रत्नेचौरका महिलाले गाउँमै पाए विशेषज्ञ सेवा

म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरका महिलाले स्त्रीरोग सम्बन्धी विशेषज्ञ सेवा आफ्नो गाउँघरमै पाएका छन् । बेनी नगरपालिकाको आयोजनामा सम्पन्न स्त्रीरोगसम्बन्धी स्वास्थ्य शिविरबाट उनीहरु लाभान्वित भएका हुन् । रत्नेचौरमा सञ्चालित शिविरमा ४६ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो ।


पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङपेसरी तथा भिआईएसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा भिआईए जाँच गरिएका ४६ जना महिलामध्ये पाठेघर खस्ने समस्या भएका ६ जना महिलामा रिङपेसरी राखिएको थियो । बेनी अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर साजना श्रेष्ठले महिलाहरुको स्वास्थ्य परीक्षण गर्नुभएको थियो । उहाँले छ जना महिलालाई रिङपेसरी राख्नुका साथै भिआईए जाँच गर्दा सङ्कास्पद देखिएका दुई जनालाई थप परीक्षणका लागि बेनी अस्पतालमा बोलाइएको बताउनुभयो ।


ग्रामीण भेगमा व्यस्त कामको समयमा पनि विशेषज्ञसहितको सेवा गाउँमै लिन पाएकोमा महिलाहरु उत्साहित भएका छन् । यसैगरी बेनी नगरपालिकाले प्रत्येक महिनाको १५ गते गर्ने नसर्ने रोगको स्क्रिनिङ शिविरमा ६५ जनाले सेवा लिएका छन् । रत्नेचौरमा भएको उक्त शिविरमा ५० जना महिला र १५ जना पुरुषहरुको स्किनिङ गरिएको बेनी नगरपालिकाको सिनियर अनमी लिला गौतमले बताउनुभयो ।
शिविरको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले महिलाहरुले आफ्नो रोग लुकाएर बस्ने भएकाले पनि जटिल अवस्था आएपछि मात्रै थाहा हुने बताउनुभयो । उहाँले महिलाहरुले आफूलाई भएको रोगको समस्या अरुलाई भन्न लजाउने भएकाले गर्दा जटिलता बढी हुने भएकाले जुनसुकै स्वास्थ्य समस्या भएमा तुरुन्तै स्वास्थ्यसंस्थामा गएर परीक्षण गर्न सुझाव दिनुभएको थियो ।


कार्यक्रमको संयोजक समेत रहेकी बेनी नगरपालिकाकी सिअनमी लिला गौतमले मानव स्वास्थ्य महत्वपूर्ण विषय भएकोले त्यसलाई सबैले ख्याल गर्नुपर्ने बताउनुभयो । उहाँले महिलाहरुले पहिला आफ्नो समस्या आफ्नै श्रीमानलाई पनि भन्न नसक्ने र पछि पाठेघर नै फाल्नुपर्नेसम्मको समस्या झेल्न बाध्य भएको अवस्थाले गर्दा गाउँगाउँमा शिविर राखेर रोग पहिचान र निदानका लागि आवश्यक पहल थालिएको बताउनुभयो ।


बेनी नगरपालिका–१, रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर थापाको अध्यक्षतामा सम्पन्न शिविरको उद्घाटन समारोहमा बेनपाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, जनस्वास्थ्य अधिकृत चन्दन सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

शनिबार, मंसिर १७, २०७९ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...