सङ्घर्षमा कलमको सम्मान तथा पुरस्कार अर्पण

पोखरा । सङ्घर्षमा कलम पोखराले सञ्चालन गर्दै आएको वर्ष सम्मान अन्तर्गत चार स्रष्टा सम्मानित र चार स्रष्टा पुरस्कृत भएका छन् ।
संस्थाद्वारा सञ्चालित बाबा साहित्य साधक र ऋषिराम रानाभाट स्मृति सम्मान कोरोनाका कारण २०७६ सालदेखि रोखिएकोमा एउटै थलोमा आठ स्रष्टालाई अर्पण गरिएको हो ।
जसमा बाबा साहित्य साधक सम्मान २०७८ बाट तनहूँका साहित्यकार आनन्दसुन्दर श्रेष्ठ र २०७९ बाट कास्कीकी कवि लिली अधिकारी नगद १० हजार पाँच सय ५५ राशिसहित सम्मानित भए ।
यस्तै, ऋषिराम रानाभाट स्मृति सम्मान २०७८ बाट म्याग्दीका लोकनाथ भुषाल घायलश्री र २०७९ बाट कास्कीकी सावित्री गिरी नगद ५ हजार पाँच राशिसहित सम्मानित भए ।
२०७६ र २०७७ सालमा सम्मान अर्पणको वातावरण अनुकुल नभएकाले संस्थाले राष्ट्रिय अनलाइन कविता प्रतियोगिता आयोजना गरेकोमा सोही समारोह बीच उक्त पुरस्कार पनि अर्पण गरियो ।

प्रतियोगितामा सुनसरीका किरण चौलागाई शून्यानन्द प्रथम भई ११ हजार, एक सय ११, तेह्रथुमका बद्री श्रेष्ठ द्वितीय भई ५ हजार, ५ सय ५५, कास्कीकी दीक्षा अधिकारी र पर्वतका श्रीकृष्ण शर्मा तृतीय भई ३ हजार ३ सय ३३ राशिसहित पुरस्कृत भए ।

प्रमुख अतिथि वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, गण्डकी प्रज्ञा-प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, मदन पुरस्कार बिजेता चन्द्रप्रकाश बानियाँ, बाबा साहित्य साधक सम्मान कोषका संस्थापक दुर्गाबहादुर शाह बाबा, अनेसास बोर्ड अफ ट्रष्टी कार्यसमिति सदस्य ऋषि बराल, पूर्व सम्मानित स्रष्टा सरस्वती श्रेष्ठ सरु, नेलम्बो नेपालका अध्यक्ष समाजसेवी एकदेव देवकोटाले सम्मानपत्र, दोसल्ला, नगद र मायाको चिनोसहित सम्मान तथा पुरस्कार अर्पण गरे ।
प्रमुख अतिथि हरिदेवी कोइरालाले अक्षरका पुजारीलाई यसरी पूजा गर्दा हरेक स्रष्टाको लेखनमा उर्जा र प्रेरणा मिल्ने बताइन् ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले प्रतिष्ठान यस्ता संस्थासँग प्रोत्साहन र सहकार्य गर्न निरन्तर लालायित रहेको बताए ।
मदन पुरस्कार विजेता वरिष्ठ साहित्यकार चन्द्रप्रकाश बानियाँले राम्रो लेख्नका लागि अध्ययन र आलोचना पर्यायवाची भएको बताए ।
सम्मानित स्रष्टा आनन्दसुन्दर श्रेष्ठले उच्च शिक्षा हासिल गरेको क्षेत्र पोखरामा आएर सम्मान ग्रहण गर्न पाउँदा ती दिनको लेखनयात्रा मानसपटलमा घुमेको बताए ।
सम्मानित स्रष्टा लिली अधिकारीले सम्मानले आफूलाई प्रेरणा र थप हौसला मिलेको बताइन् ।
सम्मानित स्रष्टा लोकनाथ भुषाल घायलश्रीले आफूले सम्मानलाई थप जिम्मेवारीकारूपमा लिएको धारणा राखे ।
सम्मानित प्रतिभा सावित्री गिरीले सम्मानको गरिमालाई उचाइमा पु¥याउन निरन्तर सिर्जनशील रहने प्रतिबद्धता जाहेर गरिन् ।
प्रतिभा छनौट समितिका संयोजक कृष्णप्रसाद पौडेलले छनौटका प्रक्रिया र प्रतिभाको परिचय प्रस्तुत गर्दै यसपटक कलमले सङ्घर्ष गरिरहेका स्रष्टाको चयन भएको बताए ।
कार्यक्रममा अनेसास बोर्ड अफ ट्रष्टी कार्यसमिति पदाधिकारी ऋषि बराल, शुक्ला साहित्य संगम तनहूँका संरक्षक शेषमणि आचार्य, धार्चे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत समीप काजी, नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा, पूर्व सम्मानित स्रष्टा सरस्वती श्रेष्ठ सरु, कवि दीक्षा अधिकारीले आफ्ना भनाइ राखेका थिए ।
बाबा साहित्य साधक कोष संस्थापक दुर्गाबहादुर शाह बाबाले पुरस्कृतलाई बधाई, उपस्थित शुभचिन्तकलाई धन्यवाद र ऋषिराम रानाभाटका साथै पूर्व सम्मानित धनबहादुर गायककाको दिवंगत आत्माको चिरशान्तिको कामना गरे ।
सोही समारोहबीच सङ्घर्षमा कलमले ऋषिराम रानाभाट स्मृति कोषकातर्फबाट सार्वजनिक पुस्तकालय केराबारीका लागि गजलकार वसन्त विनोदमार्फत् ४२ थान पुस्तक सौजन्य प्रदान गरेको थियो ।
कृष्ण रानाभाट सारथिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन असफल गौतमले गरेका थिए ।

बुधबार, चैत्र २२, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...