कुमारी आमा (यौन कथा)

-अन्जु शर्मा
आज पूर्णीमाको दिन ।टहटह जून आकाशमा लागेका छन् ।ठूलो साँझ परिसक्यो।छेउको जंगलबाट चराचुरुङ्गी बासबसेको आवाज प्रष्ट सुनिनथालेको छ। यस्तो रमणीय मौसममा पनि हजुरआमाले कान्छी फूपुलाई टिकी खान दिनुहुन्न।अगि गाली गर्न थालिसक्नुभयो।मलाई साह्रै अचम्म लाग्छ!यति बिघ्न गाली गर्दा पनि फूपू एक शब्द फर्काउनु हुन्न!विचरा कति सोझी हुनुहुन्छ हाम्री फूपू।कुनै किसिमको आधुनिक नक्कल झक्कल पनि त छैन ।उहीँ पुरानो स्टाईलको धोती ,पूरा बाउला भएको ब्लाउज अनि निधारमा एउटा टीका।अहिलेका महिलाले जस्तो फेसन गर्नु हो भने फूपू पुरै उड्ने चरि जस्तै राम्री हुनुहुन्थियो होला !तर के गर्ने पार्लर धाएको थाहा पाउनु हो भने हजुरआमाले फूपुलाई घरबाटै निकालिदिनुहुन्थ्यो।म किचन बाट आफ्नो रूम तर्फ बिस्तारै अगाडि बढे।रक्सदल धन्दा अझै धेरै बाँकी छ।विचारा ..फूपु काममा ब्यस्त ।हजुरआमाको टोकसो कहिले सकिने हो उफ: ?
फूपूका साथीहरू त पढेलेखेका छन्।जागिर खान्छन् ।चालिस /पैंतालीस कि मात्र त हुनुभयो नि फूपू।पढ्दापढ्दै फेल भएर स्कुल छोडेकी भन्छन् ।खासमा मलाई पत्तेरो भने लाग्दैन ।तैपनि सबैका कुरा त मान्नैपर्यो ।तर फूपुले राम्ररी पढ्न नपाएको चाहिँ हुनसक्छ ।
आफ्नै छोरीलाई यतिसम्म गाली गर्नेले मलाई भने पटक्कै गर्दैनन् ।सायद टुहुरी भनेर होला ।आसाम गएका बाउ उतै अस्ताएछन् ,बाउ मरेपछि आमा पनि पोइला गएर अलपत्र परेकी मलाई उठाएर ल्याएका रेन्त! आमाले ठीकै गरिछन् ।यस्तो घरमा वास्तवमा बस्न कम सकस हुन्थ्यो होला !यी फूपू पनि किन बिहे नगरी बस्नु भएको हो ?”मेरै आमाले दोस्रो बिहे गर्दा हुने वहाँले बिहे नगरी किन बस्नु त?
म एक महिनको छुट्टिमा घर आएकी हुँ।म पहिलो पटक पढ्न जाँदा एकपटक वाइकिकी विच घुम्ने योजना बन्यो ।म साथीहरू संग डाउनटाउन हुँदै वाइकिकी विच पुगे।बाटोमा अस्रल्ल छरिएका कनिका जस्तै युवा युवतीहरू भित्री बस्त्रमात्र लगाएर एक अर्कोलाई चुम्बन गर्दैथे।मलाई अनौठो मात्र हैन निकै लाज लागेर आयो तर केही बोलिन्।म अगाडि बढ्दै विच(beach )मा पुगे।ओहो ! त्यहाँ त …।समुद्रको छालमा युवा युवतीको रोमान्टिक दृश्य ।म पृथ्वी लोकमै छु या अन्तै ।मेरो खामोसी चकानाचुर भयो मैले भनिहाले ” यो त नाइट सिन जतिकै छ”!छेउका साथीहरू मज्जाले हाँसे।एकातिर यस्तो उदण्ड स्वतन्त्रता अर्कोतिर मेरी फूपुलाई …!”
यहाँ जा,त्यहाँ नजा,यो लगा ,त्यो नलगा हदैसम्मको बन्देज ।मलाई खलखल पसिना आयो ।
” त्यता किन हेर्छेस?समयमा आइमाईले थुतुनो र मुतुनो जोगाउन जान्नपर्छ”।यति राति पनि हजुआमाले फूपुलाई गाली गर्नुभयो ।तर फूपूले एक शब्द पनि निकाल्नु भएन ।यो मजबुरी पनि कस्तो हो ?यहीँ एकछाक खानको लागि यत्रो सघर्ष गर्नपर्ने।बिदेशतिर भने यस्तो गाली त के ठूलो स्वरले पनि बोल्न पाइन्न ।हुनत:सोह्र बर्ष कटेपछि स्वतन्त्र भएर हिड्छन्।आफैं कमाएर खान्छन् ।कसै संग आश पनि त गर्न पर्दैन ।”नत आश,नत त्राश “। मलाई औधि रिस उठ्यो ।म कोठाबाट भान्सामा आए।अनि हजुरआमालाई -“यसरी गाली गरेर किन राख्नुहुन्छ ?,नत गुङ्गी नत अन्धि।समयमा बिहे गरिदिएको भए के फरक पर्थ्यो?मेरी फूपू कति राम्री हुनुहुन्छ ।”
” तेरी फूपुलाई कस्ले बिहे गर्छ?हजुरआमा सप्कोले आँसु पुछ्दै बाहिरीनु भयो ।हजुरआमा गएपछि मैले फेरि फूपुलाई सोधेँ “फूपू तँपाईं किन बिहे गर्नुहुन्न ?काका काकी पनि मन पराउनुहुन्न,हजुरबा हजुरआमा पनि गाली गर्नुहुन्छ ।
“फूपुले मलाई हेरेर ” तिमी त माया गर्छेयौ हेैन?”
“अः गर्छु “भने ।
फूपू फेरि आफ्नो काममा ब्यस्त हुनुभयो ।
भोलिपल्ट हटिया जानेक्रममा काका काकी संग म पनि गएं।
फूपुको बारेमा धेरै कुरा जान्नु छ।-” काकी! फूपू किन निराश देखिनुहुन्छ?बिहे पनि किन नगर्नुभा हो ?”
काकी जरक्क पर्दै बोल्नुभो ” रूप राम्रो हुँदैमा सबै राम्रो हुन्छ ?बुद्धि राम्रो हुनुपर्यो नि।उबेला गुहु खाकी भन्थे ।बिग्रेका भत्केका पाल्न परेको छ।”
यहाँ देखि उता मैले काकीलाई सोध्ने आँट गरिन्।तर मेरो मानसपटलमा अनेकौं कुरा घुम्न थाल्यो ।मैले अर्को दिन काकालाई हात जोडेर फूपुको बारेमा सोधेँ ।काकाले लामो सुस्केरा हाल्दै भन्नभो ” नानी !कसरी संझाउ खै,उबेला ६ कक्षामा पढ्थी।आमाले पहिलो पटक पर सरेकी त्यसपछि सरिन भन्नुहुन्थ्यो ।काशी जान्छ भन्ने चलन कसैलाई पत्तै भएन चार महिनाको गर्भ भएछ।गाउँ समाजका डरले आसाम मामाघर लगेर एबर्सन गर्न खोजेको डाक्टरले मिल्दैन भनेपछि जन्माउन पर्यो।सानैमा मेरा जेठा दाइ आसाम गएर उतै बित्नुभएको हुँदा गाउँ समाजमा उसको बच्चा भन्न सजिलो भएको हो।बच्चा ..त!झण्डै दुई बर्ष आसाम बसेर आएकी पढाइ त स्वा भैगोनी।
“अनि त्यो केटा को थियो ?”म अझै गहिराइ तिर बढे।
उबेला नेपाली शिक्षक भन्दा अंग्रेजी,साइन्स र म्याथ पढाउने शिक्षक इन्डियाबाट आउथे ।शिक्षकलाई खाने ,बस्ने व्यवस्था पनि हाम्रो घरमा थियो ।त्यसो गरे बापत हामी सबैलाई पढाउथे।तिनै अपराधीहरूले बिगारेछन्।कस्लाई जिम्मा लगाउनु ?उमेर पनि बाह्र बर्ष न हो ।त्यहीँ पनि उनिहरू घरको केही संका बढ्न थालेपछि भागेर गैगएछन्।
मलाई अझै धेरै कौतुहलताले पछ्याइ रह्यो ।काकालाई पून:सोधेँ -“काका!फूपुको छोरा थियो कि छोरी अहिले कहाँ छ?”
” आ..कति कुरा कोट्याउन सकेकी ।गुहु चलाए गन्ध आउँछ भन्ने थाहै छ “यतिकैेमा हामी हटिया पुग्यौं ।काका को को संग गफिन थाल्नुभयो ।काकीले हप्ता भरिलाई तरकारी र फलफूलको जोहो गर्नुभयो ।आजको हटिया मलाई उति रमाइलो लागेन।मलाई फूपुको बारेमा जान्ने अनगिन्ती रहर जाग्यो ।साच्चै फूपुको छोरा थियोे कि छोरी?म अब फूपुलाई नै सोध्छु।के फूपुले भन्नुहोला?म गह्र’गो मन लिएर घर फर्के ।काका काकी भन्दा निकै अगाडि फर्के ।
म घर पुग्दा पनि फूपू घरको काममा ब्यस्त हुनुहुन्थ्यो ।फूपुको माया लागेर आयो ।काकी प्रति भित्र देखि ईर्ष्या जाग्यो ।खासमा काकीले पनि सघाउदा हुन्छ नि।म आक्रोशित हुँदै हजुरआमाको कोठामा पुगें।कोठा भित्रबाट चुकुल लगाएको थियो ।मैले भित्र गुनगुनाएको आवाज सुने।”हेर बुढिया ! तँ पहिले जस्ति कसिली भए पो”!
अ: आफूलाई कति न सोह्र बर्षे ठान्नु भाछ?”दुबै इत्रेको आवाज सुनेर म फनक्क पछाडि फर्के ।साठीको हाराहारीका यी दम्पती अझै ….।
मेरो नेपाल बसाइ छोटिदै थियो ।लुगाफाटो मिलाउदै सोच्न थाले।आखिर पृथ्वी गोल छ, तर भूगोल भित्रका मानव चरित्र अत्यन्तै फरक छन्।अमेरिकमा खुलमखुला यौनका कुरा हुन्छन् ।यौनिक क्रियाकलापमा मान्छे आनन्द मान्छन् ।यहाँ ..!बाहिर हैन पर्दा भित्र यहाँ पनि गम्भीर यौनिक क्रियाकलाप हुने रहेछ।नत्र बुढेसकालमा हजुरबा हजुरआमा..!! अनि यी जवान मेरि फूपुको कुरा गर्दा यौनको ब्याख्या कसरी गर्ने पत्तै नहुने ।
हुन त कुरा निकै गम्भीर छ।बाह्र बर्षकै उमेरमा यी फूपुलाई कस्तो चाहिँ बैँस चढेछ हँ?ती बिदेशी शिक्षकहरू ,छोटो समयमै कसरी बिग्रन सक्नु?काकी त अझै स्कुले केटो त्यहीँ पनि खै के तल्लो जातको संग बिग्रेकी भन्न पछि पर्दिनन्।”ओरालो लागेको मृगलाई ,कुकुरले लखेट्छ भन्छन् ।”गल्ती गरिसके पछि सबैको तारो बन्ने नै भइन।धन्न स्विकार गरेछन्।हजुरबा निकै मापाका पो छन् त!
कुमारी आमाका न्यायका लागि १९०८ देखि लड्दै गर्दा ती नारी अधिकार कर्मी महिलाको दु:ख पनि भनी साध्य छैन ।अझ the second sex लेखेर तमाम नारीका हक,हितको आवाज बुलन्द गर्ने ती नारी स्रष्टा सिमोन दे बोउबारको यौन जीवन पनि निकै सकस पूर्ण मानिन्छ ।
आज मलाई कान्छी फूपू संग गफ गर्ने रहरले गाँजेको छ।मलाई फूपुको सन्तान के थियो ?जीवीत छ या छैन ?भए कहाँ ?यी सबै कुरा जान्ने रहर छ।मलाई काका काकीले पनि सहि कुरा त भन्नू नै भएन।त्यसैले म सरासर भान्सातिर गए।”फूपू आज म हजुरलाई खाना बनाउन सहयोग गर्छु है?”
फूपू-“हुन्छ,तरकारी काट न त।”
मैले तरकारी काट्दै कुरा छेडे -फूपू!हजुरलाई स्कुल पढ्दाको याद आउँछ?
फूपू -“आउदैन त लाटी ,आउँछ नि!
हजुरका साथीहरूको याद पनि आउँछ।
फूपू -“किन नआउनु !”
अनि केटा साथीको नि?
फूपू-“नचाहिने कुरा , उता जाउ,मलाई खाना बनाउन ढिला भयो ।अहिले बाले गाली गर्नुहुन्छ ।
” फूपू! यस्तो दबाब र तनावमा किन जीवन बर्बाद गर्नुहुन्छ ?छुट्टै बसे हुन्छ नि!”
“म त पहिले नै बर्बाद भैसकें ,अब के बाँकी छ र? फेरि छुट्टै बस्न आर्थिक पक्ष बलियो चाहिन्छ ।दोस्रो कुरा समाजका दोषी नजरको अन्त कसरी गर्ने ?”फूपुले पछाडि फर्केर सप्कोले आँसु पुछ्नु भयो ।
फूपुका कुराले मलाई अति पीडा भयो ।मैले फूपुलाई संझाउदै भने ” फूपू मेरो मेरो पढाइ सकियो ।अब म काम गर्छु।केही खर्च हजुरलाई पठाइदिन्छु।स्वतन्त्र जीउनु पनि मानव अधिकार हो ।
नानी! तँ भएर त म बाँचेकी छु नि नत्र ..त!
ओहो ,कान्छी फूपुले मलाई कति माया र विश्वास गर्नुहुँदोरहेछ,अब भने फूपुलाई वहाँका सन्तानको बारेमा सोध्दा फरक पर्दैन ।मैले हिम्मत गरे अनि फूपुका आँसु पुछ्दै” फूपू म हजुरलाई एउटा कुरा सोध्छु ,नरिसाइ भन्नू न है।”
के कुरा नानी त्यस्तो ?फूपू म तिर हेरेर मुसुक्क मुस्काउनु भयो ।
भन्ने हो भने मात्रै सोध्छु।म पनि फूपुको मन चोर्न सिपालु भए ।
ल भन्छु फूपुले वाचा गर्नुभयो ।
फूपू !हजुरको बच्चा थियो भन्ने सुने,छोरा थियो कि छोरी?
मेरो मुख छोप्दै फूपुले चुप भन्नुभयो ।
अगि वाचा हार्नुभाछ फूपू।
नानी ! भित्ताका पनि कान हुन्छ भन्छन् ,मेरो एकमात्र सन्तान तँ नै होस् नि।
म छाँगाबाट खसे झैँ भए ।मलाई अनायास ऐठन भयो ।आँखा तिरमिराए।तैपनि बल गरेर भने यत्रो रहस्य किन लुकाउन भयो फूपू?आज आमा अगाडि उभिएर मैले आमा भन्ने मौका किन पाइन?
के गर्छेस नानी ! मत जवानी भन्दा अगाडि नै भोकको शिकार भए ।म एक हैन धेरैको भोग्या भए।त्यसको पीडा सबै परिवारलाई पर्यो। ममाथि के बित्यो त्यतिबेला कुनै पत्तो पाइन् ।त्यसैले तिमीलाई बिना बाउकी छोरीको ट्याग नलागोस भनेर आजका दिन सम्म लुकाएर राखे ।बाउ पनि को हो भनेर म बताउन कहाँ सक्छु र ?ककस्लाई बताउ?
म अक्कनबक्क भए।एकदिन मारियाले उसको घर जाने योजना बनाइ।हामी शुक्रबारको दिन क्लास सकेर सिधै उसको घर गयौं ।घरको चुकुल भित्रबाट लगाएको थियो ।उसले फोन गरेर आमालाई बोलाइनन्।”सरि यार,आज कुनै रेष्टुरेन्ट तिर जाऔं।मेरी आमा पक्कै ब्वाइफ्रेण्ड संग हुनपर्छ।”मारिया र म दुबै कुमारी आमाका सन्तान ।मेरी आमा अझै कुमारी आमाको सजाय भोग्न बाध्य छिन् ।
मेरी निरीह आमाको श्रीमान यानेकी मेरो बाउ को पहिचानको आवश्यकता मलाई थिएन ।मलाई केवल मेरी कान्छी फूपू उर्फ मेरी आमाको लागि मारियाकी आमाको जस्तै एउटा ब्वाइफ्रेण्ड चाहिएको थियोे ।त्यसैले हजुरआमा संग झोक्किएर भने “हेर्नुस् हजुरआमा !पेटको भोक त श्रम गरेर टर्छ,जवानीको भोकले मानसिक पीडा दिन्छ।मलाई कुमारी आमाकी छोरी हुँ भन्नमा घृणा हैन अत्यन्तै ठूलो गर्व छ।
रातोपुल(2080/11/15)

आइतवार, फाल्गुन २०, २०८० मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...