याहरूलाई जाति, उत्पत्ति, वंश र वर्ग वर्णको कुनै भेदभाव नगरी आदर्श नारी बन्ने बनाउने र त्यस्ता बालिकाहरूलाई अंग्रेजी भाषा, विज्ञान, गणित विषयको नियमित पाठ्यक्रम एवं कप्युटर, कला, नृत्य व्यवसायिक, अतिरिक्त वेद, व्याकरण, आयुर्वेद, दर्शन पुराण, धर्मशास्त्रको ज्ञानसमेत दिई विभिन्न क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्षम नारी शक्ति उत्पादन गर्न नेपालमा एउटा विशुद्ध समाजसेवी आदर्श कन्या गुरुकुल स्थापना गर्न वाञ्छनीय भएको भन्ने श्री सच्चिदानन्द सरस्वती (खप्तडबाबा) राष्ट्रगुरु योगी नरहरिनाथ र प्रपन्नाचार्यज्यूको सदिच्छा अनुरुप नेपाली नारी चेतना र जागरणको लागि जीवन उत्सर्ग गर्नुहुने विदुषी समाजसेवी अंगुरबाबा जोशीज्यूबाट समणबद्ध निकायबाट अनुमति प्राप्त गरी श्री गार्गी कन्या गुरुकुल प्रतिष्ठान र यस द्वारा संचालन हुने श्री गार्गी कन्या गुरुकुल नेपालको पहिलो कन्या गुरूकुल रुपमा सञ्चालन भएको र देवघाटधाममा भगवती उपाध्यायबाट विसं २०५३ देखि श्री रामजानकी वेदविद्याश्रम सञ्चालनमा रहेकोमा दुवै संस्था एकीकृत भई महान उद्देश्यका साथ नेपालको मध्यभागमा पर्ने पवित्र तीर्थस्थल देवघाटधामका चितवन जिल्ला प्रशासन शाखाको अनुमति र भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाबाट कक्षा ६ देखि क्रमश १० सम्मको अनुमति प्राप्त गरी श्री रामजानकी गार्गी कन्या गुरुकुलको रूपमा ५० जिल्लाका समावेशी ६० जना कन्याहरूलाई निशुल्क आवासीय सुविधासहित पठनपाठनको व्यवस्था श्री रामजानकी गार्गी कन्या गुरुकुल प्रतिष्ठानले हाल गरिरहेको छ ।
यस संस्थाका प्रमुख उद्देश्य यसप्रकार रहेका छन्-
(क) आजको भौतिक वैज्ञानिक समुन्नतिको युग अनुकूल भौतिक सुखसुविधा र सम्पन्न जीवनशैलीका साथै आन्तरिक सुख शान्ति र आध्यात्मिक आनन्दको अनुभूति समेत सुसम्पन्न जीवन पद्धतिलाई आत्मसात् गर्ने क्षमता भएका विदुषी नारीहरु तयार गर्ने ।
ख) आध्यात्मिक चेतनाले अनुप्राणित सरल रहनसहन र सात्विक जीवनपद्धति अपनाउँदै सर्वोत्कृष्ट आचरण, सफल जीवन, शाश्वत चिन्तनको महान् उद्देश्यमा समर्पित जीवन प्रति उत्प्रेरित गर्ने ।
ग) वेद, उपनिषद्, धर्मशास्त्र षड्वेदाङ्गको अध्ययन गरी ती विषयमा आधिकारिक र प्रभावकारी व्याख्यान दिन सक्ने नारी व्यक्तित्वहरू तयार गर्ने ।
घ) नारी सशक्तीकरणका दिशामा शास्त्रले दिएका महत्त्वहरूको बोध गराई समाजमा धर्म परम्पराका नाममा अवशिष्ट रहेका रूढि बुढि र अन्धविश्वास, सम्पूर्ण कुप्रथा र कुरीतिहरूलाई परास्त गर्दै नारीप्रति भेदभाव र हिंसापूर्ण व्यवहारका विरुद्ध समाजलाई सचेत र जागरुक गराउन सशक्त योगदान दिन सक्षम र सशक्त नारीहरु तयार गर्ने ।
ङ) वर्तमान समाजमा उपयोगी आवश्यक शिक्षा र भौतिक रूपले सक्षम बनाउने विभिन्न तालिमहरु समेत प्रदान गरी यस गुरुकुल विद्यार्थीहरूलाई पाठपूजा, यज्ञयागादि गराउन सक्षम तुल्याउने र धार्मिक ग्रन्थहरूको अध्ययनको साथै आध्यात्मिक र नैतिक प्रवचन गर्न सक्षम एवं विभिन्न कथा सप्ताह एवम् प्रमुख पुराणहरू वाचन गर्न सक्ने बहुआयामिक व्यक्तित्वका विदुषी नारीहरू तयार गरी यस क्षेत्रमा देखिएका कमी हटाई धार्मिक क्षेत्रमा नारीहरुलाई बढी सक्रिय बनाउने ।
च) आध्यात्मिक चेतनाले समृद्ध वैदिक परम्परा अनुरूपका विद्यालाई सरल र वैज्ञानिक विधिअनुसार अध्यापन गराउने ।
छ) आयुर्वेद र ज्योतिषविज्ञानमा साथै रक्षाप्रधान जुडो कराते आदिको पनि समुचित तालिम दिने।
ज) धर्म जाति र वर्गका आधारमा हुने कुनैपनि विभेदबाट मुक्त रही प्राच्य तथा आधुनिक शिक्षा पद्धतिअनुरुप नारी शिक्षालाई उन्नत र समृद्ध तुल्याउने।
झ) आध्यात्मिक चेतनाको विकाशद्वारा नैतिकरूपले सबल र चारित्रिकरूपले समेत शुद्ध र पवित्र जीवन व्यतित गर्दै समाजलाई समेत सही मार्गमा लाग्ने सत्प्रेरणा दिन सक्ने समूहको सुशिक्षित र सुरक्षित नारी समुदाय तयार गर्ने ।
ञ) मानव जीवनको मूल लक्ष्य सुखशान्ति र आनन्दको अनुभूति प्रति एकाग्र समर्पित नारी शक्ति तयार गर्ने ।
ट) समाजमा असल नारीको आदर्श स्थापित गरी आफ्नो परिवार समाज र सिंगो मानव मानव समुदायलाई समुद्र सभ्य सुसंस्कृत र विकसित ल्याउनमा उत्प्रेरणा प्रदान गर्नसक्ने सक्षम विदुषी नारी जनशक्ति तयार गर्ने विविध कारणले शास्त्रमा देखापरेका नकारात्मक अंशलाई i सनातन अध्या परम्पराका सकारात्मक र शुद्ध मूल भावना र मर्महरुलाई उजागर गर्दै त्यस अनुकूल गौरवपूर्ण जीवन पद्धती प्रति आस्था जगाउने व्याख्या तयार गर्ने परम्परागत रुढीबादी र अन्धविश्वास बाट मुक्त तुल्याई  आत्मविश्वास आत्मगौरव र आसन्न तिले परिपूर्ण बन्न सक्षम बनाउने ।
गुरुकुलमा गरिने कन्याप्रति सेवाभावहरू
एक छोरी एक अभिभावक (वार्षिक)
एक छोरी एक अभिभावक (पञ्चवार्षिक)
साधारण सदस्य
आजीवन सदस्य
भोजन सेवा सामान्य
विशेष भोजन सेवा (जन्मदिन, पितृकार्य, विवाहोत्सव)
शैक्षिक सामग्री
वस्त्रदान एवम् खाजा, जिन्सी सामग्री
अन्नदान, जलदान
भावी योजना
– प्रतिवर्ष कक्षा वृद्धि गर्दै आचार्य तहसम्मको औपचारिक शिक्षा प्रदान गर्ने।
– आवासीय क्षमता वृद्धि गरी २५० छात्राहरूलाई आवासको व्यवस्था गर्ने ।
– निर्धारित पाठ्यक्रमसँगै शिक्षा, सङ्गीत, शास्त्रीय नृत्य आदिको प्रशिक्षण दिने ।
– गुरुकुल सञ्चालनका लागि पर्याप्त जग्गा र खेलमैदान व्यवस्था गर्ने ।
– पुस्तकालय, सरस्वती मन्दिर, गौशाला, यज्ञशाला, आवासीय निर्माणाधीन भवन पुरा गर्ने।
– अक्षयकोष वृद्धि गर्ने।

बिहिबार, फाल्गुन २५, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...